काँग्रेस र एमालेको गठबन्धन पुरा अवधी चल्दैन भनि संकेतहरु देखिन थालेका छन् । गत असार १७ गते काँग्रेस र एमाले बिच गठबन्धन बनेपछि एमालेका अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्री बन्नुभयो । असार १७ गते मध्यराती दुई दलको बिचमा भएको सम्झौता अनुसार काँग्रेसको सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा अोली आलोपालो प्रधानमन्त्री बन्ने र पहिलो दुई वर्ष अोली प्रधानमन्त्री हुने सहमति भएको थियो । दुई वर्ष पछिको बाँकी समय काँग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्नुहुनेछ ।
२०८३ असार ३० गतेसम्म प्रधानमन्त्रीमा ओली रहनु हुनेछ र त्यसपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ र उहाँ २०८४ मंसिरसम्म प्रधानमन्त्री रहने सहमति भएको छ । २०८४ मंसिरमा चुनाव हुन्छ । तर २०८३ असार आउनु भन्दा पहिले नै काँग्रेसले एमालेको साथ छाड्छ वा ओलीले आफ्नो कार्यकाल पुरा नगरिकन देउवालाई प्रधानमन्त्री सुम्पिनु पर्ने अवस्था आउन लागेको टिप्पणी भइरहेको छ । २०७८ मा भएको काँग्रेस पार्टीको १४ औं महाधिवेशनबाट देउवा सभापति बन्नुभएको हो । अर्को १५ औं महाधिवेशन २०८२ मंसिरमा हुनेछ । महाधिवेशन सम्पन्न भएपछि देउवा सभापतिबाट पनि हट्नु हुनेछ । काँग्रेसको विधान अनुसार दुई कार्यकालभन्दा बढी समय सभापतिमा रहन पाउन छैन ।
२०८२ मंसिरमा महाधिवेशन भयो भने देउवा सभापति रहनु हुनेछैन । त्यस अवस्थामा उहाँ प्रधानमन्त्री बन्नुहुन्छ कि बन्नुहुन्न वा पार्टीले उहाँलाई प्रधानमन्त्रीमा सिफारिस गर्छ कि गर्दैन । त्यो मुुख्य कुरा हो । उहाँ सभापतिको उम्मेदवार नबनेपछि शेखर कोइराला, गगन थापा, सशांक कोइराला, डा.आरजुराणा देउवामध्ये कोही एक जना सभापति हुनेछ । उहाँहरुमध्ये कोही सभापति बनेपनि देउवालाई प्रधानमन्त्री बनाउनु हुनेछैन भनि विश्लेषण भइरहेको छ । २०८२ मंसिरमा महाधिवेशन गराउनु भएन भने सभापतिले कम्तीमा ६ महिनाका लागि म्याद थप्न सक्नु हुनेछ । त्यो भन्दा बढी म्याद थप्ने अधिकार सभापतिलाई छैन । छ महिना थपे पनि २०८३ को जेठ–असारमा महाधिवेशन गराउनु नै पर्ने हुन्छ ।
तैपनि ओली र देउवा बिच भएको सम्झौता अनुुसार २०८३ असारमा सभापति पदमै रहेर देउवा प्रधानमन्त्री बन्न पाउनु हुन्न ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल सकिनुभन्दा पहिले सभापति पदमा रहदैको अवस्थामा देउवालाई प्रधानमन्त्री सुम्पिनु पर्ने हुन्छ । तर ओलीले आफ्नो कार्यकाल पुरा नगरीकन देउवालाई सुम्पिने सम्भावना देखिदैन । यदि अोली पुरै कार्यकाल प्रधानमन्त्री रहनु हुन्छ भने देउवा प्रधानमन्त्री बन्नबाट बन्चित रहनु हुन्छ । त्यस अवस्थामा देउवाले कुनै कठोर निर्णय लिन सक्ने अवस्था आउन सक्छ भनि आँकलन राजनीतिमा भइरहेको छ । सभापतिबाट हटेपछि प्रधानमन्त्री अवस्था नरहेमा वा ओलीले आफ्नो कार्यकाल सकिनु भन्दा पहिले प्रधानमन्त्री दिन नचाहेमा देउवाले २०८२ मंसिरअघि नै माओवादी केन्द्रसँग मिलेर अर्को गठबन्धन बनाइ आफू प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।
अथवा महाधिवेशनलाई जसरी पनि २०८३ असारभन्दा पर धकेलेर लैजाने उपाय उहाँले निकाल्नु हुन्छ । २०८३ असारमा प्रधानमन्त्रीमा सपथ लिएर साउन भदौंमा १५ औं महाधिवेशन गराउन सक्नुहुन्छ । प्रधानमन्त्री पदमा रहेर उहाँले १५ औं महाधिवेशन गराउन सक्नु भयो भने सबै कुरा उहाँको आफ्नो नियन्त्रणमा हुन्छ । जसलाई सभापति बनाउन चाहनु हुन्छ, त्यही सभापति बन्ने अवस्था पनि हुनसक्छ त्यही भएर देउवाले प्रधानमन्त्री पदमा रहेर नै महाधिवेशन गराउन चाहनु भएको छ ।
तर शेखर कोइरालाहरु महाधिवेशनलाई तलमाथि गर्ने पक्षमा देखिनु भएको छैन । उहाँहरुले लगातार सभापति देउवामाथि दबाव बढाइ रहनु भएको छ कि २०८२ को मंसिरमा जसरी पनि महाधिवेशन सम्पन्न गर्नु नै पर्छ तर देउवाले अनाकानी गरिरहनु भएको छ । सभापति र प्रधानमन्त्री दुवै पद दाउमा राखेर सभापति देउवाले महाधिवेशन गराउनु हुन्छ कि गराउनु हुन्न त्यो हेर्न बाँकी छ । तर पार्टीकै आन्तरिक कारणले काँग्रेस र एमालेको गठबन्धन टुट्ने सम्भावना पनि त्यतिकै प्रबल रहेको बताइएको छ । सभापति रहँदै प्रधानमन्त्री बन्ने वा गठबन्धन तोडेर सभापतिसहितको प्रधानमन्त्री बन्ने दुईटा विकल्प मात्र छन् सभापति देउवासँग ।
तपाईको प्रतिक्रिया