देशको सम्पूर्ण जनसँख्याको आधाभन्दा बढी जनसँख्या मधेशमा छन् । त्यहाँ गीत संगितको ठूलो बजार छ । घरघरमा टिभी, हरेक बजारमा सिनेमा हल छन् । टोलटोलमा एफएम रेडियो छन् । त्यतिकै स्थानीय टिभीहरु पनि खुलेका छन् । विभिन्न युट्युव च्यानलहरु सञ्चालनमा छन् । तर त्यहीबाट हेर्न लायक सुन्न लायक गीत संगित, तथा फिल्मको निर्माण हुन सकेको छैन । गीत, संगित एउटा ठूलो व्यवसाय हो । यसलाई पनि उद्योगको रुपमा विकास गर्नुपर्छ तर यसमा प्रदेश तथा स्थानीय सरकारले ध्यान दिएको छैन ।
गीत संगित तथा फिल्मलाई प्रवद्र्धन गर्नका लागि मधेश सरकारले विभिन्न प्राधिकरण, बोर्ड, प्रतिष्ठान तथा समितिहरु गठन गरेका छन् तर ती संगठन तथा संस्थाका अधिकारीहरु जागिर खानु बाहेक अरु केही गर्न सकिरहेका छैनन् । मधेश गीत, संगित तथा फिल्मका लागि उर्वर ठाउँ हो । त्यहाँ चाहिने हरेक कुरा छन् तर त्यो क्षेत्र कहिले फस्टाउन सकेन । फिल्म सुटिङका लागि तराई मधेशमा स्टुडियो बनाउने योजना धेरै पटक बन्यो । त्यसका नाममा समय समयमा अनुगमन पनि भयो । ठाउँ रोज्ने काम पनि भयो तर ठाउँ हेर्ने बाहेक अरु कुनै प्रकृया अगाडि बढेन ।
तराई मधेशमा सबभन्दा बढी बोल्ने भाषा मैथिली तथा भोजपुरीलगायतका भाषामा एउटा राम्रो फिल्म बन्न सकेको छैन । साना साना कालकारहरु सर्ट भूमीहरु, केही गीत संगितहरु निर्माण गरिरहेका छन् तर त्यसले पनि मधेशको बजारमा व्यवसायिक रुप धारण गर्न सकिरहेको छैन । मधेशमा कलाकार नभएर होइन, एक से एक कलाकार छन् । मधेशका कलाकारहरु बलिउडदेखि नेपाली फिल्मी दुनियाँसम्ममा धुम मच्चाइ रहेका छन् । तर उनीहरु आफ्नो गाउँ ठाउँ मधेशमा जम्न सकेका छैनन् । मैथिली, भोजपुरीमा फिल्म नबनेको होइन तर लगानी राम्रो नभएको कारण राम्रो प्रोड्क्सन दिएन । लगानीका साथ साथै राम्रो प्रविधिहरु पनि चाहिन्छ । अबको जमानामा एउटा क्यामरा र केही कलाकार राखेर फिल्म चल्दैन । त्यसका लागि अत्याधुनिक टेक्नोलोजी चाहिन्छ र लगानी गर्नुपर्छ ।
मैथिली तथा भोजपुरीमा जति पनि फिल्महरु बनेका छन् ती सबै भारतमा निर्माण भएका छन् जो नेपालमा पनि राम्रो बजार लिन सफल भएका छन् । मधेशका एक से एक कलाकारहरु छन् । मुरलीधर मिझार मधेशकै हुनुहुन्छ । उहाँ पनि प्रयास नगर्नु भएको होइन तर नसकेपछि उहाँ भारत जानु भयो र त्यहाँ गएर मैथिली भाषामा ‘सस्ता जिनगी महग सिनुर’ फिल्म बिनाउनुभयो ।
त्यो फिल्म सबभन्दा बढी तराई मधेशमा नै चल्यो । मैथिली फिल्म ‘प्रेमक बतास’ का निर्मातादेखि कलाकारहरु अधिकाँश मधेशका छन् तर त्यो फिल्म भारतमा निर्माण भयो । यस्ता धेरै फिल्महरु छन् जो भारतमा निर्माण भयो र त्यसलाई तराई मधेशले रुचाई दियो । अच्चमको कुरा के भयो भने मिथिला संस्कृति र मैथली भाषालाई प्रवद्र्धन गर्ने उद्देश्यले असार ११ र १२ गते जनकपुरमा पहिलोपटक दुई दिने ‘मैथली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना भएको थियो । सो महोत्सवमा नेपालसँगै भारतमा रहेर मैथली भाषाका चलचित्र, लघुचलचित्र र वृतचित्र निर्माण गरिरहेका व्यक्तिहरू उपस्थित थिए । तर नेपालबाट वा मधेशबाट बनेका कुनै पनि मैथली भाषाको चलचित्र त्यसमा समावेश थिएन । यो भन्दा अर्को दुख लाग्दो कुरा के हुनसक्छन् ।
मधेशबाट उदितनारायण झादेखि मुरलीधरसम्मले बलिउडमा धुम मच्चाउनु भएको छ । गायक रवीराज, रुद्रनारायण तिवारी, शिवम शर्मा, प्रवेश मल्लिक लगायतका कलाकारहरु पनि बलिउडमा स्ट्रगल गरिरहनु भएको छ । नेपाली फिल्मी क्षेत्रमा प्रमोद अधिकारी, कामेश्वर चौरसिया, नाजिर हुसेन, रवीन्द्र झा, रमेश रन्जन, प्रियंका झा, पुजा ठाकुर, अञ्जु यादव, ममता पण्डित, सरिता साह, कृष्णकुमार, राजु मण्डल, रमा मण्डल, गुरुदेव कामत, सानु कुमार, सन्तोष कुमार, राजकुमार यादव लगायतका कलाकारहरु पनि स्ट्रगल गरिरहनु भएको छ ।
तर उहाँहरु मधेशमा माटोमा जम्न सक्नु भएन । आफ्नो भाषा, सँस्कृति, रहन सहन भएको फिल्ममा काम गर्न सक्नुभएको छैन । भारतमा जसरी हरेक राज्यमा फिल्म इन्ड्रिस्टिज फस्टाएका छन् । भोजपुरी फिल्मले त बलिउडका हिन्दी फिल्मलाई टक्कर दिइरहेको छ ।
मैथिली फिल्मले पनि विस्तारै आफ्नो स्थान बनाइ रहेको छ । तर नेपालमा त्यसको अभाव छ । नेपालमा नेपाली फिल्मले बजार लिन नसकिरहेको बेला स्थानीय भाषाका फिल्महरुले स्थान लिन गाह्रो छ । कलाकारहरुलाई आकर्षण गर्न र गीत संगितलाई सम्वद्र्धन र प्रवद्र्धनका लागि राज्यबाट नीति बनाएर त्यसलाई अगाडि बढाउनुपर्छ । खासगरी प्रदेश सरकार र स्थानीय सरकारले यसलाई व्यवसायिक रुपमा अगाडि बढाउन पहल गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया