मधेशी दलको अस्तित्व संकटमा पर्न थालेपछि सहकार्य र एकताको कुरा आएको हो
१६ माघ २०८१, बुधबार १०:०६
–चन्द्रकिशोर, राजनीतिक विश्लेषक मधेशवादी दलहरुको बिचमा एकता र सहकार्यका लागि प्रयास भइरहेको छ । सत्ताधारी दुई दल एमाले र काँग्रेसले संविधान संशोधन गरेर साना दललाई समाप्त पार्ने जुन रणनीति बनाइ रहेका छन् त्यसबाट तर्सिएर मधेशवादी दलहरु एक ठाउँमा आउन लागेको कुरा कसैबाट लुकेको छैन । तर एकिकृत हुने एजेण्डा त्यति मात्र हो कि अरु पनि छन्, के एकता वा सहकार्य सम्भव छ, पटक पटक विभाजन र एकीकृत किन भइरहेका छन्, यसको पछाडिका कारण के हुन् लगायतका विषयमा प्रस्तुत छ मधेश मामिलाका जानकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरसँग सहारा टाइम्सका लागि गरिएको कुराकानीको सम्पादीत अंशः
मधेश केन्द्रित दलका नेताहरु पुनः सहकार्य र एकताको कुरा गर्न थाल्नुभएको छ के कारणले उहाँहरु फेरि जुट्न थाल्नुभएको हो जस्तो लाग्छ तपाईलाई ?
–मुख्य त उहाँहरुको अस्तित्वको संकट देखियो । केही नेताहरु मसिहा हुनुहुन्थ्यो, उहाँहरु समाप्तितिर लाग्नुभयो । ती पार्टीहरुको पनि प्रभाव घट्दै गयो र मुख्य दलहरु मधेशमा बिस्तार पाउदै गए । जसलाई तपाई मधेश केन्द्रित भन्नुहुन्छ त्यसलाई म मधेश आश्रित भन्छु किनभने उहाँहरु फेरि मधेशमा अश्रय लिन खोजिरहनु भएको छ । उहाँहरु ठूलो अडान लिनुभएको थियो सक्नु भएन र फेरि घुमिफिरी मधेशतिर आउनु भएको छ । उहाँहरुले मधेशको एजेण्डा र मुद्दा बिर्सेर सत्ताका १२ खरी पढ्न थाल्नुभयो । त्यसपछि आम मधेशीमा उहाँहरुको प्रभाव घट्यो । मधेशमा जाहेरीका लागि पनि पोल्टिक्स हुन्छ । त्यहाँ सिडियो काँग्रेसको हुन्छ या कम्युनिष्टको हुन्छ । एसपी काँग्रेसको हुन्छ या कम्युनिष्टको हुन्छ । मालपोतका हाकिम काँग्रेसको हुन्छ या कम्युनिष्टको हुन्छ । त्यसैले त्यहाँ मधेश आश्रित दलहरुको केही चल्दैन । ती दलका नेताहरुको कुनै कुराको सुनुवाइ हुँदैन । राज्यको हरेक अंगमा काँग्रेस या कम्युनिष्ट पार्टी निकटको बर्चस्व छन् । मान्छेलाई डे टु डेका कामका लागि कही न कही ओत लागेका हुन्छन् । आम मान्छेले संरक्षण खोजेका हुन्छन्, जो संरक्षण मधेशवादी दलबाट पाइरहेका हुँदैन त्यही भएर ती दलको प्रभाव आम समुदायमा घटेको छ । त्यस्तै पछिल्लो समय काँग्रेस र एमालेले दुई दलीय व्यवस्था ल्याउनका लागि थ्रेस होल्ड बढाउने कुरा गरिरहेको छ । त्यसले पनि मधेश आश्रित दलहरुलाई चिन्ता भएको छ ।
–यो थ्रेस होल्डकै कारण पार्टी संकटमा पर्यो, आफ्नो अस्तित्व संकटमा पर्यो भनेर मधेश केन्द्रित दलहरु एकिकृत हुन लागेका हुन् कि दीर्घकालिन रुपमा मधेशका अधिकार र पहिचान प्राप्तिका लागि आन्दोलन गर्न एकीकृत हुन लाग्नुभएको हो ?
–कुरा यस्तो छ, राज्य जसरी २०७२ को मनोविज्ञानमा फर्केको छ । त्यसरी नै भुँइतहमा अब परम्परागत राजनीति चल्दैन । मधेश राजनीतिको पुनसंरचना हुनुपर्छ । मसिहाहरुले गर्न सकेनन्, मधेशमा मित्र शक्ति चाहिएको छ, जो दुख पनि बुझोस्, सुख पनि बुझोस् । त्यो कुराको चर्चा आम मानिसले गर्न थालेका छन् । यी मधेश आश्रित दलहरु मधेशका हितभन्दा आफ्नो हित मात्र हेरे, सत्ताका लागि हारालुछी गरे । गर्न नहुने कामहरु गरे त्यसैले मधेशमा नयाँ राजनीतिको सुरुवात हुनुपर्छ भनि डिमाण्ड छ र प्रेसर छ ।
मधेशवादी दलका नेताहरुले अब प्राप्त हुने उपलब्धी पनि गुम्ने खतरा बढ्यो त्यही भएर एक हुन लागेको भन्नुहुन्छ साँच्चै त्यस्तो हो त ?
–हो, एकातिर संघीयता र समावेशीतालाई प्रश्न उठाउने कुरा भइराखेको छ । संघीयता, समावेशीलाई अझ बढी उन्नत र फराकिलो बनाउने कुरा भइरहेको छ । अहिले संसदमा जुन शिक्षा ऐन गएको छ, त्यसमा स्थानीय तहलाई माध्यमिक तहसम्म शिक्षाको जुन अधिकार दिएको छ त्यसलाई फर्काउनु पर्ने भनिएको छ । अहिले पनि स्थानीय तहलाई केन्द्रीय सरकारले साबिककै गाविस तथा पालिका ठानिरहेको छ । स्थानीय सरकारलाई एउटा प्रशासनिक संरचनाको रुपमा मात्र मानिरहेका छन् । सिडियो उसकै हुने, लेखाको मान्छे उसैको हुने, प्रशासनको मान्छे पनि उसैको हुने । एउटा प्रदेश सरकारलाई तथा स्थानीय सरकारलाई अख्तियारले चलाइ रहेको हुन्छ । कलैया उपमहानगरपालिका एक जना जनप्रतिनिधिले मसँग कुराकानीमा भन्नुभयो, महालेखापरिक्षकबाट मान्छे आउँछन् कति बेरुजु छ त्यसको यति प्रतिशत दिएपछि बेरुजु हटाइ दिने नभए देखाइ दिने भन्छन् । सिधै कमिशनको बार्गेनिङ गर्छन्, कमिशन दिन बाध्य पर्छन् ।’ मधेशमा सत्तारुढ दल जसको अख्तियारमा प्रभाव छ, त्यसको नेतालाई मिलाएर राख्नुपर्ने हुन्छ । अर्थात देशलाई पश्चगमनमा लग्ने तानाबाना भइरहेको छ ।
त्यसो भए त्यसैका लागि दलहरु मिल्न लागेका हुन्, मुख्य कुरा त्यही हो ?
–मुल कुरो, उहाँहरु थ्रेसहोल्डका कारण त्रासमा हुनुहुन्छ । २०७२ को संविधान पश्चात उहाँहरु जितेर जानुभयो । त्यसपछि उहाँहरुले प्रदेशमा जसरी मिलेर सरकार बनाउनुभयो, त्यसरी संघमा मिलेर लड्नुपथ्र्यो । मधेशमा सरकार बनाए पनि उहाँहरुले काम गरेर देखाउनु पथ्र्यो, सुशासन कायम गर्नुपथ्र्यो मधेशमा पनि सरकार छ भनि अनुभुती जनतालाई दिनुपथ्र्यो तर त्यस्तो केही गर्नुभएन । छाया मुख्यमन्त्रीको रुपमा काम गर्नुभयो मुख्यमन्त्रीहरुले । संघमा मिलेर अवाज उठाउनुपर्नेमा पालैपालो सत्ताको राजनीति गर्नुभयो । अहिले अस्तित्व संकटमा परेपछि मधेश याद आइरहेको छ । मधेशमा समस्या छ, मधेशमा फेरि पनि पहाडे सिम्बुलहरुलाई स्थापित गर्ने काम भइरहेको छ । मधेशमा नयाँ प्रश्नहरु उठेका छन् । नयाँ नाराहरुको खोजी भइरहेका छन् । यो अवस्थामा पनि उहाँहरुले बोल्नु भएन, एक भएर जानु भएन भने समाप्तिमा जानुहुन्छ । मधेशी जनता र मधेशी एजेण्डा जहिले पनि एक ठाउँमा छन् । चाहे त्यो काँग्रेसमा होस् या एमाले, माओवादीमा होस् ।
मधेशको कुरा आउँछ भने उहाँहरुमा पनि मधेशी सेन्टिमेन्ट जाग्छ । मधेशी दलले जब मधेशको मुद्दालाई उठाउछन् अनि मधेशी जनताको सपोर्ट पाउँछन् । मधेशी दल कमजोर हुँदा काँग्रेस, एमाले, माओवादी भित्रका मधेशी नेताहरु पनि कमजोर भएका छन् । मातृका, विमलेन्द्र, रामचन्द्र झा, रघुवीरहरु हराउनुको कारण मधेशी दल कमजोर भएर हो । सबै जब मधेशी दलहरु शक्तिमा आउँछन् अनि ठूला दलमा रहेका मधेशी नेताहरुको पनि महत्व बढ्छ । मधेशी दल कमजोर हुनु भनेको मधेशको एजेण्डा समाप्त हुनु हो । एजेण्डा महत्वपूर्ण कुरा हो, मधेशको एजेण्डा जिवित राख्नुपर्छ । जसले एजेण्डा छाड्छन् त्यो दल समाप्त हुन्छ ।
साना दलहरुलाई समाप्त गर्नका लागि नै काँग्रेस र एमालेले किन थ्रेस होल्ड बढाउन थालेका हुन् के यो सुनियोजित हो ?
–हो यो सुनियोजित हो । मधेश वा देशैभरी जसरी काँग्रेस, एमाले र माओवादीले आफ्नो पकड जमाएका छन् । हरेक संयन्त्रमा उनीहरुको पकड छ, त्यो नगुमोस्, अरुले बर्चस्व कायमन नगरोस् भनि चिन्ता काँग्रेस, एमालेलाई छ । त्यही भएर कानुनी औजार प्रयोग गरेर ती दलहरुलाई समाप्त गर्न चाहेका छन् ती दलहरु । मधेश आन्दोलनको क्रममा मुद्दा लागेकाहरुमध्ये जो ठूला पार्टीमा गए उसको मुद्दा फैसला भयो जो मधेशी दलमा छन् उ अहिलेसम्म अल्झिरहेका छन् । भन्नाले सत्ताको तागत प्रयोग गरेर नीति नै बनाएर ती दलहरुलाई समाप्त गर्ने तानाबाना बुनिरहेका छन् । तीन वटै दलहरु १६ बुँदे सम्झौता गरेर मधेशलाई समाप्त पारेका हुन् । २०७२ मा बिना सम्झौता आन्दोलन टुगिंनुको कारण पनि त्यही थियो । त्यत्रो मधेश आन्दोलन हुँदा पनि कुनै सम्झौता भएन, बिना सम्झौता टुगिंयो ।
त्यसो भए यी तीन दलको विरुद्धमा साना दल वा पहिचानवादी शक्तिहरु एकजुट हुने बेला भएको हो त ?
–आन्दोलन दल विशेष होइन, राज्य विशेष बनाउनुपर्छ । मधेशको जनता समावेशीको विरुद्धमा, संघीयता विरोधी केन्द्रीकृत मानसिकताको विरुद्धमा, राज्यको सिम्बुलहरु एकल बनाउने विरुद्धमा आन्दोलन गर्नुपर्छ न कि कुनै नेता वा दलको विरुद्धमा । देशमा संघीयता राम्रो भयो भने त्यसको फाइदा काँग्रेस, कम्युनिष्टलाई पनि हुन्छ । समावेशी भयो भने काँग्रेस, कम्युनिष्टमा रहेकालाई पनि फाइदा हुन्छ । देशमा संघीयता आएपछि चिफ मिनिस्टर सबभन्दा बढी काँग्रेस, कम्युनिष्ट पार्टीबाट नै बनेका छन् । त्यसैले पुृरै राज्यको पुनसंरचनाको सवाल हो । त्यसमा कुनै दल विशेष हुनु हुँदैन । मधेश आन्दोलनकै कुरा गर्नुहुन्छ भने त्यसलाई समुदाय विरुद्ध, वर्ग विरुद्ध, जात विरुद्धको आन्दोलन बनाइ दिए । मधेशको आन्दोलन त समस्त नेपालीको मुहार फेर्ने आन्दोलन थियो । दक्षिण एसियामै यस्तो आन्दोलन भएको थिएन । कतै यस्तो आन्दोलन हुँदा त्यहाँ आफ्नो क्षेत्र समुदायको विशेषको नागरिकता माग्छन् तर मधेशी आन्दोलन हुँदा नेपाली नागरिकता मागे । यो हो राष्ट्रियता ।
त्यसो भए अहिले जुन षड्यन्त्रहरु भइरहेका छन्, त्यसको विरुद्धमा पहिचानवादी शक्तिहरु के गर्नुपर्छ त ?
–पहिचानका पक्षधरहरु, सुशासनका पक्षधरहरु, संघीयताका पक्षधरहरु पहिला आत्मलोचना गर्नुपर्छ । अहिले रामनामी ओढेर आउनुभयो भने पुराना सबै पापबाट मुक्त हुनुहुन्छ भने छैन । अहिलेका सत्तालाई मनोबल बढाउने काम यिनै मधेश आश्रित दलका नेताहरुले गर्नुभयो । जसले पटक पटक सत्तामा गएर उनीहरुलाई लागि मधेशी र मधेश देखाउने टुल बनिदिनुभयो । हाम्रो साथमा पनि मधेशी दल छन् है भन्ने ठाउँ बनाइ दिनुभयो । मधेशका सबै आन्द्राभुँडी त्यहाँ पस्कि दिनुभयो उहाँहरुले । अनि कमजोर भए । र आज अस्तित्व संकटमा पर्न थालेपछि मधेश–मधेशको माला जप्न थाल्नुभयो भने कसैले पत्याउदैन ।
पहिला आत्मलोचना गर्नुपर्यो । नभए नयाँ नेतृत्व आउँछन् । मधेशको धर्ती नायकबिहिन हुँदैन । एउटा गएपछि अर्को आउँछन् । गजेन्द्रबाबु जतिसक्नु भयो त्यति गर्नुभयो, त्यसपछि उपेन्द्रजी आउनुभयो । उपेन्द्रजी जतिसक्नुभयो गर्नुभयो, त्यसपछि महन्थजी, राजेन्द्रजी, सिकेजी आउनुभयो । यस्तो आइरहन्छन् । त्यसैले अहिलेका मसिहालाई चिन्ता लागेको छ कि समाप्त भइन्छ । अब मधेशमा जानका लागि उहाँहरुले आत्मलोचना गर्नुपर्छ । ७२ को आन्दोलन त्यत्रो शक्तिशाली भएर पनि किन सफल हुन सकेन ? त्यसमा उहाँहरुले आत्मलोचना गर्नुपर्यो । यो संविधानभित्र के के कुरामा बिमती छ, त्यो कुरामा केन्द्रित हुनुपर्छ ।
यी मधेश केन्द्रित दलका नेताहरुको बिगतको क्रियाकलाप गतिविधि हेर्दा पुनः एक ठाउँमा आउनुसक्नु हुन्छ जस्तो लाग्छ तपाईलाई ?
–बडो गाह्रो छ । ‘बडा कठिन है डगर पनघट कि’ । उहाँहरुको बिचमा यति नफरत छन्, यति इगो छन् कि एक अर्कालाई स्विकार गर्ने पक्षमा देखिनु भएको छैन । मधेश नेपाल जस्तै विविधतापूर्ण समाज हो । विभिन्न विचार भएका व्यक्ति छन् त्यहाँ । मधेशमा पनि बहुदलीयता, बुहपक्षता हुन्छ । जहाँ विविधता छ, त्यहाँ बहुपक्षता हुन्छ नै । आन्दोलनको बेला सबै मधेशीहरु एक ठाउँमा उभिएर मदत गरे । मतदान भएपछि सबै आआफ्नो तरिकाले मतदान गरे । यही हो विविधता । आन्दोलन र एजेण्डामा मधेशी एक भए पनि सत्ता र मतदानको क्रममा आआफ्नो तरिकाले अगाडि बढे । पछिल्लो समय मधेश आश्रित दलका नेताहरुले अहिले जे प्रयास गरिरहनु भएको छ त्यो पनि सकारात्मक कुरा हो तर त्यो काफिर होइन । मधेशमा जबजब चमत्कारी तरिकाले एकता भएको छ । त्यो एकता टिकेको छैन । कोरोनाको समयमा रातारात एउटा पार्टी गठन भएको थियो । गाउँमा बाढी आउँदा ज्यान बचाउन त्यहाँ भएको एउटै रुखमा बिच्छी, सर्प, गड्यौला, गङ्गटो सबै चढ्छन् । जब बाढी सकिन्छ अनि ती सबै ओर्लेर आआफ्नो ठाउँमा जान्छन् । मधेशवादी दलमा अहिले त्यही भइरहेको छ ।
भन्नाले अहिले बाढी आउन लागेको हो ?
–हो, अहिले बाढी आउन लागेको हो । दलहरुले आआफ्नो ज्यान जोगाउन ओत खोजिरहेका छन् । जबसम्म सैद्धान्तिक रुपमा सहमति हुँदैन तबसम्म किन लड्ने, केका लागि लड्ने, कहाँ जाने, कहाँसम्म पुग्ने, त्यो कुराको प्रष्टता नभएसम्म आआफ्नो दाउपेच राखि राख्छन् । ०७२ को आन्दोलन असफल हुनुमा सबभन्दा ठूलो कारण यिनै नेताहरु हुनुहुन्छ । सबैलाई आफू आफू मसिहा बन्नुथियो । त्यसैले बाढी आउने संकेत उहाँहरुले पाइसक्नु भएको छ । ओत खोजि रहनु भएको छ । बाढी गइसकेपछि फेरि आआफ्नो ठाउँमा जानुहुन्छ ।
तपाईको प्रतिक्रिया