Khadya Bibhag

मधेशमा पंचायती परम्परा

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीय रिंकु सदाको बलात्कारपछि हत्याको कुरालाई लिएर समुदायदेखि सरकारमाथि प्रश्न उठेको छ । माघ २६ गते सामूहिक बलात्कारपछि आफ्नो घरमा झुण्डिएको अवस्थामा उनी फेला परेकी थिइन् । चार दिनपछि अर्थात माघ ३० गते झुण्डिएको अवस्थामा फेला परेपछि उनको हत्या भएको आरोप परिवारका सदस्यले मात्र होइन, त्यहाँका आम समुदायले समेत लगाउन थालेका छन् । हालसम्म कसैको मुखबाट रिंकु सदाले आत्महत्या गरेको कुरा सुन्नमा आएको छैन ।
रिंकुको बलात्कार त्यसपछि हत्याको विषयमा सबभन्दा बढी चर्चा अहिले पंचायतको भएको छ । सामूहिक बलात्कारलाई गाउँमा पञ्चायत गरेर ढाकाछोप गर्न खोजेको थियो । बलात्कार जस्तो जघन्य अपराधलाई गाउँका मान्छेहरुले दण्ड जरिवाना तिराएर समाजमै त्यसलाई मिलाउन खोजेका थिए । बलात्कारमा दोषी देखिएकालाई एकलाख पचास हजार जरिवाना पनि गरिएको थियो । तर दोषीहरुको बिचमा कुरा नमिलेपछि यो कुरा बाहिर आएको थियो । बिस्तारै सबैले थाह पाएपछि विभिन्न टिकाटिप्पणी हुन थालेपछि रिंकु झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । झुण्डिएको अवस्था हेर्दा उनको हत्या भएको प्रष्ट बुझिन्छ । दोषीले रिंकु र उनका परिवारलाई विभिन्न धम्की पनि दिएका थिए ।
गाउँघरमा खास गरि तराई मधेशमा यो भन्दा ठुला ठुला अपराधलाई समान्य दण्ड जरिवाना गरेर मिलाउने चलन जस्तै भइसकेको छ । कतिपय यस्ता घटना हुन्छ जो दुई चार घरभन्दा बाहिर जाँदैनन् र गाउँमा भरभलादमी जसलाई पञ्च भनिन्छ । उनीहरुले ती घटनाहरुलाई मिलाएका हुन्छन् । यहाँसम्म कि गाउँमा गरिने कतिपय पंचायत प्रहरी चौकीमा भइरहेका हुन्छन् । कुनै घटना भयो भने प्रहरीले उजुरी लिदैनन् र गाउँका भरभलादमी राखेर मिलाउन सुझाव दिएका हुन्छन् ।
बलात्कार, हत्या, चोरी डकैती, अपहरण, फिरौती, पारिवारिक झैझगडा जस्ता घटनालाई पनि पञ्चहरुले मिलाउने गरेका हुन्छन् । त्यहाँ कुनै कानुन, नियम हुँदैन । दुई चार जनाले जे निर्णय गर्दिन्छन् त्यही मान्य हुन्छ । यस्तो राणा र राजा शासनमा हुन्थ्यो । जसरी राणा र राजाको शासनमा बोलेको कुरा नै कानुन हुन्थ्यो त्यसरी गाउँघरका पंचायत हुन्छन् । दुई चार जनाले जे निर्णय सुनाउछन् त्यही कानुन हुन्छ, सबैले त्यही मान्नुपर्छ । यो परम्परा गाउँघरमा अझै पनि कायम छ । कहिले काहीं पंचायतमा बल पनि प्रयोग हुन्छ । दुई पक्षमध्ये जो बलियो हुन्छ उसैको पक्षमा निर्णय आउँछ । कहिले काहीं पक्ष विपक्षमा पञ्चहरु बाँडिदा फैसला हुँदैन । महिनौसम्म पञ्चहरु बस्छन् । लामो प्रयास गर्दा पनि नमिल्ने झगडा मात्र बाहिर अदालत, प्रहरी, कार्यालय, सिडियो कार्यालय जान्छ ।
कतिपय अवस्थामा गाउँघरमा हुने यस्ता पंचायतीहरु राम्रो हुन्छ । झैझगडाहरु मिलाइ दिँदा कतिपय अवस्थामा अड्डा अदालत जानु पर्दैन । तर कतिपय जघन्य अपराधका घटना पनि लेनदेन गरेर मिलाएपछि त्यो एक किसिमको अपराध नै हो । रिंकुको घटनामा त्यही भएको छ । सामूहिक बलात्कार जस्तो घटनामा दोषीलाई डेढ लाख रुपियाँ जरिवाना गरेर त्यस घटना गुपचुप पार्न खोजेका थिए । रिंकुले त्यसबाट न्याय होइन झन पिडा पाउनुभयो । गाउँका ठूला बडाले गरेको फैसलालाई मान्न रिंकुका परिवार बाध्य भयो । जुन अपराध नै थियो ।

तपाईको प्रतिक्रिया