भारतीय सङ्गीतको दुनियाँ सधैं नै विविधता, भावना र परम्पराहरूले भरिपूर्ण रहेको छ । यस दुनियाँमा यस्ता धेरै गायिकाहरू उदाएका छन्, जसले आफ्नो मधुर आवाज र सङ्गीतको माध्यमबाट भारतीय सङ्गीतलाई उचाइमा पु¥याएका छन् । यी कलाकार र गायिकाहरूले श्रोताहरूको हृदयमा मात्र ठाउँ बनाएनन्, बरु आफ्नो कलाको माध्यमबाट भारतीय सङ्गीतलाई भारतको साथसाथै विश्वव्यापी स्तरमा पनि पहिचान दिलाएका छन् ।
यस्तै एक प्रसिद्ध भारतीय पाश्र्व गायिका थिइन् आशा भोसले, जसले आफ्नो मधुर आवाजको माध्यमबाट करोडौंको हृदयमा आफ्नो ठाउँ बनाइन् । यसका साथै, उनले गाएका सदाबहार गीतहरू आज हरेक मानिसको रोजाइमा पर्छन् । हरेक मानिसले दुखमा पनि सुखमा पनि ती गीतहरु गुनगुनाउन गरेका छन् ।
उनको गायन क्षमता ती गीतहरूमा झल्किन्छ, जसले मानवीय भावनाहरूका विभिन्न पक्षहरूलाई अगाडि ल्याउँछन् । उनले धेरै प्रकारका गीतहरू गाइन्; जस्तै क्लाशिकल गीत ‘दम मारो दम’ को जोसिलो धुन र गजल ‘दिल चीज क्या है’ आदिलाई भावपूर्ण गहिराइका साथ अहिलेका जनरेशनले पनि सुन्छ । यसका साथै काबेरी शैलीमा रहेको उनको एक गीत ‘पिया तू अब तो आजा’ मा एक महिलाको आफ्नो इच्छा पनि झल्किन्छ । यद्यपि भारतीय समाजमा अक्सर महिलाहरूलाई आफ्ना भावनाहरू र विशेष गरी आफ्नो यौन इच्छा खुलेर व्यक्त गर्ने स्वतन्त्रता दिइँदैन ।
यस्तो अवस्थामा यो गीतले त्यो सोचलाई अलिकति तोडेको देखिन्छ । उनको समयमा धेरै कम गायिकाहरू थिए जसले फरक–फरक प्रकारका गीतहरू गाउन सक्थे । तर उनका नयाँ प्रयोग गर्ने प्रयासहरूले बलिउडमा महिलाहरूको अभिव्यक्ति स्वतन्त्रतालाई एउटा नयाँ रूप दिन सफल भयो ।
प्रारम्भिक जीवन र स्वरको यात्रा
ब्रिटानिकामा छापिएको एक लेखका अनुसार, आशा भोसलेको जन्म ८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रको एउटा परम्परागत मराठी परिवारमा भएको थियो । उनका बुबा, दीनानाथ मंगेशकर, एक प्रसिद्ध मराठी रङ्गमञ्च कलाकार र शास्त्रीय गायक थिए, जसले उनलाई सानै उमेरदेखि शास्त्रीय सङ्गीतको प्रशिक्षण दिए । आशा जम्मा ९ वर्षकी हुँदा उनका बुबाको मृत्यु भयो । त्यसपछि उनको परिवार पुणेबाट कोल्हापुर र त्यसपछि मुम्बई आयो । आशा बाहेक उनका चार दाजुभाइ–दिदीबहिनी थिए र उनका सबै दाजुभाइ–दिदीबहिनीले सङ्गीत र चलचित्र क्षेत्रमा आफ्नो विशेष योगदान दिएका छन् ।

परिवारलाई सहयोग गर्न आशा र उनकी दिदी लता मंगेशकरले गायन र चलचित्रहरूमा अभिनय गर्न सुरु गरे । सन् १९४३ मा उनले आफ्नो पहिलो मराठी चलचित्र ‘माझा बाकक’ मा गीत गाइन् । त्यसपछि सन् १९४८ मा उनले हिन्दी चलचित्र ‘चुनरिया’ को लागि सावन आया….’ गीत पनि गाइन्, जसमा हंसराज बहलले सङ्गीत दिएका थिए । बिस्तारै उनी दक्षिण एसियाकै एक प्रसिद्ध गायिका बनिन् । चलचित्र सङ्गीत, पप, गजल, भजन, भारतीय शास्त्रीय सङ्गीत, क्षेत्रीय गीत, कवाली, सङ्गीत र नजरुल गीत उनका गायनमा समावेश छन् । ्
उनले नेपालसहित १४ भन्दा बढी भाषाहरूमा गीत गाइन् जस्तैः मराठी, असामी, हिन्दी, उर्दू, तेलुगु, बङ्गाली, गुजराती, पञ्जाबी, भोजपुरी, तमिल, अङ्ग्रेजी, रसियन, चेक, नेपाली, मलय र मलायलम आदि । यसका साथै उनले १२ हजार भन्दा बढी गीतहरूमा आवाज दिइन् । यसका साथै महान गायक किशोर कुमार आशाका सबैभन्दा मनपर्ने गायक थिए ।
सङ्घर्षदेखि सफलतासम्मको यात्रा
आशा १६ वर्षकी हुँदा उनले परिवारको इच्छा विरुद्ध गणपतराव भोसलेसँग विवाह गरिन् । गणपत रावको उमेर आशाभन्दा लगभग दोब्बर नै थियो । गणपत राव लाता मगेंश्करका स्वकीय सचिवको रुपमा काम गर्थे । यो विवाहलाई उनको परिवारले स्विकार गरेका थिएनन् । खासगरि उनका दिदी लाताले पुरै अस्विकार गरेकी थिइन् र आशामाथि खुब रिसाएकी थिइन् । लामो समयसम्म उनीहरुको बोलचाल पनि भएन यही घटनाका कारण ।
यस घटनापछि मंगेशकर परिवारले उनलाई घरबाट निकालिदियो । दुई सन्तान र तेस्रो सन्तान गर्भमा बोकेकी अवस्थामा उनी घर फर्किन बाध्य भइन् । तैपनि उनको जीवन सहज भएन । घरमा आशालाई दुख दिने, कुटपिट गर्ने जस्ता काम हुन्थ्यो । आशालाई काम गर्न सहज थिएन । गणपत रावले समेत आशालाई काम गर्न दिइरहेको थिएनन् । घरमा उनी मानसिक तथा शारिरीक हिंसाका शिकार हुन्थिन् । उनको वैवाहिक जीवन समस्याहरूले भरिएको थियो; उनले हिंसाको सामना गर्नुप¥यो र सन् १९६० मा उनीहरूको सम्बन्धविच्छेद भयो । आशाका तीन सन्तान थिए, छोरा हेमन्त भोसले, छोरी वर्षा भोसले, र कान्छा छोरा आनन्द भोसले ।
तर घरायसी हिंसा सहन नसकेपछि उनी गणपत रावको घर छाडेर ११ वषैपछि आफ्नी आमाको घर फर्किइन् । सन् १९६६ मा गणपत रावको निधन भएपछि आशाले सन् १९८० मा भारतीय गायक तथा सङ्गीत निर्देशक आर.डी. बर्मनसँग विवाह गरिन् । आरडी वर्मन आशाभन्दा ६ वर्ष कान्छो थिए । उनीहरुको बिचमा प्रेम विवाह नै भएको थियो । आरडी वर्मनको पनि आशासँग दोस्रो विवाह थियो । पहिलो श्रीमतीसँग उनको पनि सम्बन्धविच्छेद भइसकेको थियो ।
हुन त सुरुमा आरडी वर्मनका आमाले आशासँग विवाहको लागि मञ्जुरी दिइरहेका थिइनन् तर आरडीको जिद्धको कारण आशासँग विहे भयो । आशा र आरडीको विवाह सुखद् रह्यो । गीत, संगितमा एकअर्काका सहयोगी थिए । दुवै जनाको केरियर अगाडि बढी रहेको थियो । सन् १९९४ मा आरडीको निधन भएको थियो ।
संगीतमा ठूलो सफलता पाए पनि आशाको व्यक्तिगत जीवन सधैं सहज रहेन । उनले आफ्नी छोरी वर्षा भोसलेको असामयिक मृत्युजस्तो पीडादायी घटना पनि भोग्नुप¥यो । यस्ता व्यक्तिगत दुःखबीच पनि उनले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइन् ।
तर सुरुवातमा गायन क्षेत्र उनको लागि अलि सङ्घर्षपूर्ण रह्यो । आशाले सन् १९४९ को एउटा चलचित्र ‘रात की रानी’ का लागि आफ्नो पहिलो एकल गीत गाइन् । यो समय उनको व्यक्तिगत जीवन उथलपुथलको दौडबाट गुज्रिरहेको थियो, किनकि उनी एक दुःखी वैवाहिक जीवन र परिवारबाट अलगावको सामना गरिरहेकी थिइन् । त्यस समय गीता दत्त, शमशाद बेगम र लता मंगेशकर जस्ता प्रख्यात गायिकाहरूको युग थियो र जताततै उनीहरूकै बोलवाला थियो । यस्तो अवस्थामा उनी पनि गाउन चाहन्थिन्, तर उनले धेरै अवसर पाउँदैन थिइन् । उनले अक्सर केवल साना वा दोस्रो दर्जाका चलचित्रहरूमा मात्र गाउने मौका पाउँथिन् ।
यद्यपि सन् १९५० को दशकमा, जब अन्य ठूला गायिकाहरू ठूलो बजेटका चलचित्रहरूमा गाइरहेका थिए, उनले धेरैजसो कम बजेटका चलचित्रहरूमा गाउने मौका पाउँथिन् । तर सन् १९५२ मा दिलीप कुमार अभिनित चलचित्र ‘संगदिल’, जसको सङ्गीत सज्जाद हुसैनले दिएका थिए, यसबाट उनले पहिचान पाउन सुरु गरिन् । त्यसपछि सन् १९५३ मा बिमल रायले उनलाई आफ्नो चलचित्र ‘परिणीता’ मा गाउने मौका दिए । त्यसपछि सन् १९५४ मा राज कपूरले चलचित्र ‘बूट पोलिश’ मा ‘नन्हे मुन्ने बच्चे’ गीतको लागि मोहम्मद रफीको साथमा उनलाई छाने । यो गीतबाट उनले निकै ख्याति पाइन् । सन् १९५६ को ‘सीआईडी’ को गीत ‘लेके पहला पहला प्यार….’ बाट उनले अझ बढी पहिचान पाइन्, जुन उनले शमशाद बेगमसँग मिलेर गाएकी थिइन् ।
७० को दशकसम्म योगदान
आशा भोसलेलाई बलिउडमा सन् १९५७ मा मोहम्मद रफीसँग गाइएको युगल गीत ‘उड़े जब जब जुल्फें तेरी…’ बाट पहिचान मिल्यो । ओपी नैयरको लागि चलचित्र ‘नया दौर’ को लागि यो गीत लेखिएको थियो । यो गीतको सफलताले नैयरसँगको लामो समयसम्म चल्ने सहकार्यको सुरुवात ग¥यो; उनले सन् १९५७ को चलचित्र जोनी वाकर, दुनिया रंग रंगीली र कैदी जस्ता चलचित्रहरूमा भोसलेलाई आफ्नो मुख्य महिला गायिकाको रूपमा लिए । सन् १९६० को दशकमा उनले रफीसँग एउटा लोकप्रिय गायन जोडी पनि बनाइन् र उनीहरूले सन् १९६१ को चलचित्र ‘हम दोनों’ मा ‘अभी ना जाओ छोड़ कर’ गीत र सन् १९६४ मा चलचित्र ’कश्मीर की कली’ को ‘दीवाना हुआ बादल’ जस्ता धेरै हिट गीतहरू रेकर्ड गरे । आफ्नो करियरको यो चरणमा, उनले त्यस्ता गीतहरूमार्फत आफ्नो गायन प्रतिभा प्रदर्शन गर्न थालिन् जुन प्राविधिक र भावनात्मक दुवै थिए, जस्तै चञ्चल गीत ‘आजा आजा मैं हूं प्यार तेरा’ र मोहक गीत ‘रात अकेली है बुझ गए दिए ।’
पश्चिमी सङ्गीतबाट प्रभावित
सन् १९७० को दशकमा, उनको गायन शैली पश्चिमी सङ्गीतबाट प्रभावित थियो । यस शैलीको मुख्य आधार सङ्गीत निर्देशक आर.डी. बर्मनसँगको उनको सहकार्य थियो, जसको परिणामस्वरूप धेरै डिस्को र पप हिट गीतहरू बने । जस्तै ‘चुरा लिया है तुमने जो दिल को….’ र ‘लेकर हम दीवाना दिल…..’ जस्ता गीतहरू र ‘ये लड़का हाय अल्लाह…..’ उनका केही सबैभन्दा प्रसिद्ध गीतहरू बने । उनका केही अन्य स्मरणीय हिटहरूमा सन् १९७० को चलचित्र ‘हमजोली’ मा ‘ढल गया दिन…..’ र सन् १९७५ को चलचित्र ‘दीवार’ मा ‘कहदूं तुम्हें या चुप रहूं…..’ जस्ता चञ्चल युगल गीतहरू समावेश छन् ।
सन् १९७० को चलचित्र ‘डन’ मा ‘ये मेरा दिल यार का दीवाना…..’ ले चलचित्रमा एक ग्ल्यामरस योगदान दियो । यो चलचित्र एउटा उल्लेखनीय उदाहरण हो, जसले बलिउडको त्यो शैलीमा उनको कामलाई देखाउँछ, जसमा कथावस्तुसँग असम्बन्धित कामुक गीतहरू समावेश हुन्छन् । यद्यपि यो शैलीको महिलाहरूलाई वस्तुको रूपमा प्रस्तुत गरेको भन्दै आलोचना गरिएको छ, तर पनि यी गीतहरू धेरै लोकप्रिय छन् ।
नयाँ युगमा पहिचान
१९८० को दशकमा, भोसलेले निरन्तर परिवर्तन भइरहेको सङ्गीत जगतमा आफ्नो प्रमुखता कायम राखिन् र आफूलाई नयाँ रूपमा ढाल्दै गइन् । उनले चलचित्र ‘उमराव जान’ मा सङ्गीतकार खय्यामको साथमा शास्त्रीय उर्दू गजलहरू गाएर आफ्नो प्रतिभा प्रदर्शन गरिन् । चलचित्रमा ‘दिल चीज क्या है…’ र ‘इन आंखों की मस्ती….’ को उनको भावपूर्ण गायनले आलोचक र दर्शक दुवैलाई मन्त्रमुग्ध बनायो र उनी केवल डिस्कोमा मात्र सीमित छिन् भन्ने धारणालाई गलत साबित गरिदियो । यी गजलहरूका लागि भोसलेले सर्वश्रेष्ठ महिला पाश्र्व गायिकाको पहिलो राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरिन् ।
सन् १९९० र २००० को दशकमा उनले समकालीन साङ्गीतिक प्रवृत्तिहरू अनुसार आफ्नो शैलीलाई अपडेट गरेर नयाँ र युवा गायिकाहरूसँग प्रतिस्पर्धा गर्न आफूलाई पुनः स्थापित गरिन् । उनको सन् १९९५ को चलचित्रका गीतहरू ‘तन्हा तन्हा…’ र ‘रंगीला रे….’ निकै लोकप्रिय भए । यसका साथै ‘रंगीला’ गीतले उनको करियरलाई नयाँ जीवन दियो । ए.आर. रहमानले चलचित्र ‘ताल’ र ‘लगान’ मा उनको आवाजको प्रयोग गरे । चलचित्र ‘लगान’ मा उनको गीत ‘राधा कैसे ना जले…’ धेरै लोकप्रिय भयो, जुन शास्त्रीय सङ्गीत र चलचित्रको कथाको सुन्दर मेलको लागि चिनिन्छ ।
यसका साथै सन् २००० को दशकमा उनका केही अन्य हिट गीतहरूमा ‘कम्बख्त इश्क’, ‘खल्लास’ र ‘शरारा’ समावेश छन् ।
भोसलेको साङ्गीतिक यात्रा बलिउडभन्दा धेरै परसम्म फैलिएको थियो । भोसले उस्ताद अली अकबर खानको सङ्गीत एल्बम ‘लिगेसी’ मा आफ्नो योगदानको लागि ग्रामी पुरस्कारको लागि मनोनीत हुने पहिलो भारतीय गायिका थिइन् । उनले विभिन्न शैलीका अन्तर्राष्ट्रिय कलाकारहरूसँग सहकार्य गरिन्, माइकल स्टाइपको ‘द वे यू ड्रीम’ मा आफ्नो आवाज दिइन् र अन्य धेरै साङ्गीतिक समूहहरूसँग काम गरिन् ।

पद्म विभूषणबाट सम्मानित
क्रोनोस क्वार्टेटले आर.डी. बर्मनका क्लासिक गीतहरूको पुनर्कल्पना गर्दै ‘यू ह्याभ स्टोलन माइ हार्ट’ प्रस्तुत ग¥यो, जसलाई सर्वश्रेष्ठ समकालीन विश्व सङ्गीत एल्बम विधामा ग्रामी पुरस्कारका लागि मनोनीत गरिएको थियो । उनका उपलब्धिहरूलाई मान्यता दिँदै, उनलाई सन् २००० मा सिनेमा क्षेत्रमा पु¥याएको योगदानका लागि सरकारले प्रदान गर्ने दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरियो । सन् २००८ मा उनलाई भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषणबाट सम्मानित गरियो ।
निधन
यसका साथै, उनले सात पटक सर्वश्रेष्ठ महिला पाश्र्व गायिकाको फिल्मफेयर पुरस्कार जितिन् । उनी आफ्नो जीवनको अन्तिम दिनसम्म गाउँदै–गुनगुनाउँदै रहिन् र गत अप्रिल १२ मा ९२ वर्षको उमेरमा उनको निधन भयो । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । हृदयाघातका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।
भोसलेले नेपाली फिल्म ‘चिनो’ को चर्चित गीत ’मोहनी लाग्ला है….’, चलचित्र ‘लाहुरे’ को ‘पहाडको माथिमाथि….’, हरेक तिहारमा बज्ने गरेको ‘दियो बाली साँझ को…’, चलचित्र कोशेलीको गीत ‘तिमी मेरो म तिम्रो…’ लगायतका कैयौँ नेपाली गीतहरू गाएकी छन् । तर आफ्नो सङ्गीतको माध्यमबाट उनी सधैं सम्झिइने छिन् । आशा भोसलेले आफ्नो फरक–फरक प्रकारको गायनबाट नेपाल तथा भारतीय सङ्गीतमा विशेष पहिचान बनाइन् । उनले यो देखाइन् कि एउटा कलाकार कुनै एउटा शैलीमा मात्र सीमित हुँदैन ।

तपाईको प्रतिक्रिया