–रघुवीर महासेठ
प्रमुख, विदेश विभाग, नेकपा (एमाले)
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि चीनको भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणसँगै सबभन्दा बढी चर्चा बीआरआइको भइरहेको छ । बीआरआइ अन्तरर्गतको परियोजना ऋणमा लिने अनुदानमा भनि नेपालमा बहस भइरहेको छ । यद्यपी सत्तारुढ दल काँग्रेस र एमालेले परियोजना अनुदानमा मात्र लिने सहमति गरिसकेका छन् । यसरी सहमति गरेको सन्देश लिएर परराष्ट्रमन्त्री आरजुराणा देउवा चीन पनि पुगि सक्नु भएको छ । त्यहाँका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता पनि गरिसक्नु भएको छ । बीआरआइमा काँग्रेस र एमालेले गरेको सहमतिमा चीनले पनि सहमति जनायो कि जनाएन त्यो कुरा बाहिर आइसकेको छैन । बीआरआइसँगै प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई माओवादीका अध्यक्ष प्रचण्डले भारतविरुद्धको चाइनाकार्ड हो भनि टिप्पणी गर्नुभएको छ । यसको चर्चा पनि देश विदेशमा भइरहेको छ । प्रस्तुत छ, प्रधानमन्त्री ओलीको चीन भ्रमण, चाइना कार्ड, बीआरआइलगायतको विषयमा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसँग सहारा टाइम्सले गरेको छोटो कुराकानीः
बीआरआइको विषयमा काँग्रेस र एमालेले सहमति गरेको छ, के के विषयमा सहमति भएका छन् ?
–चीनले प्रस्ताव गरेको ‘बीआरआइको कार्यान्वयन योजना’को प्रस्तावमाथि छलफल गरी त्यसलाई संशोधन गरी ‘सहकार्यको फ्रेमवर्क’ सहमति गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआइको बारेमा अध्ययन गरी एउटा ठोस प्रस्ताव गर्न तीन सदस्य टाक्सफोर्स गठन गर्नुभएको थियो । टाक्सफोर्सले एउटा प्रस्ताव तयार गरेर प्रधानमन्त्री ओलीजी र शेरबहादुर देउवाजीलाई बुझाइ सकेको छ । मैले सो प्रस्ताव हालसम्म अध्ययन गर्न पाएको छैन तर मैले अनौपचारिक रुपमा बुझे अनुसार बीआरआइ ऋणमा होइन अनुदानमा लिने गरी प्रस्ताव तयार गरेको छ । सो प्रस्तावमा १० वटा परियोजनाहरु छन् । ती सबै अनुदानबाट नै हुने भनि सहकार्यको फ्रेमवर्क प्रस्ताव गरेको छ । तर चीनले पनि त्यसमा सहमत भयो वा भएन त्यसको बारेमा कुनै प्रतिकृया आइ पुगेको छैन ।
सुरुदेखि एमालेको धारणा अनुदान मात्र थिएन अनुदान वा ऋण थियो तर अहिले आएर अनुदानमा सहमति गरेको छ त्यो कसरी सम्भव भयो ?
–मैले अघि नै भने कि मैले डिटेल अध्ययन गरेको छैन र यस विषयमा उच्च तहमा मेरो कुराकानी भएको छैन । सञ्चारमाध्यममा र केही साथीभाइसँग कुराकानीको आधारमा मैले जे बुझेको छु त्यो मैले तपाईलाई बताए । तर अहिले पनि मेरो व्यक्तिगत कुरा बुझ्नु हुन्छ भने चीनबाट बीआरआइ लिनुपर्छ कुनै पनि बहानामा त्यसलाई छोड्नु हुँदैन । जति पनि परियोजनाहरु छन् ती सबै अनुदानमा सम्भव छैन, ऋणमा पनि सम्भव छैन । चीनले अरु अरु देशमा पनि यो बीआरआइ सञ्चालन गरेको छ । सबै ठाउँमा ऋणमा नै चलिरहेको छ । त्यसले नेपालले अनुदान मात्र मागेर हुँदैन आवश्यकता अनुसार अनुदान पनि र ऋण पनि मोडेलमा जानुपर्छ तर दुई दल सम्मलित कार्यदलले के गरेको छ त्यो भित्रको कन्टेन्ट मैले अध्ययन गरेको छैन । त्यो अध्ययन गरेपछि मात्र केही भन्न सकिन्छ ।
काँग्रेसले त कुनै पनि हालतमा ऋणलाई स्विकार गर्दैनन् भनि रहेको छ नि ?
–ऋण स्विकार नगर्ने कुरा काँग्रेसले मात्र होइन, हाम्रो प्रधानमन्त्री ओलीजीले पनि भनिरहनु भएको छ । तर ऋण स्विकार नगर्ने, ऋण नलिने त्यो कुराको डिटेलमा जानु आवश्यक छ । कस्तो ऋण स्विकार नगर्ने, कस्तो ऋण नलिने त्यो कुरा आउनु र बुझ्न आवश्यक छ । नेपाललाई आवश्यकता छ भने ऋण लिन्छ नभए लिदैन । यसमा कसैले जोड जवर्जस्ती गर्न मिल्दैन । चीनले पनि सक्छ भने अनुदानमा दिन सक्छ नभए यसमा पनि कसैको जोड जवर्जस्ती चल्दैन । हामीले अनुदान माग्दैमा चीनले दिइहाल्छ भने पनि छैन, चीनले ऋण दिँदैमा हामीले लिइ हाल्नुपर्छ भने पनि छैन । दुवै देशले आआफ्नो आवश्यता अनुसार अगाडि बढ्नुपर्छ ।
बीआरआइ लिएर प्रधानमन्त्री ओलीको चीन भ्रमण विवादित भएको छ यसमा तपाईले के भन्नुहुन्छ ?
–एउटा देशको प्रधानमन्त्री कुनै देशको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसको विभिन्न कोणबाट चर्चा हुनु स्वभाविक हो । फेरि बीआरआइ चीनको निकै नै महत्वकाँक्षी प्रोजेक्ट हो । यसमा देशी विदेशीको नजर छ । चर्चा हुनु स्वभाविक हो, त्यसलाई मैले अनावश्यक लिएको छैन तर कतिपयले अनावश्यक रुपमा त्यसलाई विवादमा ल्याउने प्रयास गरिरहेका छन् । देशको हितभन्दा व्यक्तिगत स्वार्थमा त्यसलाई व्यख्या गरिरहेका छन् । प्रधानमन्त्री र उहाँको पार्टीलाई अनावश्यक रुपमा बदनाम गराउने प्रयास भइरहेको छ । कुनै पनि विषयवस्तुमा स्वच्छ बहस हुनु राम्रो कुरा हो । कुनै पनि विषयवस्तुमा जति धेरै बहस हुन्छ त्यति नै राम्रो हुन्छ तर त्यो राष्ट्रका हितमा हुनुपर्छ । त्यस्तो भइरहेको देखिएको छैन । बीआरआइको विषयमा विभिन्न कोणबाट कुरा आउन थालेपछि प्रधानमन्त्री ओलीजीले टाक्सफोर्स बनाएर नै अध्ययन गराउनु भएको छ त्यो त सकारात्मक कुरा हो नि ।
त्यसो भए चीन भ्रमणलाई लिएर प्रधानमन्त्री अोली र माओवादी केन्द्रका प्रचण्डका बिच तुतु मैमै भइरहेको छन् यस्तो किन भइरहेको छ जस्तो लाग्छ तपाईलाई ?
–मलाई त त्यस्तो लाग्दैन । यस विषयमा प्रधानमन्त्रीजीले केही बोल्नु भएको छैन । माओवादीका अध्यक्ष प्रचण्डले जे टिप्पणी गर्नुभएको छ त्यसमा प्रधानमन्त्री ओलीले कुनै प्रतिकृया दिनुभएको छैन । हामीले पार्टीको तर्फबाट त्यसको खण्डन गरेका छौं । प्रधानमन्त्री जीलाई चीनबाट भ्रमणको निम्तो आयो । उहाँ डिसेम्बर २ मा चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको भ्रमणलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतको ‘द हिन्दु’ भन्ने पत्रिकामार्फत जुन टिप्पणी गर्नुभएको छ त्यो आपत्तिजनक छ, हाम्रो विदेश नीतिको विपरित हो । हामी सार्वभौम स्वतन्त्त देश हौं । उहाँले प्रधानमन्त्रीको भ्रमणलाई लिएर जुन टिप्पणी गर्नुभएको छ त्यो देश र जनताको हितमा छैन । त्यसको घोर आपत्तिसँगै एमाले पार्टीले तत्काल खण्डन गरेको छ । प्रधानमन्त्री भइसक्नु भएका माओवादी अध्यक्ष प्रचण्डले जानी जानी प्रधानमन्त्री अोलीको चीन भ्रमणलाई बदनाम गराउन खोज्नु भएको छ । प्रधानमन्त्री अोलीलाई भारत विरोधी देखाउन खोज्नु भएको छ ।
प्रधानमन्त्री अोलीको चीन भ्रमणलाई चाइनाकार्डको रुपमा प्रचण्डले टिप्पणी गर्नुभएको छ, उहाँले त्यस्तो टिप्पणी किन गर्नुभयो जस्तो लाग्छ तपाईलाई ?
–त्यो कुरा त तपाईले उहाँलाई नै सोध्दा थाह हुन्छ तर म के भन्छु भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पटक पटक चीनको भ्रमण गर्नुभएको छ । उहाँले भ्रमण गर्दा चाइना कार्ड नहुने प्रधानमन्त्री ओलीले त्यहीं भ्रमण गर्दा चाइना कार्ड हुने कसरी ? यसमा टिका टिप्पणी गर्नुको कुनै अर्थ नै छैन । सत्ताबाट हट्नु परेको छटपटाहटमा परेर माओवादीका अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिनु भएको जस्तो लाग्छ मलाई । उहाँ पनि पटक पटक चीनको भ्रमण गर्नुभएको छ । त्यो बेला भारत विरुद्धको चाइनाकार्ड थिएन अहिले कसरी भयो ? प्रचण्डजी जस्तो व्यक्तिले सस्तो लोकप्रियताका लागि यस्ता गम्भीर विषयमा टिप्पणी गर्नुहुँदैन्थ्यो । कसको इसारामा यस्तो भन्नुभयो त्यो मलाई थाह भएन तर जे भन्नुभयो त्यो एकदमै गलत भन्नुभयो ।
भारतले भ्रमणमा नबोलाएको रिसमा प्रधानमन्त्री अोलीले हतार हतार चीन भ्रमण गरेर भारतलाई तर्साउन यो कार्ड प्रयोग गर्नुभएको हो भनिन्छ नि ?
–त्यो आधारहिन, कपोकल्पित कुरा हो । कुन देशको भ्रमण गर्ने निर्णय गर्ने अधिकार प्रधानमन्त्री वा त्यहाँको सरकारको हुन्छ । हामी स्वतन्त्र राष्ट्र हौं । हामी कुन देशको भ्रमण गर्छौ त्यो चयन गर्ने अधिकार नेपालको हो, नेपाल सरकारको हो । यसमा अरुले टाउको दुखाउने कुरा नै होइन । कुनै देशको भ्रमण गराउने कुरा केटाकेटीको खेल होइन, भ्रमण गराउने देश पनि तयार हुनुपर्छ । उसको पनि सेडुल मिल्नुपर्छ । हुनसक्छ भारतका प्रधामन्त्री नरेन्द्र मोदीको सेडुल मिलिरहेको छैन । तयारी गर्न सकिरहेको छैन । आफ्नो अनुकुल अनुसार निमन्त्रणा पठाउला त्यसका लागि हामी वा कसैले टाउको दुखाउनुपर्ने अवस्था छैन । भ्रमणलाई लिएर अहिलेसम्म भारतले केही बोलेको छैन तर भारतले यस्तो भन्यो, उस्तो भन्यो भन्ने कुराहरु भइरहेका छन् । यस्ता कुराहरु देशको हितमा छैन । देशको हित नचाहने व्यक्तिहरुले यस्ता कुराहरु उठाइ रहेका छन् । यो सरकारले भारत र चीनलाई समान दृष्टिले हेर्नुपर्छ र हेरिरहेको छ । हाम्रो लागी दुवै मित्र हुन्, हाम्रो लागी कोही सत्रु होइनन् । चीनले भ्रमणको निम्ता पठायो, प्रधानमन्त्री गइरहनु भएको छ । जुन दिन भारतले निम्ता पठाउछ, प्रधानमन्त्री त्यहाँ पनि जानु हुन्छ । यसमा चाइना कार्डको कुरा कहाँबाट मैले बुझ्न सकेको छैन । भ्रमणका निम्ता आउनैपर्छ भने कुनै जरुरी छैन । यो आआफ्नो देशको अनुकुलतामा भर पर्छ ।
एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री भएको छ महिना भइसक्यो तर भारतबाट अहिलेसम्म भ्रमणको निम्तो आएको छैन, यसमा तपाईलाई अनौठो लागेको छैन ?
–मलाई कुनै अनौठो लागेको छैन । किनभने पहिलो भ्रमण भारत वा चीनै गर्नुपर्छ भनि नेपालको कुनै कानुनमा उल्लेख छैन वा भारत र चीनको कानुनमा छ कि नेपालले पहिला भारत वा चीनको भ्रमण गर्नुपर्छ । भ्रमण त आफ्नो अनुकुलता र एजेण्डाको आधारमा हुन्छ । भारतसँग पहिला जे सम्बन्ध थियो त्यो सम्बन्ध आज पनि कायम छ । भारतसँग हाम्रो राम्रो सम्बन्ध छ तर भ्रमण गराउनका लागि उसको पनि अनुकुलता हुनुपर्यो । भ्रमणको निम्तो नआउदैमा सम्बन्ध खराब छ वा निम्तो आउदैमा सम्बन्ध राम्रो छ भने होइन । भारतसँग हाम्रो राम्रो सम्बन्ध छ, विशेष सम्बन्ध छ । त्यो कायम रहन्छ । भारतबाट पनि निम्तो आउछ र प्रधानमन्त्री ओली भ्रमणमा जानु हुन्छ । यसलाई हाउगुजी बनाउनु हुँदैन ।
केपी शर्मा ओली तीन पटक प्रधानमन्त्री बन्नुभयो तर तीनै पटक भारतसँग राम्रो सम्बन्ध रहेन । पहिलो पटक प्रधामन्त्री हुँदा संविधान निर्माण, नाकाबन्दीलगायतका विषयलाई लिएर सम्बन्ध बिग्रेको थियो । दोस्रो पटक प्रधानमन्त्री हुँदा चुच्चे नक्सालाई लिएर विवाद चरमसीमामा पुग्यो । अहिले तेस्रो पटक पनि अोली र भारतको दुरी बढेको छ यस्तो किन ?
–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको लागि नेपाली जनताका लागि केही गर्नुहुन्छ र त्यसले अरु कसैलाई चित्त बुझेको छैन भने त्यो हाम्रो कमजोरी होइन । तपाई नै भन्नुस् त प्रधानमन्त्री अोलीले संविधान निर्माणको क्रममा जे अडान लिनुभयो वा नाकाबन्दी हटाउन जे पहल गर्नुभयो के त्यो गलत थियो ? गलत थियो भने भन्नुस् । त्यसमा कसैको चित्त दुख्यो भने यसमा मलाई केही भन्नु छैन । चुच्चे नक्साको कुरा संसदबाट दुई तिहाइ भन्दा बढी बहुमतले पारित भएको कुरा हो । नेपाली जनताले साथ दिएको कुरा हो । त्यसमा पनि कसैलाई चित्त दुखेको छ भने दुखोस् हामी के नै गर्न सक्छौं र । प्रधानमन्त्री अोलीले कहाँ गलत गर्नुभएको छ कसैले भन्नसक्छ ? भारतसँग हाम्रो कहिले सम्बन्ध बिग्रेको थिएन । सधै राम्रो थियो र अहिले पनि छ । मान्छेको सोचाइ र बुझाईमा मात्र फरक छ । हाम्रो पार्टीका अध्यक्ष ओली २०७४ मा प्रधानमन्त्री हुँदा म पनि क्यविनेटमा सिनियर मिनिस्टर नै थिए । त्यो बेला त म कुनै प्रकारको त्यस्तो विवाद देखिनन् । धेरै राम्रो सम्बन्ध थियो । म आफै पटक पटक भारत भ्रमणमा गएका थिए । म पनि मोदीलाई भेटेका थिए । मोदी पनि पटक पटक नेपालको भ्रमण गर्नुभएको थियो । सोचे भन्दा राम्रो सम्बन्ध थियो । मान्छेले भ्रम फैलाउने काम गरिरहेको छ कि ओली प्रधानमन्त्री बनेपछि नेपाल–भारतबिच सम्बन्ध बिग्रेको छ । त्यो सरासर गलत कुरा हो । बरु मोदी र अोली बिच पटक पटक कुराकानी भएकै हो । असोजमा मात्र अमेरिकामा उहाँ दुई जनाको बिचमा भेटघाट भएकै हो । फोनमा पनि संवाद भइ नै रहेको हुन्छ । अब के चाहियो ।


तपाईको प्रतिक्रिया