फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिले नेपाली राजनीति त्रङ्गित भएको छ । काँग्रेस, एमाले, माओवादीलगायत लोकतान्त्रिक विधि प्रकृयालाई स्विकार गरेका सबै दलका नेताहरु यसबाट बेचैन देखिनु भएको छ भने राजेन्द्र लिङ्देल नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपाका नेताहरु खुशी र उत्साहित देखिनु भएके । सो अभिव्यक्तिबाट उत्साहित भएर ती दलका नेताहरु राजतन्त्र फर्काउन अभियानमा नै निस्किनु भएको छ ।
राजावादीहरुको चहल पहल हेर्दा लाग्छ, ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, गणतन्त्र ढल्यो र देशमा राजतन्त्र आइसक्यो । राजवादीहरुको उत्साह देख्दा भन्न मन लाग्छ ‘मनको लड्डु घिउसँग खाने’ अधिकार सबैको छ किनभने यो लोकतन्त्र हो, यहाँ बोल्ने अधिकार सबैको छ । अब देश पछाडि फर्किदैन विश्वले दिएको सन्देश यही नै हो । विश्वको राजनीति जुन रफ्तारमा, जुन ढंगले अगाडि बढी रहेको छ ।
त्यसैमा नेपाल पनि बगिरहेको छ त्यो बेगलाई मृत भइसकेको राजसंस्थाले रोक्न चाहेर पनि रोक्न सक्दैन । बरु अहिलेको व्यवस्थाभन्दा अझै अग्रमनकारी व्यवस्था कसरी हुन्छ, यो भन्दा अर्को विकल्प के हुनसक्छ त्यसको बारेमा देशका जनताले सोच्न थालेका छन् । त्यसमा बहस गर्न थालेका छन् । त्यसैको उपज हो जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले ल्याउनु भएको नौलो गणतन्त्रको अवधारणा ।
अहिलेका राजनीतिक दलहरु र त्यसका नेताको क्रियाकलापबाट जनता सन्तुष्ट छैन । यसको मतलब गणतन्त्र, लोकतन्त्र रुचाएको छैन भने होइन । लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई अझै कसरी व्यवस्थित र बलियो बनाउन सकिन्छ त्यसको बारेमा चिन्ता जाहेर गरेका मात्र हुन् । नेपालका लागि सुन्दर र समृद्ध गणतन्त्र कसरी बनाउन सकिन्छ त्यसको चिन्ता मात्र जनताले गरेका छन् तर त्यसको बारेमा राजवादी अर्थात पूर्व राजा ज्ञानेन्द्र शाहले गलत बुझ्नु भएको छ । त्यही गलत बुझाईका कारण उहाँ हौसिएर अभिव्यक्ति दिनुभएको छ ।
त्यो अभिव्यक्ति दिने मौका अहिलेका राजनीतिक दलका केही सिमित नेताहरुले दिनुभएको छ । काँग्रेस, एमाले, माओवादी तथा मधेश केन्द्रीत दलका केही सिमित नेताहरुको कारण यो अवस्थाको सृजना भएको हो । उहाँहरु नेपाललाई पुरानै नेपालको रुपमा हेर्नुभएको छ । पुरानै शैलीमा राजनीतिक गतिविधि गरिरहनु भएको छ । उहाँहरुको राजनीतिक राणा, राजाबाट प्रभावित रहेको छ । राणा राजाहरुको जसरी शासक बन्ने प्रवृति थियो, त्यो प्रवृति अझै उहाँहमा देखिन्छन् । किनभने सुरुदेखि उहाँहरुको संगत त्यस्तै त्यस्तै व्यक्तिहरुसँग थियो । राणा र राजाको व्यवस्था परिवर्तन गर्न सफल भएपनि उहाँहरुको शासन गर्ने शैलीलाई नक्कल गर्ने काम अहिलेका नेताहरुले गरिरहनु भएको छ । जसलाई जनताले स्विकार गरेका छैनन् ।
त्यहीं भएर जनताले भन्ने गरेका छन्, एउटा राजा यो देशबाट गए भने अरु थुप्रै राजाहरु जन्म लिए । अहिलेका राजनीतिक दलका नेताहरु शासक बन्न छाडिदिनु भयो भने ज्ञानेन्द्र शाहहरु बोल्ने आँट पनि गर्दैनन् । त्यसैले आफूलाई सुधार गरौं ज्ञानेन्द्र शाहहरुलाई बोल्ने मौका नदिउ ।
तपाईको प्रतिक्रिया