–डा.राजिव झा
केही दिनअघि काठमाडौंस्थित भारतीय दूतावासअगाडि केही समूहहरूले गरेका विरोध प्रदर्शनले हाम्रो मुलुकभित्र कस्तो प्रकारको गलत धारणा फैलिएको छ भन्ने कुरालाई पुनः उजागर गरिदिएको छ । प्रदर्शनको शैली, नाराको प्रकृति र त्यसको उद्देश्य हेर्दा, यस्तो लाग्छ कि ती समूहहरूको उद्देश्य भारतप्रति कुनै ठोस माग राख्नुभन्दा बढी, भारतसँगको ऐतिहासिक सम्बन्धलाई बदनाम गर्नु, नेपालभित्र अस्थिरता फैलाउनु र विदेशी एजेण्डा पूरा गर्नु हो ।
‘इण्डियन हस्तक्षेप मुर्दावाद’, ‘गोर्खा भर्ती सम्झौता खारेज गर’, ‘मिटरब्याज पीडितको सम्पत्ति फिर्ता गर’ जस्ता नारा बोकेर सडकमा उत्रिएकाहरूको सन्देश हेर्दा स्पष्ट हुन्छ कि उनीहरूले भारतलाई लक्षित गरेर बोले पनि वास्तविक समस्याहरू नेपालको आन्तरिक कमजोरी र व्यवस्थासँग सम्बन्धित छन् । मिटरब्याज समस्या, कर्मचारी सेवासुविधाको विभेद, वा राष्ट्रिय निर्णय प्रक्रियामा हुने ढिलासुस्ती—यी सबै कुराहरू भारतले हैन, नेपालका नीति निर्माता र सरकार प्रमुखहरूले सम्बोधन गर्नुपर्ने विषयहरू हुन् ।
नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमान हाम्रो लागि सर्वोच्च छन् । तर, ती मूल्यहरूलाई उपयोग गरेर यदि कोही देशभक्तिको आवरणमा विदेशी घृणा फैलाउने काम गर्छ भने त्यो राष्ट्रहितभन्दा बाहिर जान्छ । अझ दुःखद त के हो भने जब भारतीय राज्य जम्मु–कश्मीरको पहलगाममा एक आतंकवादी आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपाने जस्ता श्रमिकले ज्यान गुमाउँछन्, तब यिनै समूहहरू मौन बस्छन् । आतंकवादविरुद्ध लड्न भारतले लिएको कदमको समर्थन गर्नुको सट्टा, उनीहरू आतंकवादी गतिविधिको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थनजस्तो व्यवहार गर्छन् । यस्तो अवस्थामा उनीहरूको नियतप्रति प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।
यस्ता प्रदर्शन र नाराहरूको प्रभाव नेपालको आन्तरिक राजनीति र भारतसँगको सम्बन्ध दुवैमा नकारात्मक असर पार्न सक्छ । नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक हैन—यो ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पारिवारिक र भावनात्मक पक्षहरूमा समेत गहिरो छ । जनस्तरमा हाम्रा सम्बन्ध यति नजिक छन् कि धेरै नेपाली परिवारमा एक छोरो भारतमा, अर्को नेपालमा रोजगारी गर्छन् । सीमा नजिकका जिल्लाहरूमा जनजीवन एउटै सामाजिक संस्कृतिमा बाँधिएको छ ।
२०७२ सालको विनाशकारी भूकम्प होस्, वा कोभिड महामारीको संकट—भारतले छिमेकीको नाताले नेपाललाई निःस्वार्थ रूपमा सहयोग पु¥याउँदै आएको छ । सडक, पुल, अस्पताल, विद्यालय निर्माणदेखि लिएर औषधोपचार, एम्बुलेन्स, निर्वाचन प्रयोजनका सवारीसाधन, वा विभिन्न अनुदान—यी सबै भारत सरकारको सहयोगबाट नेपालले प्राप्त गर्दै आएको छ । यस्ता उदाहरणहरूले भारतको सहयोगी प्रवृत्ति स्पष्ट पार्छन् । यस्तो देशविरुद्ध अनावश्यक आक्रोश सिर्जना गर्नु, कृतघ्नता मात्र होइन, राष्ट्रिय हितविपरीत पनि हो ।
गोर्खा भर्ती सम्झौता नेपाल–भारत सम्बन्धको एउटा संवेदनशील पक्ष हो । तर यसबारे भावनात्मक नाराबाजीभन्दा गम्भीर अध्ययन, बहस र संवाद आवश्यक छ । भारतीय सेनामा समावेश भएर नेपाली युवाहरूले सम्मानजनक जीवन बिताउने अवसर पाएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बलियो बनाएका छन् । यो सम्बन्ध अब पुरानो मात्र नभई, भावी अवसरहरूसँग समेत जोडिएको छ । त्यसैले यस्ता विषयमा भावनात्मक र उच्छृंखल प्रतिक्रियाभन्दा संस्थागत संवादको माध्यमबाट समाधान खोजिनुपर्छ ।
भारतविरोधी नाराको पछाडि को छन् ? यिनीहरूको आर्थिक स्रोत, वैचारिक समर्थन, र अन्तर्राष्ट्रिय सम्पर्क के कस्तो छ भन्ने बारे गहिरो अनुसन्धान हुन जरुरी छ । किनभने धेरै जसो यस्ता कार्यक्रमहरू योजनाबद्ध ढंगले सञ्चालित हुन्छन् । कहिलेकाहीँ विदेशी स्रोतबाट प्रेरित, कहिले आन्तरिक असन्तुष्टिहरूको लाभ उठाउँदै । यस्तो वातावरणले नेपालजस्तो मुलुकलाई दुईमुखी खतरा उत्पन्न गराउँछ—भित्र अस्थिरता र बाहिर सन्धिहरूमा विश्वासको संकट ।
नेपाल सरकार र सुरक्षाप्रणालीले यस्ता गतिविधिहरूप्रति गम्भीर ध्यान दिनु आवश्यक छ । विचारको स्वतन्त्रता, प्रदर्शनको अधिकार लोकतन्त्रका मूल तत्व हुन् । तर यदि यिनको प्रयोग विदेशी स्वार्थमा, राष्ट्रिय सुरक्षा र द्विपक्षीय सम्बन्धमा धक्का पु¥याउने ढंगमा गरिन्छ भने त्यसको स्पष्ट निणर्यात्मक जवाफ आवश्यक हुन्छ । कानूनको दायराभित्र रही यस्ता समूहहरूको गतिविधि अनुगमन गरिनु, आवश्यक परेको खण्डमा कानूनी कारवाही गरिनु आजको आवश्यकता हो ।
साँचो देशभक्ति भन्नुको अर्थ के हो ? आफ्ना छिमेकीहरूसँगको सम्बन्धलाई बिगारेर नारा लगाउनु वा नक्कली राष्ट्रवादको आवरणमा विदेशी शक्तिको एजेन्ट बन्नु हैन । साँचो देशभक्ति भनेको, नेपालको आन्तरिक विकृति, भ्रष्टाचार, गरिबी, शिक्षा र स्वास्थ्यको अभाव जस्ता समस्याहरू समाधान गर्न सक्रिय हुनु हो । हाम्रा आफ्ना नीति निर्माता र कार्यान्वयनकर्ता जवाफदेही बन्न, पारदर्शिता बढाउन र जनताको जीवनस्तर सुधार गर्न प्रयास गर्नु नै साँचो राष्ट्रसेवा हो ।
अन्ततः हामी सबै नेपालीको पहिलो कर्तव्य हो, आफ्नो देशको स्वाभिमान, प्रतिष्ठा र असल मित्रहरूप्रतिको सम्मान। भारतजस्तो छिमेकी, जसले दुःखमा साथ दिएको छ, जसले सदैव सहयोगी भूमिका निर्वाह गर्दै आएको छ, त्यस्तो राष्ट्रसँगको सम्बन्धमा समझदारी, परिपक्वता र आपसी विश्वास आवश्यक छ । विरोध होस् वा सुझाव, ती जिम्मेवारीपूर्वक र सत्यतामा आधारित हुनुपर्छ । भारतविरोधी नारा होइन, गम्भीर कूटनीतिक संवाद र सहकार्य नै आजको आवश्यकता हो ।
नेपालको असली समृद्धि त्यही बेला सम्भव छ जब हामी आफ्ना अन्तरविरोधहरू समाधान गरेर छिमेकीहरूसँग सन्तुलित र सकारात्मक सम्बन्ध कायम गर्न सक्छौं । त्यसैले यस्ता गतिविधिहरूको भित्रि मर्म बुझेर प्रतिक्रिया जनाउने, अनि राष्ट्रिय हितको पक्षमा ठोस नीति निर्माण गर्ने बेला अब ढिलो भइसकेको छैन ।
(लेखक डा.राजिव झा नेपाल भारत खुला सिमा संवाद समुह नेपालका अध्यक्ष हुनुहुन्छ)


तपाईको प्रतिक्रिया