म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीको असार ५ गते जन्मदिन रहेको छ । उहाँको यो ८० औँ जन्मदिन पनि जेल मनाउने भएको छ । त्यहाँको सैन्य सरकारको हिरासतमा उहाँले आफ्नो बाँकी सजायहरू भोगिरहनु भएको छ । उहाँका यस्ता जन्मदिनहरु जेलमै बितेको छ । सुकी म्यान्माको एक दशकको लोकतान्त्रिक सुधारकालको प्रतिनिधि व्यक्तित्व हुनुहुन्छ । सैन्य शासनबाट खुल्दै गर्दा उहाँ वास्तविक नेत्री बन्नु भएको थियो ।
तर सन् २०२१ को विद्रोहमा सैनिक जनरलहरूले सत्ता फिर्ता लिएपछि भ्रष्टाचारदेखि लिएर कोभिड–१९ महामारीको प्रतिबन्ध उल्लंघन गर्ने अभियोगमा उहाँलाई बन्दी बनाउने काम भएको छ । उहाँ २७ वर्षदेखि सजाय भोगिरहनु भएको छ । ‘यो क्षणमा उत्सव मनाउन गाह्रो हुनेछ’, एक अन्तराष्ट्रिय सञ्चारमध्यमलाई बेलायतबाट उहाँका ४७ वर्षीय छोरा किम एरिसले भन्नुभयो, ‘यो यति लामो समयदेखि चलिरहेकाले हामीले सहन सिकेका छौँ ।’
उहाँले आफ्नी आमाको जन्म दिनसम्मका आठ दिनमा ८० किलोमिटर दौडिरहनुभएको छ । उहाँले आफ्नी आमाका लागी ८० हजारभन्दा बढी शुभकामना भिडियो सन्देशहरू सङ्कलन गर्नुभएको छ । तर सुकीले ती देख्न पाउने छैनन् । उहाँ म्यान्मामा एक जेलमा रहनु भएको छ । एरिसले आफ्नी आमा जेल परेदेखि दुई वर्षअघि पत्रमार्फत एक पटक मात्र आफ्नी आमाबाट सुनेको बताउनुभयो । ‘उहाँको अवस्था कस्तो छ हामीलाई थाहा छैन”, उहाँले भन्नुभयो । उहाँले आफ्नी आमाले मुटु, हड्डी र दाँतको समस्याको उपचार नपाएर पीडा भोगिरहेको हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।
सैन्य नियन्त्रणमा रहनु भएका म्यान्माका भागहरूमा कुनै औपचारिक उत्सवको योजना छैन, तर सैन्य नियन्त्रित मान्डले सहरमा अनुयायीहरूको एउटा समूहले उहाँको जन्मदिनअघि स्वतःस्फूर्त विरोध प्रदर्शन गरेको स्थानीय मिडियाले जनाएका छन् । केही मास्क लगाएका प्रदर्शनकारीले सडकमा ‘डरबाट मुक्ति’ र ‘जन्मदिनको शुभकामना’ लेखिएका पर्चाहरू छरेका थिए र एक सदस्यले सामाजिक सञ्जालमा साझा गरिएको अस्थिर क्यामेराको फुटेजमा सुकीको तस्बिर समातेका थिए ।

सुकी बहुसँख्यक बौद्ध देशमा निकै लोकप्रिय हुनुहुन्छ, तर उहाँले रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक विरुद्धको कारबाहीमा सेनापतिहरूको रक्षा गरेपछि सैन्य अधिग्रहण हुनुअघि विदेशमा लोकतन्त्रको प्रतिकका रूपमा रहनु भएका उहाँको स्थिति खराब भएको थियो । म्यान्माको सेनाको लामो प्रभावको विरुद्धमा उहाँ शक्तिहिन रहेको तर्क गरे पनि लाखौँ रोहिङ्ग्यालाई उहाँको शासनअन्तर्गत छिमेकी बङ्गलादेशमा भाग्न पठाइयो । त्यसबाट विभिन्न संघ संस्था जसले सुकीलाई सम्मान गरेका थिए, ती संस्थाहरु पनि उहाँबाट रुष्ट थिए । त्यही कारणले होला सायद उहाँको दोस्रो कारावासले अन्तर्राष्ट्रिय रुपमा त्यति चर्चा पाएको छैन ।
म्यान्माको स्वतन्त्रता नायिका आङ सान सुकी संयोगले लोकतन्त्रको च्याम्पियन बन्नुभयो । आफ्नो युवा अवस्थाको धेरै समय विदेशमा बिताएपछि उहाँ सन् १९८८ मा आफ्नी बिरामी आमाको हेरचाह गर्न फर्किनु भएको थियो तर दमनद्वारा कुल्चिएको सैन्य विरोधी प्रदर्शनको उहाँले नेतृत्व गर्न थाल्नु भएको थियो । उहाँको परिवारका लागी याङ्गुन लेकसाइड ठुलो घर थियो । त्यहाँ उहाँले भाषण दिएपछि भीड आकर्षित हुन्थ्यो । सेनाले निर्वासनमा गए स्वतन्त्रता दिने प्रस्ताव गरेको थियो तर उहाँको शान्त अस्वीकारले उहाँलाई चर्चामा ल्यायो र सन् १९९१ मा उहाँले नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल हुनुभयो ।
उहाँको शान्तिपूर्ण संघर्ष, बलिदान र प्रतिबद्धतालाई सम्मान गर्दै सो पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्राप्त गर्दा उहाँ नजरबन्दमै हुनुहुन्थ्यो । र पुरस्कार उहाँको छोरा अलेक्जेन्डरले ग्रहण गर्नुभएको थियो । पुरस्कारको रकम (करीब १३ लाख डलर) उहाँले देशका स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुएको थियो । यसै पुरस्कारले उहाँको छवि ‘लोकतन्त्रको आइकन’ का रूपमा विश्वभर फैलियो ।
उहाँले विश्वभर नै ‘प्रजातन्त्रकी प्रतिक’ का रूपमा मान्यता पाउनुभयो । भारतले उहाँलाई जवाहरलाल नेहरू शान्ति पुरस्कार, युरोपेली संघले सखारोभ पुरस्कार र अमेरिका तथा बेलायतले नागरिक स्वतन्त्रताको पुरस्कार पनि प्रदान गर्यो ।
पारिवारिक पृष्ठभूमि
आङ सान सुकीको जन्म १९४५ जुन १९ मा तत्कालिन बर्माको राजधानी रंगुन (हाल याङ्गुन) मा भएको थियो । उहाँ म्यानमार स्वतन्त्रता आन्दोलनका नायक आङ सानकी कान्छी छोरी हुनुहुन्छ । जनरल आङ सानले जापानी र ब्रिटिश शासनविरुद्ध लड्दै बर्मालाई स्वतन्त्रता दिलाउने प्रयास गर्नुभएको थियो । तर सन् १९४७ मा देश स्वतन्त्र हुनुअघि नै एक राजनीतिक षड्यन्त्रका क्रममा उहाँलाई हत्या गरियो । आङ सानको मृत्युपछि मात्र दुई वर्षमा म्यानमारले स्वतन्त्रता प्राप्त ग¥यो ।
सुकीकी आमा खिन क्यी एक नर्स, समाजसेवी तथा राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँ म्यानमारका लागी भारत तथा नेपालको पहिलो महिला राजदूत पनि हुनुभयो । आङ सान सुकीले राजनीतिक चक्रव्यूहभित्र जन्मिएर संघर्ष र राष्ट्रप्रतिको समर्पणको पाठ बाल्यकालदेखि नै सिक्नुभयो ।
शिक्षा र बौद्धिक विकास
सन् १९६० मा आङ सान सुकी भारतको नयाँ दिल्ली जानुभयो । त्यहाँको लेडी श्रीराम कलेजबाट राजनीति शास्त्रमा स्नातक गर्नुभयो । त्यहीँ रहँदा उहाँले पण्डित जवाहरलाल नेहरूका नातिनी इन्दिरा गान्धीको राजनीतिक सक्रियता र दक्षिण एसियाली सामाजिक परिवर्तनका घटनाबाट प्रभावित हुनुभयो । पछि उहाँले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको सेन्ट ह्यु कलेजमा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र विषयमा स्नातक गर्नुभयो ।
त्यसपछि उहाँले जापान र भुटानमा विभिन्न संयुक्त राष्ट्रसंघका परियोजनामा काम गर्नुभयो । जापानमा उहाँ युनाइटेड नेशन्स सेक्रेटेरिएटका लागी अनुसन्धानकर्ताका रूपमा काम गर्नुहुन्थ्यो । भुटानमा उहाँ सरकारी सल्लाहकारका रूपमा पनि काम गर्नुभयो । यी सबै अनुभवले उहाँलाई अन्तर्राष्ट्रिय कुटनीति र प्रशासनिक कार्यप्रणालीमा दक्ष बनायो । र विश्वमै उहाँको बैद्धिकता र कुशलताको चर्चा हुन थाल्यो ।
दार्जिलिङमा अध्ययन गरिरहदा ब्रिटिश नागरिक माइकल एरिससँग चिनाजान भएको थियो । त्यसपछि उहाँ दुबै जना अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्नुभयो । त्यहाँ सम्बन्ध गहिरिदै गयो र दुबै जनाले विवाह नै गर्नुभयो । माइकल एक तिब्बतका इतिहासविद् हुनुहुन्थ्यो । उहाँहरूका दुई छोराहरू अलेक्जेन्डर र किम थिए । विवाहपछि आङ सान सुकी माइकलसँग बेलायतमा बस्न थाल्नुभयो । तर १९८८ मा आमाको बिरामीको खबरले उहाँलाई म्यानमार फर्किनु पर्यो । त्यही समय देशमा सैनिक शासनविरुद्ध व्यापक जनआन्दोलन चर्किएको थियो । आमाको अन्त्योष्टिमा उपस्थित जनताले उहाँलाई राजनीतिप्रति आकर्षित गर्यो जब कि त्यसअघि उहाँलाई राजनीतिमा कुनै रुची नै थिएन ।
आन्दोलन पनि चलिरहेको थियो । त्यसको नेतृत्व सुकीले गर्न थाल्नुभयो । लोकतन्त्रको माग गर्दै हजारौं विद्यार्थी, कर्मचारी, बौद्ध भिक्षु सडकमा उत्रिएका थिए । आङ सान सुकीले यति ठुलो जनचासो र राजनीतिक संक्रमण देखेपछि सक्रिय राजनीतिमा आउने फैसला त्यतिबेला नै लिनुभएको थियो ।
राजनीतिक दलको स्थापाना
सन् १९८८ को सेप्टेम्बरमा उहाँले नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)को स्थापना गर्नुभयो । र उहाँ पार्टीको महासचिव बन्नुभयो । बुबाको राजनीतिक विरासत बोकेकी उहाँ एक्कासि जनजनको आशाको केन्द्र बन्न थाल्नुभयो । उहाँले विभिन्न सार्वजनिक कार्यक्रममा लोकतन्त्र, मानव अधिकार र अहिंसात्मक आन्दोलनको पक्षमा बलियो आवाज उठाउन थाल्नुभयो ।

उहाँको लोकप्रियता बढ्दै गएपछि सैनिक सरकारले उहाँलाई ‘राज्यविरुद्ध षड्यन्त्र’ को आरोपमा १९८९ मा नजरबन्द ग¥यो । यो नजरबन्द निरन्तर १५ वर्षसम्म रह्यो । सैन्य सरकारले दिएको दबाबका कारण सन् १९९० मा आम चुनाव भयो । त्यसमा सुकीको पार्टीले एनएलडीले ८० प्रतिशत सिट ल्याउन सफल भयो तर त्यहाँको सेनाले त्यो नतिजा स्वीकार गर्न तयार भएन र सत्ता हस्तान्तरण पनि गरेन । अन्तर्राष्ट्रिय दबाब, प्रतिबन्ध र आलोचना बढ्दै गए पनि सेना आफ्नो अडानबाट पछाडि हट्न मानेन ।
भएन श्रीमानसँग अन्तिम भेट
उहाँको श्रीमान माइकल एरिस क्यान्सरबाट पीडित भएपछि उहाँले अन्तिम भेटका लागी म्यानमार आउन सरकारसँग अनुमति माग्नुभएको थियो । तर सरकारले अनुमति दिएन । नेतृ सुकी आफ्नो श्रीमानको अन्त्येष्टिमा पनि सहभागी हुन सक्नुभएन । सुकीका लागी यो निकै ठुलो पिडा थियो । पिडा भएपनि उहाँ आन्दोलनबाट पछि हट्नुभएन । सैनिक सरकारलाई लागेके थियो कि सुकीलाई अप्ठ्यारोमा पारेपछि आन्दोलन छाड्नु हुन्छ तर त्यस्तो भएन सुकी झन सक्रिय भएर आन्दोलनमा लाग्नुभयो ।
राष्ट्रपति बन्नबाट बञ्चित
सन् २०१० मा सेनाले नयाँ संविधानमार्फत बहुदलीय निर्वाचन प्रणाली फर्काउने घोषणा ग¥यो । तर संविधानमा यस्तो व्यवस्था गरिएको थियो कि विदेशी नागरिकसँग विवाह गरेकी महिला राष्ट्रपति बन्न सक्दैनन् । यो व्यवस्थापका कारण सुकी राष्ट्रपति बन्नुभएन । जानकारहरुका अनुसार त्यहाँका सैनिक सरकारले सुकिलाई लक्षित गरेर सो कानुन बनाएको थियो ।
सन् २०१२ मा उपनिर्वाचन भयो जसमा सुकीको पार्टी एनएलडीले बहुमत सिट हात पार्यो । सुकी पनि संसदमा निर्वाचित हुनुभयो । सन् २०१५ को आम निर्वाचनमा एनएलडीले भारी बहुमत प्राप्त गरी सरकार बनायो । तर संविधान अनुसार उहाँ आफू राष्ट्रपति बन्न सक्नुभएन । तर उहाँले एउटा उपाय लगाएर देशको बागडोर आफ्नो हातमा लिनुभयो त्यो उपाय थियो ‘राष्ट्रको सल्लाहकार’ । उहाँले सो पदमार्फत त्यहाँको सत्ता सञ्चालन गर्न थाल्नुभयो । उहाँ कार्यकारी पदमा नभए पनि सल्लाहकार भएर उहाँले ती कामहरु गर्न थाल्नुभयो ।
सुकीको आलोचना
सन् २०१७ मा म्यानमारको राखाइन राज्यमा रोहिङ्ग्या मुस्लिम समुदायमाथि म्यानमार सेनाले कठोर दमन ग¥यो । सयौं मानिस मारिए, हजारौं बलात्कृत भए र झण्डै सात लाख मानिस बंगलादेश पलायन भए । संयुक्त राष्ट्रसंघ र मानव अधिकार संगठनहरूले यसलाई जातीय सफाया घोषणा गरेको थियो । तर आङ सान सुकीले यो मामलामा स्पष्ट धारणा तत्काल दिनुभएन । उहाँले सैनिक कारबाहीलाई राष्ट्रिय सुरक्षा भन्दै समर्थन गर्नुभएको थियो । उहाँ अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएर म्यानमारको पक्षमा तर्क राख्नुभयो । यसले उहाँप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास कमजोर बनायो । कतिपयले उहाँलाई नोबेल पुरस्कार फिर्ता गर्न पनि माग गर्नुभयो ।

सैनिक कूपछि पुनः गिरफ्तारी
सन् २०२० मा पुनः आम निर्वाचन भयो जसमा फेरि एनएलडी भारी बहुमतले विजयी भयो । तर २०२१ को फेब्रुअरीमा सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै सैनिक कू ग¥यो । आङ सान सुकी, राष्ट्रपति विन म्यिनलगायत सबै नेताहरूलाई गिरफ्तार गरियो । सैन्य सरकारका अनुसार उहाँमाथि वाकी–टकी राखेको, भ्रष्टाचार गरेको, सरकारी गोप्य दस्तावेज चुहाएको जस्ता आरोप लगाइएको छ । उहाँलाई कुल ३३ वर्ष कैद सजाय सुनाएको छ र उहाँ अहिले साजय काटिरहनु भएको छ ।
आङ सान सुकीको जीवन शान्तिपूर्ण आन्दोलन, राजनीतिक बलिदान र युगीन द्विविधाहरूको दस्तावेज हो । उहाँ एउटा नेतृ मात्र होइनन्, एक आन्दोलन, विश्वका लागी एक प्रेरणा पनि हुनुहुन्छ । उहाँले जहिले पनि राष्ट्रको लागी व्यक्तिगत खुशी त्याग गर्नुभयो । बुबाको सपनालाई साकार पार्न उहाँले श्रीमान गुमाउनुभयो । छोराहरूबाट टाढा रहनुभयो । कैद जीवन बिताउनुभयो । यस्ता अनेक पीडा सहनुभयो । तर अन्ततः राष्ट्रवादी नीति, सत्ताको समीकरण र मानव अधिकारका मूल्यबीचको द्वन्द्वमा उहाँ आफूले बनाएको छविबाट आफैं टाढा हुनुभयो ।
तथापि म्यानमारको इतिहासमा उहाँको नाम एक अतुलनीय नेतृका रूपमा रहनेछ । उहाँको जीवनले संसारलाई एउटा सन्देश दिएको छ—शक्ति भन्दा बढी मूल्यवान् हुन्छ आदर्श र विश्वास ।
नेपालसँग सम्बन्ध
काँग्रेसका नेता बीपी कोइराला प्रधानमन्त्री रहेका बेला २०१६ चैत २७ गते नेपाल र बर्माबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । बीपी कोइराला र बर्माको विशेष सम्बन्ध थियो । म्यान्माका तत्कालिन प्रधानमन्त्री उ नूको सम्बन्ध नेपालका तत्कालिन प्रधानमन्त्री बीपी कोइरालासँग राम्रो थियो ।
भनिन्छ, २००७ मा भएको नेपालको क्रान्तिमा बीपी कोइरालाले बर्माबाट हतियार प्राप्त गर्नुभएको थियो, त्यो हतियार सुकीका बुबाले गठन गरेको बर्माका समाजवादी पार्टीले दिएको थियो । २०१७ भदौ दोस्रो हप्ता नेपालका लागी बर्मेली राजदूत खिन यी काठमाडौं आउनु भएको थियो । तत्कालिन राजदूत खिनले २०१७ भदौं १४ गते नारायणहिटी राजदबारमा आयोजित कार्यक्रममा तत्कालिन राजा महेन्द्रसमक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेस गर्नुभएको थियो । काठमाडौंमा बर्माको राजदूतावास स्थापना भइ नसकेकाले नयाँदिल्लीबाटै नेपाल हेर्नेगरी खिनलाई बर्मेली सरकारले जिम्मेवारी दिएको थियो ।
सुकीका आमा खिन नेपालका लागी पहिलो बर्मेली राजदूत हुनुहुन्थ्यो । सानैदेखि दार्जिलिङमा बसेर शिक्षा हासिल गर्नुभएको सुकी आमा खिन यीका साथ बि.सं. २०१७ मा पहिलो पटक नेपाल आउनु भएको थियो । सुकीका आमा खिन जन्मजात क्रिश्चियन हुनुहुन्थ्यो । तर सन् १९४२ मा बौद्धमार्गी पूर्वजनरल आङ सानसँग बिहे भएपछि खिनले पनि बौद्धधर्म अँगाल्नु भएको थियो ।

सन् १९७२ मा माइकल एरिससँग प्रेम विवाह गर्नुभएका सुकी माइकलसँग पनि नेपाल आउनु भएको थियो । माइकल बौद्धधर्मको अध्ययनमा रुची राख्नुभएको थियो । बौद्धधर्मका लागी आफ्नो अध्ययन क्षेत्र नेपाल, भुटान र तिब्बत बनाएकाले उहाँ सुकीलाई लिएर पटक पटक नेपाल लिएर आउनु हुन्थ्यो । सन् १९७३ मा माइकल सुकीलाई लिएर नेपालमा लामो बसाइ बस्नुभयो । काठमाडौंमा रहँदा माइकलले ठमेलको एउटा होटलमा बस्नुभएको थियो । त्यतिबेला उहाँहरुसँग तीन महिने छोरा अलेक्जेन्डर पनि साथमा थियो ।
नेपालमा उहाँ माइकल–सुकी दम्पत्तीको ठहिँटी नःघलस्थित धर्मकीर्ति विहारकी गुरुआमा भिक्षु धम्मावती (धर्मावती शाक्य)सँग राम्रो सम्बन्ध थियो । सुकीलाई शिक्षा दिने, बौद्ध ज्ञान दिने काम धम्मावतीले गर्नुभएको थियो । यहाँसम्म कि त्यो बिहारमा सुकीले अँग्रेजी विषय पढाउनु हुन्थ्यो । सुकी जतिपटक नेपाल आउनु हुन्थ्यो धम्मावतीसँग अवश्य भेट्नु हुन्थ्यो । धम्मावतीसँग सुकीको मात्र होइन, सुकीको आमादेखि नै सम्बन्ध थियो । सुकीको आमा राजदुत भएर आएपछि चिनजान भएको थियो ।
उहाँ नेपाल लामो समय बस्नु भयो । बिच बिचमा आइरहनु हुन्थ्यो । तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला बिमस्टेक कार्यक्रममा भाग लिन २०७० मा बर्मा पुगेको बेला त्यहाँ सुकीसँग पनि भेट्नु भएको थियो । सुकीले नेपालमा कोइराला परिवारको राजनीति र यहाँ बर्मामा हाम्रो परिवारको राजनीति संघर्ष उस्तै उस्तै हो । धेरै कुरामा समानता रहेको धारणा राख्नु भएको थियो । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले बीपीको कोइरालाको सतवार्षिकीमा नेपाल आउन सुकीलाई निमन्त्रणा दिनुभएको थियो र सोही निमन्त्रणा अनुसार उहाँ २०७१ मा नेपाल आउनुभएको थियो । त्यतिबेला उहाँ कुनै पदमा हुनुहुन्थेन ।
२०७५ मा उहाँ नेपाल आउँदा बर्माको राष्ट्र सल्लाहकार हुनुहुन्थ्यो । त्यतिबेला उहाँको भ्रमण राजकीय थियो । उच्च सुरक्षा र सम्मानका साथ सुकीलाई नेपाल भ्रमण गराएको थियो । सन् २०२० मा उहाँलाई नेपाल भ्रमण वर्षमा नेपाल भ्रमणका निम्तो थियो । उहाँ आउन तयार पनि हुनुभएको थियो । तर कोरोना सुरु भएपछि उहाँ आउन सक्नुभएन । त्यसपछि उहाँ त्यहाँको सरकारको नजरबन्दमा पर्नुभयो । हालसम्म नजरबन्दमा नै रहनुभएको छ । उहाँ पटक पटक नेपाल आउजाउ गर्नुहुन्थ्यो त्यो अनुभवलाई समेटेर नेपालको बारेमा एउटा किताब पनि लेख्नुभएको छ । यहाँको भाषा सँस्कृति, रहन सहन प्रकृति पर्यटनका कुरा उल्लेख गर्नुभएको छ जसले गर्दा धेरैलाई नेपाल भ्रमण गर्न उक्साएको छ ।


तपाईको प्रतिक्रिया