Khadya Bibhag

साइन्स पढेर डाक्टर बन्ने सोच बनाउनु भएका प्रियंका यसरी बन्नुभयो पत्रकार

जीवनमा सबै कुरा सोचे जस्तो हुँदैन । लिएका सबै लक्ष्य पुरा हुँदैन । कहिले काही हिडि रहेको बाटो बिचैबाट मोडिन्छ । र अर्को यात्रा तय हुन्छ । हो त्यस्तै भएको प्रियंका पाण्डेको जीवनमा । ३९ वर्षीय प्रियंका पाण्डेले डाक्टर बन्छु भनि लक्ष्य लिएर एसएलसीपछि साइन्स पढ्नु भएको थियो । तर परस्थितिले उहाँलाई पत्रकार बनाइ दियो । एमबीबीएस डाक्टर बन्न नसकेपछि एचएसम्म पनि पढौं भनेर उहाँले त्यसको लागि फर्म पनि भर्नु भएको थियो तर परस्थितिले अर्कैतिर डोर्याई दियो ।
घरमा एकपटक उहाँका बुबा (प्रेमलाल पाण्ड)ले छोरा र छोरीमध्ये एक जनालाई डाक्टरी पढाउछु को पढ्ने भनि सोध्नु भएको थियो । प्रियंका घरका जेठी छोरी हुनुहुन्छ । उहाँले भाइलाई पढाई दिनुस् भनि बुबालाई भन्नुभएको थियो । सायद आर्थिक अवस्थाका कारण उहाँका बुबाले दुईटै छोराछोरीलाई डाक्टर पढाउन सक्ने अवस्थामा हुनुहुन्थेन । एक जनालाई मात्र पढाउने भनेपछि प्रियंकाले आफ्नो भाइलाई रोज्नुभयो । जब कि उहाँलाई स्वयं डाक्टर बन्ने इच्छा थियो ।
भाइलाई डाक्टर बनाउने भएपछि उहाँका आमाबुबाले प्रियंकालाई शिक्षिका बनाउने सोच बनाउनु भएको थियो । तर प्रियंका जसरी पनि स्वास्थ्यतिर नै जाने सोचले एचए पढौं भन्ने लागेको थियो । तर उहाँका आमाबुवाले बीएड पढ्न भन्नुभएको थियो । तर न उहाँका आमाबुबाको सोच पुरा भयो न प्रियंकाको । उहाँ पत्रकार बन्नुभयो । प्रियंका रेडियो, टिभी, पत्रिकालगायतमा काम गरिसक्नु भएको छ । एक समय रेडियो र टिभीका चर्चित आरजे तथा पत्रकार हुनुहुन्थ्यो उहाँ । उहाँको कार्यक्रमको चौतर्फी चर्चा हुन्थ्यो । वीरगञ्जदेखि काठमाडौँसम्म पत्रकारिताको क्षेत्रमा आफ्नो छाप छाड्न सफल हुनु भएका प्रियंका अहिले त्यस क्षेत्रमा सक्रिय हुनुहुन्न । उहाँको बाटो बिचैमा मोडिएको छ ।

मोडियो पत्रकारितातिर
बारा, कलैया भोरहा–२१ का प्रियंका पाण्डे समकालिन पत्रकारिता क्षेत्रमा तराई मधेश तथा मधेशी समुदायमा उहाँको कर्णप्रिय स्वर नसुन्ने सायदै नहोला । प्रियंकालाई चिन्नै नै पत्रिकारिता क्षेत्रबाट हो । डाक्टर बन्ने सपना देख्नु भएका प्रियंका आफ्नो पहिचान सोही क्षेत्रबाट बनाउनु भयो । तर उहाँ यो क्षेत्रमा आउनुको पनि रोचक कहानी छ । डाक्टरी पढ्ने इच्छा पाल्नु भएका प्रियंकाले २०५९ मा एसएलसी पास गरेर साइन्स पढ्नुभयो ।
डिभाइन कस्मो पोलिटन हाइयर सेकेण्ड्री बोर्डिङ स्कूलबाट आइएससी पास गर्नुभयो । डाक्टर पढ्छु भनेर आइएससी पढ्नु भएका प्रियंकाका आमा पुनम पाण्डे र बुवा प्रेमलाल पाण्डेले उहाँलाई शिक्षिका बनाउन चाहनु भएको थियो । प्रियंकाका आमा बुवा पनि शिक्षक–शिक्षिका हुनुहुन्छ । त्यही भएर छोरीलाई पनि शिक्षिका बनाउन चाहनु भएको थियो । प्रियंका प्लस टुमा साइन्स पढ्नु भयो अब बीएससी पढ्नुपर्छ भनि सोच बनाएर बस्नु भएको थियो । तर उहाँका आमा–बुवाले शिक्षिका बनाउनका लागि बीएड पढ्न भन्नुभयो ।
अन्ततः उहाँले आमा बुबाको कुरा काट्न सक्नु भएन । प्रियंकालाई साइन्ससँग यस्तो लगाव भइसकेको थियो कि बीएडमा पनि उहाँले केमेस्ट्री विषय लिएर पढ्नु भयो ।
बीएड पढ्नका लागि उहाँ वीरगञ्जको ठाकुरराम क्याम्पस जानुभयो । उहाँको बुबाले ठाकुरराम क्याम्पसमा पढाउन चाहनु भएको थिएन । प्रियंकालाई कलैयाकै कुनै कलेजमा बीएड पढाउने चाहना उहाँको थियो । तर प्रियंका जिद्दी गरेर ठाकुर राम क्याम्पसमा पढ्न थाल्नुभयो । ‘छोरालाई डाक्टर पढ्नका लागि चीन पठाउनु भयो, मलाई वीरगञ्जसम्म पनि जान दिनुहुन्न’ भन्ने कुरा उहाँले आफ्नो बुबालाई भन्नुभएको थियो । प्रियंका वीरगञ्जको ठाकुरराम क्याम्पसमा पढ्न जान पाउनुभयो । केही समय त उहाँ घरबाटै आउजाउ गर्नुभयो तर सधै त्यस्तो नहुने भएपछि उहाँ त्यहीको होस्टलमा बसेर पढ्न थाल्नुभयो ।
पत्रकारितातिरको यात्रा
एकदिन होस्टलको पर्खालमा टाँसिएको उद्घोषक तालिमको विज्ञापनमा प्रियंकाको नजर गयो । टिभी, रेडियोमा बोल्ने रहर सानैदेखि पाल्नु भएका प्रियंका साथीहरुसँग सल्लाह गरेर तालिमका लागि फर्म भर्नुभयो । त्यसमा सहभागी पनि हुनुभयो । बीएड फस्ट इयरमा अध्ययन गरिरहनु भएका प्रियंका १५ दिनसम्म तालिम लिनुभयो । तर यो कुराको जानकारी घरमा थिएन । यसरी भनौं, तालिमको बारेमा घरमा जानकारी गराउने सोच थिएन प्रियंकाको । यदि घरमा भनेको भए त्यसका लागि इजाजत पाउनु हुन्थेन भने कुरा प्रियंकालाई थाह थियो । प्रियंका भन्नुहुन्छ, ‘मलाई सानैदेखि रेडियो सुन्ने, टिभी हेर्ने, पत्रपत्रिका पढ्ने बानी थियो । कक्षा ८ मा पढ्दा रेडियो, टिभीमा पत्र पठाउने, फोन गर्ने पनि गर्थे । त्यसरी गर्दा गर्दै रेडियो स्रोता क्लवका सदस्य भइसकेको थिए ।’
रेडियो वा टिभीमा आफ्नो नाम सुन्दा रोमाञ्चित हुन्थे, खुशी हुन्थे, पत्रिकामा आफ्नो कविता छापिदा झन खुशीको सीमा नै हुँदैन्थ्यो, उहाँ भन्नुहुन्छ, ‘मेरो घरमा पत्रकार विरेन्द्र साह (माओवादीबाट हत्या भएको) डेरा लिएर बस्नु हुन्थ्यो उहाँले जतिखेर पनि कविता, कथा, निबन्ध लेख्न उत्प्रेरित गर्नुहुन्थ्यो । लेखेर दिन्थे पनि र त्यो बालकविता तथा निबन्धहरु पत्रिकामा छापिन्थ्यो ।’ यी गतिविधिले गर्दा प्रियंका मिडिया निकट हुनुहुन्थ्यो तर पत्रकार नै बन्छु भनि सोच उहाँको थिएन ।
तालिममा पनि फस्र्ट
१५ दिन तालिम भएको थियो । त्यसमा परीक्षा हुँदा उहाँ फस्र्ट हुनुभएको थियो । त्यसको समाचार त्यहाँका स्थानीय सञ्चारमाध्यममा आएपछि मात्र प्रियंकाका आमा बुवाले थाह पाउनु भएको थियो । प्रियंकाका बुबा त्यसमा खुश हुनुहुन्थेन । छोरीलाई शिक्षिका बनाउने चाहना थियो तर छोरी अरु अरुमा ध्यान दिन थालेको प्रति चिन्तित हुनुहुन्थ्यो उहाँ ।

उद्घोषक तालिममा उत्कृष्ट गरेपछि त्यहाँको गढीमाइ एफएमबाट कामको अफर आयो । प्रियंकाका लागि यो खुशीको कुरा थियो । यस्तो उहाँले सोच्नु नै भएको थिएन । यसो कहिले काही मञ्चमा बोल्नका लागि चाहिन्छ भनेर उद्घोषकको तालिम लिनु भएको थियो । तर तालिम पछि एफएमले खुद कामको लागि अफर गरेपछि प्रियंकाका लागि सरप्राइज थियो । तर यसका लागि पनि उहाँका बुबा तयार हुनु हुन्थेन । चुपचाप पढाई सकाउ, यो एफएम सेफएममा काम गर्नुपर्दैन भन्दै बुबाले प्रियंकालाई रोक्नुभएको थियो तर उहाँको आमा पोजेटिभ हुनुहुन्थ्यो । प्रियंकालाई आमाले साथ दिनुभयो । बुबालाई पनि कन्भिन्स गर्नुभयो अनि त्यसपछि मात्र एफएममा काम गर्न पाउनुभयो ।
एफएममा भोजपुरी भाषामा ‘बोर्डर पार’ कार्यक्रम चलाउनु हुन्थ्यो । प्रियंका र भुपेन्द्र चौधरीले चलाउने त्यो कार्यक्रम निकै चर्चित भयो । त्यही कार्यक्रमले प्रियंका पनि रातारात सेलिब्रेटी हुनुभयो । नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पनि प्रियंका परिचित हुनुभयो । एफएममा उहाँ भोजपुरी तथा नेपाली समाचार पनि वाचन गर्नुहुन्थ्यो । बोल्ने तालिम मात्र लिनु भएका प्रियंकाले त्यहाँ समाचार कसरी लेख्ने, कसरी छनौट गर्ने त्यो पनि सिक्नुभयो । त्यसमा सत्रुघन नेपालले प्रियंकालाई सघाउनु भएको थियो । प्रियंका भन्नुहुन्छ, ‘सत्रुघन नेपाल सरले समाचार लेख्ने मात्र होइन पत्रकारिताको धेरै कुरा सिकाउनु भयो पत्रकारिता क्षेत्रमा उहाँलाई मैले गुरु नै मान्छु ।’
बीएडमा अध्ययनरत प्रियंका पत्रकारितामा रमाउन थाल्नुभयो । विभिन्न तालिमहरुमा सहभागि हुन थाल्नुभयो । तालिमका लागि काठमाडौँसम्म जान थाल्नुभयो । वीरगञ्ज वरपर हुने कार्यक्रममा प्रियंकालाई उद्घोषिका रुपमा मान्छेहरुले बोलाउन थाले । समाजमा उहाँको मान सम्मान पनि बढ्न थाल्यो ।
यसले गर्दा उहाँको पढाइमा पनि डिस्टर्ब हुन थाल्यो । त्यति नै बेला अर्थात २०६४ तिर नेपाल वान टेलिभिजनमा विज्ञापन निस्केको थियो । प्रियंकाले त्यसमा पनि भर्नुभयो । उहाँ त्यसमा पनि छनौट हुनुभयो । अब त वीरगञ्ज छाडेर काठमाडौँ जानुपर्ने अवस्था आयो । तर प्रियंकाका लागि सजिलो थिएन । घरले इजाजत दिन्छ कि दिँदैन भनि चिन्ता उहाँलाई थियो । बुबा मानिरहनु भएको थिएन, तर प्रियंकाका आमाले भन्नुभएको थियो, ‘छोरीले यस्तो अवसर पाउनु भएको छ, यसबाट पछाडि फर्काउनु हुँदैन, केही हुँदैन जान दिनुपर्छ ।’ आमाले पनि जोड दिएपछि बुबा पनि प्रियंकालाई काठमाडौँ पठाउन तयार हुनुभएको थियो ।
प्रियंका भन्नुहुन्छ, ‘बुबा मलाई हरेक कुरामा अब्जेक्सन गर्नुहुन्थ्यो रोक्नु हुन्थ्यो भन्नुका अर्थ मलाई माया गर्नुहुन्थेन, हेला गर्नुहुन्थ्यो भने होइन बुबाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । त्यहीं मायाका कारण मेरो समाजिक सुरक्षाप्रति चिन्तित भएर मलाई त्यसरी रोक्नु हुन्थ्यो ।’ समाजमा छोरीप्रतिको हेर्ने दृष्टिकोण राम्रो छैन, त्यसबाट जोगाउनका लागि बुबाहरु चिन्तित हुन्छ र यहाँ नजाउ त्यहाँ नजाउ भनि रोकिरहेका हुन्छन् र आमा बुबाबा लागि त्यो स्वभाविक पनि हो ।
काठमाडौँको पत्रकारिता
वीरगञ्जबाट जागिरका लागि काठमाडौँ आउनु भएका प्रियंका त्यहीं दिन नाइट बसबाट झरेर तीनकुने स्थित नेपाल वानको कार्यालयमा जानु भयो । प्रियंका जुन दिन काठमाडौँ आउनु भयो त्यो दिन नेपाल बन्द थियो । कंलकीको एउटा कुन गल्लीमा प्रियंकालाई बसले झारेको थियो । त्यहाँ दुई घण्टासम्म पर्खिनु भयो । कसरी जाने भनि चिन्ता उहाँलाई थियो । पछि त्यहाँबाट एक जनासँग लिफ्ट लिएर बानेश्वरसम्म आएर नेपाल वानको कार्यालयमा उहाँ पुग्नुभएका थियो । नेपाल वानमा अभास लाभसँग प्रियंकाको भेट भएको थियो । अभास लाभ नेपाल वानमा मधेश स्पेशल कार्यक्रम चलाउनु हुनुहुन्थ्यो । प्रियंका नेपाल वानमा काम गर्ने हुनुभयो । त्यसपछि प्रियंका आफ्नो मामाको घरमा बसेर आफ्नो पत्रकारिताको यात्रालाई अगाडि बढाउनु भयो ।
प्रियंकाले नेपाल वानमा तराई वान कार्यक्रम अन्तर्गत भोजपुरी भाषाको कार्यक्रम चलाउनु हुन्थ्यो । प्रियंका नेपाल वान टेलिभिजनमा काम सुरु गरेको बेला बीएडको फाइनल दिइसक्नु भएको थियो । पढाईको साथै पत्रकारितामा लागेको कारण बीएड पास गर्न केही समय लागेको थियो उहाँलाई । पत्रकारितामा लागेपछि अरु कुराका लागि कहिले पछाडि फर्केर हेर्नुभएन । नेपाल वान टेलिभिजनमा काम गरिरहेकै बेला उहाँ मधेशवाणी पत्रिका, कम्युनिकेशन कर्नर एफएम, रेडियो नेपालमा पनि काम गर्न थाल्नु भएको थियो ।
नेपाल वानमा २ वर्षसम्म काम गर्नुभयो । त्यसपछि उहाँ तराई टेलिभजनमा जानुभयो । विष्णु अधिकारी जो नेपाल वानमा क्यामरातिरको प्रमुख हुनुहुन्थ्यो । उहाँ तराई टेलिभिजनमा गइसक्नु भएको थियो । उहाँले नै प्रियंकालाई नेपाल वानबाट तराई टेलिभिजनमा तान्नुभएको थियो । नेपाल वान टिभीभन्दा तराई टेलिभिजनमा सेवा सुविधा राम्रो दिएको थियो । तराई टेलिभिजनमा पनि हेलो तराई प्रोग्राम चलाउनु हुन्थ्यो । त्यतिबेला त्यो निकै चर्चित प्रोग्राम थियो । तराई टेलिभिजनमा काम गर्दै उहाँ हेडलाइन्स एण्ड म्युजिक एफएममा काम पनि सुरु गर्नुभयो । पत्रकार गोपाल झाले उहाँलाई सो एफएममा बोलाउनु भएको थियो । त्यहाँ पनि उहाँले भोजपुरी कार्यक्रम चलाउनु हुन्थ्यो । यसरी विभिन्न टेलिभिजन, एफएमहरुमा उहाँले भोजपुरी कार्यक्रम चलाउँदै पत्रकारितमा सक्रिय रहनु भयो । तराई टेलिभिजन बन्द भयो । सो टेलिभिजनमा उहाँले ५–६ वर्ष काम गर्नुभएको थियो ।
काठमाडौँमा काम गर्ने मधेशी पत्रकारहरुले मधेशी पत्रकार संघ गठन गर्दा त्यसमा प्रियंका कोषाध्यक्ष हुनुहुन्थ्यो । संघमा पनि उहाँ सक्रिय भएर काम गर्नुभयो । पत्रकारहरुको सामाजिक संस्था भए पनि प्रियंका पुरै सक्रियताका साथ त्यसमा लाग्नु भएको थियो । यो पत्रकारिताको दौडधुपका साथै उहाँले विस्तारै बीएड पनि सकाइ सक्नुभएको थियो ।
चाइनामा जागिर
साइन्स पढ्नमा रुची राख्ने प्रियंकाले बीएडमा कमेस्ट्री लिएर पढनु भएको थियो । त्यो पनि काम लाग्यो । शिक्षिका बन्नका लागि बीएड पढ्नु भएका प्रियंकाका लागि चाइनाबाट जागिरका लागि अवसर आएको थियो । एमबीबीएसको सेकेण्ड समेस्टरमा विदेशी विज्ञले अध्यापन गराउने भनि चीनबाट विज्ञापन भएको थियो । चीनमा प्रियंकाका भाइ पनि अध्ययनरत हुनुहुन्थ्यो । उहाँले प्रियंकालाई सोधेर सो विज्ञापन भर्नुभएको थियो । तीन जनाको सर्ट लिस्टमा प्रियंकाको नाम पनि निस्कियो । तीन जनाको बिचमा अनलाइन इन्टरभ्यु भएको थियो । इन्टरभ्युबाट उहाँ त्यसमा सेलेक्सन हुनुभयो । त्यसपछि बल्ल आमाबुबाको सपना साकार भएको थियो ।
आमा बुवाले प्रियंकालाई शिक्षिका बनाउन चाहनु भएको थियो । प्रियंका चीनको कलेजमा पढाउन जाने भएपछि घरमा सबै खुशी थिए । उहाँको बुबा झन खुशी हुनुहुन्थ्यो । चीनमा विदेशी विज्ञ शिक्षकको रुपमा उहाँले ६ महिनासम्म पढाउनुभयो । उहाँको जागिरको म्याद थप्न सकिन्थ्यो । त्यसका लागि कुराकानी भइरहेको थियो तर नेपालमा भुकम्प आएको कारण उहाँ फर्किनु भएको थियो ।
भुकम्पका कारण प्रियंका विदामा नेपाल फर्किनु भएको थियो । त्यहीबेला प्रियंका बच्चा पाउने पनि हुनुभयो । मधेश आन्दोलन पनि चलिरहेको थियो । प्रियंकाका श्रीमान पंकज दास मधेश आन्दोलनमा व्यस्त हुनुभयो । त्यसपछि प्रियंका चीन फर्किनु भएन । प्रियंका भन्नुहुन्छ, ‘पढाउने जागिर छोटो अवधिका लागि मात्र थियो, म्याद थप्ने कुरा पनि थियो तर म विदामा आएपछि फर्केर गइनन् ।’ नाकाबन्दी चलिरहेको कारण प्रियंकालाई काठमाडौँमा निकै गाह्रो भइरहेको थियो । पेटमा बच्चा थियो, ग्यास तथा अन्य खद्यान्न पाउन समस्या हुन थालेपछि उहाँ कति दिन भौकै बस्नु भएको थियो । चाउचाउ, विस्कुट खाएर दिन काटनु हुन्थ्यो ।
प्रियंका भन्नुहुन्छ, ‘पिडा सहन नसकेपछि एकदिन मैले रुदै पंकजजीलाई फोन गरेर भने तपाई जहाँ हुनुहुन्छ मलाई पनि त्यही लग्नुस् म यहाँ एक्लै बस्न सक्दिन, निकै गाह्रो भइरहेको छ ।’ पछि एक जना मन्त्रीको गाडीमा चढेर प्रियंका वीरगञ्ज पुग्नुभयो । वीरगञ्जमा मधेश आन्दोलन चलिरहेको थियो । सीमा नाकामा मधेशवादी नेताहरु आन्दोलन गरिरहेका थिए । प्रियंका त्यसमा सहभागी हुन थाल्नुभयो । उहाँ पनि नाकामा गएर बसेर आन्दोलनमा सहभागी हुनुभयो ।
भारतको अहमदावादमा प्रियंकाको बच्चा जन्मियो । दुई अढाइ महिना उहाँ उतै भारतमा आफन्त कहाँ बस्नुभयो । काठमाडौँ फर्केपछि गृहणी जस्तै घरमै बस्न थाल्नुभयो । बच्चाको स्यहार सुसारमै दिन बित्न थाल्यो उहाँको । प्रियंकाका कनिष्का आर्यन र अनिका आर्यन गरी दुई जना छोराछोरी छन् । अहिले उहाँको दिनचार्या छोरीछोरीको स्यहारमा नै बितेको छ ।

सक्रिय पत्रकारिता छाडे पनि त्यसबाट अलग हुनुभएको छैन उहाँ । नेपाल प्रज्ञा प्रष्ष्ठिानबाट प्रकाशित हुने भोजपुरी पत्रिकाको सम्पादक मण्डलमा हुनुहुन्छ उहाँ । हाँस्य टेलिशृङ्खला ‘खेलाडी’ मा पनि उहाँले अभिनय गर्नुभएको छ । नौ एपिसोडसम्म प्रसारण भएको छ । अर्कोतिर आफ्नो भाइसँग मिलेर कलैयामा ए प्लस अस्पताल ट्रमा सेन्टर पनि खोल्नु भएको छ । त्यसमा व्यवस्थापकीय जिम्मेवारीमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरा अहिले दुई जना साना साना बच्चा छन्, उनीहरुको स्याहारमा नै फुल टाइम दिएको छु । बच्चाहरु स्कूल गएको बेला सानातिना कामहरु गर्छु तर अहिले फुल टाइम घरलाई नै दिन्छु ।’
प्रियंकाको राजनीति
प्रियंका भन्नुहुन्छ, ‘म आउने दिनमा राजनीतिमा नै सक्रिय हुुन्छु म राजनीतिभन्दा टाढा रहन सक्दिन जस्तो लाग्छ । अहिले केही समय पारिवारलाई समय दिइरहेको छु तर अन्ततः गर्ने राजनीति नै हो ।’ प्रियंका पाण्डे तत्कालिन सद्भावना पाटी र त्यसपछि गणतान्त्रि फोरमबाट संविधानसभाका लागि समानुपातिक उम्मेदवार पनि बन्नुभएको थियो । तर त्यतिबेला उहाँको नाम छनौट भएन । उहाँको राजनीतिक सुरुवात मधेशी जनअधिकार फोरमबाट भएको हो । मधेश आन्दोलन सुरु हुँदा प्रियंका पाण्डे वीरगञ्जको ठाकुरराम क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो । फोरमले माइतीघरमा अन्तरिम संविधान जलाउँदा तत्कालिन फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु पक्राउ परेका थिए । त्यसले गर्दा मधेशभर आन्दोलन सुरु भएको थियो । प्रियंका पाण्डेहरुले पनि वीरगञ्जमा विद्यार्थीको तर्फबाट आन्दोलन गर्नुभएको थियो ।

टाउकोमा कालोपटी बाँधेर वीरगञ्जको घण्टाघरमा भाषण दिनु भएको प्रियंकालाई अहिले पनि झलझली याद छ । त्यतिबेला विद्यार्थी नेताको रुपमा प्रियंका वीरगञ्जमा चर्चित भइसक्नुभएको थियो । उहाँको क्रान्तकारी भाषणलाई धेरैले तारिफ गर्थे । ठाकुर राम क्याम्पसमा पहिलो पटक विद्यार्थी फोरम संगठन बनाउने काम प्रियंकाले नै गर्नुभएको थियो । नेतृत्वमा प्रियंका नै हुनुहुन्थ्यो । विद्यार्थीमा सक्रिय राजनीति गर्नुहुन्थ्यो उहाँ ।
पछि पत्रकारितामा जानुभयो । काठमाडौँमा आएपछि राजनीतिमा उहाँ निस्कृय हुनुभयो । कहिले काही कार्यक्रमहरुमा जानु हुन्थ्यो तर सक्रिय पोल्टिक्सबाट टाढिनु भएको थियो । अधिकाँश समय उहाँ पत्रकारितालाई नै दिन थाल्नुभयो । फोरम पार्टी पनि टुक्रा टुक्रा भएपछि प्रियंका पनि पूर्णरुपमा नै राजनीतिबाट अलग हुनुभएको थियो । प्रियंका फोरम पार्टीमा युवा फोरमसम्म पुग्नु भएको थियो । अहिले उहाँ कुनै पार्टीमा हुनुहुन्न । तर आउने दिनमा सक्रिय राजनीति गर्ने सोच प्रियंकाको रहेको छ ।

तपाईको प्रतिक्रिया