Khadya Bibhag

मधेश आन्दोलनको माग धर्मनिरपेक्ष राष्ट्र कहिले थिएन

–बीपी यादव
–वरिष्ठ नेता, राष्ट्रिय एकता अभियान
मधेश आन्दोलन गरेका, मधेश आन्दोलन भोगेका हरेक एक व्यक्तिलाई बीपी यादवको सम्झना पक्कै होला । मधेशी जनअधिकार फोरम नेपाललाई काठमाडौँमा परिचित गराउने बीपी यादव मधेश आन्दोलनको एक योद्धा हुन् भनि सबैले स्विकार गरेका छन् । अहिलेको जस्तै झोला बोकेर उहाँ मधेश आन्दोलनका लागि संगठन बनाउन घरघर जान्थे । भारतको प्रवासबाट काठमाडौ आएपछि तत्कालिन फोरमका अध्यक्ष उपेन्द्र यादव बीपी यादवकै डेरामा लामो समय बस्नु भएको थियो । त्यहीबाट फोरमको संगठन विस्तारका कामहरु भएको थियो । फोरमको कार्यालय नै बीपीको डेरामा थियो । त्यतिबेला उपेन्द्र यादवका सार्थी जस्तै हुनुहुन्थ्यो बीपी यादव । मधेशी जनअधिकार फोरमबाट संविधानसभा सदस्य समेत भइसकेका बीपी यादव अहिले ती सबै पार्टी छाडेर हिन्दु राष्ट्र स्थापनाको अभियानमा लाग्नुभएको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताका लागि लड्नु भएका बीपी यादव किन हिन्दु राष्ट्र स्थापनाको अभिायनमा लाग्नुभयो, के नेपाललाई हिन्दु राष्ट्र बनाउन सम्भव छ लगायतका विषयमा राष्ट्रिय एकता अभियानका वरिष्ठ नेता बीपी यादवसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादित अंशः
तपाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्यका लागि लड्नु भएको थियो तर अहिले हिन्दु राष्ट्रका लागि लडिरहनु भएको छ यस्तो किन ?
–विभेदकारी अन्तरिम संविधानको विरोध गर्दै आन्दोलनको सुरुवात गरेका थियौं हामी । माइतीघर मण्डलामा अन्तरिम संविधानलाई जलाएर मधेश आन्दोलनको शंखनाद गरेका थियौं । त्यतिबेला एकात्मक राज्य प्रणालीलाई समाप्त गरी देशमा समावेशी समानुपातिक संघीय लोकतान्त्रिक व्यवस्था कायम गर्नुपर्छ भनि आन्दोलन गरेका थियौं । तर एकात्मक राज्यप्रणाली समाप्तिसँगै हिन्दुराष्ट्र पनि समाप्त हुन्छ भनि हामीलाई लागेको थिएन । किनभने हामी त्यसका लागि आन्दोलन गरेका थिएनौं । देशमा संघीयता आउँदा, गणतन्त्र स्थापित हुन्छ । समानुपातिक समावेशी लोकतान्त्रिक व्यवस्था कायम हुन्छ भनि लागेको थियो । संघीयतामा पनि हिन्दु राष्ट्र रहिरहन्छ भनि मेरो बुझाई थियो । तर कहाँबाट रातारात के षड्यन्त्र भयो । धर्मनिरपेक्ष राज्य कायम भयो । तपाई त्यो बेलाका रिपोर्टहरु हेर्न सक्नु हुन्छ कुनै पनि दल तथा नेताले यो देशबाट हिन्दु राष्ट्र समाप्त होस् भनि चाहेको थिएनन् । कसैको एजेण्डामा नै थिएन धर्मनिरपेक्ष । कम्युनिष्टहरु पनि दबाएर धर्मनिरपेक्षको बारेमा बोल्नु हुन्थ्यो । तर हिन्दु राष्ट्रको विरुद्धमा कोही थिएन । विदेशी शक्ति तथा विभिन्न मिसनरीको दबाबमा यो देशको हिन्दु राष्ट्र समाप्त गरेर धर्मनिरपेक्ष राष्ट्र कायम गर्यो । जसले हिन्दु सँस्कृति तथा सनातन धर्म मान्छन् त्यसले अवश्य यो देश हिन्दु राष्ट्र होस् भनि चाहन्छन् । यो देशबाट त षड्यन्त्र गरेर हिन्दु राष्ट्र हटाएको हो । अब संविधान संशोधन गरेर देशमा हिन्दु राष्ट्र कायम हुनुपर्छ भनि माग राखि हामीले संघर्ष गरिरहेका छौं ।
धर्मनिरपेक्षताको माग गर्दै तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट तपाईले आन्दोलन गर्नुभएको होइन र ?
–मधेशी जनअधिकार फोरम नेपालले आन्दोलन गर्दा राखेका विभिन्न मागहरु पल्टाएर हेर्नुभयो भने कतै पनि धर्मनिरपेक्ष राज्य हुनुपर्छ भनि माग छैन । मधेशी जनअधिकार फोरम नेपालले मधेश आन्दोलन सुरु गर्दा २६ बुँदे माग प्रस्तुत गरेको थियो । त्यो मागपत्र अहिले पनि मसँग छ त्यसमा कहिले पनि धर्मनिरपेक्ष राज्यको चर्चा छैन । हिन्दु राष्ट्र हटाएर धर्मनिरपेक्ष राज्य हुनुपर्छ भनि माग कही उल्लेख छैन । बरु त्यतिबेला मुस्लिमहरुको अधिकारको कुरा मागकै रुपमा उठाएको छ तर हिन्दु राष्ट्रको अन्त्यको कुरा कहि पनि छैन । त्यो मागपत्र तयार गर्दा म आफ्ना सुझावहरु पनि दिएको थिए । सरकारसँग २२ बुँदे सम्झौता हुँदा पनि कही धर्मनिरपेक्षको चर्चा छैन । त्यसपछि भएको आठ बुँदे सम्झौतामा पनि हिन्दु राष्ट्र खारेजीको चर्चा छैन । त्यतिबेला फोरमले राखेका विभिन्न मागहरु वा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राखेका विभिन्न मागहरुमा कही कतै धर्मनिरपेक्ष राज्यको चर्चा छैन । जब संविधान निर्माण भयो र त्यसमा धर्मनिरपेक्ष शब्द घुसाइयो अनि मात्र मधेशवादी दलका नेताहरु खास गरेर उपेन्द्र यादवले धर्मनिरपेक्ष राज्यको बारेमा बोल्न थाल्नुभयो । आफ्नो दस्तावेजहरुमा पनि राख्न थाल्नुभयो । त्यसअघि कुनै पनि दस्तावेजमा मैले धर्मनिरपेक्षको कुरा फेला पारेको छैन । मधेश आन्दोलन हिन्दु राष्ट्र समाप्तिका लागि भएको थिएन । त्यसको एजेण्डामा नै थिएन । अहिले आएर उपेन्द्र यादवले पनि संविधानले न हिन्दु राष्ट्र स्विकार गरेको अभिव्यक्ति दिन थाल्नु भएको छ ।
यो देश किन हिन्दु राष्ट्र हुनुपर्छ, धर्मनिरपेक्ष हुँदा त सबै धर्मले सम्मान पाएका छन् सबैले आआफ्नो धर्मकर्ममा लागेका छन् हिन्दु धर्म आयो भने अरु धर्मको अपमान हुँदैन ?
–हुँदैन, कुनै पनि धर्मको अपमान हुँदैन । यसअघि हिन्दु राष्ट्र हुँदा कुन धर्मको अपमान भएको छ ? कुन धर्मलाई लखेटेको छ, कुन धर्मको अधिकारको खोसिएको छ ? बरु हिन्दु राष्ट्र हुँदा नै सबै धर्मका व्यक्तिहरु एक आपसमा मिलेर बसेका थिए । अहिलेको जस्तो एउटा धर्मले अर्को धर्ममाथि प्रयार गर्दैन्थे । अहिले विभिन्न धर्मको नाममा अराजकता फैलिएको छ । हिन्दु राष्ट्र हुँदा यस्तो थिएन । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार दुई करोड ९१ लाख ६४ हजार पाँच सय ८७ कुल जनसंख्यामध्ये एक करोड एक लाख ५९ हजार ७९० पुरुष तथा एक करोड दुई लाख तीन हजार ७५९ महिला हिन्दु धर्मावलम्बी छन् । अर्थात ८१.१९ प्रतिशत जनसंख्या हिन्दु रहेको छ । जहाँ ८१ प्रतिशतभन्दा बढी हिन्दु बस्छन् त्यहाँ हिन्दु राष्ट्र घोषणा गर्न किन ढिलाई ? लोकतन्त्रमा बहुमतको कदर हुन्छ, हिन्दु धर्मलम्बीको सँख्या धेरै छन् त्यही भएर यो देशलाई हिन्दु राष्ट्र कायम गर्नुपर्छ । विश्वमा नेपाललाई अहिले पनि हिन्दु राष्ट्रकै रुपमा चिन्छन् । सनातनदेखि नै यहाँ हिन्दु राष्ट्र रहेको छ । यहाँका मठमन्दिरहरुको इतिहास हेर्दा पनि नेपाल हिन्दु राष्ट्र नै हो । यो पशुपतिको देश हो, माता सिताको देश हो, महात्मा बुद्धको देश हो । विश्वका हिन्दुहरु एकपटक नेपालको धर्तीलाई टेक्न चाहेका छन् । नेपाल भूमी मात्र टेक्न पाए भने धर्म प्राप्त हुन्छ भनि मान्यता छ । नेपाल घुम्न आउने पर्यटकहरु फर्केर जाँदा नेपाल भूमीको माटो लिएर जान्छन् र घरमा राखेर त्यसको पुजा गर्छन् । यस्तो मान्यता भएको देशलाई किन धर्मनिरपेक्ष बनाएर पर्यटक घटाउन चाहेको हो भनि म बुझ्न सकिरहेको छैन । धर्मिक पर्यटकको हिसाबले पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्यो भने नेपाल आर्थिक रुपले समृद्ध हुन्छ । धर्मनिरपेक्ष राज्य भएकै कारण यो देश आर्थिक रुपमा पछाडि परेको छ । हिन्दु गणतन्त्र राज्य घोषणा भयो भने यो देश हरेक किसिमले विकसित हुन्छ र विश्वमै आफ्नो छुट्टै पहिचान बनाउन सक्छ । मुस्लिम बाहुल्य रहेको देशलाई इस्लामिक गणतन्त्र बनाउन सक्छ भने नेपाललाई हिन्दु गणतन्त्र राष्ट्र किन बनाउन सकिदैन यसका लागि सबैको तर्फबाट पहल हुनुपर्छ ।
हिन्दु राष्ट्र हुनुपर्छ भन्नुहुन्छ तर पछिल्लो समय धर्मिक हिंसा बढ्दै गइरहेको छ, हिन्दु र मुस्लिम बिचको द्धन्द चर्किदै गइरहेको छ यस्तो किन ?
–यो धार्मिक आरजकता हो । धर्मनिरपेक्ष राज्य भएको कारणले यसखालको आरजकता देखिएको हो । धर्मनिरपेक्ष राज्यको गलत प्रयोग मुस्लिम धर्मालम्बीहरुले गरिरहेका छन् । इस्लामिक आतकंवाद नेपालमा फैलिरहेको छ र हिन्दु धर्मलम्बीहरुमाथि जथाभावी आक्रमण गरिहेका छन् । कुनै पनि हिन्दु मुस्लिमको चाडपर्वमा कुनै प्रकारको डिस्टर्व गरेको छैन, होहल्ला गरेको छैन तर तपाई नेपालगञ्जदेखि पूर्व बिराटनगरसम्म हेर्नुस् मुस्लिमले हिन्दुको हरेक चाडपर्वमा हिसात्मक गतिविधि गरेको पाइन्छ । चाहे गणेश पुजा होस्, छठ होस्, सरस्वति पुजा होस् वा लक्ष्मी पुजा हरेक चाडपर्वमा मुस्लिम समुदायका युवाले उत्शृङ्खल गतिविधि गरिरहेका छन् । हिन्दु धर्मको आस्थामाथि प्रहार गरिरहेका हुन्छन् । त्यसले गर्दा हिंसा भड्केको हो । उनीहरुबाट नै हिन्दुमाथि प्रहार भएको देख्न सकिन्छ । समाजिक सञ्जालमा आएका विभिन्न भिडियोहरुलाई हेर्न सकिन्छ । इस्लाम धर्मको नाममा ठाउँ ठाउँमा मस्जिदहरु छन् । ती मस्जिद, मदरसा हातहतियार राखेर हिन्दुहरुको सरस्वती पुजा, लक्ष्मी पुजा छठ जस्ता पर्वमा आक्रमण गरिराखेका छन् । विदेश मुस्लिमहरु आएर मदरसाहरु बसेका छन् र उनीहरुले अराजक गतिविधिहरु गरिरहेका छन् । हिन्दु र मुस्लिम बिच यतिको दुरी बढेको थिएन । नेपालको संविधानमा प्रष्ट रुपमा लेखिएको छ कि लिंगको आधारमा, भाषाको आधारमा, धर्मका आधारमा विभेद गर्नुहुँदैन । तर तपाई हेर्नुभयो भने नेपालको कुनै पनि मस्जिदमा मुस्लिम महिलालाई नवाज पढेको पाउनु हुन्न । त्यहाँ गएर पुजा गरेको पाउनु हुन्न । यो महिलामाथिको विभेद हो । मुस्लिमहरुले महिलामाथि धार्मिक विभेद मात्र होइन, हिंसा पनि गरिरहेका छन् । त्यो मस्जिद किन चाहिन्छ जहाँ महिलालाई प्रवेश निषेध छ । त्यसलाई भत्काएर स्कुल बनाइ दिनुपर्छ ।
भनिन्छ, हिन्दु राष्ट्रका लागि जबदेखि विभिन्न अभियानहरु सञ्चालन भए त्यो बेलादेखि अलि बढी नै हिन्दु–मुस्लिम बिच द्वन्द भएको देखिन्छ नि ?
–यो गलत बुझाई हो । हामीले हिन्दु राष्ट्र स्थापनाका लागि संघर्ष गरिरहेका छौं । हामी कसैलाई कुनै प्रकारको नोक्सान पुर्याई रहेका छैनौं । राज्यलाई दबाब दिइरहेका छौं । हाम्रो अभियानले कहिं कतै कसलाई आक्रमण गरेको वा कुनै प्रकारको क्षति गरेको देख्नु भएको छ ? छैन नि । हामी हिन्दुहरु हिंसामा विश्वास गर्दैनौं । शान्तिपूर्ण आन्दोलनबाट नै हामी हिन्दु राष्ट्र कायम गराउछौँ तर इस्लामिक आतंकवादीहरुलाई यो कुरा पचेको छैन । उनीहरुले नेपालमा धार्मिक हिंसा भड्काउन चाहेका छन् । नेपाली नेपालीको बिचमा फुट डाल्न् चाहेका छन् । हामीले चलाएको अभियानमाथि आक्रमण गराई रहेका छन् । इस्लामीहरु हिंसामा विश्वास गर्छ । हामी शान्तिमा विश्वास गर्छौ । हाम्रो तर्फबाट कुनै प्रकारको गलत क्रियाकलाप भएको छैन । यदि भएको छ भने कसैले प्रमाणित गरोस् तर मुस्लिमबाट भएका गलत गतिविधिहरुको थुप्रै प्रमाणहरु छन् । यो देशमा मुस्लिम आयोगको गठन भएको छ । हिन्दुमाथि आक्रमण गर्ने मुस्लिमहरुलाई मुस्लिम आयोगले संरक्षण गर्छ । जो दोषी छ उसलाई कारवाही हुनुपर्छ तर मुस्लिम आयोगले आक्रमण गर्नेहरु निर्दोष हुन् भन्दै त्यसलाई संरक्षण गरिरहेको छ । त्यो आयोगमा विदेशी लगानी पनि छ । त्यो आयोगमार्फत मुस्लिम जो हिंसा फैलाउछ अराजक छन् उनीहरुको संरक्षण भइरहेको छ ।
हिन्दुलाई पनि संरक्षण गर्ने यो देशमा ठूला ठूला संस्थाहरु छन् नि त ?
–हिन्दुका लागि खुलेका कुनै पनि संघ संगठनले हिसात्मक गतिविधि गर्नेलाई संरक्षण गरेको छैन । हिन्दुले पनि गलत गरेको छ भने उसलाई गलत भन्ने काम ती संस्थाहरुले गरेका छन् । मुस्लिमहरुको जस्तै कट्टरपन्थी भएर जुनसुकै, जस्तोसुकैलाई संरक्षण गर्ने काम हिन्दुवादी संघ संस्थाले गरेका छैनन् । मुस्लिम आयोग जस्तै हिन्दुहरुको लागि कुनै संगठन छैन । मुस्लिम आयोगमा सरकारको लगानी छ । मुस्लिमको हकहित र संरक्षणका लागि काम गर्नुपर्ने आयोगले गलत क्रियाकलापमा लागेका मुस्लिमलाई संरक्षण गरिरहेको छ । आयोगमा विदेशी लगानी छ, त्यहाँ विभिन्न खालको विदेशी गतिविधिहरु गरिरहेको छ । हिन्दुको ट्रस्ट छ, मन्दिर छ । त्यो मन्दिरको आम्दानीबाट चलिरहेको छ तर कुनै पनि मदरसा त्यहीको लगानीमा चलेको छैन, अधिकाँशमा विदेशीको लगानी छ । र त्यो मदरसाको माध्यमबाट मुस्लिम समुदायमाथि लगानी भइरहेको छ ।
तपाईलाई के लाग्छ नेपाल हिन्दु राष्ट्र बन्छ ?
–हण्ड्रेड प्रतिशत हुन्छ । अहिले ठूला भनाउँदा दलहरुमा पनि हिन्दु राष्ट्रका लागि कुरा उठ्न थालेको छ । देशको सबभन्दा ठूलो दल काँग्रेसको बैठकमा एजेण्डाकै रुपमा हिन्दु राष्ट्रको कुरा प्रवेश पाएको छ । माओवादी केन्द्रमा पनि धेरै नेताहरु हिन्दु राष्ट्रको पक्षमा वकालत गर्न थालेका छन् । एमालेमा पनि हिन्दुको राष्ट्रको कुरा उठ्न थालेको छ । हेर्नु होला कुनै दिन एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयंले पनि हिन्दु राष्ट्रका लागि बोल्न थाल्नु हुन्छ । हामी आशा गर्छौ कि अहिलेका गठबन्धन दलहरुले गर्न लागेको संविधान संशोधनमा नै हिन्दु राष्ट्र पनि राख्नुपर्छ । र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ । यदि दललहरुले गरेन भने जनता सडकमा आएर हिन्दु राष्ट्र घोषणा गराउन बाध्य पार्नेछ ।
नेपालमा ८० प्रतिशतभन्दा जनसँख्या हिन्दुको छ तर त्यसमध्ये १० प्रतिशत जनता पनि सडकमा आइरहेका छैनन् अनि कसरी सडकबाट हिन्दु राष्ट्र घोषणा हुन्छ ?
–सडकमा कति हिन्दु आइरहेका छन्, कति आइरहेका छैनन् त्यसको हिसाब किताब हामीले गरेका छैनौं । नेपालका हरेकको मनमा हिन्दु राष्ट्र बसिसकेको छ । ती सबै समयको पर्खाइमा छन् । २०८४ को चुनावमा यो कुरा विस्तृत रुपमा उठ्छ । हिन्दु राष्ट्रका लागि जनता ध्रुवीकृत हुन्छ । नेताहरु हिन्दु राष्ट्रको नाममा भोट माग्नेछन् । जुन दल हिन्दु राष्ट्रको कुरा उठाउछ त्यो दललाई नै जनताले मत दिनेछ ।
भन्नाले ८४ को चुनावपछि देशमा हिन्दु राष्ट्र कायम हुन्छ ?
–चुनावबाट हिन्दु राष्ट्र बन्नुपर्छ भन्नेहरुको बहुमत आउँछ र त्यो मतले संसदबाट संविधान संशोधन गरेर देशमा हिन्दु राष्ट्र कायम गर्छ । नेपाली जनताको मनमा हिन्दु राष्ट्र बसिसकेको छ । बंगलादेशमा हिन्दु र बुद्धिस्टमाथि आक्रमण हुँदा नेपालमा जनसागर ओर्लेर त्यसको विरोध गरेको थियो । आउने दिनमा त्यही जनता नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनि सडकमा आउँदैन भनि भन्न सकिदैन । जनतामा उकुस मुकुस छ त्यसको रियाक्सन ८४ को चुनावमा देखाउछ ।
तपाई मुलधारको राजनीतिमा रहेर आन्दोलन गर्नुभयो, लोकतन्त्र र संघीयताका लागि आन्दोलन गर्नुभयो तर अहिले
एउटा सानो समूहमा लागेर हिन्दु राष्ट्रका लागि आन्दोलन गरिरहनु भएको कस्तो लागि रहेको छ ?
–म जति बेला मधेशी जनअधिकार फोरमबाट आन्दोलनको सुरुवात गरेको थिए त्यतिबेला पनि मलाई यस्तै प्रश्न गथ्र्यो मान्छेले । अहिलेको जस्तो त्यतिबेला पनि फोरम एउटा सानो समूह नै थियो । सामाजिक संस्थाको रुपमा थियो । कसैले पत्याइ रहेको थिएन । देशमा संघीयता ल्याउनुपर्छ, गणतन्त्र ल्याउनुपर्छ । मधेशीको अधिकारका लागि लड्नुपर्छ । आफ्नै शासन आफ्नै प्रशासनका लागि लड्नुपर्छ भन्दा कसैल पत्याउँदैन्थ्यो । सबैले मजाक उडाउथ्यो । यो देशमा पनि गणतन्त्र आउँछ र । यो देशले मधेशीलाई अधिकार दिन्छ र सम्भव नै छैन जस्ता कुरा गर्थे । यस्ता कुरा गर्नेहरु अहिले मधेश प्रदेशका विभिन्न पदमा छन् । सानो सानो कार्यक्रम गर्थे । व्यक्तिका घरघरमा जान्थे । अफिसमा जान्थे । एक एक व्यक्तिलाई कन्भिन्स गर्थे । आखिर भयो त सम्भव । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो त । मधेश प्रदेश बन्यो त । मधेशी जनताको आफ्नै शासन आफ्नै प्रशासन भयो त । हो अहिले पनि हिन्दु राष्ट्रका लागि आन्दोलन गर्दा धेरैलाई विश्वास लागि रहेको छैन । तर एक दिन यसले देशमा हिन्दु राष्ट्र कायम गर्छ । आन्दोलन सानो वा ठूलो, संगठन सानो वा ठूलो हुँदैन एजेण्डा र मिसन जनताको हितमा हुनुपर्छ । एक दिन न एकदिन जनता साथ दिन बाध्य हुन्छ ।
यो एजेण्डा लिएर तपाईको अभियान ८४ को चुनावमा भाग लिन्छ त ?
–हामी त्यसको तयारीमा लागेका छौं । ०८४ को चुनावमा हिन्दु राष्ट्रको एजेण्डाका साथै अन्य एजेण्डा लिएर हाम्रो अभियान सहभागी हुन्छ । त्यसका लागि तयारी भइरहेको छ । पार्टी बनाउने विषयमा आन्तरिक छलफल भइरहेको छ । सम्भव त आफ्नै पार्टी लिएर चुनावमा जाने । नभए अरु दलसँग सहकार्य गरेर ८४ को चुनावमा भाग लिन्छौं ।
पछिल्लो समय तपाईहरु चीनको विरुद्धमा आन्दोलन गरिरहनु भएको छ किन ?
–चीनले नेपालमा आफ्नो अनावश्यक हस्तक्षेप बढाइ रहेको छ । हिन्दुको परम्पार र सँस्कृतिमाथि प्रहार गरिरहेको छ । नेपाललाई ऋणको जालमा फँसाइ रहेको छ । विकासको नाममा देशलाई कँगाल र मरुभूमी बनाइ रहेको छ । बीरआइ जस्ता प्रोजेक्टमा नेपाललाई फँसाइ रहेको छ । त्यसको हामीले विरोध गरिरहेका छौं । पोखरा एयरपोर्ट बनाएको छ तर अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन । त्यहाँ भएको भ्रष्टाचारले देशलाई बदनाम गराएको छ । पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको छ भने सांसदहरुको अनुगमनले पुष्टि गरिसकेको छ । त्यो भ्रष्टाचारमा चीनको पनि हात रहेको छ । यो कुरा चीनले स्विकार गर्नुपर्ने हो । यी सब माग राखेर हामीले आन्दोलन गरिरहेका छौं ।

तपाईको प्रतिक्रिया