Khadya Bibhag

उपेन्द्र यादवसँगको भेटमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मधेशमा देखिएको पानीका समस्या भोलीदेखि समाधान हुन्छ’

काठमाडौं, असार ३० गेत । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उच्चस्तरीय राजनीतिक छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बारा, पर्सा लगायतका जिल्लामा तीव्र हुँदै गएको पानी अभावको विषय उठाउनु भयो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक तथा जसपा अध्यक्ष यादव सहभागी हुनहुुन्थ्यो ।

बैठकपछि आफ्नो फेसबुकमा लेख्दै अध्यक्ष यादवले भन्नुभयो, “आज प्रधानमन्त्री निवासमा केही महत्वपूर्ण राजनीतिक विषयमा छलफल भयो। म आफूले बारा र पर्साजस्ता जिल्लामा खानेपानीको चरम अभाव रहेको कुरा बैठकमा उठाएँ ।”

उहाँका अनुसार प्रधानमन्त्री ओलीले उक्त विषयलाई गम्भीरताका साथ लिँदै तुरुन्तै आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ । “प्रधानमन्त्रीले भोलीदेखि नै डिप बोरिङ्गलगायत अन्य आवश्यक प्रक्रिया अगाडि बढाएर ती जिल्लाहरूमा पानीको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो,” यादवले बताउनुभयो ।

जलवायु परिवर्तन र भूगर्भीय परिवर्तनका कारण तराई–मधेसमा बढ्दो जलस्रोत संकटका सन्दर्भमा उठाइएको यो विषयलाई सरकारको ध्यानाकर्षण गराउनु महत्त्वपूर्ण भएको विश्लेषण गरिएको छ।

सरकारको तर्फबाट आवश्यक कदम तत्काल चालिने बताइए पनि यसको स्थायी समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।

 

तपाईको प्रतिक्रिया