कलैया कात्तिक १८ गते । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गर्नुभएको छ ।
बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दिरमा शनिवार आजपा जिल्ला कमिटीद्धारा आयोजित सर्वपक्षिय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो माग गरेका हुन् ।
‘विश्वमै गढीमाईको प्रसिद्धि छ । विश्वले गढीमाईलाई चिन्छ । विश्व प्रसिद्ध गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हामी सबैले पहल गर्न आवश्यक छ । सरकारले ऐतिहासिक, धार्मिक, पर्यटकीय नगरी गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने मेरो आग्रह छ’ आजपा अध्यक्ष साहले भन्नुभयो, ‘यसको पर्यटकीय, धार्मिक पूर्वाधार निर्माणमा कसैको चासो छैन् । हामी यसलाई एक विशाल र भव्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं । तर दुर्भाग्य सरकारको चासो नै छैन् ।’
विश्व प्रसिद्ध गढीमाईको पाँच वर्षीय मेला मंसिरमा लाग्दैछ । यसको तयारी स्थानीय तहमा तिब्ररुपमा भईरहेको छ । लाखौं भक्तश्रद्धालु आउने यस मेलाको व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रीय सरकार बुझेर पनि नबुझे जस्तो गर्नु दुखको बिषय भएको उहाँले बताउनुभयो । साथै उहांले प्रधानमन्त्री केपी शर्मा ओलीसँग `गढ़ीमाई मेलाको लागी तपाईको सरकारले के के गरेको छ ?’ भन्ने प्रश्न समेत गरेका छन् ।
केन्द्रीय सरकारका साथै मधेस प्रदेश सरकार समेत गढीमाईको विकास एंव मेलाका लागि बेखबर भएको टिप्पणी गरेका छन् ।
‘गढीमाई पाँच बर्षमा लाग्ने गर्छ । लाखौं भक्तश्रद्धालु आउने गरेको हामी सानो उमेर हुँदादेखि नै देखिइरहेका छौं । तर केन्द्रीय सरकार यहाँ लगानी नगर्नु, पर्यटन मन्त्रालयले यसको बिकास, मेला व्यवस्थापनमा कुनै चासो नदिनु, ध्यान नदिनु मधेसका लागि दुर्भाग्य नै हो’ साहले भन्नुभयो, ‘वर्तमान सरकार गढीमाईको विकास चाहेको छैन् । उ केवल राज्यको ढुकुटी लुटने खेलमा लागेको छ । म प्रधानमन्त्रीजीसंग आग्रह गर्न चाहन्छु तपाई मधेसको बिकास चाहेको हो भने गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्नुस्, काम गर्नुस् ।’
प्रधानमन्त्री केपी शर्मा ओली मधेसको विकास कहिल्यै नचाहेको बताउदै उहांले गढीमाई मन्दिर मधेसमा भएकै कारण सरकारले कुनै चासो नदिएको आरोप उहांले लगाउनुभयो । गढीमाई मन्दिरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले पहल गर्ने बताउदै उहांले महागढीमाई नगरपालिकालाई एक धार्मिक, सांस्कृतिक शहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजपा जिल्ला कमिटी बाराद्धारा आयोजित सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षहरू अशोक लामा, बिल्टू यादव महासचिब त्रिभुवन साह, उप महासचिब चन्द्रभुषण साह तथा नगरप्रमुख उपेन यादव, गढ़ीमाई ट्रस्टको अध्यक्ष रामचन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया