काठमाडौँ चैत १ गते
माओवादी केन्द्रले फागुन १२ गतेदेखि ‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ सुरु गरेको छ । यो जागरण अभियान तराई मधेशको हुलाकी राजमार्ग हुँदै चैत ७ गते कञ्चनपुरमा गएर टुगिंनेछ । तराई मधेश केन्द्रीत यो अभियानका कारण मधेशवादी दलका नेता तथा कार्यकताहरु निकै त्रसित देखिन्छन् ।
मधेश केन्द्रीत दलका नेता तथा कार्यकर्ताहरुले माओवादीको सो अभियानप्रति कडा टिप्पणी गरिरहेका छन् । मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुको कुरा सुन्दा लाग्छ माओवादीहरु मधेशी नेताहरुको घरमा छिरेर अभियान चलाइ रहेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं राष्ट्रिय मधेशी मुक्ति मोर्चाका अध्यक्ष जगत यादवले मधेश नेताहरुले मधेशलाई बपौटी ठानेका छन् र त्यसमा माओवादीले हमला बोलेपछि उनीहरुमा बेचैनी देखिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, “मधेशी नेताहरु त्रसित हुनु स्वभाविक हो, मधेशी जनतालाई भ्रममा पारेर यत्रो दिनदेखि रजाइ गर्दै आइ रहनुभएको छ, मधेशमा उहाँहरुको भण्डाफोर हुने देखेपछि यो मिलमिलाहट देखिएको हो ।” विगत सात आठ वर्षदेखि मधेशी दलले मधेशको नेतृत्व गर्दै आएका छन् यस बिचमा ती दलले केही गर्न सकेनन्, मधेशी जनताको आधारभूत कुरा पनि पुरा गर्न सकेनन् अब त्यो ठाउँ लिन माओवादी आएपछि मधेशी नेताहरु भड्किनु र डराउनु अस्वभाविक नलागेको उहाँले बताउनुभयो ।
माओवादी अध्यक्ष प्रचण्ड सत्तामा हुँदा कहिले मधेशतिर फर्केर हेरेनन्, सत्ताबाट तल झर्ने बित्तिकै मधेश याद आएको टिप्पणी गरेका छन् । कतिपयले सबैतिर कमजोर भइसकेका माओवादी मधेशी जनताको मन जित्न मधेश पसेको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिरहा पुगेपछि आफू माइती आएको जस्तो लागेको अभिव्यक्ति दिएपछि समाजिक सञ्जालमा त्यसको पनि आलोचना भएको थियो ।
माओवादीको अभियान बारेमा मधेश केन्द्रीत दल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टीलगायतका दलका नेताहरुले समाजिक सञ्जालदेखि विभिन्न मञ्चमा त्यस्तो टिप्पणी गरिरहेका छन् । जसपा नेपालका महासचिव रामकुमार शर्मा जो केही पहिले मात्र माओवादी केन्द्र छाडेर जसपा नेपालमा प्रवेश गर्नुभएको छ । उहाँले अभियानलाई लिएर माओवादी केन्द्रका उपमहासचिव एवं मधेश प्रदेशका इन्चार्ज मातृका यादवमाथि कटाक्ष गर्नुभएको छ ।
सिरहाको वरियारपट्टीमा आयोजित कार्यक्रमको तस्विर राखेर जसपा नेपालका महासचिव शर्माले लेख्नुभएको छ, ‘मधेसी भूमीमै मधेशबाट नाम मात्रको एक नेता मातृका प्रसाद यादवलाई पछुआ बनाएर हुर्मत लिने माओवादी पार्टीले मधेस मुक्तिको कुरा गर्दा सुहाएन । तस्वीर नै काफी छ !!’
लोसपा नेपालका महासचिव डा.सुरेन्द्रकुमार झाले पनि आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘एक जना परजिवीले मधेशलाई मुक्ति दिलाउने रे ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिरहा पुगेको बेला आफ्नो मन्तव्यको क्रममा मधेशलाई अब माओवादीले मात्र मुक्ति दिलाउने अभिव्यक्ति दिनुभएको थियो । त्यसमा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको थियो । त्यस्तै जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले पनि आफ्नो फेसबुकमा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्राई, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो राखेर माओवादी केन्द्रको अभियानप्रति टिप्पणी गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘सावधान !!! शिकारी आएगा, जाल बिछाएगा, दाना डालेगा, लोभ से तुम उसमें फंसना नहीं । (अर्थात सावधान शिकारी आउँछन् जाल ओछ्याउछन् चारा हाल्छन् तर लोभले त्यसमा फँस्नु हुँदैन) उपाध्यक्ष साहले जहाँ जान्छन् त्यहीको जस्तो बनेर जनतालाई भ्रमित गर्ने कार्य गरेको टिप्पणी गर्नुभयो । वर्षौदेखि मधेशमाथि कब्जा जमाइ रहेको भन्दै उहाँले छलपूर्वक मधेशी आदिवासिको जमिनमाथि कब्जा जमाएको गुनासो गर्नुभयो । उपाध्यक्ष साहले भन्नुभएको छ, ‘उनीहरुले मधेशीलाई नै मधेशबाट विस्थापित गर्नमा लागेका छन् ।’
मधेश केन्द्रित दलका नेताहरुले माओवादी केन्द्रको अभियानप्रति टिप्पणी गरेका छन् नै अहिले राजनीतिबाट अलग भएर बसेका जेपी गुप्ताले पनि टिप्पणी गर्नुभएको छ । काँग्रेसबाट अलग भएर लामो समय मधेश राजनीतिमा सक्रिय रहनुभएका जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल परेर रिहा भएपछि उहाँ स्वतन्त्र हुनुभएको छ ।
जेपी गुप्ताले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘सप्तरीमा हुनुहुन्छ । मेरै घर छेउको गाउँमा यो कुरो बोल्नु भयो । यताका ले अतिथी ठानेका थिए होलान् । बल्ल थाहा पाए होलान् कि सिरहाबाट संसदको उम्मेदवार रहेको बेला तपाईले बोल्नु भएको “मधेससंग प्रेम भएको छ” भन्ने कुरा वास्तवमा “हनी ट्र्याप” पो थियो !’ प्रधानमन्त्री केपी शर्मा अोलीको उछितो काट्न मधेस झरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘यस अर्थमा तपाई उपेन्द्र जीको नजिक हुनुपर्ने कुरा हामीले सोच्नु ठिकै हुने लागेको थियो । तर, तपाई त उहाँकै जिल्लामा पुगी उहाँको दलीय बिसर्जन हुदै गएको सन्देश पो दिनु भयो ।’


तपाईको प्रतिक्रिया