काठमाडौँ, असार ९ — जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक आइतवार सम्पन्न भएको छ । बैठकले भदौ महिनामा सातवटै प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य शैलेन्द्र साहले जानकारी दिनुभयो ।
बैठकले प्रदेश अधिवेशनका लागि आवश्यक तयारीको कार्यतालिका समेत तय गरेको छ। साहका अनुसार पार्टीले संगठन सुदृढीकरण र आन्तरिक लोकतन्त्र अभ्यास गर्ने उद्देश्यले अधिवेशन प्रक्रिया सुरु गर्न लागेको हो ।
पार्टीले तय गरेको कार्यतालिका निम्नानुसार रहेको छः
-
२०७२ असार मसान्तभित्रै संगठित पार्टी सदस्यहरूको नवीकरण कार्य सम्पन्न गर्नुपर्ने।
-
२०८२ श्रावण १५ गतेसम्म नवीकृत सदस्यहरूको अभिलेखीकरण अद्यावधिक गरिसक्ने।
-
२०८२ भदौ १ देखि १५ गतेसम्म अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने।
-
२०८२ भदौ २५, २६ र २७ गते सातवटै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गर्ने।
बैठकमा पार्टी संगठनलाई मजबुत बनाउने, आन्तरिक लोकतान्त्रिक प्रक्रिया मजबुत पार्ने र आगामी निर्वाचनलाई मध्यनजर गर्दै सांगठानिक तयारीलाई तीव्रता दिने रणनीति तय गरिएको श्रोतले बताएको छ।
यसअघि संघीय परिषद् बैठक समेत सफलतापूर्वक सम्पन्न गरिसकेको जसपा अहिले पार्टी पुनर्गठन, नीति निर्माण र नेतृत्व चयन प्रक्रियामा अग्रसर भएको देखिन्छ।


तपाईको प्रतिक्रिया