Khadya Bibhag

विश्वविद्यालय बन्द गराउने यस्तो छ जनमतको दाउ

दुधको साक्षी बिरालो भने जस्तै डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालयको बारेमा छानविन गर्न जनकपुर कम्युनिटी कलेजका सञ्चालक सोहन साहको नेतृत्वमा छानविन समिति बनाएको थियो । मधेश प्रदेशका नीति आयोगका उपाध्यक्ष समेत रहनु भएका सोहन साहले कम्युनिटी कलेज सञ्चालन गर्दै आउनु भएको छ । सो कलेजमा कृषि समेत पढाई हुने गरेको छ । तर मधेश प्रदेशमै कृषि विश्वविद्यालय खुलेपछि जनमत पार्टीमा रहेका सोहन साहलाई सो कलेज चलाउन गाह्रो भयो । त्यसपछि सो विश्वविद्यालयलाई कसरी धरासायी बनाउन सकिन्छ भनि उपाय निकाल्नुभयो । सो कलेजमा जनमत पार्टीका अन्य नेताहरुको पनि लगानी रहेको स्रोतले दावी गरेको छ ।
प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै जसपा नेपालका प्रवक्ता एवं प्रदेशसभा सदस्य मनिष सुमनले निजी कलेजलाई पोस्नका लागि मधेश कृषि विश्वविद्यालयलाई धारासायी बनाउने षड्यन्त्र भइरहेको धारणा राख्नु भएको थियो । कृषिमा स्नातकको अध्यापन गराउर्दै आएको जनकपुर कम्युनिटी कलेजका संचालक समेत रहेका नीति आयोगका उपाध्यक्ष सोहन साह आफनो कलेजको हितलाई ध्यानमा राखेर प्रतिवेदन बनाउने र त्यसमा विश्वविद्यालयलाई अल्झाउने काम गरेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘आठ महिना भयो छानविन समिति गठन भएको, खोइ त प्रतिवेदन, किन आएन प्रतिवेदन, यसले प्रमाणित हुन्छ की विश्वविद्यालयमा कुनै समस्या छैन । आफनो व्यक्तिगत स्वार्थका कारण विश्वविद्यालयलाई धरासायी बनाउने रणनीति मात्र हो ।’
कृषि विश्वविद्यालय भवन शिलान्यासका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र डा.सिके राउत नेतृत्वको जनमत पार्टीबिच विवाद भएपछि त्यसको छानविनका लागि जनमत पार्टीका मुख्यमन्त्री सतिश सिंहले आयोगका उपाध्यक्ष सोहन साहको नेतृत्वमा समिति बनाउनुभयो । अनि त्यसपछि के खोज्छस् कानो जस्तै सोही मौकामा सोहन साहले मधेश विश्वविद्यालयलाई बन्द हुने गरि रणनीति खेल्नुभयो र त्यहाँ भर्ना हुने विद्यार्थी आफ्नो कलेजमा तान्नुभएको गुनासो भइरहेको छ । कृषि विश्वविद्यालयका एक अधिकारीले भन्नुभयो, ‘शिलान्यासको विवाद एउटा बहाना मात्र हो, त्यसलाई बन्द गरेर जनमत पार्टीले निजी क्षेत्रका कलेजलाई पोस्ने उपाय लगाएको मात्र हो ।’
कलेज सञ्चाक समेत रहनु भएका उपाध्यक्ष सोहन साहको नेतृत्वमा गठन भएको समितिले छानविन गर्न लामो समय लगाइ दियो ।
छानविन प्रतिवेदन नआएसम्म कुनै पनि करोबार गर्न नपाउने निर्देशक मुख्यमन्त्री कार्यालयबाट पठाई दियो । त्यसपछि त्यो विश्वविद्यालय त्यतिकै कमजोर हुँदै गयो । त्यहाँ भर्ना हुने विद्यार्थीको बिच्चली हुने भयो त्यसपछि विस्तारै कम्युनिटी कजेलतर्फ बढ्न थाले । अहिले विश्वविद्यालय बन्दकै अवस्थामा छ । सबै भर्ना तथा परीक्षाहरु स्थगित भएका छन् । त्यहाँ भर्ना हुने विद्यार्थीमध्ये ४० जना विद्यार्थी अहिले सोहन साहको कलेजमा भर्ना भएका छन् । पढाई पनि सुरु भइसकेको छ । उता विश्वविद्यालयमा बन्दको अवस्थामा पुगेको छ । कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ मधेश सरकारले स्थापना गरेको मधेश कृषि विश्वविद्यालयप्रति जनमत पार्टीको यस्तो रणनीति बाहिर आएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भवनको शिल्यानाश गरेकै कारण स्थापना भइसकेको विश्वविद्यालयलाई ध्वस्त बनाएर आफ्नो कार्यकर्ताले खोलेको कलेजलाई पोस्ने काम मुख्यमन्त्री सतिशत सिंहबाट भइरहेको गुनासो सबैतिर भइरहेको छ । सोहन साह नेतृत्वको छानविन समितिले अझै प्रतिवेदन बुझाई सकेको छैन । प्रतिवेदन सार्वजनिक गर्नुको सट्टा उल्टै अर्को संसदीय छानविन समिति बनाएर विश्वविद्यालयलाई कस्ने काम गरेको गुनासो भइरहेको छ । मधेश विश्वविद्यालयका भिसीले रजिष्टारले भन्नुभयो, ‘विश्वविद्यालयको बारेमा यदि कुनै छानविन समिति बनेको छ भने त्यसले चाँडो चाँडो छानविन गरेर निकास दिनुपर्छ छानविनका लागि हामी सहयोग गर्न तयार छौं ।’
विश्वविद्यालयको सबै आर्थिक करोबारमा मधेश प्रदेश सरकारले रोक लगाएको छ । त्यसले सो विश्वविद्यालय लगभग बन्द हुने अवस्थामा पुगेको छ । सरकारले बजेट नै उपलब्ध नगराएपछि एक अरब ७० करोडको भवन निर्माण मात्र अलपत्र परेका छैनन । त्यहाँका कर्मचारीहरुले भदौंदेखि तलब समेत पाएका छैनन । सबै काम प्रभावित भएको छ । भर्ना स्थगित भएको छ । पहिलो सेमेष्टरमा भर्ना भएका विद्यार्थीको भविष्य पनि अन्योलनमा परेको छ ।

तपाईको प्रतिक्रिया