Khadya Bibhag

संघर्ष गर्न नथाक्ने विणाको यस्तो छ जीवनको कहानी

२०६५ तिर गोरखापत्र दैनिकको नयाँ नेपाल बहुपृष्ठ अन्तरर्गत भोजपुरी भाषा पृष्ठमा विणा सिन्हाको एउटा कथा ‘नारी’ छापिएको थियो । विणा सिन्हाको त्यो पहिलो कथा थियो । त्यो कथा एउटा कुनै स्कुलका मिस (शिक्षिका)को जीवनसँग हुबहु मिलेपछि निकै लफडा तथा विवाद भएको थियो । भोजपुरी भाषामा छापिएपछि पनि यस्तो विवाद हुन्छ भने कल्पनासम्म थिएन विणालाई ।

यहाँसम्म कि विणाका छोरीलाई अपहरण गर्नेसम्म प्रयास भएको थियो । विणा उठाई दिनेसम्मको धम्की आएको थियो । पछि गोरखापत्रकै भोजपुरी भाषा पृष्ठमा यो कथा संयोगले कसैसँग मेल खान गएको हो, मिसको जीवनसँग कुनै सरोकार राख्दैन भनि छापिएपछि मात्र त्यो घटना सामसुम पारिएको थियो ।

विणा सिन्हा भन्नुहुन्छ, ‘मलाई कसैको चित्त दुखाउने मनसाय थिएन, संयोगले उहाँको जीवनसँग मेल खाएको थियो त्यसले उहाँलाई पर्न गएको अप्ठ्यारोका लागि क्षमा पनि मागेको थिए । पछि त पत्रिकामा नै खण्डन जस्तो छाप्नुपर्यो अनि मात्र उहाँको चित्त बुझेको थियो ।’ भर्खर भर्खर साहित्यमा कलम चलाउनु भएको कारण विणालाई कथा लेखनको त्यति अनुभव पनि थिएन ।

हो, पत्रकार एवं साहित्यकार विणा सिन्हाको कथा यस्तै जिवन्त र वास्तविक हुन्छ । जो पढेपछि आफ्नै वरिपरीको, आफ्नै कथा हो जस्तो लाग्छ । र बेलाबेलामा विवाद र चर्चामा आउने गर्छन् । द पब्लिक हिन्दी मासिक पत्रिकाका सम्पादक विणा सिन्हाको पाँच वटा कथा संग्रह प्रकाशित छन् । हिन्दी र भोजपुरी भाषामा ‘नारी’, नेपाली भाषामा ‘कमली’ हिन्दी भाषामा ‘सुनसान गलिया’, ‘यथार्थ की परछाइ’ कथा संग्रह प्रकाशित छन् भने हिन्दी भाषामा ‘यादो के गलियारो में’ स्मरण प्रकाशित छ । उहाँका हरेक कथा त्यस्तै यथार्थपरक छन् । जो समाजको प्रतिनिधित्व गर्छन् ।
उहाँका कथा मात्र होइन विभिन्न पत्रपत्रिकामा छापिने उहाँका लेखहरु पनि त्यस्तै समसामयिक र समुदायमा आधारित हुन्छन् । एक पटक मधेशी महिलाको बारेमा कान्तिपुरमा एकपटक एउटा लेख छापिएपछि कृष्णमुरारी भण्डारीमार्फत वरिष्ठ साहित्यकार क्यान्सर पिडित जगदिशप्रसाद घिमिरले आफ्नो घरमै विणालाई बोलाएर भेट्नु भएको थियो । त्यो लेखको उहाँले प्रसंसा गर्नुभएको थियो । अझै लेख्न उहाँले विणालाई प्रेरित पनि गर्नुभएको थियो । साहित्यकार जगदिशकै उत्प्रेरणाले विणाले साहित्यमा कलम चलाउनु सुरु गर्नुभएको थियो । त्यसैको नतिजा हो पहिलो कथा संग्रह नारी ।


को हुनुहुन्छ विणा सिन्हा ?
मधेशी महिलामा पढे लेखेका विणा हठ्ठी र आफ्नो कुरा प्रष्टसँग राख्ने स्वभावका हुनुहुन्छ । मनमा लागेको कुरा मनमा दबाउनु हुन्न । र कुनै कुरा प्राप्तिका लागि संघर्ष गर्नका लागि पछाडि पर्नुहुन्न भनि रुपमा विणालाई चिनिन्छ । भारत बिहार पश्चिम चम्पारण बगहाका बुवा डा.बबन प्रसाद र आमा सविता प्रसादका छोरी हुनुहुन्छ विणा सिन्हा । बुवा बबन र दाइ डा.अजय देवकुलिया पेसाले डाक्टर हुनुहुन्छ । दुई जना भाइ अभय देवकुलिया र विनय देवकुलिया व्यपार व्यवसायमा हुनुहुन्छ । उहाँका एक जना दिदी सन्ध्याकुमारी पनि डाक्टर हुनुहुन्छ । मिरा सिन्हा र मिना सिन्हा पनि विणाका दिदीवहिनी हुनुुहुन्छ ।

 

चुनावमा हारेका जतिलाई पदाधिकारी बनाइएको थियो । त्यसले विणालाई चित्त दुख्यो । उहाँ यसको विरोधमा पार्टीमा आवाज उठाउनु भयो । तर उहाँको कुरा सुन्ने कोही भएन । विभा दास त्यो घटनाले यति दुखी हुनुभयो कि पार्टी छाडेर काँग्रेसमा जानुभयो ।

सन् १९९९ जुन २० अर्थात २०५६ असार ६ गते सर्लाही रामनगर नगरपालिका खैरवा–४ का ईन्जिनियर मनोकुमार वर्मासँग विणा सिन्हको बिहे भयो । उहाँका एक जना छोरी सेलिना प्राची र छोरा तनिस सोप्नील छन् । छोरी सेलिना भारतको केरलामा मेडिकलमा अध्ययनरत छन् भने छोरा भारतमै इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । विवाह सर्लाहीमा भए पनि सुरुदेखि श्रीमानसँग काठमाडौँमा बस्दै आउनु भएको छ ।

पढाईमा अब्बल
५३ वर्षिय विणा सिन्हा बिहे गर्नुअघि नै आफ्नै सबै शिक्षा पुरा गरिसक्नु भएको थियो । जब जागिर गर्ने बेला भयो अनि उहाँ बिहे गरेर नेपाल आउनुभयो । नेपालमा बिहे भएको कारण उहाँले जागिरको अवसर पाउनु भएन भन्दा पनि उहाँले त्यसका लागि कोशिस पनि गर्नुभएन । एक त भाषाको समस्या थियो । अर्को कुरा उहाँको पढाई लेखाइ सबै भारतमै भएको थियो । त्यही भएर यहाँ जागिर पाउन गाह्रो थियो । तर उहाँले हिम्मत हार्नुभएन । सरकारी जागिर नपाए पनि केही नकेही आफै गर्ने भनि अठोट उहाँको मनमा थियो किनभने भारत माइतमा रहेर उहाँले शिक्षा आर्जनका लागि निकै मेहनत गर्नुभएको थियो ।

उहाँले आइए, बीए, एमए (इतिहास), बीएड र एलएलबीसम्म अध्ययन गर्नुभएको छ । पढाइमा चलाख र तेज रहेको हुनाले सबै तहको पढाइ उहाँले रेगुलर सकाउनुभयो । प्राथमिक र निमावि तहको पढाईमा केही डिस्टर्व भएको थियो । उहाँको बुवा डाक्टर भएको कारण विभिन्न ठाउँमा सरुवा भइरहन्थ्यो । त्यसले उहाँको पढाइ पनि सरिरहन्थ्यो । भारत बिहारको रोहताश जिल्लाको कुदरामा कक्षा एकसम्म पढ्नु भएका विणा दानापुर जिल्लामा चारसम्म पढ्नु भएको थियो ।

मोतिहारीमा पनि केही समय अध्ययन गर्नुभएका विणा बरौनीबाट सन् १९८६ मा मेट्रिक पास गर्नुभयो । मोतिहारीको महिला महाविद्यालयबाट आइए, एम.एस. कलेजबाट बीए र एमए पास गुर्नभएका विणा लङगट सिंह विश्वविद्यालयबाट एलएलबी गर्नुभयो । पटना दानापुरको सेन्ट जेभियर कलेजबाट बीएड गर्नुभयो । त्यस लगतै उहाँले युनिभर्सिटी ग्राण्ड कमिशन (युजीसी) पनि पास गर्नुभयो । कलेज पढाउने उद्देश्य थियो उहाँको । युजीसी पास गरेपछि लेक्चलरका लागि विज्ञापन भएपछि इन्टरभ्यु मात्र दिनुपथ्र्यो ।

जागिरका लागि कोशिस
उहाँको घरमा सबैले साइन्स पढेका थिए । तर उहाँ मात्र आइए बीए पढ्नुभयो । कारण थियो, उहाँलाई बुबा तथा दाइले प्रशासनतिर जागिर खुवाउने सोच बनाउनु भएको थियो । सानैदेखि मधावी स्वभावका विणालाई त्यही अनुसारको जागिर भयो भने राम्रो हुन्छ भन्दै उहाँका दाइले बिहार पब्लिक सर्भिस कमिशनको तयारी गर्न पनि भन्नुभएको थियो । बीएड पढ्नु भएको विणाले चाहेको भए शिक्षिका तुरुन्तै बन्नु पाउनु हुन्थ्यो । तर विणालाई लेक्चलर बन्ने इच्छा थियो शिक्षिका होइन ।

त्यसका लागि उहाँले युजीसी पनि पास गरिसक्नुभएको थियो । उहाँ विज्ञापनको प्रतिक्षामा हुनुहुन्थ्यो ।
प्रतिक्षा गरिरहेकै बेला उहाँको विवाह भयो । सबै सपना चकनाचुर भयो । विवाह गरेर नेपाल आइसकेपछि बल्ल भारतका लेक्चलरका लागि विज्ञापन निस्केको थियो तर त्यतिबेला उहाँले भारतको नागरिकता त्यागेर नेपालको लिइसक्नु भएको थियो । ‘मन थियो कि भारतमै गएर जागिर गरौं तर परस्थितिले साथ दिएन त्यसमा पनि बुबाले पनि अब यहाँ भारतमा आएर केही गर्छु भनि सोच्दै नसोच्नु बरु नेपालमै के के गर्नुपर्छ भनि गर्नु भन्नुभएको थियो, विणाले भन्नुभयो, ‘यति पढाइ लेखाइ गरेको कामै लागेन भनि त्यसले पश्चाताप भइरहेको थियो नेपालमा बेकारमा बिहे गरेको भनि मनमा पटक पटक आउथ्यो त्यसका लागि श्रीमानसँग थुप्रै पटक गुनासो गरेको थिए ।’

तर विणाका श्रीमानले सधै सम्झाउनु हुन्थ्यो, तिमीले पढे लेखेका कुरा खेर जाँदैन नेपालमै केही गर्नुपर्छ भनि सम्झाउनु हुन्थ्यो । एक पटक विणाका बुवा बबन प्रसाद काठमाडौँ आउनु भएका थियो । घरमा काम गर्ने पनि थियो तैपनि विणाले घरको किचनमा काम गरिरहनु भएको थियो । अनि त्यो देखेर बबनप्रसादले छोरीलाई विणालाई भन्नुएको थियो, ‘तिमीलाई यही सब गर्नका लागि पढाएको थिए, घरमा काम गर्ने मान्छे हुँदाहुँदै यी सब किन गर्नुपर्यो तिमीले पढे लेखेका छौं केही गर ।’

त्यतिबेला विणाले केही बोल्नु भएन जब बुबा जानुभयो अनि श्रीमान मनोजसँग रिसाउनुभयो । बेकारमा नेपालमा बिहे गरे, भारतमै बिहे गरेको भए यो दिन सब देख्नुपर्ने थिएन नि, नागरिकता किन त्याग्न लगाउनुभयो भन्दै श्रीमानसमक्ष गुनासो गर्नुभएको थियो । त्यतिबेला पनि इन्जिनियर मनोजले भन्नुभएको थियो, ‘चिन्ता नगर न तिमी एक दिन नेपालमै केही गर्छौ र तिम्रो नामको चौतर्फी चर्चा हुन्छ ।’ विणाले भन्नुभयो, ‘म बेरोजगार भएपछि वैष्णोेदेवीलाई सम्झेर भनेका थिए माताजी मलाई केही गर्ने इच्छा छ नेपालमै केही गर्न मन त्यो इच्छा पुरा गरिदिनुहोस् ।’ बिहेको डेढ दुई वर्षपछि विणाले छोरी पाउनुभयो । त्यसपछि त झन घरमै बस्न थाल्नुभयो ।

 

पढाई लेखाइ सबै भारतमै भएको थियो । त्यही भएर यहाँ जागिर पाउन गाह्रो थियो । तर उहाँले हिम्मत हार्नुभएन । सरकारी जागिर नपाए पनि केही नकेही आफै गर्ने भनि अठोट उहाँको मनमा थियो ।

उहाँको छिमेकी एक जना लिला गुप्ता हुनुहुन्थ्यो जो नेपाल सद्भावना पार्टीका नेतृ हुनुहुन्थ्यो । उहाँले विणालाई राजनीतिक सम्बन्धी एउटा टे«निङमा लग्नुभएको थियो । अढाइ वर्षकी छोरीलाई काँखमा लिएर बागबजारको अशोका होटलमा तालिमका लागि जानुभयो । विणा बिहे गरेर आएपछि यसरी बाहिर निस्किनु भएको पहिलो दिन थियो त्यो ।
तीन दिनसम्म तालिम लिनुभयो । अन्तिम दिन आयोजकले उहाँलाई आठ सय रुपियाँ दिएको थियो । अरुलाई पनि दिएको थियो । त्यो लिएर आएपछि घरमा निकै रुनु भएको थियो । कस्तो दिन आयो जो तीन दिन तालिममा बसेपछि आठ सय रुपियाँ दियो । यदि भारतमा भएको भए जागिर गर्दा कम्तीमा २०–३० हजार (भारु) आउथ्यो । तर यहाँ यस्तो दिन देख्नुपरेको छ । त्यो दिन पनि आफ्नो श्रीमानसँग गुनासो गर्नुभएको थियो ।

विणाको आर्थिक अवस्था खराब थियो वा खर्चबर्चका लागि पैसा थिएन भने होइन । श्रीमान इन्जिनियर हुनुहुन्थ्यो । काठमाडौँको कोटेश्वरमा आफ्नै घर छ । घरमा काम गर्ने मान्छे छन् । अर्थात विणालाई कुनै कुराको अभाव थिएन । तर पिडा थियो कि यति पढाई लेखाइ गरेर घरमा बस्नु परेको छ । केही गर्न पाइनन् भनि पिडा मात्र थियो उहाँलाई । भारतमा भएको भए केही नकेही अवश्य गरेको हुन्थे भनि उहाँको बुझाई थियो ।

पत्रकारितामा प्रवेश
उहाँ नेपाल इन्जिनियर श्रीमती समाजका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । कहिले काही समाजको कार्यक्रममा जाुनहुन्थ्यो । समाजले एउटा स्मारिका प्रकाशन गरेको थियो । त्यसमा समाजका अध्यक्ष विजया केसीले सबैलाई केही नकेही लेख्न भन्नुभएको थियो । विणाले भोजपुरी भाषामा एउटा लेख दिनु भएको थियो । त्यो छापियो पनि । त्यो लेखको बारेमा धेरै चर्चा भएको थियो । विणाभित्र लुकेको प्रतिभा धेरै जनाले थाह पाए । विणा पढे लेखेका बुहारी हुनुहुन्छ भने कुरा घरका सबैलाई थाह थियो । छरछिमेक तथा आफन्तलाई पनि यो कुराको जानकारी थियो तर विणाले आफ्नो प्रतिभा र भित्र लुकेको क्षमतालाई देखाउन सकिरहनु भएको थिएन ।

विणाका देवर कमरेन्द्र वर्मा हिमालिनी मासिक पत्रिकामा काम गर्नुहुन्थ्यो । आफ्नो भाउजुलाई पटक पटक पत्रिकामा लेख्न भन्नुहुन्थ्यो । तर उहाँले त्यति ध्यान दिइरहनु भएको थिएन । स्मारिकामा लेख छापिएपछि कमरेन्द्रले बलै गरेर विणालाई हिमालिनीमा लेख्न लगाउनुभयो । विणाले पनि लेख्न थाल्नुभयो । नियमित लेख्न थालेपछि हिमालिनीका सम्पादक संजिता वर्माले स्थायी रुपमा काम नै गर्न आग्रह गर्नुभयो ।

केही कारणले थुप्रै स्टाफले हिमालिनी छाडेका थिए । त्यसले पत्रिका नै बन्द भएको थियो । कम्युटर समेत चलिरहेको थिएन । त्यही भएर संजिता वर्माले उहाँलाई काम गर्न बल गरिरहनु भएको थियो । संजिताले हिमालिनी प्रकाशन गर्नमा विणाको श्रीमानसँग पनि सहयोग माग्नुभएको थियो । विणाको लेखाइ राम्रो थियो । विषयवस्तुको राम्रो ज्ञान थियो । भारतको राजनीतिक, समाजिक विषयवस्तुको ज्ञान थियो नै । बिहे गरेर आएपछि नेपालको राजनीतिक तथा समाजिक विषयवस्तु पनि बुझ्न थाल्नुभएको थियो । विषयवस्तुका जानकार भएका कारण उहाँलाई लेख्न कुनै समस्या भइरहेको थिएन ।

हिमालिनीमा महाप्रबन्धक पदमा काम गर्न थाल्नुभयो । तलब महिनाको २५ हजार । मृत अवस्थामा पुगेको हिमालिनी बिस्तारै बिस्तारै जिवित हुन थाल्यो । विणाले आफ्नै पत्रिका जस्तै त्यहाँ काम गर्न थाल्नुभयो । हिमालिनीको राम्रो प्रगति हुन थाल्यो । तर तोकिएका तलब विणालाई दिइरहेको थिएन । आज दिन्छु भोली दिन्छु भन्दा भन्दै तीन वर्ष बित्यो । विणाले हिमालिनीलाई क वर्गमा पुर्याउनु भएको थियो । प्रेस काउन्सिलबाट पनि पैसा आउन थालेको थियो । बजारबाट पनि विज्ञापनलगायतबाट पैसा आउथे । राम्रै आम्दानी थियो पत्रिकाको । यो कुरा विणालाई थाह थियो किनभने उहाँ पत्रिकाको हर्ताकर्ता नै हुनुहुन्थ्यो । तर तलब पाइरहनु भएको थिएन ।

पछि सम्पादक संजित वर्माले पनि छाड्नुभएको थियो । विणा एक्लै सबै भ्याइ रहनु भएको थियो तर तलब नदिएको कारण हिमालिनीका सचितानन्द मिश्रसँग सम्बन्ध बिग्रिदै गइरहेको थियो । विणा पनि छाड्ने मुडमा पुग्नुभयो । कुनै उपाय नलागेपछि २०६७ मा उहाँले हिमालिनी छाड्नुभयो र उहाँले आफ्नै मासिक पत्रिका ‘द पब्लिक’ प्रकाशन गर्न थाल्नुभयो । उता हिमालिनीसँग तलबका लागि विवाद चलि नै रहेको थियो । सुचना विभागदेखि प्रेस काउन्सिलसम्म विवाद पुग्यो । तर विणाले तलब पाइरहनु भएको थिएन । विणा अनुसार पछि त सचितानन्द मिश्रले तलबका लागि कुनै कुरा नै भएको थिएन बेतलबी काम गरेको भन्न थाल्नुभयो ।


यहाँसम्म कि पछि पत्रिकामा विणा सिन्हा (अवैतनिक) भनि लेख्न थालिएको थियो । विणाले जागिर छाडे पनि पत्रिकाबाट नाम हटाइएको थिएन । विणाले जबर्जस्ती नाम हटाउन लगाउनुभएको थियो ।
पैसा पाउने कुनै उपाय नलागेपछि विणा मुद्दामा जान्छु भनि तयारीमा जुट्नुभयो । त्यसपछि मात्र सचितानन्दले विणासँग मिल्नुपर्छ भनि प्रस्ताव गर्नुभएको थियो । तर विणा मान्न तयार हुनुहुन्थेन । विणाले भन्नुभयो, ‘अब जे हुन्छ त्यो अदालतबाट नै हुन्छ भने अडानमा बसे तर उहाँले कहाँ कहाँबाट मान्छे लगाएर मेरो श्रीमानसँग कुरा गर्नुभयो उहाँले भेट्नका लागि समय दिनुभयो । मेरो घरमा उहाँ रुपियाँ बोकेर नै आउनुभयो ।

 

विणा पढे लेखेका बुहारी हुनुहुन्छ भने कुरा घरका सबैलाई थाह थियो । छरछिमेक तथा आफन्तलाई पनि यो कुराको जानकारी थियो तर विणाले आफ्नो प्रतिभा र भित्र लुकेको क्षमतालाई देखाउन सकिरहनु भएको थिएन ।

८–९ लाख पाउनु पर्ने रकममध्ये तीन चार लाख जति दिएर कुरा मिलाउनुभयो । विणाले पनि मान्नुभयो । हिमालिनीको विवाद समाप्त भएको थियो । त्यसपछि विणा आफ्नो पत्रिकामा पुरै समय दिएर काम गर्न थाल्नुभयो । १४ वर्षदेखि लगातार पत्रिका प्रकाशन गर्दै आउनुभएको छ । उहाँले पत्रकारिता, राजनीति र साहित्यलाई साथ साथ अगाडि बढाउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘मलाई सुरुमा चिन्ता लागेको थियो यतिका पढाइ लेखाइ गरेर केही गर्न सकिएन तर अब आफ्नो क्षमताले काम गरिरहेको छु, अझै केही गरौं भनि सोच छ तर हालसम्मको अवस्था हेर्दा सन्तुष्ट छु ।’

साहित्य सृजना
विणा स्कूल पढ्दादेखि नै साहित्य लेखनमा रुची राख्नु हुन्थ्यो । पत्रकारिता सुरु गरेपछि नेपालमै उहाँले विभिन्न तालिमहरु पनि लिनुभएको छ । मेट्रिक पास गरेपछि उहाँले १५ वटा कविता लेख्नु भएको थियो । तर त्यो कविता घरका मान्छेलाई सुनाएर त्यतिकै मिल्काउनु भएको थियो । घरमा सबै पढेलेखेका भएका कारण लेखन तथा अध्ययनको वतारण थियो तर उहाँले त्यहाँ त्यसलाई औपचारिकता दिन सक्नु भएन । भारतमा थुप्रै पत्रपत्रिका प्रकाशित हुन्छन् तर त्यसमा छाप्नुपर्छ भनि उहाँले कहिले सोच्नु भएन । उहाँ बिहे गरेर नेपाल आएको दुई तीन वर्षपछि लेखन काम सुरु गर्नुभएको थियो । त्यसपछि उहाँ पछाडि फर्केर कहिले हेर्नुभएन । उहाँलाई नेपाली बोल्न अहिले पनि गाह्रो हुन्छ तर लेख्न शुद्ध लेख्नुहुन्छ ।

कान्तिपुरमा लेख छापिन थालेपछि एकपटक त्यहाँका उपसम्पादक कृष्णमुरारीले बोलाएर केही कुरा लेख्न लगाउनुभएको थियो । मुरारीलाई शंका थियो कि लेख अरु कसैले लेखि दिन्छन् । तर उहाँले प्रमाणित गर्नुभएको थियो हिन्दी पढे पनि नेपाली पनि राम्रो लेख्न सकिन्छ ।

कान्तिपुर, गोरखापत्र, अन्नपूर्णपोष्ट, नयाँपत्रिका, नागरिक, विमर्श साप्ताहिक, साझा प्रकाशनको गरिमा, गोरखापत्रको मधुपर्क पत्रिकामा महिला र सामाजिक–सांस्कृतिक सम्बन्धी लेखहरु लेख्नुभयो । गरिमा तथा नारी पत्रिकामा उहाँका कथाहरु पनि प्रकाशित छन् । नेपालको पहिलो महिला भोजपुरी साहित्यकार हुनुहुन्छ जसको १५ वटा कथाको कथा संग्रह प्रकाशित भएको छ । उहाँले लेख्नु भएको कथा संग्रह “यथार्थ की परछाईं” तथा सुनसान गलियाँ सन् २०२१ मा भारत सरकारको केन्द्रीय हिन्दी संस्थान, आगरा प्रकाशित गरेको हो ।

उहाँको आलेख विश्व हिन्दी पत्रिकामा प्रकाशित भएको छ । ‘२५१ औ अन्तराष्ट्रिय श्रेष्ठ व्यंग्यकारों’ नामक पुस्तकमा पनि उहाँको व्यग्य प्रकाशित छ । लोककथा ‘सोन चिरैया और गौरैया’ नेपालको आठ कक्षाको कोर्समा सामेल हुनका लागि स्विकृत गरिएको छ । उहाँका विभिन्न कथालाई नाटकमा रुपान्तर गरी विभिन्न रेडियामा प्रशारण गरिएको छ ।

संलग्नता र सम्मान
उहाँ नेपाल पत्रकार महासंघको सदस्य, मधेशी पत्रकार संघको केन्द्रीय सदस्य, नेपाल–भारत मैत्री संघको तीन कार्यकाल केद्रीय सदस्य, दलितको लागि कार्यरत समग्र विकास केन्द्रको निवर्तमान केन्द्रीय सदस्य, नेपाल इंजिनियर श्रीमती समाजको दुई कार्यकाल केन्द्रीय सदस्य, नेपाल चित्रगुप्त महिला समितिको अध्यक्ष समेत रही सक्नु भएको छ । साथै प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्य (२०७५–२०७८) पनि रही सक्नु भएको छ ।

उहाँले राष्ट्रपति विद्यादेवीद्वारा प्रेस काउन्सिलबाट भाषागत पत्रकारिता पुरस्कार प्राप्त गरिसक्नु भएको छ । त्यस्तै उपराष्ट्रपति परमानन्द झाबाट उहाँले वुमन इम्प्रुभेमेन्ट अवार्ड प्राप्त गर्नुभएको छ भने भोजपुरी प्रतिभा सम्मानबाट पनि सम्मानित हुनुभएको छ । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाद्वारा उमा सिंह प्रथम स्मृति पुरस्कारबाट पनि उहाँ सम्मानित हुनुभएको छ । तत्कालिन गृहमन्त्री कमल थापाद्वारा पृथ्वी पत्रकारिता सम्मानबाट पनि सम्मानित हुनुभएको छ । नेपाली महिला साहित्यकारको संस्था–गुञ्जन साहित्यिक संस्था गुञ्जन प्रतिभा पुरस्कारबाट पनि उहाँ सम्मानित हुनभएको छ । त्यस्तै, नई प्रकाशनद्वारा रजत महोत्सव सम्मानबाट पनि सम्मानित हुनुभएको छ । पार्वती स्मृति संस्थानबाट पनि पुरस्कृत हुनुभएको छ ।


शताब्दी पुरुष सम्मान तथा पदकबाट सम्मानित हुनुको साथै विणा रिर्पोर्टस क्लबले दिने पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ । नेपाल मुस्लिम महिला समाज कल्याणबाट पनि उहाँ सम्मानित हुनुभएको छ । सन् २०२२ में वेस्ट महिला चित्रांश अवार्ड र सन् २०२३ मा कालिन्दी लिटरेचर फेस्टिवलमा पनि सम्मानित हुनुभएको छ । अन्तरराष्ट्रिय इण्डो–नेपाल समरसता अवार्ड २०१८, सन् २०१२ मा भारत सरकारका शिक्षा मन्त्रीद्वारा उद्भव विशिष्ट सम्मानबाट पनि सम्मानित हुनुभएको छ ।

 

‘म गान्धीको आन्दोलन बुझेको कारण परिवर्तनका लागि हुने कुनै पनि प्रकारको आन्दोलनलाई म समर्थन गर्थे अहिले पनि गर्छु तर माओवादीले गरेको हत्या हिंसा मलाई मन परेको थिएन ।’

भारतको भोपालमा भारतीय महिला साहित्यकारद्वारा सम्मानित र सन् २०१५ मा भारतको दिल्लीमा प्रवासी साहित्य सम्मानबाट पनि उहाँ सम्मालिन हुनुभएको छ । मरीससको विश्व हिन्दी सचिवालय २०२० को व्यंग्य प्रतियोगितामा एशिया समूहमा प्रथम पुरस्कार सात सय डलर प्राप्त गर्नुभयो । उद्भव सामाजिक, सांस्कृतिक एवं समामजिक संस्था द्वारा उद्भव मानव सेवा सम्मान, भारतमा सनातन सांस्कृतिक कॉन्क्लेवमा सम्मानित, गोरखपुर साहित्यिक फेस्टिवलमा पनि सम्मानित हुनुभएको छ । उहाँ राजिव अवस्थी प्रवासी साहित्य भुषण पुरस्कार २०२३, इण्डो नेपाल समरसता अर्गनाइजेसनद्वारा अटल समरसता रत्न अवार्ड २०२४ तथा नेपालस्थित भारतीय दुतावासद्वारा विश्व हिन्दी दिवस २०२५ बाट पनि सम्मानित हुनुभएको छ ।

२०६५ मा अमेरिकामा भएको युएनको अधिवेशनमा नेपालको फोरमबाट प्रतिनिधि भएर जानुभएको थियो । भारतको नयाँ दिल्लीमा आयोजित जी ट्वान्टीमा सहभागी हुनुको साथै भारतकै सांस्कृतिक कन्क्लेव २०२२ में विशिष्ट अतिथिको रुपमा वक्ता हुनुभएको थियो । भारत बिहारको भीम राव अंबेडकर विश्वविद्यालयमा २०१२ मा नेपालको प्रतिनिधिको रुपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सन् २०१९ मा भारतको गोरपुरमा आयोजित साहित्य गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै, काशी विश्वविद्यालयमा आयोजित गोष्ठीमा पनि कार्यपत्र प्रस्तुत गर्नुभयो । महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा महात्मा गान्धी अनतराष्ट्रिय विश्वविद्यालय वर्धामा कार्यपत्र प्रस्तुत गर्नुभयो । अमेरिकाको कैलिफोर्नियामा आयोजित कार्यक्रम भर्चुअलमाध्यमबाट कार्यपत्र पनि उहाँले प्रस्तुत गर्नुभएको थियो । । काठमाडौ स्कूल अफ ल कलेजद्वारा आयोजित साहित्य संगोष्ठीमा भोजपुरी भाषा विज्ञ रूपमा सहभागी हुनुभएको थियो ।

राजनीति यात्रा
विणा सिन्हा भन्नुहुन्छ, ‘आफ्नो अन्तिम लक्ष्य राजनीति नै हो । केही गर्छु भन्दै खोज्दै गएपछि पत्रकारिता जोडिए अहिलेसम्म त्यसमै राम्रो गरिरहेको छु जस्तो लाग्छ अब राजनीतिमा केही नयाँ र फरक गर्नुपर्छ भनि अन्तिम लक्ष्य लिएको छु, त्यसका लागि विभिन्न प्रयासहरु गरिरहेको छु ।’ विणा भारत माइतमा हुँदा पनि राजनीतिक ज्ञान राख्नुहुन्थ्यो । त्यहाँको पत्रपत्रिका पढ्नुहुन्थ्यो । बीबीसी हिन्दी त सधै सुन्नुहुन्थ्यो । प्रायः राजनीति विषयमा बुवा र दाइसँग उहाँ बहस गर्नुहुन्थ्यो । घरमा छोरीमध्ये विणाले मात्र राजनीतिमा रुची राख्नुहुन्थ्यो । तर राजनीतिमा कहिले संलग्न हुनुभएको थिएन । अधिकाँश समय पढाइमा दिनुभयो । पढाई सकाएपछि बिहे गरेर नेपाल आउनुभयो ।

बिहे गरेर आएको केही समयपछि नेपालमा जनआन्दोलन–२ सुरु भएको थियो । उहाँ रेडियो, टिभी, पत्रपत्रिकाबाट नेपालको राजनीतिबाट अवगत हुनुहुन्थ्यो । जनआन्दोलनका नारा जुलुसलाई नजिकबाट हेर्नुभएको थियो । उहाँलाई पनि त्यसमा सहभागी हुन मन हुन्थ्यो । तर भर्खर छोरी जन्मेको कारण बाहिर निस्किन सकिरहनु भएको थिएन । श्रीमान जागिरको शिलशिलामा बाहिर बाहिर हुने गर्नुहुन्थ्यो । जनआन्दोलनमा प्रहरीको दमन हुन्थ्यो त्यो कुरा थाह पाएर छोरीलाई लिएर जान मन उहाँको हुँदैन्थ्यो ।

 

जेपी गुप्ताले माओवादीले फोरमलाई समाप्त पार्न यी सब षड्यन्त्र भएको भन्नुभएको थियो । उपेन्द्र यादवलाई मार्ने योजना माओवादीको थियो । त्यही भएर यो घटना गराएको कुरा जेपी गुप्ताले विणालाई भन्नुभएको थियो । 

उहाँ माओवादी जनयुद्धलाई राम्रोसँग अनुभुत गर्नुभएको छ । माओवादीको जनयुद्ध चल्दा सर्लाहीबाट उहाँका सासु ससुरा बिस्थापित भएर काठमाडौँ आउनु भएको थियो । माओवादीले चन्दा माग्थे । भने अनुसार चन्दा नदिएपछि उनीहरु डराउथे, धम्काउथे । पछि विणाका सासु–ससुरा घर छाडेर काठमाडौँ आउनु भएको थियो । तर माओवादीले काठमाडौँमा पनि बाँकी राखेनन् । उहाँका श्रीमान इन्जिनियर हुनुहुन्थ्यो । विभिन्न प्रोजेक्टमा काम गर्नुहुन्थ्यो ।

माओवादीहरुले ती प्रोजेक्टबाट कमिशन माग्नुहुन्थ्यो । कतियौं पटक घरमा फोन गरेर धम्की दिन्थे । प्राय घरको फोन विणाले नै उठाउनु हुन्थ्यो । विणा भन्नुहुन्छ, ‘म गान्धीको आन्दोलन बुझेको कारण परिवर्तनका लागि हुने कुनै पनि प्रकारको आन्दोलनलाई म समर्थन गर्थे अहिले पनि गर्छु तर माओवादीले गरेको हत्या हिंसा मलाई मन परेको थिएन ।’
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सुरुमा स्वतन्त्र मधेशका लागि संघर्ष गर्ने र त्यसका लागि सुझाव लिन आयोजना गरेको कार्यक्रमा पनि विणाले हत्या हिंसाको राजनीति गरेमा सिके राउतलाई साथ र सहयोग नरहने भन्नुभएको थियो । सिके राउतले आफू स्वतन्त्र मधेशका लागि जस्तोसुकै कदम चाल्ने भनि अभिव्यक्ति दिएपछि विणाले त्यस्तो प्रतिकृया दिनुभएको थियो । अर्थात उहाँले राजनीतिमा कुनै पनि प्रकारको हिंसात्मक गतिविधिको विरोध गर्नुहुन्थ्यो ।

माओवादी जे कारणले आन्दोलन गरेको थियो त्यो ठिक थियो, मागहरु जायज थियो तर आन्दोलनको प्रकृया गलत थियो भनि बुझाई विणाको रहेको छ । पछि उहाँ आफै प्रत्यक्ष राजनीतिमा संलग्न हुनुभयो । अहिले लोसपा नेपालमा रहनु भएका निलम वर्माले उहाँलाई तत्कालिन फोरममा आवद्ध हुन आग्रह गर्नुभएको थियो । एकपटक तत्कालिन मधेशी जनअधिकरा फोरम नेपालको कार्यालयमा लग्नुभएको थियो । त्यतिबेला गौर घटना निकै चर्चामा थियो । तत्कालिन फोरम र माओवादीबिच झडप भएर रौतहटको गौरमा ठूलो घटना भएको थियो । माओवादीतर्फ थुप्रैको ज्यान गएको थियो । त्यो घटना फोरमले गराएको चर्चा भइरहेको थियो । त्यस कारणले फोरममा जान उहाँलाई डर लागि रहेको थियो ।

यो कुरा उहाँले फोरमको कार्यालयमा उपेन्द्र यादवसँग सोध्नुभएको थियो । उपेन्द्र यादवले जेपी गुप्तासँग यो विषयमा बुझ्न भन्नुभएको थियो । जेपी गुप्ताले माओवादीले फोरमलाई समाप्त पार्न यी सब षड्यन्त्र भएको भन्नुभएको थियो । उपेन्द्र यादवलाई मार्ने योजना माओवादीको थियो । त्यही भएर यो घटना गराएको कुरा जेपी गुप्ताले विणालाई भन्नुभएको थियो । यो कुरा थाह पाएपछि उहाँ फोरममा लाग्नुभएको थियो । उहाँले भन्नुभयो, ‘जुन दिन मैले पार्टीको सदस्यता लिए त्यही दिन रेणु यादवले पनि लिनुभएको थियो ।’

त्यसपछि फोरमको कार्यालय आउजाउ गर्न थाल्नुभयो विणा । मधेश आन्दोलनको तयारी चलिरहेको थियो । फोरमले गर्ने विभिन्न गोष्ठी तथा कार्यक्रममा सहभागी हुन थाल्नुभयो । मधेश आन्दोलन सुरु भएपछि उहाँ काठमाडौँमा हुनुहुन्थ्यो । मधेश आन्दोलनलाई समर्थन र सरकारलाई दबाब दिन काठमाडौँमा पनि विभिन्न गतिविधि हुन्थ्यो । नारा जुलुस, धर्नाका काम हुन्थ्यो । ती सबैमा विणाको सक्रिय सहभागिता हुन्थ्यो । विणाले छोरा–छोरीलाई घरमा राखेर बाहिरबाट ताल्चा लगाइ कार्यक्रममा जानुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘पार्टीको कार्यक्रम हुँदा बच्चालाई स्कूलबाट ल्याएर घरमा राखि दिन्थे, टिभी चलाएर आवश्यक खानेकुरा राखि दिन्थे अनि ताल्चा मारेर कार्यक्रममा जान्थे ।’


आन्दोलन सफल भएपछि उहाँ फोरमको महिला संगठनमा आवद्ध भएर सक्रिय हुनुभयो । त्यतिबेला उहाँ हिमालिनीमा पनि काम गर्नुहुन्थ्यो । मञ्जु अन्सारी र निलम वर्माको साथमा उहाँ पार्टीका कार्यक्रममा सक्रिय पूर्वक लाग्नुभएको थियो । आन्दोलनको क्रममा धर्ना जुलुस गर्दा उहाँले प्रहरीको कुटाइ धेरैपटक खानुभएको छ ।

चुनावमा नो चान्स
पहिलो संविधानसभा चुनावमा उहाँको नाम समानुपातिकको तेस्रो नम्बरमा राखिएको थियो । एक नम्बर दुई नम्बरको भयो तेस्रो र चौथो नम्बरको भएन । त्यसभन्दा तलका महिलाहरुको भयो । त्यसमा उहाँले चित्त बुझाउनुभयो । उपेन्द्र यादवले तपाईको अहिले थुप्रै समय बाँकी छ । तपाईलाई अर्को पटक राखौला अहिले तराई मधेशका महिलालाई हुन दिनुस् भन्नुभएको थियो र उपेन्द्र यादवको यो कुरा सहस्र स्विकार गर्नुभएको थियो । तर २०७० को दोस्रो संविधानसभा चुनावमा पनि त्यस्तै भयो । त्यतिबेला उहाँ चुनावमा सर्लाहीमा खटिनुभएको थियो ।

काठमाडौँमा बालबच्चालाई छाडेर डेढ महिनासम्म पार्टीका लागि सर्लाहीमा बस्नुभयो र चुनावमा दिन रात खट्नुभयो तर जब समानुपातिक सदस्य दिने कुरा भयो ड.शिवजी यादवलाई दियो । फेर उहाँले उपेन्द्र यादवबाट आश्वासन नै पाउनुभएको थियो । तर २०७४ को चुनावमा उहाँ समानुपातिकमा नाम दिन मान्नुभएन । उहाँ राष्ट्रियसभामा जाने इच्छा देखाउनुभयो । पार्टी पनि हुन्छ भन्यो । त्यसको तयारीमा पनि उहाँ लाग्नुभयो । अल्पसँख्यकबाट विणालाई दिने भनि पार्टीमा एक खालको निर्णय पनि भएको थियो । सबैले उहाँले बधाइ पनि दिइरहेको थियो ।

मधेश आन्दोलनलाई समर्थन र सरकारलाई दबाब दिन काठमाडौँमा पनि विभिन्न गतिविधि हुन्थ्यो । नारा जुलुस, धर्नाका काम हुन्थ्यो । ती सबैमा विणाको सक्रिय सहभागिता हुन्थ्यो ।

तर गठबन्धन दलहरुमा बाँडफाँट हुँदा अल्पसँख्यकको सीट तत्कालिन राजपालाई गयो । फोरमले दलित कोटा पायो । राष्ट्रियसभामा पनि विणालाई भएन । २०७९ मा पनि उहाँको नाम समानुपातिकमा राख्न खोजिएको थियो । तर उहाँले नामका लागि मात्र नाम राख्ने हो भने न राख्नुस् बरु राष्ट्रियसभामा पठाई दिनुस् भन्नुभयो । फेरि पनि उहाँले आश्वासन मात्र पाउनुभयो । न राष्ट्रियसभामा भयो न प्रतिनिधिसभामा । तर उहाँले आश मार्नुभएको छैन । उहाँ भन्नुहुन्छ, ‘पार्टीमा म भन्दा धेरै पछि आएका, आन्दोलनमा कुनै अत्तोपत्तो नरहेका व्यक्तिले अवसर पाइसके तर म जस्ताको त्यस्तै छु, नेतृत्वबाट आश्वासनबाहेक केही पाइरहेको छैन । तैपनि म हार खाएको छैन आफ्नो कर्तव्य गरिरहन्छु एक दिन अवश्य अवसर आउँछ भनि विश्वास छ ।’

महिला संगठनमा धोका
फोरमको महिला संगठन बन्दा उहाँ तदर्थ समितिमा सचिव बन्नुभयो । सहनाज रहमान अध्यक्ष हुनुहुन्थ्यो । संगठनको महासचिवबाट विणा महासचिव बन्नुभयो । जनकपुरको महाधिवेनबाट महासचिव भएपछि पार्टीका पुरै सक्रिय भएर लाग्नुभयो । त्यतिबेला उहाँले आफ्नो पत्रिका द पब्लिक मासिक प्रकाशित गरिरहनु भएको थियो । पत्रकारितामा सक्रिय रहनुको साथै राजनीतिमा पनि त्यतिकै सक्रिय हुनुहुन्थ्यो । उहाँले महिला संगठनमा निकै मेहनत गर्नुभयो ।

दोस्रो महाधिवेशनमा विभा दासलाई अध्यक्ष र निर्मला यादवलाई महासचिव बनाउने कुरा थियो । त्यही अनुसार प्यानल बनाएर जाने कुरा भइरहेको थियो । राजनीति दाउपेच सुरु भएको थियो पार्टीमा । त्यो दाउपेच विणालाई मन परेको थिएन । आफ्नो विरुद्ध षड्यन्त्र भइरहेको कुरा उहाँले आभाष पाइसक्नु भएको थियो । त्यसपछि उहाँले आफू चुनावमा भाग नलिने मनस्थिति बनाउनुभयो । महासचिव भएको कारण महाधिवेशन सफल बनाउने भनि तयारीका साथ त्यसमा लाग्नुभयो । तर महाधिवेशनमा चुनाव भए पछि उहाँले पनि महासचिवमा उम्मेदवारी दिनुभयो । निर्मला यादव, सिमा सिंहसहित विणाले पनि महासचिवमा उम्मेदवारी दिनुभयो । विणाले चुनाव जित्नुभयो । विभा दास अध्यक्ष र विणा महासचिवसहितको टिम बन्यो । जुन टिमलाई रेणु यादवको टिमले मन पराइ रहेको थिएन ।

महाधिवेशन स्थलमा रुवावासी नै भयो । चुनाव हारेका महिलाहरु त्यहाँ रोइरहनु भएको थियो । रेणु यादवले महाधिवेशनस्थलमै निर्मला यादवलाई भन्नुभएको थियो, ‘महासचिवका लागि किन रुनु भएको हो, म तपाईलाई अध्यक्ष नै बनाउछु न रुनुस् ।’ यो कुरा रेणुले विणालाई सुनाएर नै भन्नुभएको थियो । त्यो कुरा पछि सावित भयो । तीन महिना नबित्दै विभा दास, विणा सिन्हाको टिमबाला निर्वाचित कार्यसमिति डिजल्भ गरेर निर्मला यादवलाई अध्यक्ष, किरण साहलाई उपाध्यक्ष बनाएर अर्को समिति बनाउने काम भएको थियो ।

अर्थात चुनावमा हारेका जतिलाई पदाधिकारी बनाइएको थियो । त्यसले विणालाई चित्त दुख्यो । उहाँ यसको विरोधमा पार्टीमा आवाज उठाउनु भयो । तर उहाँको कुरा सुन्ने कोही भएन । विभा दास त्यो घटनाले यति दुखी हुनुभयो कि पार्टी छाडेर काँग्रेसमा जानुभयो ।

पछि विणाले अदालतसम्म जाने सोच बनाउनुभयो । तर धेरैले सुझाव दिएका थिए कि नजाँदा राम्रो, पार्टीमा यस्तो भइरहन्छन् अदालत जाँदा राम्रो सन्देश नजाने भनेपछि विणा चुप लाग्नुभयो । उहाँ त्यसपछि पार्टीमा निस्कृय हुनुभयो । पार्टीका सधारण सदस्य भएर बस्नुभयो । धेरैपछि उहाँ संघीय परिषद् सदस्य बन्नुभएको थियो । त्यसपछि पनि उहाँलाई पार्टीमा मन लागि रहेको थिएन । पार्टीले पनि जिम्मेवारी दिइरहेको थिएन । जनकपुरमा गत जेठमा सम्पन्न महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्य बन्नुभएको छ । केन्द्रीय सदस्य भएपछि उहाँ पार्टीमा सक्रिय हुनुभएको छ तर महिला संगठनमा भएको षड्यन्त्रलाई उहाँले अझै बिर्सिनुभएको छैन ।

तपाईको प्रतिक्रिया