विद्रोही स्वभावका जीवछीले यसरी गर्नुभयो प्रदेश सभासम्मको यात्रा
१६ मंसिर २०८१, आईतवार १८:२९
‘हुने विरुवाको चिल्लो पात’ यो भनाइ ठ्याक्कै जीवछीकुमारी यादवसँग मेल खान्छ । सिरहा नवराजपुर–३ जगतपुरका जीवछी यादवमा सानैदेखि केही गर्ने हुटहुटी थियो । त्यसका लागि उहाँ विभिन्न प्रयास पनि गर्नुभएको थियो । आज त्यही हुटहुटी र प्रयासको कारण उहाँ मधेश प्रदेशका प्रदेशसभा सदस्यसम्म बन्नुभएको हो । एसएलसी पास गरेपछि नै उहाँ आफै केही गरौं, कसैको बोझ नबनौं सोच बनाउनुभयो । त्यहीं सोचले उहाँ स्कूलमा पढाउन सुरु गर्नुभएको थियो ।
त्यसपछि उहाँ कहिले पछाडी फर्केर हेर्नुभएन । निरन्तर केही गरौं भन्दै अगाडि बढ्दै जानुभयो । २०५४ मा विहे गरेपछि केही समय घर व्यवहारमा अल्झिनुभयो । त्यसबाहेक हालसम्म उहाँले केही नकेहीमा क्रियाशिल नै रहनुभयो । जीवछी भन्नुहुन्छ, ‘माइतीमा मलाई बाहिर निस्किन गाह्रो थिएन तर विहे गरेर आएपछि केही समय मलाई घरबाट निस्किन निकै गाह्रो थियो । तर घरका मान्छेलाई कन्भिन्स गरेर निस्के यदि त्यतिबेला ननिस्केको भए म अहिले घरभित्रै हुन्थे ।’
जीवनमा केही गर्नुछ भने घर र समाजबाट विद्रोह गर्नुपर्छ, कहिले काही आफैसँग पनि विद्रोह गर्नुपर्छ भनि बुझाई जीवछीको रहेको छ । उहाँले पटक पटक घर तथा समाज यहाँसम्म आफैसँग पनि विद्रोह गर्नुभएको छ ।
नागरिकताका लागि विद्रोह
जीवछीले २०५२ मा एसएलसी पास गरेपछि उहाँको बारेमा गाउँमा निकै चर्चा भएको थियो । त्यतिबेला छोरीहरु निकै कम पढ्थे । हुनेखाने परिवारले पनि आफ्ना छोरीलाई पठाउदैन्थे । त्यतिबेला छोरीहरु निकै कम पढ्थे । जीवछी एसएलसी पास गरेपछि सिरहाको जगतपुर प्राविमा जागिर पाउनुभयो । त्यतिबेला उहाँका हजुरबुवा जुगेश्वर यादव वडा अध्यक्ष हुनुहुन्थ्यो । भर्खर एसएलसी पास गर्नुभएको कारण जीवछीको चर्चा थियो । त्यति नै बेला जगतपुर प्राविमा शिक्षकको पनि आवश्यकता थियो । जीवछीले त्यहाँ पढाउने अवसर पाउनुभयो । स्कूलमा उहाँले पढाउदै गर्दा मासिकाका लागि विज्ञापन निस्केको थियो तर विज्ञापन भर्नका लागि नागरिकता चाहिएको थियो ।
जीवछीसँग नागरिकता थिएन । उहाँ नागरिकता बनाउनकै लागि आफ्नो बुवा हरिनारायण यादवसँग हिड्दै सिरहा सदरमुकाम पुग्नुभयो । त्यतिबेला अविवाहित महिलाले पनि नागरिकता लिन पाउने भनि कानुन कार्यान्वयनमा आइसकेको थियो । त्यसअघि विवाहित महिलाले मात्र नागरिकता बनाउन पाउथे । तर तत्कालिन गाउँविकास समितिले अविवाहितलाई सिफारिस गर्न मानिरहेको थिएन । सायद स्थानीय जनप्रतिनिधिलाई त्यतिबेला कानुनको बारेमा जानकारी थिएन होला ।
जीवछी सम्झनुहुन्छ, ‘तत्कालिन उपप्रधानपञ्च ह्रदयनारायण यादवले छोरीलाई अंश दिने हो र, किन नागरिकता बनाउन हतार गर्नुभएको हो, नागरिकता नै बनाई दिने हो भने विहे गरेर मात्र बनाइ दिनुस् भनि मेरो बुवालाई भन्नुभएको थियो । त्यो कुरा सुनेर म झन चिन्तित भए झन टुटे ।’ उपप्रधानपञ्चले सिफारिस नगरेपछि जीवछी तत्कालिन जिल्ला सभापति राजलाल यादव कहाँ जानुभयो । उहाँले पनि अविवाहित छोरीलाई आजसम्म आफूले सिफारिस गरेको छैन गाविसबाट सिफारिस नआएसम्म आफूले पनि गर्न नसक्ने जवाफ दिनुभएको थियो ।
तर जीवछी हार मान्ने पक्षमा हुनुहुन्थेन । उहाँ दाल चामल लिएर नै नागरिकताका बनाउनका लागि सिरहा पुग्नु भएको थियो । गाउँले लेखनदास सुदीलाल यादवको डेरामा जीवछी बस्नुभयो । उहाँले नागरिकता नबनेसम्म सिरहाबाट नफर्किने अडानमा बस्नुभयो किनभने नागरिकता लिएर उहाँलाई जागिरमा जानु थियो त्यही भएर उहाँलाई नागरिकताको हतार थियो । कति भनसुन तथा कन्भिन्स गरेपछि गाविसका तत्कालिन प्रधानपञ्च इन्द्रप्रसाद यादवले नागरिकताका लागि सिफारिस गर्नुभयो । इन्द्रप्रसादले गरेपछि राजलाल यादवले पनि सिफारिस गर्नुभयो । जीवछीको नागरिकता बन्यो ।
तर मासिकाको जागिरका लागि त्यो नागरिकता काम लागेन । विज्ञापनमै स्थानीय महिला हुनुपर्छ भनि उल्लेख थियो । र, फर्मका साथ विवाह दर्ता पनि पेस गर्नुपथ्र्यो जो जीवछीसँग थिएन । त्यतिबेला जीवछीको बिहे भएको थिएन । उहाँ त्यसका लागि पनि आवाज उठाउनु भयो । छोरा स्थानीय हुने तर छोरी किन नहुने ? यदि छोरीले विहे गरेन भने के उ जागिर गर्न पाउँदैन, के आमा बुबाको घरमा बस्ने छोरी स्थानीय हुँदैन, के मासिकाको जागिर अविवाहितले गर्न पाउँदैन जस्ता कुरा उहाँले उठाउनु भएको थियो तर त्यतिबेला उहाँको कुरा कसैले सुनेनन् ।
ससुरालमा विद्रोह
२०५४ मा सिरहा औरही गाउँपालिकाका दरहिया–१ का फुलेश्वर यादवसँग जीवछीको बिहे भयो । सानैदेखि चञ्चल स्वभावका जीवछी ससुरालमा पनि माइती जस्तै बस्न चाहनु भएको थियो । माइती जस्तै वतावरण र खुल्लापन चाहनु भएको थियो तर ससुरालमा घुँघटभित्र बस्नुपर्छ, घरभित्रै रहनु पर्छ ठूलाबडाको सामु जानु हुँदैन भनि कुराबाट जीवछी बेखबर हुनुहुन्थ्यो । उहाँलाई यी सब कुराको जानकारी नभएको होइन तर यी सब बेकारका कुरा हुन् यस्ता कुराहरु मान्नु हुँदैन भनि सोचाइ जीवछीमा थियो ।
बिहेको एक दुई दिनमै जीवछी आफ्नो आँगनमा श्रीमानसँग कुर्सीमा सँगै बस्नुभएको थियो । त्यो कुरालाई घरपरिवारमा हलचल नै भएको थियो । कस्तो बुहारी हुन् सबैको सामु श्रीमानसँग टाँसिएर बस्छिन् । श्रीमानसँग यसरी बस्नु हुँदैन भनि परिवारका सदस्यहरुले सम्झाएका थिए । त्यसको केही दिनमै जीवछी यसै एक दिन दलानमा गएर बस्नु भएको थियो । त्यो कुरालाई लिएर घरमा हलिखली भएको थियो । कस्तो कुसंस्कारी बुहारी आइन्, केही मान्दैनन्, घरपरिवारको रीतिरिवाज केही मान्दैनन् जस्ता टिप्पणीहरु भएको थियो ।
उहाँका सासुआमा, ससुरा तथा अन्यहरुले रिसाउनु भएको थियो । बुहारी यसरी दलानमा बस्नु हुँदैन भनि सबैले सम्झाइ बुझाई गरेका थिए । तर जीवछीलाई हरेक कुरामा श्रीमान फुलेश्वरको साथ सहयोग हुन्थ्यो । जीवछी भन्नुहुन्छ, ‘कुनै कुनै कुरालाई लिएर घरमा यतिका टिकाटिप्पणी हुन्थ्यो यदि त्यो बेला मेरो श्रीमानले साथ नदिएको भए सायद म ससुरालमा बस्न सक्दैन्थे कि जस्तो अहिले पनि लाग्छ ।’
माइतीमा शिक्षिका रही सक्नु भएका जीवछी ससुराल आएपछि विशुद्ध गृहणी बन्नुपरेको थियो । घरधन्दा गर्ने, घरमै बस्ने, बाहिर कतै जान नपाउने, जथाभावी कसैसँग बोल्न नपाउने जस्तो अवस्था थियो । जुन कुरा जीवछीलाई मन परेको थिएन । जागिर गरेको मान्छे, जागिर छाड्न लगाएर यहाँ घरमा ल्याएर थन्काउनु भएको भनि जीवछीले आफ्नो श्रीमानसँग गुनासो गर्नुहुन्थ्यो । आफू यसै चुपचाप नबस्ने केही गर्ने भनि श्रीमानलाई भन्न थाल्नुभयो । त्यति नै बेला दरहिया स्कुलमा शिक्षकका लागि विज्ञापन खुलेको थियो ।
यो भन्दा ठूलो अवसर अरु के होला भनि जीवछीले पनि त्यसमा चासो लिन थाल्नुभयो । तर घरका अरुअरुले जीवछीलाई त्यहाँ शिक्षिकामा राख्न रुची देखाएनन् । बुहारीले यसरी गाउँकै स्कूलमा पढाउनु हुँदैन भनि घरमा कुराकानी भएको थियो । अर्थात जीवछीलाई त्यो स्कुलमा जागिर गर्न दिएन परिवारकै अन्य सदस्यले त्यो जागिर पायो । जीवछीलाई त्यो कुराले निकै चित्त दुखेको थियो । माइतीमा बुबा तथा हजुरबुबाले गाउँकै स्कूलमा पढाउन दिनुभएको थियो । घरपरिवार कति खुशी थियो । तर यहाँ यो गर त्यो नगर जस्ता विभिन्न ब्रेकर लगाउने गरेको कुरामा जीवछीलाई चित्त बुझेको थिएन ।
जीवछीको सवारी साइकल
एकदिन श्रीमान फुलेश्वरले एउटा विज्ञापन लिएर आउनु भयो । त्यो सामाजिक परिचालिकाको लागि विज्ञापन थियो । त्यसमा उहाँ फर्म भर्नुभयो । १३ गाउँपालिकामा काम गर्नुपर्ने थियो । त्यसमा दुई जना छनौट हुनुभयो । ससुराल आएपछि जीवछी यसरी पहिलो पटक बाहिर निस्किने मौका पाउनुभयो । सामाजिक परिचालिकमा जागिर पाएपछि अरुअरु गाउँ जानु पथ्र्यो जुन कुरा उहाँको परिवारलाई मात्र होइन, अन्यलाई पनि पचेको थिएन । गाउँका अन्य मान्छेहरुले सासु ससुरालाई अनेक कुरा लगाउथे । गाउँमा जीवछीको बारेमा अनेक टिप्पणी हुन्थ्यो तर उहाँले त्यसको प्रवाह कहिले गर्नुभएन । उहाँ आफ्नो गतिमा हिडिरहनु भयो ।
तीन वर्षपछि सामाजिक परिचालिकमा एक जना मात्र राख्ने भनि नीति बन्यो । त्यसमा पनि जीवछी नै छनौटमा पर्नुभयो । त्यतिबेला जीवछीलाई उहाँको कामको आधारमा छनौट गरेको थियो । त्यसमा जीवछीको तलब २२ सय थियो । जीवछीलाई अरु अरु गाउँ जानुपर्ने भएकाले उहाँले एउटा साइकल किन्नुभयो । साइकल चढ्न थालेपछि पनि गाउँमा टिप्पणी हुन थाल्यो । बुहारीले यसरी साइकल चढ्नु हुँदैन भनि घर तथा घरबाहिर पनि चर्चा हुन थाले ।
जीवछी भन्नुहुन्छ, ‘एक किसिमले मलाई साइकल चढ्नमा रोक नै लगायो । जागिर गर्न पनि हुनु हुँदैन्थ्यो, जागिर गर्नुभयो तर अब साइकल चढ्न थाल्नुभयो यो हुँदैन बरु जागिर छाड्नुस् तर साइकल चढ्न पाइदैन भनि घरबाट दबाब आयो ।’ तर जीवछी आफ्नो अडानबाट पछाडी हट्नुभएन । जसरी पनि साइकल नै चढ्ने भनि अडान लिनुभयो । त्यसपछि एउटा उपाय निकाल्यो, गाउँबाट निस्किदा साइकल नचढ्ने डोर्याएर जाने र आफ्नो गाउँबाट निस्कि सकेपछि मात्र साइकल चढ्ने ।
जीवछी भन्नुहुन्छ, ‘त्यसपछि म करिब आधा घण्टा साइकल डोर्याएर जान्थे त्यसपछि मात्र साइकल चढ्थे, आउँदा पनि परै ओर्लन्थे र घरसम्म साइकल डोर्याएर ल्याउँथे । एक दिन एउटा बैठकमा आधाघण्टा ढिलो पुगेपछि हाकिमबाट गाली खाएको थिए । त्यसपछि त्यो कुरा म आफ्नो श्रीमानसमक्ष राखे अनि श्रीमानले चढ्नुस् केही हुँदैन केही भयो भने म घरमा कुरा गर्छु । अनि त्यसपछि घरबाट निस्किदा नै साइकल चढ्न थाले एक दुई दिन कुरा काट्ने काम भयो त्यसपछि सबै चुप भए ।’
तीन जागिर एक साथ
जीवछीले पछि आफ्नै कमाइबाट स्कुटी किन्नुभयो । स्कुटी चढ्न थालेपछि त झन उहाँको बारेमा टिकाटिप्पणी हुन थाले तर ती कुराहरुको उहाँले बेवास्ता गर्न थाल्नुभयो । त्यतिबेला जीवछीले दुईटा जागिर गरिरहनु भएको थियो । २०६१ मा जिल्ला शिक्षा कार्यालयले अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । त्यसमा जीवछीलाई पाँच गाउँ (सन्हैठा, करहर्बा, हरकट्टी, सोठाइन)का लागि सुपरभाइजर बनाएको थियो । भनिन्छ, सामाजिक परिचालिकमा राम्रो काम गरेको कारण उहाँलाई शिक्षा कार्यालयले छनौट गरेको थियो ।
उहाँ दुईटा जागिर गरिरहनु भएको थियो । उहाँलाई तेस्रो जागिरको पनि अवसर आयो । २०७४ मा लोकल गोभर्नमेन्ट सुशासन (एलसीडी) कार्यक्रमका लागि विज्ञापन निस्केको थियो । उहाँले त्यसमा पनि अप्लाई गर्नुभएको थियो । परीक्षा दिनुभयो र त्यसमा उहाँ पास हुनुभयो । उहाँ एकसाथ तीनटै जागिर गरिरहनु भएको थियो । तीनटै जागिर एकै प्रकृतिको भएको कारण उहाँलाई काम गर्न गाह्रो थिएन । स्कुटी थियो उहाँले भ्याइ रहनु भएको थियो ।
जीवछी भन्नुहुन्छ, ‘मैले तीन वटा जागिर गरेपनि घरमा बुहारीले गर्ने सबै काम पनि गर्थे, खाना पकाउनुदेखि लिएर सरसफाइलगायत घरका सबै काम गर्थे । त्यसका लागि म विहान ३–४ बजे उठि सक्थे । घरका सबै काम भ्याएर मात्र आफ्नो टाइममा काममा निस्किन्थे ।’ त्यतिबेलाको समाज अहिलेको जस्तो सजिलो थिएन । भर्खर भर्खर देशमा गणतन्त्र आएको थियो । चुनावहरुको तयारी चलिरहेको थियो । राजनीतिक गतिविधिहरु बढ्दै थियो । तर जीवछी आफ्नो गतिमा हिडि रहनु भएको थियो ।
जीवछीले तीन वटा जागिर गरेकोमा समाजका धेरै मान्छेलाई पचेको थिएन । उहाँले बिगत सम्झिदै भन्नुभयो, ‘मैले एलसीडीमा जागिरका लागि नियुक्ति लिएपछि आफ्नो गाउँको स्कूलमा एउटा कार्यक्रमको आयोजना गरेको थिए, तर गाउँका मान्छेहरुले नै त्यो कार्यक्रम बहिष्कार गरेका थिए । त्यो कार्यक्रम जसोतसो भयो पछि मेरो कामको बहिष्कार गर्नेहरु पनि पछि मेरो कामको प्रसंशा गर्नु थाल्नुभयो बुहारी होस् त यस्तो भन्न थाले ।’ त्यतिबेला त्यो समाजको कुरा सुनेर घरमा लुकेको भए सायद यो ठाउँसम्म आइ पुग्ने थिएन भन्दै जीवछीले भन्नुभयो, ‘आफूले गरिरहेको काम आफूलाई ठिक लागि रहेको छ भने त्यसबाट पछाडि हट्नु हुँदैन ।’
त्यति मात्र होइन, उहाँको विरुद्धमा सिरहा जिल्ला शिक्षा कार्यालयसम्म नेताहरुको डेलिगेशन गएको थियो । जीवछी भन्नुहुन्छ, ‘फोरम र माओवादीका नेताहरु जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास कार्यालयमा गएर एक जना मान्छे कसरी तीन तीन वटा जागिर गर्न सक्छ, उसलाई हटाउनु पर्यो भनि उजुरी दिनुभएको थियो ।’ उहाँहरुको कुरा सुनेर छोरी बुहारीले काम गर्नु राम्रो हो नि तपाईहरुलाई किन पचिरहेको छैन, तपाईहरु पनि आआफ्नो छोरी बुहारीलाई यसरी काममा लगाउनु न, भनि तत्कालिन शिक्षा अधिकारीले नेताहरुलाई प्रतिकृया दिनुभएको थियो ।
एलसीडी कार्यक्रमबाट जीवछी हटेपछि त्यो कार्यक्रम पनि त्यतिकै कोल्याप्स हुन्छ के तपाईहरु चाहनु हुन्छ कि तपाईहरुको गाउँघरबाट यो कार्यक्रम हटोस्, शिक्षा अधिकारीले यस्तो भनेपछि ती नेताहरु चुपचाप घर फर्किनु भएको थियो ।
माओवादीको अपहरणमा
जीवछी एकपटक माओवादीको अपहरणमा पनि पर्नुभएको हो । एक्सन एडको महिला विकास कार्यक्रममा जीवछी सिरहाको टेनुवापट्टी जानुभएको थियो । दलित महिलाहरुलाई वचत गर्न सिकाइरहनु भएको थियो उहाँले । साहु, महाजनसँग ऋण नलिनु बरु सहकारीमा आफै बचत गर्नु र त्यहीबाट आवश्यकता अनुसार ऋण लिनु भनि सिकाइरहनु भएको थियो । त्यो कुरा गाउँ समाजका धेरैलाई मन परेको थिएन । सायद त्यही कुरालाई लिएर माओवादीको एउटा समूह आएर जीवछीलाई उठाएर लगेको थियो ।
मुख छोपेर आएका माओवादीहरुले जीवछीलाई सिरहा सोहपुरमा रहेको एउटा इट्टा भठ्ठामा लगेर राख्नुभएको थियो । आफूलाई किन के कारणले उठाएर ल्याएको भनि जीवछीले प्रश्न गर्नुभएको थियो तर त्यहाँ रहेका कुनै पनि माओवादीले जवाफ दिइरहनु भएको थिएन । ‘तपाईहरु राजनीतिमार्फत जनताका लागि जे काम गरिरहनु भएको छ म पनि समाजिक संस्थामार्फत त्यही काम गरिरहेको छु, तपाईहरु पनि दलित विपन्न वर्गको कुरा उठाइ रहनु भएको छ म पनि त्यही गरिरहेको छु भने मलाई किन उठाएर ल्याउनु भएको हो’ जीवछीले आफ्नो कुरा राख्नुभएको थियो ।
पछि त्यो समूहको कमाण्डर आएपछि जीवछीलाई किन उठाएर ल्याएको जहाँबाट ल्याउनु भएको छ त्यही पुर्याई दिनु भनि निर्देशन दिनुभएको थियो । पछि जीवछीलाई खाजा खुवाएर सम्मानका साथ त्यहाँबाट फर्काइएको थियो । सोहपुर र टेनुवापट्टी वरपर यो हल्ला फैलिएको थियो तर जीवछीको गाउँ दरहियासम्म आइपुगेको थिएन । जीवछी घर फर्किदा आफू अपहरणमा परेको कुरा उहाँको घरमा कसैलाई जानकारी थिएन । उहाँले पनि कसैलाई भन्नुभएन । घरका मान्छेले धेरैपछि यो कुरा थाह पाएका थिए ।
जीवछी भन्नुहुन्छ, ‘म फिल्डमा काम गर्ने मान्छे यस्ता घटनाहरु भइरहन्थ्यो कति कुरा घरमा भनि रहनु । कहिले कहाँ लफडा त कहिले कहाँ लफडा भइरहन्थ्यो ।’ जीवछीको काम कुर्सी टेबलमा बसेर गर्ने थिएन, तीनटै काम फिल्डकै थियो । गाउँ समाजमा डुल्ने । विपन्न, गरिब, असहायको हितमा काम गर्ने थियो । त्यसले गर्दा धेरैसँग उहाँको चिनजान भइसकेको थियो । गाउँमा हुने झैझगडा मिलाउन उहाँ पञ्चायती गर्न पनि जानु हुन्थ्यो । कतिपटक उहाँ प्रहरी चौकीदेखि लिएर सिडियो तथा एसपी कार्यालयसम्म आफै पुग्नुहुन्थ्यो ।
जहाँ जाँदा महिलामा उहाँ मात्र हुनुहुन्थ्यो । तर उहाँलाई कुनै हिचकिचाहट तथा संकोच थिएन । आफ्नो कुरा निर्धक्क भएर राख्नुहुन्थ्यो । उहाँको सक्रियता र कामको शैलीले गर्दा विस्तारै विस्तारै जीवछीलाई जिल्लाभर चिन्न थाले । उहाँ जागिरका साथै अन्य संघ संस्थामा पनि आवद्ध हुनुहुन्थ्यो । उहाँ २०५९ मा महिला मानवअधिकार रक्षक सञ्जालमा पनि आवद्ध हुनुभएको थियो । महिलाको हक अधिकारका लागि अवाज उठाउने संस्था भएकाले त्यसमा उहाँ सक्रिय हुनुहुन्थ्यो । २०६२ मा त्यसको सदस्य हुनुभएका जीवछी सचिव र उपाध्यक्ष हुँदै अध्यक्षसम्म पनि हुनुभएको थियो । सोही कार्यक्रममार्फत देशका विभिन्न ठाउँमा पनि पुग्नु भएको थियो ।
उहाँ हिमाल, पहाडसम्म पनि पुग्नुभएको छ । उहाँले आफूले दर्जनौ तालिम लिनुभएको छ भने त्यो भन्दा बढी उहाँले दिनु पनि भएको छ । पछि विभिन्न संघ संस्थाहरुले उहाँलाई प्रशिक्षकको रुपमा ठाउँठाउँमा लग्न थालेका थिए । उहाँको भाषण गर्ने कला, बोल्ने शैली बेजोड छ ।
राजनीति यात्रा
माओवादीबाट अपहरणमा परेपछि सो पार्टीका थुप्रै नेतासँग उहाँको चिनजान भएको थियो । पछि रामरिझन यादवसँग पनि उहाँको राम्रै चिनजान भएको थियो । त्यसले गर्दा रामरिझन यादवले विभिन्न कार्यक्रममा जिवछीलाई बोलाउनु हुन्थ्यो । जिवछी भन्नुहुन्छ, ‘रामरिझन कुन पार्टीमा हुनुहुन्छ के गर्नुहुन्छ मलाई थाह छैन तर म उहाँलाई आफ्नो आदर्श मान्छु उहाँ समाजका लागि हरहमेशा केही गर्न खोज्नुहुन्छ उहाँले पनि मलाई देश र समाजका लागि केही गर्नुपर्छ उत्साहित गर्नुहुन्थ्यो र अहिले पनि बेलाबेला भेटहुन्छ ।’
सायद उहाँकै मार्फत माओवादीका तत्कालिन नेतृ हिसिला यमी जिवछीको घरसम्म पुग्नु भएको थियो । हिसिलाले जिवछीलाई आफ्नो पार्टीमा प्रवेश गराउन चाहनु भएको थियो । त्यसका लागि उहाँले पटक पटक प्रस्ताव गर्नुभएको थियो । जिवछीको क्रियाकलाप देखेपछि माओवादीमा जान्छन् कि भनि घरका अन्य सदस्यहरुलाई पनि चिन्ता थियो । त्यही भएर घरमा आएका हिसिलासँग उहाँको श्रीमानले भेट्न दिनुभएन । पछि जिवछीले श्रीमानलाई कन्भिन्स गरेर औरही (सिरहा)मा गएर भेट्नु भएको थियो ।
त्यहाँ पनि हिसिलाले माओवादीमा आउन जिवछीलाई आग्रह गर्नुभएको थियो । तर जिवछीले घुमाउरो तरिकाले इन्कार गर्नुभएको थियो । त्यसपछि पनि मधेशतिर हिसिला आउँदा जिवछीसँग भेट हुन्थ्यो । रामरिझनसँग प्राय भेट भइ नै रहन्थ्यो उहाँको ।
जिवछी समाजिक कार्यकर्ता मात्र होइन, राजनीतिक ज्ञान पनि उहाँलाई बाल्यकालदेखि नै थियो । उहाँको हजुरबुवा वडा अध्यक्ष हुँदा घरमा राजनीतिक गतिविधि भइरहन्थ्यो । घरमा हुने बैठकहरुमा जिवछी त्यतिकै गएर बस्नुहुन्थ्यो । गाउँघरका पञ्चायत हुँदा उहाँ त्यसमा आफै जानु हुन्थ्यो । कहिले काही मनमा लागेको कुरा बोल्नु हुन्थ्यो ।
राजनीतिमा रुची राख्नु हुन्थ्यो । जिवछीले एउटा कुरालाई स्मरण गर्दै भन्नुहुन्छ, ‘तत्कालिन जिल्ला विकास समितिबाट एलसीडीमा जागिरका लागि अप्लाइ गरेको थिए मलाई त्यहाँ इन्टरभ्युका लागि बोलाइएको थियो । इन्टरभ्युमा तत्कालिन जिल्ला सभापति चन्द्रनारायण यादव पनि बस्नु भएको थियो । उहाँले मलाई राजनीति थाह छ सोध्नुभयो, मैले हो भने । उहाँले चित्रलेखा यादवको बारेमा सोध्नु भएको थियो, अरु केही राजनीतिक घटनाक्रमको कुरा सोध्नु भएको थियो सबै प्रश्नको जवाफ मैले दिएको थिए । त्यसपछि उहाँले मेरो पिठ्युमा धाप दिँदै भन्नुभयो, ‘तिमी अगाडि बढ तिमीमा निकै सम्भावना छ ।’
जिवछीको गतिविधि हेर्दा उहाँका हजुरबुवाले पनि जामुन बाबुको छोरी चित्रलेखा जस्तै हुन्छे, भन्नुहुन्थ्यो । गाउँको पञ्चायतमा कुनै गलत निर्णय भयो भने त्यसको विरोध गर्नुहुन्थ्यो जिवछीले । अर्थात जिवछी सानैदेखि राजनीति गतिविधिमा लागि सक्नुभएको थियो । संयोग उहाँको विहे सिरहाको दरहियामा हुँदा त्यो परिवार पनि राजनीति पृष्ठीभुमीको थियो । पुरै परिवार काँग्रेस पार्टीमा आवद्ध भएर राजनीति गरिरहेको थियो । जिवछीलाई पनि त्यो परिवारमा घुलमिल हुन समय लागेन ।
उहाँका जेठाजु महेन्द्रप्रसाद यादव तत्कालिन अध्यक्ष हुनुहुन्थ्यो । त्यसले गर्दा सो परिवारमा पनि राजनीति चहल पहल भइरहन्थ्यो । जिवछीका लागि राजनीति माहोल आफ्नो घरमा जस्तो थियो त्यस्तै माहोल उहाँले ससुरालमा पनि पाउनुभयो । तर सुरुमा माइतीमा जस्तो खुल्ला थियो त्यस्तो ससुरालमा पनि पाउनु भएन त्यसका लागि उहाँले धेरै संघर्ष गर्नुभयो ।
उहाँको जागिर नै जनसम्पर्क गर्ने खालको थियो । फिल्डमै काम गर्ने भएका कारण राजनीतिबाट उहाँले आफूलाई टाढा राख्न सक्नुभएन । समाजिक काम गर्नुको साथै उहाँले आफ्नो राजनीतिलाई पनि अगाडि बढाउनुभयो । काँग्रेसबाट उहाँले राजनीति गर्न थाल्नुभयो । पार्टीमा उहाँको सक्रियता देखेर पार्टीले उहाँलाई १० औ महाधिवेशनमा क्षेत्रिय प्रतिनिधि बनाएको थियो । उहाँलाई त्यतिबेला सुरेन्द्र दास यादवले क्षेत्रिय प्रतिनिधि बनाउनु भएको थियो ।
मधेश आन्दोलन
उहाँ काँग्रेसमा सक्रिय रहे पनि २०६३–०६४ मा भएको मधेश आन्दोलनमा पनि उहाँ त्यतिकै सक्रिय भएर लाग्नुभएको थियो । मधेशको अधिकारका लागि भइरहेको यो आन्दोलनमा लाग्नुपर्छ भनेर उहाँले जिल्लामा हुने विभिन्न आन्दोलनमा जानु हुनुहुन्थ्यो । उहाँ मधेश आन्दोलनमा लागेको कारण घरका सदस्यहरुले मधेशी दलमा जान्छन् कि भनि शंका पनि गरेका थिए तर उहाँ कतै जानु भएन, काँग्रेसमै बस्नुभयो ।
२०६४ मा भएको पहिलो संविधान सभा चुनावमा त उहाँ सीतादेवी यादवको प्रचारकको रुपमा परिचित हुनुभयो । सीतादेवीको चुनावमा प्रचारमा पुरै खटिन थाल्नुभयो । सीतादेवीले पनि कुनै काम पर्दा आफ्नो प्रतिनिधिको रुपमा जिवछीलाई पठाउनु हुन्थ्यो । चुनावी गठबन्धनको बैठक होस् या सात दल वा सर्वदलीय बैठकहरुमा पनि सीतादेवी जिवछीलाई पठाउन थाल्नुभयो । त्यसले उहाँ झन चर्चित हुन थाल्नुभयो । समाजिक रुपमा परिचित जिवछीलाई राजनीतिवृतमा पनि धेरैले चिन्न थाले ।
जिवछी हरहमेशा सितादेवीको छायाँ बनेर हिड्न थाल्नुभयो । काँग्रेस पार्टीको महाधिवेशनमा सीतादेवीलाई जिताउन उहाँले गरेको प्रचार प्रसार निकै चर्चामा थियो । यतिसम्म कि सीतादेवी भन्दा बढी चर्चा जिवछीको हुन थालेको थियो ।
सविधान सभा चुनाव
पार्टीमा उहाँका सक्रियता देखेर २०७० को दोस्रो संविधान सभामा चुनावमा उहाँको नाम समानुपातिकमा राखिएको थियो । उहाँमाथि त्यतिबेला १३ वटा उजुरी निर्वाचन आयोगमा परेको थियो कि जिवछी यादव जागिरबाट राजिनामा नदिएर समानुपातिक उम्मेदवार बन्नुभएको छ । तर कुनै पनि उजुरी काम लागेन । जो उम्मेदवार थिए त्यसले उजुरी गरेको भए मात्र उजुरी लाग्थ्यो तर गैरउम्मेदवारले उजुरी दिएको कारण त्यो कार्यान्वयनमा आएन ।
समानुपातिकमा हुने लगभग निश्चित नै थियो । रामचन्द्र पौडेलले जिवछीलाई बोलाएर बाधाइृ पनि दिइसक्नु भएको थियो । भोज पनि खानु भएको थियो । तर कसैले बिचमा ट्रिक खेलिदियो । समानुपातिकका लागि जिवछीले प्रदीप गिरीसँग पनि सहयोग माग्नुभएको थियो । त्यो कुराकानीको रेकर्ड कसैले रामचन्द्र पौडेललाई पुर्याइ दिएको थियो । प्रदीप गिरी रामचन्द्र पौडेलको गुटमा हुनुहुन्थेन । रामचन्द्रलाई लाग्यो कि जिवछीले डब्बल गेम खेलिरहनु भएको छ । रामचन्द्र पौडेलले समानुपातिकबाट जिवछीको नाम काटि दिनुभयो ।
परिणाम आउँदा जिवछीको भएन । त्यसपछि उहाँ रामचन्द्र कहाँ पुग्नुभयो । नभएको कुरा सोध्नुभयो । त्यसपछि रामचन्द्र पौडेले भन्नुभएको थियो, ‘तिमी साह्रै बाँठी रहेछौं उता प्रदीपसँग पनि कुरा गर्ने यता मसँग पनि कुरा गर्ने ।’ जिवछीले बल्ल आफूसँग कसैले चिटिङ गरेको कुरा सम्झनुभयो । उहाँ कोइराला गुट अर्थात रामचन्द्र पौडेल गुटमै हुनुहुन्थ्यो । कसैले प्रदीप गिरीसँग जोडेर रामचन्द्र पौडेललाई भड्काइएको थियो ।
स्थानीय तहको चुनाव
समानुपातिकमा नभएपछि जिवछीलाई चित्त दुखेको थियो तर उहाँ हरेश खानु भएन । आफ्नो जागिर र राजनीतिलाई निरन्तरता दिनुभयो । दुवै कामलाई एक साथ अगाडि बढाई रहनु भएको थियो । तीन चार वर्ष सक्रिय भए पार्टीमा काम गर्नुभयो । २०७४ मा भएको स्थानीय चुनावमा उहाँ पनि औरही गाउँपालिका अध्यक्ष उम्मेदारी दिने तयारीमा लाग्नुभयो । पार्टीमा गुटगट राजनीति चलिरहेको थियो । शेरबहादुर देउवाको बोलबाला चलिरहेको छ पार्टीमा । तर जिवछी कोइराला गुटका हुनुहुन्छ ।
काँग्रेसबाट सुवास यादव पनि अध्यक्षको दावेदार हुनुभयो । जो देउवा गुटका हुनुहुन्छ । सुरुमा सिद्धार्थ यादवले पनि अध्यक्षको दावेदार हुनुहुन्थ्यो । सिद्धार्थ अध्यक्षमा लडेपछि जिवछी उपाध्यक्षमा लड्न तयार हुनुभयो तर पार्टीले सुवास यादवलाई टिकट दिएपछि सिद्धार्थ पार्टी छाडेर माओवादीमा जानुभयो र त्यहाँबाट टिकट लिएर अध्यक्ष पदमा उम्मेदारी दिनुभयो । यता सुवास अध्यक्षमा लडेपछि आफू उपाध्यक्षमा नलड्ने अडानमा जिवछी बस्नुभयो । तर सुरेशचन्द्र दास यादवले जिवछीलाई कन्भिन्स गराएर उपाध्यक्षमा चुनाव लडाउनु भएको थियो ।
जिवछी चुनाव हार्नुभयो तर अध्यक्षमा उम्मेदार सुवासभन्दा बढी मत ल्याउनुभयो । जिवछीले भन्नुभयो, मैले २१ सय मत ल्याएको थिए भने सुवासले १४ सय ।’ अध्यक्षमा सिद्धार्थ यादव र उपाध्यक्षमा जसपा नेपालबाट रेणु यादव जित्नुभएको थियो ।
चुनाव हारेपनि जिवछीले आफ्नो यात्रामा विराम दिनुभएन । जागिर पनि गरिरहनु भयो र राजनीतिमा पनि त्यतिकै सक्रिय रहनुभयो । अझ भनौं उहाँले आफ्नो राजनीति रफ्तारलाई झन बढाउनुभयो । काठमाडौदेखि प्रदेशसम्म, प्रदेशदेखि स्थानीय तहसम्म उहाँ आफ्नो पकड बनाउन थाल्नुभयो । केन्द्रका नेताहरुसँग पनि जिवछीको राम्रो सम्बन्ध बन्न थाल्यो । केन्द्रीय नेताहरुले जीवछीलाई व्यक्तिगत रुपमा पनि चिन्न थाले । २०७९ मा मधेश प्रदेशको प्रदेशसभामा उहाँ प्रत्यक्षबाट नै चुनाव लड्ने तयारीमा हुनुहुन्थ्यो ।
त्यसको तयारी पनि गरिरहनु भएको थियो । चुनावी गठनबन्धन भएको कारण प्रदेश सभाको सीट माओवादीले पायो । त्यसपछि जिवछीको नाम समानुपातिकमा राखिएको थियो । समानुपातिकमा पनि हुने ठाउँमा उहाँको नाम राखिएको थियो र उहाँ समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नुभयो ।
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले त्यतिबेला जिवछीलाई भन्नुभएका थियो, ‘तपाई प्रदेश सभामा आउनुपर्छ हामी सबैको इच्छा हो तर एक नम्बरमै राख्न सकिदैन, शेरबहादुर देउवाजीले आफ्नो पक्षबालाको नाम राख्नु हुन्छ तर म यस्तो ठाउँमा राख्छु जहाँबाट तपाईको नाम समानुपातिक सदस्यमा सजिलो तरिकाले आयोस् ।’ शेखर कोइरालाले भनकै जस्तो भयो । उहाँलाई मधेशी महिला कलस्टरको दुई नम्बरमा राख्यो र एक नम्बरमा रेखा ठाकुरको नाम थियो । प्रदेशसभा सदस्य भएपछि उहाँले सबै जागिर छाड्नुभयो ।
प्रदेशसभामा पनि जीवछीको उस्तै रफ्तार थियो । आफ्नो कुरा प्रदेशसभामा राख्नुभयो । जो काँग्रेसका अन्य सांसदले पनि राख्न सकिरहेका थिएनन् । प्रदेशसभामा पनि काँग्रेसको चर्चित नेतृको रुपमा उहाँको नाम आउन थाल्यो । तर उहाँ काँग्रेसको संस्थापक पक्षको नभएको कारण पटक पटक मन्त्री बन्नबाट बन्चित हुनुभयो । यदि उहाँ आजैको मितिले आफ्नो गुट परिवर्तन गर्नुभयो भने भोलीले नै मन्त्री बन्न सक्नुहुन्छ ।
प्रदेशका पार्टी अध्यक्ष एवं प्रदेश सभाका संसदीय दलका नेता कृष्ण यादवलाई संसदीय दलको नेता बन्नमा जीवछीले सहयोग गर्नुभएको थिएन । त्यसले गर्दा उहाँलाई सरकारमा पठाइ रहेको छैन भनि गुनासो भइरहेको छ । तर प्रदेश सभामा पार्टीमा सक्रिय नेतृको रुपमा चिनिन्छ । पार्टीको गतिविधि होस् या प्रदेसभाको अधिकाँशमा पार्टीले जिवछीलाई नै पठाउने गरेको छ ।
तपाईको प्रतिक्रिया