Khadya Bibhag

भरोसा हुलाकी क्याम्पसको

तराई मधेशको लाइफलाइन मानिएको हुलाकी सडक निर्माणले जनतामा खुशी देखिन्छ । हुन त हालसम्म भौतिक प्रगति ६५ प्रतिशत मात्र देखिएको छ । अझै ३५ प्रतिशत काम बाँकी रहेको तथ्यांकबाट बुझ्न सकिन्छ । तर जेजति बनेका छन् त्यसले मधेशको हरेक क्षेत्रमा सकारात्मक प्रभाव पारेका छन् । सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा सकारात्मक प्रभाव परेको छ ।
मधेशको शैक्षिक अवस्था त्यतिकै पनि खस्केको छ । त्यसमा पनि महेन्द्र राजमार्गभन्दा दक्षिणको अवस्था झन भयावह छ । त्यसमा हुलाकी राजमार्ग छेउछाउका शिक्षाका अवस्था दैनिय छ । त्यहाँको पढाइ लेखाइमा गुणस्तर छैन । त्यहाँ राम्रो विद्यालय छैन । भएका विद्यालयमा पनि पढाई त्यति राम्रो हुँदैन । त्यस वरपरका हुन खानेका बालबच्चाहरु काठमाडौँ, बिराटनगर, जनकपुरलगायतका ठूला ठूला शहरमा गएर पढ्ने गरेका छन् । गरिब तथा आर्थिक रुपमा कमजोर भएका बालबच्चाहरु त्यहीको स्कुलमा पढ्न बाध्य छन् । एसइइको परिणामदेखि लिएर प्लस टुको परिणाम हेर्दा हुलाकी सडक छेउछाउका स्कूलका परिणाम कमजोर देखिएको छ । तर त्यसलाई सुधार गर्ने प्रयास कहीबाट भएको देखिदैन ।
हुलाकी राजमार्ग निर्माण भएको छ । यातायातको सुविधा भएको छ । ठाउँ ठाउँमा बजार बस्न थालेका छन् । जनताको आय स्रोतमा वृद्धि भएको छ । बोर्डिङ स्कूलहरु खुल्न थालेका छन् । यातायातको सुविधा भएको कारण गाउँघरका बच्चाहरु पनि शहरका बोर्डिङ स्कूलमा पढ्नका लागि जान थालेका छन् । तर शिक्षाको अवस्था जस्ताको त्यस्तै छ । यस अवस्थामा हुलाकी राजमार्गस्थित सिरहा जिल्लाको वरियारपट्टीमा हुलाकी बहुमुखी क्याम्पस सञ्चालनमा आएको छ । यसले आशाको किरण देखाएको छ ।
मधेश प्रदेशको राजर्षि जनक विश्वविद्यालयबाट हुलाकी क्याम्पसले बीबीए कक्षा सञ्चालनका लागि सम्बन्धन पनि प्राप्त गरिसकेको छ । सो कक्षा यसै आर्थिक वर्षदेखि सञ्चालन गर्ने भनेको छ । यसले गर्दा सिरहाको हुलाकी राजमार्ग वरपरका जनता खुशी देखिन्छन् । हुलाकी राजमार्गमै क्याम्पस खुल्ने भएपछि टाढा टाढा पढ्न जान नपाउने विद्यार्थीका लागि निकै खुशीको कुरा भएको छ । सिरहा जिल्लामा हुलाकी सडक वरपर सिरहा क्याम्पसबाहेक अरु कुनै क्याम्पस थिएन । त्यसले गर्दा त्यहाँका विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि गाह्रो भइरहेको थियो । सिरहा क्याम्पसको शैक्षिक वतावरण राम्रो नभएको कारण विद्यार्थी त्यहाँ जाँदैनन् । त्यहाँ विद्यार्थी सँख्या एकदमै न्युन छ ।
क्याम्पस पढ्नका लागि विद्यार्थीहरु गोलबजार, लहान, मिर्चैया जाने गरेका छन् । आर्थिक अवस्था राम्रो भएका विद्यार्थीहरु बिराटनगर, जनकपुृर, काठमाडौसम्म जाने गरेका छन् । तर अब हुलाकी राजमार्गको ग्रामिण क्षेत्रमा क्याम्पस खुलेपछि विद्यार्थीहरुका लागि सजिलो भएको छ । त्यसमा पनि छात्राहरुका लागि निकै नै सजिलो भएको छ । सिरहाको नवरापुर गाउँपालिका, वरियारपट्टी गाउँपालिका र औरही गाउँपालिकाका विद्यार्थीका लागि हुलाकी बहुमुखी क्याम्पस बरदान सावित हुने आशा त्यसभेगका जनताले गरेका छन् । यो क्याम्पस स्थापनाका लागि २०७५ सालदेखि नै विचार विमर्श सुरु भएको थियो ।
त्यो विमर्र्शसँगै त्यहाँका स्थानीय तथा शिक्षाप्रेमीहरुले २०७९ सालमा एउटा महायज्ञको आयोजना गरेको थियो । सो महायज्ञबाट दुई करोडभन्दा बढी रकम संकलन भएको थियो । सोही रकमले क्याम्पसका लागि जमिन पनि खरिद गरेको छ । जमिन क्याम्पसको नाममा नामसारी नभएको कारण भवन बनाउन प्रकृया सुरु भएको छैन । राजर्षि जनक विश्वविद्यालयबाट क्याम्पसले सम्बन्धन पाइसकेपछि अब जमिन पनि क्याम्पसको नाममा आइपुग्छ भनि त्यहाँका स्थानीयहरु बताउछन् ।
क्याम्पसको भवन निर्माण नभएसम्म बिहानी कक्षा त्यहीको श्री जनता नमुना प्राविधिकधारमा सञ्चालन गर्ने भएको छ । सम्बन्धन पाउने बित्तिकै क्याम्पसले भर्ना पनि खुल्ला गरेको छ । त्यहाँबाट एउटा अर्को खुशीको कुरा बाहिर आएको छ । सिरहा जिल्लाकै हुलाकी राजमार्गमा पर्ने नवराजपुर गाउँपालिकाले पनि आफ्नो गाउँमा क्याम्पस खोल्नका लागि विचार विमर्श सुरु गरेको छ । त्यसका लागि पटक पटक छलफल भएको छ ।
हुलाकी क्याम्पसका लागि चुनौती पनि छ । सो भेगका अन्य स्कूल तथा क्याम्पसहरु जस्तै यसले पनि गुणस्तर शिक्षा दिन सकेन भने सिरहा क्याम्पसकै जस्तो हालत हुन्छ । भारतीय सीमासँग जोडिएको हुलाकी राजमार्गमा जति पनि क्याम्पसहरु छन् । कुनै पनि राम्रो प्रगति गरेको छैन । त्यसको प्रभाव हुलाकी क्याम्पसमाथि पर्दैन भनि भन्न नसक्ने अवस्था छैन । त्यसका लागि सचेत रहनु पर्ने आवश्यकता छ ।

तपाईको प्रतिक्रिया