भारी वर्षा भएर तरकारी खेतीमा अत्यधिक क्षति पु¥याए पनि लालबन्दी बजारबाट असार महिनामा मात्रै ११ करोड बढीको तरकारी निकासी भएको छ । किसानले तरकारी बिक्री गरेर मनग्य आर्जन गर्ने मुख्य थलो बनेको लालबन्दी तरकारी बजारबाट वर्षात्को महिना असारमा समेत ११ करोड ५८ लाख ८९ हजार १७५ रुपियाँको तरकारी बिक्री भएको हो । किसानले लालबदी नगरपालिका ७ स्थित थोक तरकारी बजार डुमडुमेमा ल्याएर बिक्री गर्ने तरकारी व्यापारीले खरिद गरी छेउछाउका बजार मलङ्गवा, चन्द्रपुर, गौर, जनकपुरसहित काठमाडौं, हेटौंडा, सिन्धुली, कटारीसहित पहाडी जिल्ला सोलखुम्बुसम्मका बजारमा पु¥याएर बेच्ने गरेका छन् ।
लालबन्दी बजारबाट असार महिनामा सबैभन्दा धेरै परबल चार करोड १० लाख ५५ हजार रुपियाँ बराबरको निकासी भएको छ । उत्पादनको मुख्ययाम भएकाले सर्लाहीका किसानले अहिले परबल धमाधम फलाइ रहेका छन् । यहाँबाट एक करोड ५१ लाख १९ हजार ५०० रुपियाँको भिन्डी बिक्री भएको छ । गोलभेँडा एक करोड २२ लाख नौ हजार ४०० रुपियाँ बराबरको निकासी भएको छ ।
गोलभेँडा सर्लाहीको मुख्य उत्पादन हो । यहाँको बजारमा भारतीय गोलभेँडा समेत भित्रिने गरेको छ । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार असार महिनामा लालबन्दीका किसानले बेचेको ७६ लाख ४० हजार रुपियाँको बोडी र ४५ लाख ६२ हजार ४०० रुपियाँको लौका समेत अन्य मुख्य सहर, बजारमा निर्यात भएको छ ।
‘सिजन’ भएकाले मनग्य फलिरहेको झिङ्नीबाट असार महिनामा किसानले ५१ लाख ३७ हजार र काक्रोबाट २८ लाख ७६ हजार १२५ रुपियाँ कमाइ गरेका छन् । सर्लाहीमा लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती, बरहथवा र चन्द्रनगरका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारी हुने हो ।
यहाँका किसानले फलाएको तरकारी लालबन्दीस्थित थोक तरकारी बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । महोत्तरीको बर्दीवास र गौशाला नगरपालिकाका किसानले समेत लालबन्दी बजारमा ल्याएर तरकारी बिक्री गर्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया