Khadya Bibhag

बाँकेमा धान उत्पादन बृद्धि हुने

बाँके जिल्लामा यस वर्ष १५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुने आँकलन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यस वर्ष जिल्लामा किसानका लागि शुरुदेखिनै मौसम अनुकूल भएको र बिचमा बाढी आएर धान नोक्सानी पनि नभएकोले धान उत्पादन हुने अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले जिल्लामा यस वर्ष एक लाख ५० हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको जनाउँदै शुरुदेखि नै अनुकूल मौसम र समयमा रोपाइँ भएकाले उत्पादन बृद्धि हुने बताउनुभयो । जिल्लाका अधिकांश किसान अहिले धान भित्र्याउने कार्यमा व्यस्त रहेको जनाउँदै कृषि ज्ञान केन्द्र बाँकेले उत्पादनको सम्पुर्ण तथ्यांक आउन अझै केही समय लाग्ने जनाएको छ । यसपटक किसानहरु उत्साहित देखिन्छन् । धानको उत्पादन पनि राम्रो भएको देखिएको छ, त्यसैले १५ प्रतिशत भन्दा बढी बृद्धि हुने अनुमान केन्द्रले गरेको छ ।
जिल्लाको ३५ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष प्रति हेक्टर कम्तीमा ४.३ मेट्रिकटन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । सो अनुसार यस वर्ष बाँके जिल्लामा एक लाख ५० हजार ५०० मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ वैजापुर निवासी हरेराम चौधरीले गतवर्ष भन्दा यसवर्ष धानको उत्पादन बढ्ने देखिएको बताउनुभयो ।
समयमा नै पानी परेको र समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने अनुमान रहेको उहाँले बताउनुभयो ।
उत्पादन बढ्ने देखिएपछि किसानहरु निकै खुशी देखिएका छन् । जिल्लाका अधिकांश किसानले सरकारले समयमै राम्रो मूल्य निर्धारण गरेर धान खरिद गर्नु पर्ने माग पनि गरेका छन् । उनिहरुले सरकारले धान खरिदमा ढिलाई गर्दा किसानले बाध्य भएर ब्यापारीलाई सस्तोमा धान बिक्रि गर्नु परेको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया