Khadya Bibhag

कुटनीतिमा प्रधानमन्त्री ओली असफल

–डा.प्रमोद जयसवाल
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकार कुटनीतिक क्षेत्रमा असफल भएको टिप्पणीहरु भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा मात्र होइन, कुनै पनि प्रधानमन्त्रीको कार्यकालमा नेपालको कुटनीतिक क्षेत्र राम्रो गतिमा हिडेको देखिएको छैन । तर अहिलेको जस्तो लथालिङ कुटनीतिक कहिले थिएन । यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक सरकारको नेतृत्व गर्नुभएको छ ।
तीनटै कार्यकालमा उहाँले अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न सक्नुभएन । संविधान निर्माण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालमाथि नाकाबन्दीसम्मको अवस्था आयो । अर्को पटक प्रधानमन्त्री भएपछि चुच्चे नक्साको प्रकरण आयो । अहिले आएर बीआरआइ जस्ता कुराहरु आएका छन् । अमेरिकाले युएसएड रोक्यो । एमसीसी प्रोजेक्टमा रोक लगायो । अर्थात ओली प्रधानमन्त्री बनेपछि अन्तराष्ट्रिय सम्बन्धहरु खल्बलिएको पाइन्छ । जानकारहरुका अनुसार यस्तो पहिला कहिले भएको थिएन ।
भारतले हालसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका निम्तो दिएको छैन । निम्तो किन दिइरहेको छैन भने कुरा स्पष्ट छ दुई देशको बिचमा सम्बन्ध राम्रो छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको कारण कही न कही भारतको चित्त दुखाइ छ भने कुरा स्पष्ट छ । यता भारतले नबोलाएको कारण प्रधानमन्त्री केपी शर्मा ओली पनि मन दुखाएर बस्नु भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गरेको काँग्रेससँग पनि भारतले चित्त दुखाएको कुरा सञ्चारमाध्यमहरुमा आइरहेका छन् । उत्तर प्रदेश सरकार र इण्डिया फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको कुम्भ ग्लोबल समिटमा काँग्रेसका सभापति शेरबहादुर देउवा भाग लिन जाने कुरा थियो । सबै कुरा तय भइसकेको थियो । तर जुन दिन जाने कुरा थियो त्यही दिन काँग्रेसका सभापति शेरबहादुर देउवाले एकाएक कार्यक्रम रद्द गर्नुभयो । अर्थात यी घटनाहरुले गर्दा नेपाल–भारतको बिचमा चिसोपना छ भने कुरा स्पष्ट हुन्छ । ्
बीआरआइ सम्झौतामा तितोपन
चीनसँग जुन सम्झौता भएको छ । त्यो एकदमै महत्वपूर्ण छ । केपी शर्मा अ‍ोली नेतृत्वको वर्तमान सरकार त्यसमा सफल भएको हो भनि मान्न सकिन्छ । सन् २०१७ देखि एउटा विवादको रुपमा रहेको बीआरआइमा एउटा ‘ब्रेकडाउन’ भएको हो । त्यसलाई उपलब्धी नै मान्नुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो प्रगतिमा यसलाई सामेल गर्नुभएको छ । पार्टीको राजनीतिक प्रतिवेदनमा यसलाई उपलब्धी को रुपमा लिनुभएको छ ।
तर बीआरआइ फ्रेमवर्कमा साइन त भयो तर त्यसमा ‘रिमार्केवल’ कुरा केही पनि छैन । त्यसलाई कसरी कार्यान्वयन गर्ने त्यसमा सरकार नै कन्फ्युजमा छ । सम्झौता पत्रमा हस्ताक्षर गरेर आएपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एउटा कुरा भन्नुहुन्थ्यो भने परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अर्को कुरा भन्नुहुन्थ्यो । प्रधानमन्त्री अ‍ोलीले ऋण र अनुदान दुवै हो भन्नुभयो भने परराष्ट्र डा.आरजु राणाले ऋणमा सम्झौता भएपनि त्यो कार्यान्वयनमा आउदैन अनुदानको प्रोजेक्टहरु मात्र कार्यान्वयनमा आउने भन्नुभयो । अर्थात सत्ताधारी दलमध्ये एमाले ऋण र अनुदान दुवै पक्षमा रहेको देखिन्छ भने काँग्रेस अनुदानको पक्षमा मात्र रहेको देखिन्छ ।
गत फागुन ४ गते ओमनमा भारतका विदेशमन्त्री एस.जयशंकारसँगको भेटमा पनि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआइको विषयमा अनुदानकै कुरा राख्नुभएको थियो । चीनसँग जेसुकै कुरामा सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्ने काम नेपालको हो । नेपाल अनुदानबाला प्रोजेक्ट मात्र अगाडि बढाउछ भने कुरा परराष्ट्रमन्त्री आरजुले राख्नुएको कुरा विभिन्न सञ्चारमाध्यममा आएको हो । अर्थात बीआरआइ कार्यान्वयनमा सरकार अझै अन्योलनमा देखिन्छ । बीआरआइ सम्झौतामा पनि सरकारभित्र एकमत छैन । त्यसले त्यो साइन भएपनि त्यो सफलता होइन जस्तो लाग्छ मलाई ।
भारतलाई देखाउनका लागि प्रधानमन्त्री अ‍ोलीले चीनसँग बीआरआइ फ्रेमवर्कमा सम्झौता गर्नुभयो तर कार्यान्वयन त्यति सजिलो छैन । अमेरिकाले पनि नेपाललाई आफ्नो वेल विसेसको लिस्टमा राखेको छैन । अमेरिकामा सरकार परितर्वन भएको छ । त्यो सरकारले नेपाललाई दिँदै आएको सहयोग कटौती गरेको छ । यहाँसम्म कि एमसीसी जो नेपालका लागि ठूलो प्रोजेक्ट थियो त्यो कार्यान्वयनमा ल्याउन यत्रो लफडा भएको थियो त्यसलाई पनि अमेरिकाले रोकिदियो । अबको दिनमा अमेरिकाले भारत, रुस, युक्रेन, चीनलगायतमा फोकस गर्छ तर नेपाल कहीं कतै प्राथमिकतामा छैन ।
आउने अनुदानमा कटौती, अमेरिकाको प्राथमिकतामा नपर्ने, यस्तो अवस्थामा भारतसँग राम्रो सम्बन्ध नहुनु, चीनसँग पनि खुलेर जान नसक्नुमा नेपाल सरकार अन्तराष्ट्रिय मामिलामा असफल नै हो मान्न सकिन्छ ।
अर्को कुरा एमालेको सत्ता सहयोगी दल काँग्रेस हो । काँग्रेसको चाइना नीति एमालेभन्दा नितान्त फरक छ । चीनसँग काँग्रेस क्लोज जान सक्दैन र एमाले चीनतिर तान्न खोज्छ । यो कुरा चीनलाई पनि थाह छ कि एमाले अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई डेलिभर गर्न चाहने कुरा पनि राम्रोसँग गर्न सक्नुहुन्न किनभने त्यहाँ काँग्रेस छ जसको चीनसँग राम्रो सम्बन्ध छैन । त्यही कारणले चीनबाट कुनै ठूलो लगानी आउने सम्भावना छैन ।
अहिलेको वर्तमान सरकार भारत, चीन, अमेरिकासँग मात्र होइन, अरु देशसँग पनि राम्रो कनेक्सन छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कको कुरा बारम्बार उठाइ रहनु भएको छ तर कुनै उपलब्धी छैन । बिमस्टेकमा पनि नेपालले खासै आफ्नो भूमिका देखाउन सकेको छैन । अरु देशहरु जस्तै आसियानका देशहरु बैंकक, सिगांपुर, मलेलिया, कम्बोडियालगायतसँग कुनै इगेंजमेन्ट छैन । गल्फ देशहरुसँग पनि खासै ‘रिमार्केबुल’ छैन । बिपिन जोशीको बारेमा पनि खासै आश्वासन आएको छैन । त्यसैले अन्तराष्ट्रिय सम्बन्धको कुरा गर्ने हो भने तत्काल म कतैबाट कुनै आशाको किरण देखि रहेको छैन ।
सरकारको विदेश नीति
सबभन्दा पहिले कुनै पनि सरकारले विदेश नीतिलाई सही ढंगले अगाडि बढाउनका लागि सत्ता सहयोगीसँग मिलेर एउटा कमन धारणा बनाउनुपर्छ । अनि मात्र अन्तराष्ट्रिय रुपमा सफल हुन्छ । अहिलेको वर्तमान सरकारसँग विदेश नीतिको बारेमा कमन धारणा छदै छैन भन्दा पनि हुन्छ । त्यसलाई गर्दा अगाडि बढ्न सकिरहेको छैन । भारतसँग काँग्रेस कन्फर्टेबल होला, एमाले छैन, चीनसँग एमाले कन्फर्टेबल होला, काँग्रेस छैन । अमेरिकासँग काँग्रेसको होला तर अमेरिकाले एमालेसँग इगेंज हुन नचाहेको होला । यस्तो स्थितिमा सरकारलाई अन्तरराष्ट्रिय सम्बन्धलाई अगाडि बढाउन गाह्रो हुन्छ । परराष्ट्र मन्त्रालय काँग्रेस पार्टीको भएका कारणले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समस्या भएको हुनसक्छ । किनभने काँग्रेस र एमाले फरक फरक आइडियोलोजी भएका पार्टी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली विदेश नीति अर्थात अन्तराष्ट्रिय सम्बन्धलाई लिएर कहिले चिन्तत रहनु भएन । डोमेस्टिक पोल्टिक्समा नै अल्झिनु भयो । सरकार कसरी जोगाउन, पार्टी कसरी बनाउनेलगायतमा मात्र ध्यान दिएका हुन्छन् । सत्ता सहयोगी दललाई कसरी फकाएर राख्ने, विधेयकहरु कसरी पास गराउने, अध्यादेशको विवाद कसरी झुल्झाउने, मधेशवादी दललाई कसरी मिलाउने जस्तामा कुरामा मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको समय गइरहेको छ तर अन्तराष्ट्रिय सम्बन्ध कसरी बनाउने, विदेश नीतिलाई बलियो कसरी बनाउने जस्ता कुरामा कहिले ध्यान गएन ।
प्रधानमन्त्री केपी शर्मा अ‍ोली फरक नेचरको हुनुहुन्छ भन्ने कुरा मिडियामा आइराखेकै कुरा हो । पार्टीमा पनि उहाँको शैलीको बारेमा टिप्पणी हुनु गरेको छ । उहाँ धेरै बोल्नु हुन्छ र कडा बोल्नु हुन्छ । अन्तराष्ट्रिय तथा कुटनीतिक सम्बन्धहरुको बारेमा पनि उहाँले सम्हालेर बोल्नु हुन्न । कुटनीतिक सम्बन्ध कति संवेदनशिल हुन्छ भने कुरा ओलीलाई थाह नभएको कुरा पनि होइन । उहाँ परराष्ट्रमन्त्री पनि भइसक्नु भएको मान्छे हुनुहुन्छ । भारतसँग जहिले पनि उहाँको सम्बन्ध चिसिएकै हुन्छ ।
सन् २०१५ मा भारतसँग सम्बन्ध नराम्रो गरि बिग्रियो । अहिले १० वर्ष भयो । यो १० वर्षमा कुनै सुधार आएन । मैले यो भन्न खोजेको होइन कि केपी शर्मा ओली भारतपरस्त हुनुपर्छ, भारतकै लागि काम गर्नुपर्छ तर नेपालको पक्षमा काम गराउनका लागि भारतलाई रिझाएर काम लिनुपर्छ भन्ने कुरामा उहाँ चुक्नु भएको छ ।
नेपालको हितमा भारतलाई ल्याउन नसक्नु ओलीको असफलता हो । उहाँले चीनसँग पनि उदारपूर्वक सम्बन्ध बनाउन सक्नुभएन । भारतलाई देखाइ दिने गरी मात्र चीनसँग सम्बन्ध बनाउनु भएको हो । त्यही कारणले चीनसँगको सम्बन्धमा पनि असफल भएको हो । चीनलाई देखाएर भारतलाई ब्यालेन्स गर्न असम्भव छ । किनभने नेपालको जियोग्राफिले एलाउ गर्दैन । नर्थतिर ढोका छ तर यता तीनतिर खुल्ला छ । हाम्रो जहिले पनि इगेंजमेन्ट खुल्लातिर हुन्छ । पचास वर्षको कुरा छोडिदियौ १०० वर्षमा पनि भारतको तुलनासँग चीनसँग गर्न सकिदैन । नेपालको लागि चीन धेरै टाढा छ ।
तर प्रधानमन्त्री ओलीले जहिले पनि चीनलाई देखाएर भारतसँग बार्गेनिङ गरिरहनु हुन्छ । तर अब त्यो सम्भव छैन । भारतले पनि प्रधानमन्त्री अ‍ोलीको कुरा बुझिसकेको छ । उहाँले चीनलाई जति देखाए पनि भारतले केही गर्नेबाला छैन । पहिला चीनलाई देखाएर केही गर्दा भारतलाई लाग्थ्यो कि केही गरिएन भने नेपालको झुकाव चीनतिर जान्छ कि चीनको इन्फुलेन्स नेपालमा बढ्छ कि त्यसका लागि बेलाबेलामा ओलीको कुरा मान्ने गथ्र्यो तर अहिले ओलीको कुनै बार्गेनिङ काम लाग्दैन भने कुरा यो ६ महिनामा पुष्टि भइसकेको छ ।
(विदेश मामिलाका जानकार डा.प्रमोद जयसवालसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया