–मातृका यादव
–मधेश प्रदेशका इन्चार्ज एवं उपमहासचिव, नेकपा माओवादी केन्द्र
माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले मधेश प्रदेशको इन्चार्ज पाएपछि त्यसको चौतर्फी चर्चा सुरु भएको छ । मधेशमा माओवादी समाप्त भइरहेको बेला मातृका यादवको ‘कमब्याक’ ले सबैतिर चर्चाको विषय बनेको छ । मधेशमा मातृका यादवको जुन क्रान्तकारी पहिचान छ, त्यसले चर्चाको विषय बनाएको छ । विगतमा मधेशमा मातृकाले जसरी काम गर्नुभएको थियो, त्यसले पनि मातृकालाई मधेशमा स्वागत भएको छ । मान्छेले भन्न थालेका छन् ‘मातृका इज कमब्याक’ तर के चर्चा भए जस्तै मातृकालाई मधेशमा काम गर्न सजिलो छ त, चुनौती के के छन्, ती चुनौतीलाई कसरी सामना गर्ने ? प्रस्तुत छ यिनै विषयवस्तुमा केन्द्रित रहेर सहारा टाइम्सका लागि माओवादीका मधेश प्रदेशका इन्चार्ज एवं उपमहासचिव मातृका यादवसँग गरिएको कुराकानीको सम्पादीत अंशः
माओवादी केन्द्रमा तपाईलाई मधेश प्रदेशको इन्चार्ज बनाएपछि राजनीतिकवृतमा चर्चाको विषय बनेको छ, तपाईलाई कस्तो लाग्छ ?
–सात वटै प्रदेशमध्ये बागमती प्रदेशपछि प्रतिनिधिको हिसाबले जनसँख्याको हिसाबले मधेश प्रदेश नै हो । राजनीतिक तथा रणनीतिक हिसाबले पनि मधेश प्रदेश महत्वपूर्ण प्रदेश हो । तर माओवादी पार्टीको अवस्था मधेश प्रदेशमा निकै खस्किएको छ । मधेशमा माओवादी जसरी मोबाइलज हुनुपथ्र्यो, जसरी संगठित हुनुपथ्र्यो त्यसरी भएको छैन । मधेशमा माओवादी प्रतिनिधिसभामा जिरो भएको छ । स्थानीय तहमा विगतमा हामी २१ वटा जितेका थियौं अहिले आठ वटामा झरेका छौं । मधेश प्रदेशमा पार्टी बनाउने हाम्रो लागि धेरै ठूलो चुनौतीको कुरा हो । तर ती सबै चुनौतीलाई चिर्दै मधेशलाई पुनः माओवादीमय बनाउने हाम्रो लक्ष्य हो । २०७४ को चुनावमा म मधेश प्रदेशको संयोजक थिए । त्यसपछि म त्यहाँको कुनै जिम्मेवारीमा रहिनन् । अरुअरु साथीहरुले जिम्मेवारी लिएर काम गर्नुभयो । मलाई अरु प्रदेशको जिम्मेवारी दिएको थियो ।
त्यहाँ पार्टी बनाउने, संगठन निर्माण गर्न जाने क्रममा कतिपय साथीहरुले मुखमै नभने पनि पिठ्यु पछाडी भन्ने गर्नुहुन्थ्यो, ‘आफ्नो प्रदेश त बनाउन सक्नु भएको छैन अरुको प्रदेशमा ठूला ठूला कुरा गर्न आउनु भएको छ ।’ कतिपय अवस्थामा त्यो कुरा मेरो कानसम्म पनि आइपुग्थ्यो । मलाई पनि अनुभुति भयो कि म जहाँको छु, जुन मेरो भुगोल हो त्यसलाई पहिला बनाउनुपर्छ । त्यो बनेपछि अरु प्रदेशमा कुरा गर्न पनि सजिलो हुन्छ । त्यसपछि म मागेर नै मधेश प्रदेश लिएको हुँ । म आफ्नो राजनीतिक जीवनमा पार्टीमा कहिल्यै पनि केही मागेको थिएन तर यसपटक मैले मधेश प्रदेशको जिम्मेवारी मागेर नै लिएको हुँ । त्यसमा सम्पूर्ण पदाधिकारी एकमत भए । र मैले मधेश प्रदेशको जिम्मेवारी पाए । यहाँको जनतासँग भावनात्मक रुपमा जोडिएको कारण त्यसको अनुभुति गरेर नै मागेर लिएको हुँ । मैले त्यो पद लिने बेलामा भनेको छु, ‘म पाएको जिम्मेवारी अनुसार काम गर्छु यदि काम गर्न सकिएन भने म आफै छोड्छु र अरुलाई जिम्मेवारी दिन्छु ।’
मधेशमा पार्टीका लागि सबभन्दा ठूलो संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा कोमा थियो । त्यो के कारणले कसको कारणले कोमामा थियो त्यो कुराहरु उठाएको थिए । मधेशमा जसरी नेतृत्व जन्माउनुपर्छ ।
तर मलाई विश्वास के छ भने मधेश एकपटक फेरि उठ्छ र ‘लाल मधेश’ बन्छ । तपाईहरुले नै लेख्नुभयो कि मधेशमा गुटबन्दी छ, गुटकै कारण मधेशमा माओवादी समाप्त भएको हो । तर अब मधेशमा कुनै गुटबन्दी छैन र हुनेपनि छैन । सबभन्दा पहिले ममाथि जुन गुटबन्दीको आरोप लागेको थियो त्यसलाई भत्काएको छु । सबै साथीहरु पनि भत्काउनु हुन्छ । सबै साथीहरुलाई मिलाएर जैलाने प्रतिबद्धता जनाएको छु । पार्टीका कुनै पनि साथीले मलाई अहिले कुनै गुटको हिसाबले हेर्नुभएको छैन । सबै उत्साहित भएर पार्टी बनाउने प्रतिवद्धताका साथ अगाडि बढ्नु भएको छ । माओवादीका लागि राम्रो परिणाम आउछ जस्तो लाग्छ । म आएपछि मधेशमा के हुन्छ भनि चर्चा सबैतिर छ ।
त्यसो भए के तपाई पदमा नहुँदा मधेशमा माओवादी बिग्रेको हो ?
–मैले त्यो भन्न खोजेको होइन । म पनि मधेशमै छु । तर मधेशमा संगठन जसरी परिचालित हुनुपथ्र्यो त्यो हुन सकेन । न प्रदेश कमिटी छ न स्थानीय कमिटी छ न नेताहरु परिचालित छन् । यस्तो किन भयो भनि समिक्षा हुँदै गर्ला तर यी जेजति बिग्रेका छन् भत्केका छन् त्यसको जिम्मेवारी सबैले लिनुपर्छ । म पनि लिन्छु । साथै त्यसलाई अहिले बनाउन पनि लागेको छु । तर संगठन बनाउने एक जनाले मात्र होइन, त्यसमा सबैको साथ सहयोग चाहिन्छन् । सबै जना सामूहिक निर्णय, समूहिक प्रतिवद्धताका साथ अगाडि बढे भने मधेशमा माओवादी बन्न समय लाग्दैन । यो कुराको अनुभूति सबै साथीमा आइ सकेको छ । अब मधेशमा पार्टी बनाउनुपर्छ भनि कुरा सबैलाई मनैदेखि लागेको छ । आम जनतामा पनि उत्साह देखिएको छ । पार्टीका कार्यकर्ता र शुभचिन्तकहरु पनि संगठन बनाउनुपर्छ भनि उत्साहित देखिन्छन् ।
तपाई त्यहाँ नहुँदा पार्टी बनेन र तपाई आएपछि बन्ने भयो भनि बुझेर नै पार्टीले तपाईको विकल्प नदेखेर त्यहाँ तपाईलाई पठाएको हो त ?
–होइन, त्यो म भन्दिन् । म नै बनाउन सक्छु भनेर मैले मागेर लिएको होइन । मैले बाहिर जुन आलोचना सुने कि आफ्नो प्रदेश बनाउन सक्नु भएन अरु प्रदेश बनाउन आउनु भएको छ, त्यो कारणले मैले मधेश बनाउनुपर्छ भनेर नै पार्टीसँग मागेर लिएको हुँ । म निर्विकल्प हुँ भनेर होइन, म केही गर्छु, संगठन बनाउनु मेरो कर्तव्य हो भनि बुझेर नै मागेर त्यहाँ गएको हुँ तर म त्यहाँ जाँदैमा सबै कयापलट हुन्छ भने पनि होइन । त्यसमा अरु साथीहरुको साथ सहयोग चाहिन्छ । सबै मिलेपछि मात्र सम्भव हुन्छ । मेरो एउटा अनुभूती के छ भने चुनाव लड्ने नेताहरु चैनल समातेर मात्र हुँदैन जनतासँग पनि जुडिरहनु पर्छ । त्यहाँको जनताका लागि काम गरिरहनु पर्छ जनताको दुखसुखमा साथ दिनुपर्छ । सबै नेताहरुले आआफ्नो भुगोल र क्षेत्र मात्र बनाए भने देश आफै उभो लाग्छ ।
जनतासँग जोडिएन भने धेरै गडबड हुँदो रहेछ । त्यो कुरा मैले पछिल्लो समय राम्रोसँग अनुभुत गरेको हुँ । पार्टीको हरेक कार्यक्रमलाई जनतासँग जोड्नुपर्छ भनि लागेको हुँ । जनयुद्ध दिवस पार्टीको प्रत्येक स्थानीय तहले मनाउनुपर्छ भनि साथीहरुलाई भनेको छु । संगठनलाई जनतासँग प्रत्यक्ष जोड्न सकिएन भने पार्टी आफै छुटिदै जान्छ । त्यसैले मैले पार्टीका हरेक कार्यक्रमलाई जनतासँग कसरी जोड्ने भनि काम गरिरहेको छु । म जुन जिम्मेवारी पाएको छु त्यो मेरो लागि जीवनको सबभन्दा ठूलो चुनौती हो । मैले यस्तो चुनौतिको अनुभूति जनयुद्धको बेला पनि गरेको थिइनन् । म सबै साथीलाई साथमा लिएर चुनौतीलाई हल गर्न सक्छु जस्तो लाग्छ । यदि यसपटक पार्टी बनेन भने कहिले बन्दैन । त्यसैले सबै साथीलाई समेटेर मधेशमा पार्टीलाई अगाडि बढाउछु त्यसमा सबैको साथ सहयोग चाहिन्छ । तर मेरो लागि यो जति चुनौति हो, त्यति अवसर पनि हो । म यसलाई अवसरको रुपमा लिएको छु । पार्टीका अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री भएको बेला सुशासनको क्षेत्रमा जेजे काम गर्नुभयो त्यो पनि हाम्रो लागि काम गर्ने आधार बनेको छ । प्रचण्डले जनतामा जानका लागि आधार बनाइ दिनुभएको छ । माओवादीका लागि ग्राउण्ड राम्रो बनेको छ । त्यसलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्छ ।
मधेशमा माओवादी यसरी नराम्रो गरि बिग्रिनुको कारण के हो, यसलाई छोटोमा समिक्षा गर्नुपर्यो भने कसरी गर्नुहुन्छ ?
–कमरेड अध्यक्ष प्रचण्डले भन्ने गर्नुहुन्छ कि मधेशको एजेण्डा र मुद्दा हाम्रै हो । हामीले उठाएको मुद्दा र एजेण्डामा अरु पार्टीहरुले काम गरिरहेका छन् तर हामी पछाडि परेका छौं । जनयुद्धपछि नै मधेशमा जागरुकता आएको हो । मधेशका उत्पीडित, पिछडिएका समुदायको पक्षमा अवाज उठाउने काम माओवादीले नै गरेको हो । दलितको अधिकार र पहिचानको विषय माओवादीले न उठाएको हो । महिला, मुस्लिमको कुरा माओवादीले नै उठाएको हो । र यी सबैको कुरा उठाएको कारणले नै मधेशमा माओवादी राम्रो बनेको थियो । मधेशी जनताले पत्याएको थियो जहाँबाट प्रचण्ड पनि चुनाव जित्नुभयो । तर पछिल्लो समय ती एजेण्डा र मुद्दाहरु हामी छोड्दै गयौं । र अरुअरु पार्टीले त्यसलाई उठाउन थाले । त्यसले माओवादी मधेशमा कमजोर देखिएको हो । अब हामी आफ्नो एजेण्डा र मुद्दा पुन त्यही ढंगले उठाउछौं र जनतामा जान्छौं । जनयुद्धको एजेण्डा अझै पुरा भएको छैन । पूर्ण संघीयता लागु भएको छैन । जब कि माओवादी सधै सरकारमा बस्यो, नीति निर्माणको तहमा बस्यो तर कतै नकतै हामी यी कुराहरु मिस गरेका छौं । जनताले पनि भन्न थाले कि सबै पार्टी उस्तै हो । माओवादीलाई पनि त्यही क्याटोगोरीमा राख्यो । माओवादी फरक हो भने कुरा जनतालाई अनुभुत गराउनुपर्छ ।
मालिकको सेवा गर्ने प्रवृति मधेशमा अझै कायम छ । सानोलाई दबाउने र ठूलोलाई चाकरी गर्ने प्रवृतिहरु छन् ।
तपाईको प्रतिक्रिया