लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राष्ट्रिय पार्टी मात्र बनेन पार्टी महोत्तरीमा गएर सिमित भएको छ । लोसपा नेपालको संगठन पनि देशभरीमा सबभन्दा राम्रो महोत्तरीमा मात्र छ । महोत्तरीको १५ वटा पालिकामध्ये पाँच वटा पालिका लोसपा नेपालले जितेको छ । प्रदेश सभामा लोसपाका नौ जना सांसद छन् । त्यसमध्ये पाँच जना त महोत्तरीका नै छन् । त्यसमध्ये तीन जना चुनाव जितेका छन् भने बाँकी दुई जना समानुपातिक सदस्य हुनुहुन्छ ।
चार जना संघीय सांसदमध्ये दुई जना महन्थ ठाकुर र शरतसिंह भण्डारी महोत्तरीबाट नै चुनाव जित्नु भएको छ । लोसपालाई महोत्तरीले यति शक्ति दिएको छ, त्यही भएर महन्थ ठाकुरले पनि महोत्तरीलाई यति माया गर्नुहुन्छ । आफ्नो पार्टीको सम्पूर्ण शक्ति महोत्तरीमा केन्द्रीत गर्नुभएको छ । अध्यक्ष ठाकुरले पार्टीबाट संघमा होस वा प्रदेशमा मन्त्री पठाउँदा महोत्तरीको कोही नकोही अवश्य पारेका हुन्छन् । यो लोसपाबाट मात्र भएको होइन, महन्थ ठाकुरले गठन गरेको तमलोपादेखि नै उहाँले महोत्तरीलाई छुटाउनु हुन्न ।
तमलोपा, राजपादेखि लोसपा आउँदासम्म महोत्तरीबाट गणेश नेपाली, कोशी देवी झा, शरतसिंह भण्डारी, चन्दा चौधरी, अभिराम शर्मा र रानी शर्मा मन्त्री बनिसक्नु भएको छ । उहाँहरु सबैजनालई अध्यक्ष ठाकुरले नै मन्त्री बनाउनु भएको छ । लोसपा अध्यक्ष ठाकुर २०७४ देखि महोत्तरीबाट चुनाव जित्दै आउनु भएको हो । त्यसअघि उहाँले संविधानसभाका लागि दुई पटक सर्लाहीबाट चुनाव हार्नुभएको हो । त्यहाँबाट लगातार चुनाव हारेपछि उहाँ महोत्तरी सर्नुभएको हो । महोत्तरी महन्थ ठाकुरको गृह जिल्ला हो । सर्लाहीमा हार्नुभएका महन्थ ठाकुरलाई महोत्तरीका जनताले जिताउन थालेपछि त्यहाँका लागि महन्थ ठाकुरको मोह जागृत भएको कतिपयको टिप्पणी रहेको छ ।
पार्टीकै कतिपय नेताहरु भन्नुहुन्छ, ‘महन्थजी पार्टीका अध्यक्ष भए पनि अरु कुनै जिल्ला जानु हुन्न् । सानोतिनो भए पनि मधेशका हरेक जिल्लामा उहाँको संगठन छ । तर महोत्तरीबाहेक अन्य जिल्लामा जाँदैन भन्दा पनि हुन्छ । त्यस्तै कुनै महत्वपूर्ण कार्यक्रम छ भने मात्र अन्य कुनै जिल्लामा जानुहुन्छ नत्र काठमाडौँबाट सिधै जनकपुर र जनकपुरबाट महोत्तरी जाने गर्नुभएको छ ।’
सरकारबाट होस् या कुनै समाजिक संस्थाबाट होस् हरेक कार्यक्रम तथा विकासका योजनाहरु आफ्नै क्षेत्रमा लग्नुभएको छ । त्यसले गर्दा पार्टीमा कतिपय नेताहरुले गुनासो पनि गर्ने गर्नुभएको छ । आफ्नो क्षेत्र सुरक्षित राख्नका लागि उहाँले महोत्तरीबाट मन्त्री र सांसद चयन गर्ने गरेको सो पार्टीका नेताहरुको गुनासो छ । पार्टी अन्य जिल्लामा छन्, अन्य जिल्लाबाट पनि सांसद भएका छन् ।
तर अध्यक्ष ठाकुरको प्राथमिकतामा महोत्तरी मात्र रहेको गुनासो नेताहरुले गरिरहनु भएको छ । सोही कारण देखाउँदै पार्टीबाट सर्वेन्द्रनाथ शुक्लाले विद्रोह गर्नुभएको छ । महोत्तरीका शरतसिंह भण्डारीलाई पटक पटक मन्त्री बनाएकोमा आपत्ति जनाउँदै पार्टीमा विद्रोह गर्नुभएको छ । पार्टी नै विभाजन गर्नेसम्मको धम्की दिनुभएको छ । पछिल्लो समय लोसपा जति पटक सरकारमा सहभागी भयो, कुनै पनि शरतसिंह भण्डारीलाई उहाँले छुटाउनु भएको छैन ।
केपी ओली नेतृत्वको संघीय सरकारमा लोसपाबाट मन्त्री बन्नुभएका भण्डारी पनि महोत्तरीका हुन् । उहाँ क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभएको हो । महन्थ ठाकुर क्षेत्रमा टाँसिएर रहेको शरतसिंह भण्डारीको क्षेत्रबाट अध्यक्ष ठाकुरलाई पनि फाइदा भइरहेका हुन्छन् । शरतसिंह भण्डारीको गतिविधि आफ्नो क्षेत्रभन्दा बढी अध्यक्ष ठाकुर क्षेत्रमा भइरहेको पार्टीका नेताहरुको टिप्पणी रहेको छ । त्यही भएर पार्टीमा जति विवाद भए पनि भण्डारीलाई पटक पटक मन्त्र बनाउनु भएको छ । अघिल्लो पटक शरतसिंह भण्डारीलाई मन्त्री बनाउँदा राजेन्द्र महतो पार्टीमा विद्रोह गरेर निस्किनु भएको छ भने यसपटक पनि भण्डारीलाई बनाउँदा शुक्लाले विद्रोह गर्ने तयारीमा हुनुहुन्छ ।
महन्थ ठाकुर जित्नु भएको क्षेत्रबाट रानी शर्मा र अभिराम शर्मा मधेश प्रदेशको प्रदेश सभामा चुनाव जित्नुभएको छ । दुवै जनालाई अध्यक्ष ठाकुरले मन्त्री बनाइ सक्नुभएको छ । अभिराम शर्मालाई मधेश प्रदेशको लोसपा प्रदेश सभा संसदीय दलको नेता पनि उहाँले बताउनु भएको थियो । तर थमन बिक हत्याकाण्डमा मुछिएका कारण उहाँ हाल प्रदेश सभाबाट निलम्बनमा पर्नुभएको छ ।
पछिल्लो पटक मधेश प्रदेशमा गठन भएको सरकारमा रानी शर्मालाई पठाउनु भएको छ । त्यसले गर्दा अन्य जिल्लाका सांसदमा असन्तुष्टि देखिएको छ ।
तपाईको प्रतिक्रिया