–जेपी गुप्ता
भारतका पूर्व प्रधानामन्त्री चन्द्रशेखरले आफ्नो आत्मकथा “रहबरी के सवाल” मा नेपालका नेताहरू, बिशेषतः नेपाली काँग्रेसका त्यसबेलाका नेताहरूलाई कृतघ्न रहेको संकेत गर्नु भएको छ । स–शब्द त्यसो न भनिए पनि भाव त्यही नै हो । यस्तो अनुभव निकै अघि भारतकै प्रख्यात समाजवादी नेता डा. राममनोहर लोहियाले पनि लिखित रूपमै गर्नु भएको अभिलेख छ ।
आफुलाई दुःख परेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यता भारतीय नातेदारहरूलाई संझिदै तेताका सामाजिक अवसरहरूमा सरिक हुनु भएको केहीअघि मात्र हामीले पढ्यौं । यद्यपि, नारायणहिटी धपधप बलेको बेला यस्तो सुनिन्न्थ्यो । हरकिशन सिंह सुरजीत, सीताराम येचुरी तथा प्रकाश करात जस्ता गुणी भारतीय कम्युनिष्ट नेताहरूले पनि यहाँका नवोदित सामन्ति कम्युनिष्ट नेताहरूका बारे यस्तै सोच राखेका कुरा भेटने जान्नेहरूले याद गरेको हुनुपर्छ ।
नेपालका प्रजातान्त्रिक आन्दोलका लागि यसरी नैतिक सहयोग गर्ने, राजालाई दवाव दिने, अन्तर्राष्ट्रिय पहल गर्नेहरू भारतबाहेक युरोप, स्केण्डनेभियन तथा अमेरिकी राजनीतिक, मानव अधिकारवादी तथा प्रेस जगतका व्यक्ति–संस्थाहरू कतिपय रहेका थिए ।
आजको नेपालमा यसका प्रति कुनै कृतज्ञता देखिन्न् । बरू संसदीय फाँटका त्यस्ता वैदेशिक संस्थाहरू जसले साल बसाल विदेश भ्रमणको जोहो मिलाउद्छ–यहाँ सबैको प्राथमिकतामा पर्दछ । शेरबहादुर देउवाहरू चरम निरासाका बेला केही काल लण्दन र जर्मनीका शहरहरूमा अध्ययन गर्नु भयो । त्यसको व्यवस्थापन एवं खर्च कसले बेहोरी दियो ? संभवतः आज देउवा, ज्ञानेन्द्र कार्की तथा महेश आचार्यहरूलाई समझना न हुन सक्छ ।
उमेर अलिक छिप्पिएका कम्युनिष्ट मित्रलाई याद हुनुपर्छ, एक समय बिराटनगरमा सगरमाथा पुस्तक पसल, राजबिराजमा पिपुल्स पुस्तक पसल, वीरगञ्जमा झिगुः पसः, यस्तै काठमांडू उपत्यकाका अनेकन् स्थानहरूमा कयौं पुस्तक पसलहरू हुन्थे–जहाँ सोभियत भूमि, सचित्र चीन, पिपुल्स पब्लिसिंग हाउस, मस्को र चीनका सरकारी निकायबाट प्रकाशित गहकिला साहित्यहरू र प्रचार सामाग्रीहरू पाईन्थ्यो । सोभियत रूस र चीनले ती सामाग्रीहरू अनुदानमा दिएको थियो, जसको बिक्रीबाट आर्जन हुने रकम कम्युनिष्ट पार्टीहरूका आम्दानी बाधिन्थ्यो ।
काठमाण्डुको मीन भवन जहाँ अहिले निजामति अस्पताल छ, त्यहाँ यसअघि सयौंका संख्यामा चीनमा बनेका र अरनिको–कोदारी तथा मुगलिंग सडकहरूमा प्रयोग भइ तत्काल उपयोगमा नरहेका उपकरणहरू देखिन्थ्यो ।
यसरी नै महेन्द्र राजमार्गको पथलैया चौक नजिक सोभियत रूसी वाहन तथा उपकरणहरू थुप्रिएको देखिन्थ्यो । ती सबै महेन्द्र राजमार्ग बन्दाका बखत प्रयोगमा रहेकाहरू थिए ।
आज धेरैलाई थाहा न होला, कतिपय जानकारले उल्लेख गर्न न चाहेका होलान् जबकि सत्य त के हो भने ती सबै बिक्री गरि आएका रकम यहाँका कम्युनिष्ट पार्टीका परिचालनका लागि दिईन्थ्यो । शायद हामी सबैले स्वीकार गर्नु पर्दछ कि यसबाट प्रजातान्त्रिक र वाम आन्दोलनले एकहदसम्म मलजल पाएको हो । मलाई यो स्वीकार्नुमा ग्लानी छैन, किन की राजाको घोर अन्धकारयुक्त रोमन सामन्ति शासन हटाउनका लागि त्यसो जोहो गर्नु जरूरी थियो, त्यो जायज तथा न्यायिक थियो ।
मैले यहाँ त्यस कालखण्डका यस कुराको उल्लेख यस कारणले गरेको हुँ कि मित्र राष्ट्रहरूको यस्ता गुण आजका कम्युनिष्टहरूले याद गर्न चाहदैनन् । कयौं मुद्दा तथा सवालहरूमा यहाँका कम्युनिष्टहरू चीनको सद्भाव बुझ्नुको सट्टा अमेरिकन मुद्रामा बढी वजन देख्दछन् ।
नेपालका कृतघ्न बुद्धजीविहरू आज गणतन्त्र स्थापनामा मुलुकलाई ईसाईकरण तथा सार्वभौमसत्ता खाने षड्यन्त्रको भाष्य बनाउदै पुनः सामन्ति राजतन्त्रबाट मुलुकको कल्याण हुने कुरा गरिरहेका छन् । र, यहाँका तरमारा गणतन्त्रवादी लाभग्राहीहरू आफ्ना जिब्रोमा खटिरा परेको देखाउछन् ।
एक जना भारतीय नागरिक जसले राणा शासन बिरूद्धको २००७ सालको क्रान्तिमा महत्वपुर्ण योगदान गर्नु भएको थियो, आज उहाँको जयन्ती हो । हालै काठमाडौ डा.तुलसी प्रसाद भट्टाराईले हिन्दीबाट नेपालीमा अनुवाद गर्नु भएको प्रकाशित पुस्तकको लोकार्पण भयो । फणिश्वरनाथ रेणुले निकै अघि, दशकौं पहिले लेख्नु भएको “नेपाली क्रान्ति कथा” को । भारतमा सर्वोच्च नागरिक सम्मान पाउनु भएका आंचलिक लेखक फणिश्वरनाथ रेणु नेपालका लागि एक विदेशी लेखक मात्र हुनु हुन्थेन्, अपितू २००७ सालको क्रान्तिमा भारतीय समाजवादीहरूको सहयोगमा खटेका क्रान्तिकारी हुनुहुन्थ्यो ।
“प्रजातान्त्रिक रेडियो नेपाल” जो पछि रेडियो नेपाल बन्यो–यसका संस्थापक मध्येका एक हुनुहुन्थ्यो । जसका योगदानको बारेमा विरलै हाम्रो समाजमा चर्चा हुन्छ । खास मैले यस सन्दर्भमा थोरै लेख्न चाहेको थिए । मन बहकिएर आफ्ना मान्यजनहरूमा बिस्तारै घर बनाउदै गएको अपकारी कृतघ्ना तिर कुरो मोडिएकोले मैले फेरी कुरोलाई यथास्थानमा ल्याए । मेरो यति नै भन्नु छ कि हामीले हाम्रो लागि गुण लगाएका देशी विदेशी सबै गुणकारीहरूको स्मरण गर्नु पर्दछ ।
तपाईको प्रतिक्रिया