गत बैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भयो । १२ जना सांसद रहेको जसपा नेपालबाट सात जना सांसद लिएर अशोक राइ अलग भएर जनता समाजवादी पार्टी गठन गर्नुभयो । निर्वाचन आयोगमा पार्टी दर्ता गराए लगतै सर्वोच्च अदालतमा उपेन्द्र यादवको तर्फबाट मुद्दा पर्यो । मुद्दामाथि सुनुवाइ गर्दै विभाजनको प्रकृया स्थगित गर्न अदालतले अल्पकालिन आदेश दियो । तर हालसम्म त्यसको फैसला भएको छैन । यद्यपी दुवै पार्टीले आआफ्नो गतिविधि गरिरहेका छन् ।
आफ्नो पार्टी विभाजनमा प्रधानमन्त्री केपी शर्मा अोली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हात रहेको कुरा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्दै आउनु भएको छ । खासगरि पछिल्लो समय उपेन्द्र यादव माओवादीका अध्यक्ष प्रचण्डमाथि निकै आक्रमक देखिनु भएको छ । पार्टीको विभाजनको सम्पूर्ण दोष प्रचण्डमाथि नै थुपारि रहनु भएको छ । प्रधानमन्त्री ओली पनि त्यसको दोषी हुनुहुन्छ तर मुख्य दोषी प्रचण्ड नै हो भनि भनाई अध्यक्ष उपेन्द्र यादवको आइरहेको छ ।
जसपा नेपाल विभाजन हुँदा माआवादी–एमालेको गठबन्धन थियो । प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो । जसपा नेपाल विभाजनको मास्टरमाइण्ड एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओली नै हुनुहुन्छ । हरेक कुराका चाँजोपाँजो मिलाउने काम ओली नै गर्नुभएको थियो । त्यो कुराको पुष्टि अहिले अशोक राइले प्रधानमन्त्री अोलीको सरकारलाई दिएको साथले पुष्टि हुन्छ ।
माओवादीका अध्यक्ष प्रचण्डले पार्टी विभाजन गर्न अशोक राइलाई सहयोग गरेको भए अहिले अशोक राइको प्रचण्डको साथमा हुनुहुन्थ्यो । विपक्षी गठबन्धनमा हुन्थ्यो समाजवादी मोर्चामा हुन्थ्यो । तर पार्टीमा विभाजनमा ओलीले साथ दिएकै कारण त्यसको गुण अशोक राइले अहिले सरकारमा साथ दिएर पुष्टि भएको टिप्पणी भइरहेको छ । माओवादी केन्द्रका एक नेताले भन्नुभयो, ‘प्रचण्डको गल्ती यति हो कि उहाँले विभाजनको कुरा सार्वजनिक रुपमा बोल्दिनुभयो, उहाँको त्यो बानी नै हो, त्यसको जस अपजस आफ्नो टाउकोमा लिनुभयो तर ओली बोल्नु भएन त्यही भएर उहाँ जोगिनुभयो । जसपा नेपाल बिभाजन गरेको मास्टरमाइण्ड प्रधानमन्त्री अोली हो भने कुरा कसैबाट लुकेको छैन ।’
उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टी विभाजन गर्नका लागि प्रधानमन्त्री ओलीले पहिला पनि प्रयास गरेको कुरा सायद उपेन्द्र यादवले बिर्सिनु भएको भन्दै माओवादीका ती नेताले भन्नुभयो, ‘उपेन्द्र यादवको पार्टी विभाजन गर्ने पहिलो प्रयास असफल भए पनि उहाँले प्रयास छाड्नु भएको थिएन, दोस्रो प्रयासमा ओलीले प्रचण्डको काँधमा बन्दुक राखेर चलाउनुभयो र त्यसमा सफल हुनुभयो ।’
प्रधानमन्त्री अोलीकै कारण मुद्दा फैसला नभएको कुरा जसपा नेपालका उपेन्द्र यादव मात्र होइन त्यो पार्टीका सबै नेतालाई थाह छ । जसपा सरकारमा छ । सो पार्टीलाई अोलीको साथ र सहयोग छ । प्रधानमन्त्री अोलीले नचाहेसम्म सर्वोच्च अदालतले फैसला गर्न सक्दैन भने कुरा जसपा र जसपा नेपालका नेताहरुलाई राम्री थाह छ । यो कुरा थाह पाएर नै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधार गर्नेतिर लाग्नु भएको छ । जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्री अोलीसँग पछिल्लो समय पटक पटक भेटिरहनु भएको छ । जसपा नेपालको मुद्दामा सहयोग गर्न उहाँले भनिरहनु भएको छ । आफ्नो पार्टीको तर्फबाट के सहयोग हुन्छ सबै गर्ने भनि भन्दै आएको स्रोतले जनाएको छ ।
माघ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री अोली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच भेटघाट भएको थियो । त्यहाँ उहाँहरुको बिचमा समान्य कुराकानी भयो । त्यसपछि प्रधानमन्त्री ओलीले अध्यक्ष यादवलाई भेट्नका लागि बालुवाटारमा नै बेलाउनु भयो । त्यही साँझ उपेन्द्र यादव प्रधानमन्त्री ओलीसँग भेट्नु भएको स्रोतले दावी गरेको छ । सो भेटमा पनि अध्यक्ष यादवले जसपा नेपालको विभाजनको मुद्दा सर्वोच्च अदालतमा रहेको र त्यसलाई चाँडो टुगों लगाइ दिन आग्रह गर्नुभएको बताइएको छ । प्रधानमन्त्री अोलीले पनि आफूले सहयोग गर्ने भन्नुभएको छ तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वस्त हुनुहुन्न ।
तपाईको प्रतिक्रिया