२०७३ साउन ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै संसदबाट राजीनामा घोषणा गर्नुभयो । जब उहाँ रोष्ट्रमबाट बाहिरिए, संसदको अघिल्लो लाइनमा बसेका नेताहरुसँग हात मिलाउनुभयो ।
अविश्वासको प्रस्तावक प्रचण्ड, समर्थक शेरबहादुर देउवा लगायतसँग हात मिलाउँदै ओली तत्कालिन संघीय समाजवादी फोरम नेपालका नेताहरु बसेको स्थानमा पुग्नुभयो । फोरमका तत्कालिन सचेतक शिवजी यादव र तत्कालिन संसदीय दलका नेता अशोक राइले पनि उठेर ओलीसँग हात मिलाउनु भयो । तर फोरमका अध्यक्ष उपेन्द्र यादव आफ्नो ठाउँबाट उठ्नु भएन ।
उपेन्द्र यादव नउठेपछि प्रधानमन्त्री आफै उपेन्द्र यादवको छेउमा जानुभयो । अनि उपेन्द्र यादव बल्ल हात मिलाउनुभयो । खासमा उपेन्द्र यादवले प्रधानमन्त्री ओलीसँग हात नै मिलाउन खोज्नु भएको थिएन । प्रधानमन्त्री अोली आफै उपेन्द्रको छेउमा पुुगेर हात बढाएपछि बाध्य भएर मिलाएको बताइन्छ ।
यस्तो घटना एकपटक होइन, प्रधानमन्त्री ओली र उपेन्द्र यादवबिच पटक पटक भएको हो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री अोली बिच कहिले पनि राम्रो सम्बन्ध रहेन ।
बालुवाटारको वार्ता
त्यो कुरा अहिले आएर झन पुष्टि भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवालाई साक्षी राखेर प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई सरकारमा आउन आग्रह गर्नुभयो । तर उपेन्द्र यादवले सो आग्रह सिधै अस्विकार गर्नुभयो । अस्विकार मात्र गर्नुभएन, सरकारलाई दिएको समर्थन फिर्ता लिनुभयो । जसपा अध्यक्ष यादवको यस्तो ‘बोल्ड डिसिजन’को चौतर्फी प्रशंसा भइरहेको छ । मधेशमा उहाँको ग्राफ उकालो लागेको छ । त्यही उपेन्द्र यादव पटक पटक सरकारमा जानु भएको छ । सत्ताधारी दलले एकपटक प्रस्ताव राखेपछि दुई–तीन बुँदे सम्झौता गरेर सरकारमा सहभागी हुन जानु हुन्थ्यो ।
त्यसले उपेन्द्र यादव बदनाम मात्र होइन, त्यही कारणले उहाँको पार्टी पनि पटक पटक विभाजन भएको हो । तर पछिल्लो समय उहाँ निकै सचेत भएर निर्णयहरु लिन थाल्नुभएको छ । बोल्डडिसिजनहरु लिन थाल्नुभएको छ । नपत्याउने निर्णयहरु लिन थालेपछि उहाँको चौतर्फी प्रशंसा भइरहेको छ । प्रधानमन्त्री अोली नेतृत्वको सरकारले ल्याएको भूमि सम्बन्धी विधेयक पनि उपेन्द्र यादवले फेल गराउनुभयो । त्यतिबेला पनि सरकारलगायत अन्य अन्य अफर उपेन्द्र यादवलाई नआएका होइन । उहाँले चाहेको भए त्यतिबेला जुनसुकै मन्त्रालय लिएर सरकारमा सहभागी हुन सक्नु हुन्थ्यो ।
तर उहाँले कुनै सम्झौता गर्नुभएन । कुनै सम्झौता नगरी आफ्नो अडानमा कायम रहेपछि प्रधानमन्त्री अोली नेतृत्वको सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश फिर्ता भयो । त्यसले ओली निकै क्रुध हुनुभएको थियो । त्यतिबेला नै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट समर्थन फिर्ता लिन चाहनु भएको थियो तर प्रधानमन्त्री ओलीले भूमि सम्बन्धी विधेयक ल्याउने र त्यसमा तपाईहरुले दिएको सुझाव समावेश गर्ने विश्वास दिलाउनु भएको थियो ।
तर विधेयक आउँदा अध्यादेश जस्तो थियो, त्यस्तै विधेयक पनि आयो । उपेन्द्र यादवले त्यसमा पनि आपत्ति जनाउनुभयो । संशोधन हाल्नुभयो । तर त्यसको कुनै मलतब नराखी प्रधानमन्त्री ओलीले जवर्जस्ती विधेयक पास गराउन खोज्नुभयो अनि उपेन्द्र यादवले असार ८ गते पार्टीको बैठक बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिनुभयो । तर संसदीय दलबाट निर्णय गर्नुभएन । त्यसको कारण थियो, काँग्रेसका सभापति शेरबहादुर देउवा । सभापति देउवाले उपेन्द्र यादवलाई भूमि सम्बन्धी विधेयकमा संशोधन गर्ने भनि रोक्नुभयो । केही समय पर्खिन उहाँले भन्नु भएको थियो ।
समर्थन फिर्ता
सभापतिको आग्रहलाई स्विकार गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव केही समय पर्खिनुभयो । असार ३० गते सभापति देउवासहित प्रधानमन्त्री ओलीसँग उपेन्द्र यादवको वार्ता भयो । सो वार्तामा उपेन्द्र यादवले आफ्ना सबै कुरा राख्नुभयो । प्रधानमन्त्री अोलीले भन्नुभएको थियो, ‘यी सबै माग पुरा हुन्छ, तपाईहरु सरकारमा सहभागी हुनुस्, अरु कुरा बसेर गर्दै गरौंला ।’ आफूहरुले राखेको माग पुरा भए मात्र सरकारसँग सहकार्य गर्ने वा नगर्ने विषयमा पार्टीले निर्णय लिने बताएर बालुवाटारबाट निस्किनु भएको थियो । तर सरकारले ३१ गतेसम्म केही गरेन । अनि ३२ गते उपेन्द्र यादवले आफै प्रधानमन्त्री ओलीलाई फोन गर्नुभयो ।
फोनमा पनि प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई सरकारमै आउन भन्नुभयो । सरकारमा आउनुस्, के के गर्नुपर्छ मिलेर त्यही गरौला भन्नुभएको थियो तर त्यसलाई अस्विकार गर्दै संसदीय दलको बैठक बसेर सरकारबाट समर्थन फिर्ता लिनुभयो ।
जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीलाई कुनै फरक पर्नेछैन । तर राष्ट्रिय सभामा पक्कै गाह्रो हुनेछ । राष्ट्रिय सभामा सबै विपक्षी दल मिले भने सरकारको कुनै पनि विधेयक वा काम कारवाही अगाडि बढ्ने छैन । अब राष्ट्रिय सभामा जसपा नेपालको भूमिका कस्तो रहने भनि हेर्न बाँकी छ ।
मलेठ घटना
तर प्रधानमन्त्री ओलीसँग आज मात्र होइन, २०६४–०६५ देखि नै मतमतान्तर थियो । मधेश आन्दोलनमा ओली भर्सेस मधेश आन्दोनल चलिरहेको थियो । मधेश आन्दोलन बारे नाकारात्मक टिप्पणी गरेको कारण मधेशसँग अोलीको राम्रो सम्बन्ध थिएन । मधेश आन्दोलनको क्रममा मधेशमा एमालेको प्रवेश नै निषेध थियो । ओली निषेध क्षेत्रको बोर्ड ठाउँ ठाउँमा लगाइएको थियो । ठाउँ ठाउँमा एमालेको पार्टी कार्यालयमा आक्रमण भएको थियो । आन्दोलन चलिरहेकै बेला ओली नेतृत्वको एमालेले २०७३ मा मेची महाकाली यात्रा सञ्चालन गरेको थियो । फागुन २३ गते उहाँको यात्रा राजविराज आएपछि कार्यक्रममा झडप भएको थियो त्यसमा प्रहरीको गोली लागेर पाँच जना मधेशी युवाको ज्यान गएको थियो । त्यसले मधेश र एमालेबिचको दुरी झन बढ्यो ।
उपेन्द्रको सरुवा
२०७४ को चुनावपछि ओलीको नेतृत्वमा बनेको सरकारमा उपेन्द्र यादव पनि स्वास्थ्य मन्त्रालय लिएर सरकारमा सहभागी हुनुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण उपेन्द्र यादव सरकारमा सहभागी हुनुभएको थियो । तर प्रधानमन्त्री अोलीसँग उपेन्द्रको कहिले कुरा मिलेन । दुई जनाको बिच सरकारमा पनि द्वन्द चलिरहेको थियो । बोलचाल समेत बन्द थियो । उपेन्द्र यादव स्वास्थ्य मन्त्रालयको कार्यक्रममा भारतको दिल्ली गएको बेला प्रधानमन्त्री अोलीले उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गर्नुभयो भने सोही पार्टीका राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई बर्खास्त गर्नुभयो ।
उपेन्द्र यादवलाई कानुन मन्त्रालय दिएको थियो । उपेन्द्र यादवले त्यतिबेला निकै अपमानित महसुस गर्नुभएको थियो । तर सरकारबाट निस्किने मौकाको तलाशमा हुनुहुन्थ्यो । कानुन मन्त्रीको हैसियतमा उपेन्द्र यादवले संविधान संशोधनका लागि अध्ययन गर्न एउटा समिति बनाउनुपर्ने भनि प्रस्ताव मन्त्रीपरिषद्मा लाग्नुभएको थियो । तर प्रधानमन्त्री अोलीले त्यो प्रस्ताव हेर्दै नहेरी उपेन्द्र यादवसँग अपमानजक व्यवहार गर्नुभयो । त्यही दिन उपेन्द्र यादव मन्त्री पदबाट राजिनामा दिइ सरकारबाट समर्थन पनि फिर्ता लिनुभयो ।
ओली सरकारविरुद्ध आन्दोलन
त्यसपछि उपेन्द्र यादव र अोलीबिच दुरी झन बढ्यो । ओलीको सरकार ढाल्नका लागि उपेन्द्र यादवले अगुवाइ गर्नुभयो । आन्दोलन नै गर्नुभएको थियो । त्यही बेला प्रधानमन्त्री अोलीले उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टीलाई विभाजन गर्न सम्पूर्ण तयारी गर्नुभएको थियो । समाजवादी पार्टीका एक जना सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौँ ल्याउनु भएको थियो । सबै कुरा तयारी थियो तर सुरेन्द्र यादवलाई लुकाएर राखेको ठाउँ समाजवादी पार्टीले फेला पारेपछि पार्टी विभाजनको कुरा अगाडि बढेको थिएन ।
त्यसपछि तत्कालिन राजपा र समाजवादी पार्टीबिच एकता भएर जसपा नेपाल बनेको थियो । तर अोलीले त्यो जसपा नेपाललाई पनि एक रहन दिनुभएन । मधेशको सबै माग पुरा गरि दिने भनि उहाँले आफ्नो नेतृत्वमा रहेको सरकारमा जसपा नेपालबाट महन्थ ठाकुृर समूहलाई सहभागी गराउनुभयो । महन्थ ठाकुरका समूह मन्त्री भएर गएपछि जसपा नेपाल विभाजन भएको थियो । त्यो ओलीको चाल थियो ।
महन्थ ठाकुरहरु लोसपा नेपाल बनाउनुभयो । तर संयोग २०७९ को चुनावमा काँग्रेस, माओवादी गठबन्धनसँग चुनावी तालमेलमा कुरा नमिलेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अोली नेतृत्वको एमालेसँग चुनावी तालमेल गर्नुभयो । तर त्यो चुनावमा ओलीले सप्तरीबाट उपेन्द्र यादवलाई चुनाव जित्न दिनुभएन । उहाँले आन्तरिक रुपमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई समर्थन गर्नुभएको थियो र उहाँलाई जिताउनु भएको थियो ।
चुनाव हारेर आएपछि उपेन्द्र यादवले ओलीको साथ छाड्नुभयो । पुनः काँग्रेस–माओवादी गठबन्धनसँग उहाँ मिल्नुभयो । बारामा भएको उपनिर्वाचनमा सोही गठबन्धनबाट चुनाव जित्नुभयो । माओवादी–काँग्रेस गठबन्धनको सरकारमा उपेन्द्र यादव पनि सहभागी हुनुभयो । ती दुई दलको गठबन्धन हुँदासम्म केही भएन जब माओवादी र एमालेबिच गठबन्धन बन्यो अनि जसपा नेपाल विभाजन भयो । ओलीको डिजनाइनमा अशोक राइले पार्टी विभाजन गरेर जसपा बनाउनुभयो ।
त्यतिबेला माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो । यो विभाजनमा प्रचण्ड दोषी रहेको भन्दै उपेन्द्र यादव सरकारबाट राजिनामा दिएर समर्थन पनि फिर्ता लिनुभयो । तत्कालिन प्रधानमन्त्री प्रचण्डले सिन्धुलीको एक कार्यक्रममा सरकार बचाउनका लागि पार्टी फुटाइ दिएको अभिव्यक्ति दिनुभएको थियो । तर अोलीले उपेन्द्र यादवको लागि प्रचण्डको काँधमा बन्दुक राखेर पड्काउनु भएको थियो । त्यो कुरा आफ्नो नेतृत्वमा सरकार गठन हुँदा उपेन्द्र यादवलाई सरकारमा नलिएर अशोक राइलाई लिएपछि पुष्टि भएको हो ।
उपेन्द्रको प्रचण्डसँग दुरी बढेको कारण ओली नेतृत्वको सरकारमा जाने चाहना थियो । तर ओलीले उपेन्द्रमाथि विश्वास नगरी जनमत पार्टीका अध्यक्ष सिके राउत र जसपाका अध्यक्ष अशोक राइलाई साथमा राख्नुभयो । त्यसैको बदला उपेन्द्र यादवले अहिले लिनुभयो । समर्थन फिर्ता लिएर सरकार ढाल्न त सक्नु भएन तर जसपा नेपालाक अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीभित्र एउटा त्रास पैदा गरि दिनुभएको छ ।
तपाईको प्रतिक्रिया