Khadya Bibhag

ओलीसँग माफी मागेपछि जोगियो जनमतको सरकार

‘नेपालमा पनि बंगलादेश जस्तो आन्दोलन हुन्छ, रविको बारेमा यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो भन्नुभयो, उपचुनाव, उपराष्ट्रपति, उपसभामुखको चुनावमा पनि विपक्षमा उभिनु भयो तपाईले गर्न के खोज्नु भएको हो, सत्ताको स्वादमा पनि लिने अनि विपक्षको जस्तो व्यवहार पनि गर्ने ।’
कात्तिक ९ गते बालुवाटारमा सत्ता साझेदारी दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई भन्नुभएको कुरा हो । सहकारीकण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो आधिकारिक फेसबुकमा लेख्नु भएको थियो, ‘२१ सीट भएको नयाँ÷राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राऊलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन । यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रुणमा नै हत्या गर्न खोजिएको हो । यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो । हाम्रो धरातल र कैयन् एजेण्डा फरक होला, कतिपय ठाउँमा हामी विपरीत धारमा पनि उभिएका छौं, तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ । आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुने छ ।……..’
रवि लामिछाने पक्राउ परेकै दिन कात्तिक २ गते सत्ताधारी दल जनमत पार्टीका अध्यक्ष राउतले यसरी आफ्नो फेसबुकमा लेखेपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोली क्रुध बन्नुभएको थियो । सरकारमा रहेर सरकारकै विरोध गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राउतलाई सत्ताभन्दा बाहिर राख्ने सोच बनाइ सक्नुभएको थियो । मधेश प्रदेश सरकारको नेतृत्व गरेको जनमत पार्टीलाई त्यहाँबाट निकालेर जसपा नेपाललाई नेतृत्व दिने तयारीमा पुग्नुभएको थियो । त्यसका लािग उहाँले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि कुराकानी सुरु गरिसक्नु भएको थियो ।
यसमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि समर्थन जनाइ सक्नुभएको थियो । काँग्रेसको चाहना पनि मधेश प्रदेशमा जसपा नेपालले नै नेतृत्व गरोस् भनि रहेको थियो । जसपा नेपाल ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा कही पनि छैन । मधेश प्रदेश सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले खोसेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई समर्थन गरे पनि सरकारमा कही पनि सहभागी भएन । जब कि काँग्रेसले जसपालाई सत्ता सहकार्यका लागि आग्रह पनि गरेको थियो । तर मधेश प्रदेशको सरकार खोसिए पछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीप्रति नाखुश हुनुभएको थियो ।
तर जब प्रधानमन्त्री अ‍ोली र सिके राउतबिच सम्बन्ध बिग्रियो अनि मधेश प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश पाउने निश्चित भयो । मधेश प्रदेशमा जनमत पार्टी सरकारको कामकाज त्यतिकै पनि सन्तोषजनक थिएन । जनमत पार्टीको नेतृत्व परिवर्तन हुने लगभग निश्चित भएको थियो । जसको प्रभाव मधेश प्रदेशमा पनि परेको थियो । मधेश प्रदेशको सरकार परिवर्तन हुने कुरा त्यहाँका मुख्यमन्त्रीदेखि मन्त्री तथा कर्मचारीसम्म सबैलाई थाह भइसकेको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेर त्यसको आन्तरिक तयारीमा पनि जुटिसक्नुभएको थियो ।
कात्तिक ९ गते बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सिके राउतलाई झपार्नुभएको थियो । सत्ताधारी दल भएर विपक्षी जस्तो व्यवहार देखाउनु छ भने विपक्षमै बस्नुस् भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आफ्नोबाट हरेक प्रकारको. सहयोग हुने कुरा भन्नुभएको थियो । त्यो बैठकमा सत्ताधारी दलका सबै दल तथा नेताहरुको उपस्थिति थियो । प्रधानमन्त्री ओलीले सिके राउतलाई मात्र होइन यसअघि विपक्षी दलको बैठकमा जानु भएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पनि फोन गरेर झपाडेको स्रोतले दावी गरेको छ ।
रवि लामिछाने पक्राउअघि कात्तिक २ गते नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाउनु भएको विपक्षी दलको बैठकमा सत्ताधारी दल लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित हुनु भएको थियो । त्यसरी बैठकमा सहभागी भएपछि सत्ताधारी दलहरुको बिचमा हलचल नै ल्याएको थियो । प्रधानमन्त्री अ‍ोलीले अध्यक्ष ठाकुरलाई फोन गरेर बैठकमा सहभागी भएको बारेमा जानकारी लिँदै बैठकहरुमा जाँदा सचेत रहन आग्रह गरेका थिए । त्यस्तै व्यवहार सिके राउतसँग पनि भयो ।
कात्तिक ९ गते सत्ताधारी दलको बैठक सकेपछि सिके राउतले प्रधानामन्त्री ओलीसँग भेटका लागि समय माग गर्नुभएको थियो । कात्तिक १० गते प्रधानमन्त्री ओलीसँग एक्लै भेटेर यी सबै कुराको सल्टाउनु भएको थियो । स्रोत भन्छ, ‘प्रधानमन्त्री अ‍ोलीसँग सिके राउतले माफी नै माग्नुभयो, हामीबाट अब यस्तो कहिले हुँदैन भन्दै माफी माग्नु भएको थियो ।’ यसरी माफी मागेर अध्यक्ष राउतले जोगाउनु भएको थियो आफ्नो पार्टी नेतृत्वको सरकार । अहिले अध्यक्ष राउतले सरकारको विपक्षमा बोल्न छाड्नु भएको छ ।

तपाईको प्रतिक्रिया