–संजय यादव
कुनै शक्ति राष्ट्रलाई गाली गरेर आफू कसरी शक्तिशाली बन्न सकिन्छ भने कुराको उदाहारण एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । प्रधानमन्त्री ओली छोटो समयमा नेपालमा शक्तिशाली नेता बन्नुको एक मात्र भारत हो । भारतलाई गाली गरेर नै उहाँ शाक्तिशाली नेता बन्नुभएको हो । भारतलाई गाली गरेर आफूलाई राष्ट्रवादी देखाएर जनतालाई भ्रमित गर्ने काम उहाँले गर्नुभएको छ । यसो भन्दा फरक नपर्ला कि भारतलाई गाली गरेर कोही नेता शाक्तिशाली बन्नुभएको छ भने त्यो हुनुहुन्छ केपी शर्मा ओली । नेपालमा भारत प्रतिको बुझाई राम्रो छैन ।
नेपालमा भुकम्प आयो भने भारतकै कारण आयो, बाढी आयो भने भारतकै कारणले आयो, कुनै विपदी आयो भने भारतकै कारणले आयो, धेरै पानी परे भने भारतकै कारणले पर्यो भन्ने ठाउँ हो नेपाल । भारतले जस्तोसुकै राम्रो काम गरे पनि यहाँका जनताले त्यसलाई सकारात्मक लिँदैनन् । मुखमा प्रशंसा गरे पनि पछाडी फर्केर गाली गर्ने नेपालीहरु पनि छन् । र, त्यस्तो हुनुको कारण केपी ओली जस्ता नेताहरु नै हुनुहुन्छ । नेपाल–भारत बिचको सम्बन्ध अद्भुत छ । नेपाल–भारतको बिचको जस्तो सम्बन्ध विश्वमा कुनै पनि देशको बिचमा छैन । विवाद पनि उच्च लेवलकै छ भने सम्बन्ध पनि त्यो भन्दा माथि लेवलको छ । यस्तो उच्च र अलौकिक सम्बन्धका कारण सानातिना नोकझोक हुनु समान्य कुरा नै भइसकेको छ । त्यसैको फाइदा उठाउनु हुन्छ प्रधानमन्त्री केपी शर्मा ओली ।
भारतप्रति निर्भर
भारतको हरेक कुरामा नेपाल निर्भर छ । भारतकै कारण नेपालीको चुल्हो बलेको छ भन्दा फरक नपर्ला तर नेपालका राष्ट्रवादी भनाउँदाहरु यो कुरा मान्न तयार छैन । दक्षिण एसियामै सबभन्दा बढी अनुदान तथा सहयोग भारतले नेपाललाई दिएको छ । हरेक पिडामा मलहम लगाउन भारत अग्रसर हुन्छ । तैपनि नेपालीले भारतलाई रुचाएको देखिदैन । सबभन्दा नजिकको भारत, सबभन्दा सहयोगी भारत तर सबभन्दा अलोचना सहने भारत । अच्चमको सम्बन्ध छ नेपाल र भारतको बिचमा । भारतले जे गरेपनि नेपालीहरुले त्यसको विरोध गर्ने गर्छन् । अरु देशले नेपालमा जे गरेपनि चुँइ कोही बोल्दैनन् । लाग्छ कि नेपालीले भारतलाई विरोध गर्नमा गौरव ठान्छन् जब कि त्यही नेपालीहरु भारतबिना बाँच्न सक्दैन भने कुरा राम्रोसँग बुझेका छन् । हो, त्यही कुराको फाइदा प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक उठाउनु भएको छ । २०७२ मा संविधान निर्माण हुँदा भारतले त्यसमा सुझाव दिन खोज्दा त्यसको बारेमा प्रधानमन्त्री ओलीले अनर्गल प्रचार गरेर नेपाली जनतामा भारत विरोधी भावना भर्नु भएको थियो ।
संविधान निर्माणमा भारतले हस्तक्षेप गरेको कुरा सबभन्दा बढी हल्ला फैलाउने काम अध्यक्ष ओलीले गर्नुभएको थियो । त्यतिबेला देशको नेतृत्वमा काँग्रेस थियो । प्रधानमन्त्री सुशिल कोइराला हुनुहुन्थ्यो । भारतीय विदेश सचिव तथा अहिलेका विदेश मन्त्री एस.जयशंकर नेपाल भ्रमणमा आएको बेला ओलीसहित अन्य सबै शीर्ष नेताहरुलाई भेट्नु भएको थियो । नजिकको छिमेकीको नाताले संविधान निर्माणमा केही सुझाव दिनुभएाके थियो । तर संविधान निर्माणमा भारतले हस्तक्षेप गर्यो भनि हल्ला गर्ने काम एमालेका अध्यक्ष ओलीले गर्नुभएको थियो ।
भारतले संविधान निर्माणमा हस्तक्षेप गर्यो भने कुरा ओलीले मात्र कसरी थाह पाउनु भयो ? माओवादीका अध्यक्ष प्रचण्ड, काँग्रेसका सभापति सुशिल कोइराला, शेरबहादुर देउवा, मधेश केन्द्रीत दलका नेताहरुले संविधान निर्माणमा भारतको हस्तक्षेप किन थाह पाउनु भएन ? जब कि एस.जयशंकर उहाँहरुलाई पनि भेट्नु भएको थियो । संविधान निर्माणपछि प्रधानमन्त्री बन्ने पालो ओलीको थियो । एमालेका अध्यक्ष ओली पहिलो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्थ्यो । जति छिटो संविधान निर्माण हुन्छ, त्यति छिटो प्रधानमन्त्री बन्न पाइन्छ भनेर उहाँले कुनै अवरोध वा ढिलो सुस्तीको पक्षमा हुनुहुन्थेन । त्यही भएर उहाँले ओलीले भारतको विरोध गरेर आफूप्रति नेपाली जनताको सेन्टीमेन्ट तयार गरी हतार हतारमा संविाधन निर्माणमा लाग्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतकोे विरोध गर्न थालेपछि संविधान निर्माणमा खबरदारी गर्नेहरुको ध्यान पनि भारतको विरोधमा नै गयो । प्रधानमन्त्री ओलीले नेपाली जनताको ध्यान संविधान निर्माणभन्दा पनि भारततिर मोड्नमा सफल हुनुभएको थियो । मधेश आन्दोलनको कारण नाकाहरु अवरुद्ध थियो तर केपी शर्मा ओलीले त्यसको दोष भारतमाथि लगाउनु भएको थियो । मधेशी दलले नाका नाकामा आन्दोलन गरेको कारण नाकाबन्दी भएका थियो । त्यसमा भारतको सहयोग होला त्यो बेग्लै कुरा हो तर ओलीले भारतले नै नाकाबन्दी लगाएको भन्दै सबभन्दा बढी विरोध गर्ने काम गर्नुभएको थियो । भारतमाथि नेपाली जनता झन नकारात्मक भएको थियो । केपी शर्मा ओलीले यो कार्य बडो रणनीतिक ढंगबाट गर्नुभयो । मधेश आन्दोलनका कारण नाकाहरु अवरोध थियो । आन्दोलनका कारण भारतबाट आउनुपर्ने मालबाहक गाडीहरु आइरहेका थिएन । तर केपी शर्मा ओलीले यो भारतको कारणले भएको हो भनि जनतालाई उचाल्ने काम गर्नुभयो ।
प्रधानमन्त्रीका लागि भारतकै दोष
संविधान निर्माणपछि सुशिल कोइराला अर्थात काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन चाहेको थिएन । अरु दलहरुसँग समिकरण बनाएर अर्को नयाँ सरकार बनाउने पक्षमा हुनुहुन्थ्यो तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला । अध्यक्ष ओलीले त्यसको दोष पनि भारतलाई नै देखाउनु भएको थियो । उहाँले आफूलाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास भारतले गरिरहेको भनि खुब प्रचार गर्नुभएको थियो । भारतप्रति नेपालीमा घृणा फैलाउने काम उहाँले गर्नु भएको थियो । अन्ततः उहाँ प्रधानमन्त्री बन्नुभयो । त्यतिबेला नाकाबन्दी छदै थियो ।
उहाँले पेट्रोलियम पदार्थ ल्याउने भनि चीन सरकारसँग सम्झौता गर्नुभयो । चीनसँग त्यस्तो सम्झौता गर्दा प्रधानमन्त्री ओलीले त्यतिबेला निकै वाहवाही लिनुभएको थियो । तर चीनबाट एक थोपा पनि तेल ल्याउन सक्नु भएन । त्यो पनि उहाँको स्टन्ट नै थियो । चीनबाट तेल ल्याउन सकिदैन भन्ने कुरा उहाँलाई थाह थियो । उहाँले भारतलाई चाइलेन्ज गर्नुभएको थियो ।
आयल निगमका अधिकारीहरुले पनि प्रधानमन्त्री ओलीलाई पटक पटक यो कुराको जानकारी दिएका थिए । एक त चीनबाट तेल ल्याउन सकिदैन ल्याए पनि निकै महँगो हुन्छ जो नेपाली उपभोक्ताले त्यसलाई थेग्न सक्दैन । तर प्रधानमन्त्री ओलीलाई भारतलाई चाइलेन्ज गर्नु थियो, नेपाली जनताको मनमा भारतप्रति जहर घोल्नु थियो । र त्यसमा उहाँ सफल हुनुभयो ।
नाकाबन्दी हट्यो । उहाँ भारत भ्रमणमा पनि जानुभयो । तैपनि सम्बन्धमा सुधार आएन । भारतबाट फर्केपछि पनि उहाँले भारतको खेदो खन्नमा कुनै कसर बाँकी राख्नु भएन । भारतमाथि विभिन्न आरोपहरु लगाउनुभयो । त्यसैको नतिजा हो २०७४ को चुनावअघि माओवादी र एमाले बिच वामगठबन्धन बन्नु । त्यो गठबन्धन चीनको लगानी र सहयोगमा बनेको थियो भने कुरा । चुनावमा वामगठबन्धन दुई तिहाइ बहुमत ल्याएर जित्यो । चुनावमा अध्यक्ष ओलीले भारतकै विरोधमा बोल्नु भएको थियो । उहाँले जतिजति भारतको विरोध गर्दै जानुभयो त्यति त्यति वामगठबन्धनप्रति जनताको झुकाव बढ्दै गयो । चुनावपछि एमाले–माओवादीको एकता भयो र नेकपा बन्यो ।
२०७४ को चुनावपछि ओली नै प्रधानमन्त्री बन्नुभएको थियो । उहाँ प्रधानमन्त्री बनेपछि चीनले नेपालमा स्पेश पायो र भारतले निषेध । प्रधानमन्त्री ओलीले हरेक स्टेपमा भारतको विरोध गर्नुहुन्थ्यो । कालपानी, लिपुलेक, लिम्पुवाधुरा जो नेपाल–भारतको विवादीत भूमी हो । त्यसलाई समेटेर नेपालको नक्सा संशोधन गर्नुभयो । त्यसमा नेपालका सम्पूर्ण दलले साथ दिएका थिए । त्यसमा कसैले विमती जनाएका थिएन । हुँदा हुँदै उहाँले राम भारतमा होइन नेपालमा जन्मेको हो । ठोरीको अयोध्यापुरीमा रामको जन्म भएको हो भनेर त्यहाँ मन्दिर समेत बनाउन लगाउनु भयो । राम नै नेपालमा जन्मेको भनेपछि त ८० प्रतिशत हिन्दु रहेको नेपालका नेपालीहरु त अोलीको फ्यान नै भए ।
भारतलाई टक्कर दिने एक मात्र नेता ओली नै रहेको कुरा नेपाली जनताको दिमागमा राख्न उहाँ सफल हुनुभयो । त्यसपछि ओलीले जे हुँदा भारतको दोष देखाएर उम्किनु हुन्थ्यो । उहाँले दुई दुई पटक संसद विघटन गर्नुभयो । त्यसमा पनि उहाँले भारतलाई नै दोष देखाउनु भएको थियो । नेपालमा अन्तराष्ट्रिय चेलखेल भइरहेको छ, गणतन्त्रमाथि खतरा छ, नयाँ जनादेशका लागि भन्दै उहाँले संसद विघटन गर्नुभएको थियो । त्यसपछि माओवादी, काँग्रेस, जसपा नेपालले त्यसको विरुद्ध आन्दोलन गरेर उहाँलाई अपदस्थ गरे ।
ओलीले त्यसमा पनि भारतलाई नै दोष देखाउनु भयो । भारतले नै प्रधानमन्त्रीबाट हटाएको कुरा उहाँले दोहोर्याई तेहराइ भन्नुभयो । त्यसले उहाँले जनतामा भारतप्रति नाकारात्मक धारणा बसाउन सफल हुनुभयो । नेपालमा जेजति खेल भइरहेका छन् भारतले नै गराई रहेको भनि भ्रम फैलाउने काम उहाँले पटक पटक गर्नुभएको थियो । चुनाव आउन लाग्दा उहाँले झन भारतको विरोधमा उत्रिनुभयो । त्यसैको नतिजा हो २०७९ को चुनावमा उहाँ ठूलो शक्ति भएर उदय हुनुभयो । चुनाव एक्लै लडेपनि राम्रो मत ल्याउन सफल हुनुभयो ।
उहाँलाई जति पनि मत आएका थिए सबै भारत विरोधका कारणले आएको थियो । उहाँले आफूलाई राष्ट्रवादी नेताको रुपमा उभ्याउनु भएको थियो । नेपाली जनताले पनि उहाँलाई राष्ट्रवादी नेता भन्न थालेको थियो । ओलीले चुनावमा चुच्चे नक्सा, नाकाबन्दी बेचेर मत खरिद गर्नुभयो । ठूलो शक्तिको पार्टी बनाउनु भयो । तर प्रधानमन्त्री बन्नु भएन । काँग्रेस–माओवादी गठबन्धनको सरकार लामो समय रह्यो । त्यो सरकार भारतले बनाएको भनि ओलीले पटक पटक आरोप लगाउनु भएको थियो । काँग्रेस–माओवादी गठबन्धन नै भारतले बनाएको कुरा उहाँले खुलम खुल्ला भनिरहनु भएको थियो । पछिल्लो समय काँग्रेस–एमालेको गठबन्धन बन्यो । यो गठबन्धन अमेरिकाले बनाएको हो तर त्यो कुरा ओलीले स्विकार गर्नुभएको छैन । यो कुरा उहाँ मान्न तयार हुनुहुन्न ।
तर उहाँ अहिले फेरि भारतको विरोध गर्न थाल्नु भएको छ । इपिजी प्रतिवेदन सार्वजनिक गर्न भारतलाई दबाब दिन थाल्नुभएको छ । नेपाल–भारत बिच रहेको समस्या समाधान गर्न उहाँले दबाब दिन थाल्नुभएको छ । नेपाली जनतामा भारत विरोध भावना जागृत गरेर जहिले पनि ओली शक्तिशाली नेताको रुपमा आफूलाई राख्न चाहनु भएको छ । उहाँका लागि यो एउटा फण्डा नै बनिसकेको छ । तर उहाँले भारतसँग संवादको लागि कहिले पहल गर्नुभएन ।
नेपाल–भारत बिच देखिएको सानोतिनो समस्या दुई देशको बिचमा संवाद गरेर समाधान गर्न सकिन्छ यो कुनै ठूलो कुरा होइन तर प्रधानमन्त्री ओलीबाट यो कुराको लागि पहल गरेको कहिले देखिएन । नेपाल–भारत बिचको समस्या समाधान भयो भने सबभन्दा बढी घाटा ओलीलाई हुन्छ । त्यसपछि राजनीति गर्ने एजेण्डा नै हुँदैन उहाँसँग । उहाँले थाह पाइसक्नु भएको छ कि नेपालमा भारतको जति विरोध गर्यो नेपाली जनता त्यति नै खुशी हुन्छ र उहाँले त्यही गरिरहनु भएको छ । उहाँले भारतको जति विरोध गर्नुहुन्छ त्यसको २५ प्रतिशत पनि समाधानका लागि काम गरेको भएको आज यो समस्या आउने थिएन ।
तपाईको प्रतिक्रिया