Khadya Bibhag

मधेशी दलको बिचमा एकता हुनु बाहेक अर्को कुनै विकल्प छैन

–लक्ष्मण लाल कर्ण
–उपाध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष लक्ष्मण लाल कर्ण लामो समयदेखि मधेश राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँलाई मधेशको राजनीतिमा मात्र होइन, देशकै राजनीतिमा उहाँलाई बौद्धिक नेताको रुपमा चिनिन्छ । उहाँले कानुन निर्माणदेखि अन्य नीति निर्माणमा गरेको सहयोगलाई मधेशी नेताहरुले अन्य दलका नेताहरुले पनि उहाँको प्रशंसा गरिरहनु हुन्छ । संविधान निर्माणको क्रममा उहाँलाई विभिन्न समिति तथा कार्यदलमा राखेर सहयोग र सुझाव लिने काम गरेका थिए । तसर्थ राज्यको नीति निर्माण तहमा सहयोग र सुझाव दिनेमा उहाँको योगदान छ भने कुुरा कसैले नकार्न सक्दैन । गजेन्द्रनारायण सिंह निधनपछि नेपाल सद्भावना पार्टीको अध्यक्ष बद्री मण्डल हुनुभएको थियो । तर उहाँ अध्यक्ष पदबाट हटेपछि लक्ष्मणलाल कर्ण अध्यक्ष बन्नुभएको थियो । उहाँ अध्यक्ष बनेपछि फुटेका सद्भावनाहरुलाई जोड्ने काम गर्नुभयो । पछि पार्टी एकताहरुमा उहाँले त्याग देखाएर तल्लो तहमा बसेर मधेशको राजनीतिमा रमाउनुभयो । अहिले पनि लोसपाको उपाध्यक्ष भएर राजनीतिमा सक्रिय हुनुहुन्छ । प्रस्तुत छ, उहाँले बुझेका राजनीति र नेपालको अगामी राजनीतिको कार्यदिशा लगायतका विषयमा सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः
जसपा नेपालबाट अलग भएर लोसपा नेपाल गठन भएपछि तपाई राजनीतिमा निस्कृय जस्तै हुनुभएको थियो अहिले फेरि गतिविधिमा देखिनु भएको छ बिचमा कहाँ हराउनु भएको थियो ?
–म राजनीतिमा निस्कृय वा हराएको थिइनन् । म पार्टीको सम्पर्कमै थिए । आवश्यक परेको बेला पार्टीले बोलाएको बैठकहरुमा उपस्थित हुन्थे । चुनाव सकेपछि केही घरायसी कामका साथै अस्वस्थ्य पनि भएको थिए । त्यही भएर राजनीति गतिविधिमा त्यति सक्रियता नदेख्नु भएको होला । अर्को कुरा, चुनाव सकेपछि पार्टीका गतिविधिहरु पनि खासै भएन । पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिहरु घोषणा गर्नुभयो । अरु समितिहरु पनि बनाउनु भयो । आवश्यक परेको बेलामा उहाँले राय, सल्लाह सुझाव लिँदा दिन्थे, सुझाव नमागेको बारेमा चासै पनि लिदैन्थे । अध्यक्षज्यु आफ्नो तरिकाले पार्टी सञ्चालन गरिरहनु भएको थियो । न त्यसमा असहमति थियो न सहमति । अध्यक्षले विधान अनुसार पाएका अधिकार अनुसार आफ्नो काम अगाडि बढाइ रहनु भयो । कुनै पनि पार्टी गतिशिल भए मात्र त्यसका नेताहरु गतिशिल हुन्छन् । पार्टीलाई गतिशिल बनाउनका लागि त्यो अनुसारका कार्यक्रम पनि बनाउनुपर्छ । पार्टीलाई गतिशिल बनाउने खालका कार्यक्रमहरु थिएन अनि किन काठमाडौँमा निस्कृय भएर बस्ने भनि म अधिकाँश समय वीरगञ्जमै बस्न थालेपछि राजनीतिक गतिविधिमा नदेखिएको हो अरु केही छैन ।
तपाईका पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति बनाउँदा त पार्टी नै विभाजन हुने अवस्था आयो यस्ता किन भयो ?
–मधेश केन्द्रीत दलहरुको यो पुरानै रोग हो । अलिकति केही हुँदैमा पार्टी छाड्ने विद्रोह गर्ने यो रोग पुरानै हो । मलाई यसमा कुनै आश्चर्य लागेन । अध्यक्ष ठाकुरजीले केन्द्रीय समिति विस्तार गर्दा मलाई पनि चित्त बुझेको थिएन । समावेशी, भुगोल, क्षेत्र मिलेको थिएन । पार्टीभित्र धेरैलाई चित्त बुझेको थिएन । चित्त नबुझेको कुरामा छलफल गर्न सकिन्छ । पार्टीमा बहस चलाउन सकिन्छ । त्यसका लागि संघर्ष गर्नुपर्छ । पार्टी नै छाडेर जानु हुँदैन । पार्टी छोड्नु पार्टी फोड्नुलाई मधेशी जनताले रुचाइ रहेको छैन । राजेन्द्रजीलाई जे कुरामा चित्त बुझेको थिएन त्यो कुरामा पार्टीका नेतृत्वले कुरा गर्न तयार हुनुहुन्थ्यो । उहाँले पटक पटक केही त्रुटी भएका छन् भने त्यसलाई सुधार गर्न सकिन्छ भन्नुभएको थियो । तर त्यो कुराको पनि ख्याल नगरिकन उहाँ जानुभयो । उहाँ छुट्टै पार्टी बनाउनु भएको छ । उहाँले राम्रो गरोस् भनि शुभकामना छ तर मैले मधेशको मुड बुझ्दा दल विभाजनको पक्षमा कोही पनि छैन । बरु एकताका लागि दबाब दिइरहेका छन् ।
मधेशमा राजनीति दल टुट्ने गरेको कुरामा तपाई भुक्तभोगी हुनुहुन्छ । तपाईले यस्ता धेरै टुटफुट देख्नु भएको छ, मधेशका दलहरु किन यसरी पटक पटक फुट्छन् त ?
–मधेशका जनता जस्तै त्यहाँका दलहरु पनि शोषित, पिडित छन् । शोषित पिडित जहिले पनि कमजोर हुन्छन् । जो कमजोर हुन्छ त्यो चाँडै टुट्छ । र, त्यस्तालाई टुटाउन सजिलो हुन्छ । शोषित, पिडित र कमजोर भएका कारणले सानो सानो लोभ, लालचमा फस्छन् । लोभ लालचमा फँस्दा त्यसको नतिजाको बारेमा ख्याल गरेका हुँदैनन् र फुटको शिकार हुन्छ । मधेशी नेतामा जति पद लोलुप्ता देखिन्छ त्यो अनुसारको त्यागको भावना देखिदैन । मधेशी नेताहरुमा त्यागको भावना थोरै पनि देखिएको भए सायद मधेशको यो अवस्था हुने थिएन । अरु अध्यक्ष भए म किन नहुने, अरु महासचिव भए म चाहि किन नहुने, फलानाका व्यक्ति कार्यसमितिमा परे मेरो किन परेन जुन सोच नेताहरुमा देखिन्छ त्यो नै पार्टी कमजोर हुनुको कारक हो । संगठनमा रहे पछि पद र प्रतिष्ठा चाहिन्छ । जिम्मेवारी पनि चाहिन्छ तर त्यो नै नभएपछि पार्टी फोड्ने, पार्टी छाड्ने काम चाही राम्रो होइन । कहिले काही त्याग पनि देखाउनु पर्छ । मधेश नेताहरुले त्याग नदेखाएको कारण मधेशको शक्ति टुक्रा टुक्रा भएको हो । यो अवस्थामा पनि मधेशी जनता चाहन्छ कि मधेशी दलहरु एक ठाउँमा रहोस् । एउटा शक्ति बनेर रहोस् । त्यसका लागि उनीहरुले पटक पटक आह्वान पनि गरेका छन् । एक भएर आउनुस् पनि भनि रहेका छन् ।
२०६३–६४ को आन्दोलनबाट मधेशवादी दलहरु ठूलो शक्तिको रुपमा उदाएको थियो तर बिस्तारै निकै कमजोर भए, यस्तो हुन्छ भनि तपाईले कल्पना गर्नुभएको थियो ?
–राजनीतिक दलको रवैया हेर्दा यस्तो हुन्छ भनि पहिलादेखि नै लागि रहेको थियो किनभने नेता उही हुन् । पार्टी पनि उही हुन् । भुगोल पनि उही हो । थाह नपाउने कुरा केही पनि छैन तर यो स्तरसम्म जान्छ भनि मलाई लागेको थिएन । राजनीतिमा उतार चढाव हुनु स्वभाविक हो तर मधेशको साथ जे भयो, या जे भइरहेका छन् त्यो मलाई अस्वभाविक लागि रहेको छ । यसको असर कहाँ कहाँ गर्छन् त्यो कुरा मलाई थाह छैन । मधेशलाई कमजोर बनाएर तहस नहस बनाउन ठूलै शक्ति लागेको छ । त्यसको संकेतहरु देखिन थालेका छन् । मधेशवादी दलका नेताहरु त्यही शक्तिको पासोमा परेर पार्टी विभाजनसम्मका हरकत गर्न थाल्नु भएको छ ।
सत्ताधारी शक्तिको त्यसमा जोडबल र लगानी देखिन्छ । सत्ताधारी दलहरुले मधेशका दलहरु शक्तिशाली होस् भनि कहिले चाहेनन् । विभिन्न प्रकारका लोभलालच दिएर एक ठाउँमा रहेका मधेशी दललाई विभक्त गरेर राखेका छन् । लोभ सत्ताका लागि मात्र हुँदैन । लोभ त जस्तासुकै पनि हुनसक्छ । सांसद नहुने नेताहरुले पनि पार्टी विभाजन गरेका छन् । उनीहरु पनि कुनै नकुनै प्रलोभनमा परेर गरेका होला नि । मधेशका पार्टी फुटको विस्तृत अध्ययन गर्नुभयो भने हरेक फुटले कसैलाई न कसैलाई फाइदा भएको देखिन्छ । पार्टी फुट्ने बित्तिकै मन्त्री बन्नु कसको भाग्यमा लेखेर आएको हुन्छ र ? पार्टी फुट्ने बित्तिकै कुनै नेताको धनराशीमा एक्कासी वृद्धि हुन्छ त्यो कहाँबाट झरेका हुन्छन् ? कतिपय नेता त पार्टी विभाजनलाई व्यवसाय जस्तै बनाएका थिए एक समय । अहिले ती नेताहरु राजनीति दृश्यमा कतै देखिएका छैनन् । मधेश कमजोर हुनुमा दलका नेताहरु नै दोषी हुन् जस्तो मलाई लाग्छ ।
मधेशी दल कमजोर बनाउनमा शक्ति केन्द्र लागेको भन्नुभयो, के यसमा पार्टीका अध्यक्षको कुनै दोष छैन त ?
–पार्टीका अध्यक्षहरु त झन आफैलाई सर्वेसर्वा ठान्नुहुन्छ । आफूबाहेक पनि पार्टीमा अरु कोही नेता छन् भन्ने उहाँहरुलाई लागेको छ जस्तो मलाई लाग्दैन । अध्यक्षहरुको कार्यशैलीबाट कतिपय नेताहरु आजित भएर पार्टी छाडेर हिडेको देखिन्छ । ती शक्ति केन्द्रहरुले पनि पार्टी भित्रका गतिविधि देखेर नै चलखेल गरेका हुन्छन्, नेताहरुमाथि लगानी गरेका हुन्छन् । यदि सत्ताधारी दल वा सरकारले चाहे भने कुनै पनि दल फुट्दैन । जुन जुन पार्टी विभाजन भएका छन् ती सबैमा सरकारको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग रहेको प्रष्ट देख्न सकिन्छ ।
पछिल्लो समय जसपा नेपाल विभाजन हुँदा अध्यक्ष प्रचण्डले खुलम् खुल्ला भन्नुभयो कि जसपा नेपालाई फुटाइयो । नेपाल नै एउटा यस्तो देश हो जहाँ अरुको पार्टी फुटाउनका लागि सरकारले सजिलो बनाउन अध्यादेशबाट कानुन बनाइ दिन्छ । निर्वाचन आयोगले एक घण्टामा पार्टी दर्ता गर्दिन्छ । संसद सचिवालयमा गएको उजुरीलाई मिनटमै कार्यान्वयमा ल्याइ दिन्छ । पार्टी फुटाउनका लागि प्रधानमन्त्रीस्तरबाट अपहरणसम्मको काम हुन्छ । यस्तो नेपालमा मात्र देखिएको छ । पार्टीको नेतृत्वमा बसेकाहरुको कमजोरी छैन भनि म भन्दिन् तर त्यो कमिकमजोरीको फाइदा अरुले लिइरहेका छन् त्यो कुरा पनि हामीले बुझ्नु पर्ने हो ।
मधेशको यस्तो अवस्था हुनुमा मधेशी नेता नै दोषी हुनुहुन्छ भन्नुभयो, यसमा तपाई कति दोषी हुनुहुन्छ ?
–म पनि दोषी हुँ । तर कति दोषी हुँ र केमा दोषी हुँ भन्ने कुरा मुख्य हो । केही नकेही कमि कमजोरी सबैमा हुन्छन् । केही कमजोरी ममा पक्कै होला । तर म दाबाको साथ भन्नसक्छु कि पार्टी विभाजनको पक्षमा म कहिले पनि थिइनन् । यतिका पार्टी विभाजन भयो तर आजसम्म म कसैलाई सहयोग गरेको छैन । तपाई पार्टी विभाजनको शृङ्खलालाई हेर्नुस्, पार्टी विभाजन हुँदा म कहिले पनि मुल पार्टी छाडेर फुटेको पार्टीमा कहिले गएको छैन । पार्टीमा कुनै विवाद छ, अन्तरद्वन्द छ भने त्यही मिल्नुपर्छ भनि मैले जहिले पहल गर्थे । गजेन्द्रनाराण सिंह पार्टीको अध्यक्ष हुँदा म उपाध्यक्ष थिए । उहाँको निधनपछि पार्टी विभाजन भयो ।
म विभाजन भएर गएको पार्टीमा गइनन् । मलाई त्यतिबेला अनेकथरीको आरोप लागेको थियो । राजावादीको आरोप समेत ममाथि लगाइएको थियो । बरु पछि म फुटेको पार्टीलाई मिलाउने काम गरे तर एकताको विरुद्धमा म कहिले पनि गइनन् । एकपटक श्यामसुन्दर गुप्ताले सत्ता शक्तिको आडमा पार्टी कब्जा गर्न खोज्नुभयो । आफ्नो पक्षमा राख्नका लागि मलाई र अनिल जीलाई अपहरण पनि गर्नुभयो । त्यतिबेला मात्र म उहाँलाई छाडेर म राजेन्द्र महतोलाई साथ दिएका थिए र त्यतिबेला नेपाल सद्भावना पार्टीबाट अलग भएर सद्भावना पार्टी गठन गरिएको थियो । त्यसपछि एकीकरण भएर राजपा बन्यो । राजपाले उपेन्द्र यादवको पार्टीसँग एकीकरण गरेर जसपा बनायो । त्यहाँ कुरा नमिलेपछि हामी जो जो गएका थियौं त्यहाँबाट निस्कियौं । अर्थात म मुल पार्टीलाई कहिले छाडेको छैन ।
मधेश शक्ति पुनः पुरानै अवस्थामा फर्किने सम्भावना छ कि छैन ?
–छ नि किन छैन । मधेशवादी दलको बिचमा एकता हुनु आवश्यक छ । एकता नभए पनि मोर्चा वा गठबन्धन बनाउनुपर्छ । एउटै मुद्दा र एउटै एजेण्डा भएका दलहरु अलग अलग भएर लड्नु भन्दा एकसाथ लड्ने अवस्था सृजना गर्नुपर्छ । मधेशका जनताले पनि एकता र सहकार्यका लागि दबाव दिइरहेको छ । हामी मधेशमा जाँदा त्यहाँका जनताले तपाईहरु मिलेर आउनुस् भन्ने गरेका छन् । विगतमा एकता भएकै हो । मोर्चाबन्दी गरेर संयुक्त रुपमा आन्दोलन गरेर एकखालको उपलब्धी हासिल गरेकै हो । अहिले पनि केही बिग्रेको छैन । मधेशका सम्पूर्ण शक्ति एउटा मञ्चमा आउने बित्तिकै एउटा सन्देश जान्छ । मधेशी दलबिच एकता वा मोर्चाबन्दी हुनुभन्दा अर्को कुनै बिकल्प छैन ।

तपाईको प्रतिक्रिया