प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भारतको विरुद्धमा चीन कार्ड प्रयोग गर्न थाल्नुभएको छ । अमेरिकाको साथ सहयोगमा काँग्रेससँग मिलेर सरकार बनाएपछि प्रधानमन्त्री ओलीलाई भारत र चीन दुवै देशले पत्याउन छाडेका छन् । कुनै देशले सहयोग गरिरहेका छैनन् । अमेरिकी एमसीसीको सबै काम अगाडि बढाउनु भएको प्रधानमन्त्री ओलीले अहिले भारत र चीनका अधिकाँश प्रोजेक्टमा ब्रेक लगाउनु भएको छ । जसले गर्दा दुवै देश उहाँमाथि चिढिएको छ ।
उहाँ प्रधानमन्त्री भएको तीन महिना भइसकेको छ तर हालसम्म कुनै पनि देशको राजकीय भ्रमण गर्न सक्नु भएको छैन । अमेरिका त उहाँ युएनको कार्यक्रममा जानु भएको थियो । तर हालसम्म उहाँ कुनै देशको औपचारिक राजकीय भ्रमण गर्नुभएको छैन । भाजपाका नेता नरेन्द्र मोदी भारतका प्रधानमन्त्रीमा नियुक्त भएपछि हालसम्म दर्जनभन्दा बढी देशको भ्रमण गरिसक्नु भएको छ । अरु देशका प्रधानमन्त्री वा राष्ट्र प्रमुख विदेश भ्रमण गरिरहेका हुन्छन् तर प्रधानमन्त्री ओली निस्किन सक्नु भएको छैन ।
यहाँसम्म कि प्रधानमन्त्री नियुक्त हुने वित्तिकै भारत र चीनबाट भ्रमणको निम्तो आउँथ्यो तर हालसम्म ती देशबाट पनि निमन्त्रणा आएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई पटक निमन्त्रणा दिइसक्नु भएको छ । तर भारतले हालसम्म निमन्त्रणा दिएको छैन । प्रधानमन्त्री ओलीले पनि पहिलो भारतको भ्रमण गर्न चाहनु भएको छ तर निमन्त्रण आएको छैन । अहिले उहाँले आफू चीन भ्रमणमा जान लागेको भनि प्रचार गर्न लगाउनु भएको छ । चीन जाने भनेपछि भारतले हतार हतारमा निमन्त्रणा पठाउँछ कि भनि उहाँलाई लागेको छ । जब कि चीनले पनि हालसम्म निमन्त्रणा दिएको छैन । चिनियाँ नेताहरु नेपाल भ्रमणमा आउने क्रममा कटसीका लािग चीन घुम्न आउन भने पनि औपचारिक निमन्त्रणा दिएका छैनन् ।
परराष्ट्रमन्त्री डा.आरजुराणा देउवा सचिवालयका एक अधिकारीले भन्नुभयो, ‘चीनले औपचारिक निमन्त्रणा त दिएको छैन तर कुराकानी भइरहेको छ । चीनले प्रधानमन्त्री ओलीलाई आफ्नो देशको भ्रमण गराउन चाहेको छ । प्रधानमन्त्री ओलीको सचिवालयसँग यो विषयमा चीनले समन्वय सुरु गरेको छ प्रधानमन्त्री ओलीले चीन जाने इच्छा देखाएपछि औपाचारिक निमन्त्रणा दिएर बोलाउछ सायद ।’ प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला भारतका प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ता गर्नुभएको थियो । त्यो भेटवार्तामा पनि नेपालको तर्फबाट प्रधानमन्त्री मोदीलाई भ्रमणका लागि औपचारिक रुपमै भनेको थियो । त्यस्तै अमेरिकामै प्रधानमन्त्री ओलीले असोज ११ गते चीनका विदेशमन्त्री वाङ यीसँग साइडलाइन भेटघाट गर्नुभएको थियो । त्यो भेटघाटमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको बारेमा चर्चा समेत भएको थिएन ।
तपाईको प्रतिक्रिया