Khadya Bibhag

सत्ताधारी दलहरु संविधान संशोधनका लागि तयार हुनु नै मधेशका लागि ठुलो कुरा हो

–मनिष मिश्र
–महासचिव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी प्रदेशदेखि संघीय सरकारमा सहभागी छ । सरकारमा सहभागी भएको एक वर्षभन्दा बढी भइसक्यो तर याद गर्ने गरी परिणामहरु नदेखिएको गुनासो भइरहेको छ । संविधान सशोधन, राजबन्दी रिहा, मुद्दा फिर्ता लगायतका विषयमा मौखिक सहमति गरेर लोसपा सरकारमा सहभागी भएको भनिन्छ । तर त्यसमा एक पाइला पनि अघि बढेको छैन । एकातिर सरकारमा छ भने अर्कोतिर संघीय लोकतान्त्रिक मोर्चा गठन गरेर सरकारको विरुद्धमा आन्दोलन गरिरहेको छ । यो तारतम्य मिलेको छैन । यिनै विषयहरुमा प्रष्ट हुनका लागि सहारा टाइम्सले लोसपा नेपालका महासचिव मनिष मिश्रसँग गरिएको कुराकानीको सम्पादीत अंशः

मधेशवादी दल खासगरी लोसपा नेपाल सरकारमा सहभागी भएको एक वर्ष भइसक्यो । यो एक वर्षको अवधिमा मधेशले या तपाईंको पार्टीले के प्राप्त गर्यो जस्तो लाग्छ तपाईंलाई ?
–हेर्नुस्, हामीले तीन तरिकाले काम गरिरहेका छौं । एउटा, लोसपा नेपाल बनिसकेपछि हामी संगठन निर्माणमा लागेका छौं । त्यसका लागी महाधिवेशनको मिति घोषणा पनि भइसकेको अवस्थाले गर्दा हामी त्यो महाधिवेशनको तयारीमा छौं । महाधिवेशनको तयारीसँगै संगठन निर्माणको काम पनि भइरहेको छ । तेस्रो कुरा तपाईंले उठान गर्नुभएको सरकारको कुरा । सरकारबाट तीनै तहमा केही न केही कामहरू भइरहेका छन् । जस्तो अहिले केन्द्रमा हाम्रो श्रम मन्त्रालय छ । प्रदेशमा हाम्रो मधेस प्रदेशमा शिक्षा मन्त्रालय छ । लुम्बिनीमा हामीले समर्थन गरेका छौं । मन्त्रालयको कामहरू आफ्नै तरिकाले अगाडि बढेको अवस्था छ । यसो नेपालकै इतिहासमा हेर्ने हो भने श्रम तथा रोजगार मन्त्रालयले अहिलेको अवस्थामा सबभन्दा व्यवस्थित तरिकाले श्रमिकहरूको हकमा काम गरिरहेको छ । वैदेशिक रोजगारमा व्यवस्थित तरिकाले पठाउने, सीप सिकाएर पठाउनुको साथै आन्तरिक रोजगारीको पनि प्रयास गरिरहेको छ ।

त्यस्तै, मधेस प्रदेश सरकारमा हाम्रो पार्टीले शिक्षा मन्त्रालय सम्हालेको छ । शिक्षामा अवस्था कस्तो भयो भने, हामी सरकारमा जाँदै गर्दाखेरि त्योभन्दा पहिला नै त्यहाँ बजेट आइसकेको थियो । आइसकेको बजेट भएकोले त्यसमा हामीले खासै केही तलमाथि गर्न सकेनौं । जस्तो अस्ति भर्खरै तपाईंले हेर्नुभयो होला, हामीले मधेश प्रदेशमा पहिलो राष्ट्रिय शिक्षा सम्मेलन ग¥यौं । जुन किसिमले उल्लेखनीय काम गर्नुपर्ने हो, त्यो बजेटको अभावले गर्दाखेरि र पूर्व मन्त्रीले बजेट निकालेको अवस्थाले गर्दाखेरि धेरै काम हामीले गर्न सकेका छैनौं । यद्यपी हामी आफ्नो प्रयासले राम्रो राम्रो काम गरेका छौं जस्तो लाग्छ । यसपालि हामीले आफैंले बजेट ल्याएका छौं । मधेशको शिक्षामा राम्रो गर्ने सोचमा छौं । तर सोचे अनुसार कतिको गर्न सकिन्छ त्यो आउने दिनमा थाह हुन्छ । नेपालको अवस्था कस्तो छ भने बजेट एउटा सरकारले ल्याउछ काम अर्को सरकारले गर्छ । त्यही कारणले सोचे अनुसारको काम गर्न सकिरहेको हुँदैन । यहाँ नेपालमा अस्थिरताको अवस्था छ । स्थिर सरकार हुँदैन । बजेट एउटाले ल्याउने, कार्यान्वयन अर्कोले गर्ने । तैपनि, लोसपासँग धेरै कम समय छ । यही समयमा धेरै ठूलो उपलब्धि हासिल ग¥यौं वा केही गरेनौं, त्यो भन्ने अवस्थामा छैनौं । हामी अहिले प्रयासरत छौं, गर्ने अवस्थामा छौं ।

लोसपा नेपाल तराई मधेसमा केन्द्रित भएको पार्टी हो, एक वर्ष भयो, तपाईं पनि तराई मधेसमै राजनीति गर्नुहुन्छ, मधेसकै जनतामा तपाईं पनि भिज्ने नेता हो । मधेसी जनताले “लोसपा पार्टी सरकारमा छ, हामीले यो फाइदा पायौं’’ भनेर एक, दुई, तीन गरी केही भन्न सक्ने अवस्था छ ?
–हामी मधेस केन्द्रित भन्दा पनि हाम्रो आधार क्षेत्र मधेस हो । हुन त हामी देशैभरि छौं, बागमती प्रदेशमा पनि छौं, सुदूरपश्चिम प्रदेशमा पनि छौं, गण्डकी प्रदेशमा पनि छौं । हाम्रो आधार क्षेत्र मधेस हो किनकि मधेस भनेको राज्यको षड्यन्त्रबाट र सत्ताबाट उपेक्षित रहेको ठाउँ हो । त्यो उपेक्षित ठाउँलाई हामी कसरी राम्रो बनाउन सक्छौं भनेर लागिरहेका छौं । रह्यो कुरा एक, दुई, तीनको, हामी सरकारमा गइसकेपछि तपाईं अहिले आएर हेर्नुस्, मधेशका मान्छेहरू पहिला अधिकांश गल्फ जान्थे, वैदेशिक रोजगारको सिलसिलामा । हामीले के ग¥यौं कि मधेशका मान्छेहरूलाई अब गल्फमा मात्र होइन, सीप सिकेर युरोपियन देशहरू, कोरिया, जापानलगायतका देशहरूमा पनि जानुपर्छ भनि बनाएका छौं र गइरहेका पनि छन् । नेपाल सरकारले जुन किसिमको श्रम सम्झौताहरू अगाडि बढाएको छ, त्यसमा अवश्य नै मधेश पनि लाभान्वित भएको अवस्था छ र आउने दिनमा अझै लाभान्वित हुने अपेक्षा हामीले गरेका छौं ।

दोस्रो कुरा, राज्य संयन्त्रमा हामी पुगि राख्दाखेरि हामीले उठाएका धेरै मुद्दाहरू, जस्तो संविधान संशोधनकै कुरा गरौँ । यो मुद्दा हामीले पहिलादेखि नै उठान गर्दै आएको हौं । तर यो सरकारले त्यसलाई अहिले आएर सम्बोधन ग¥यो । जुन पार्टीले हिजोको दिनमा “उत्कृष्ट संविधान’’ भन्थ्यो, त्यही पार्टीहरू आज संविधान संशोधनको कुरामा अगाडि बढ्नु र आउनु, त्यो पनि हाम्रो लागि एउटा उपलब्धिको कुरा हो ।

तेस्रो कुरा, हाम्रो आन्दोलनताका धेरै साथीहरूमाथि मुद्दा लगाइएको छ । अहिले पनि धेरै साथीहरूलाई आजीवन काराबास तोकिएको अवस्था छ । यी विषयहरूमा पनि हामी काम गरिरहेका छौं । आन्दोलन गर्दाखेरि घटित घटनाहरूमा साथीहरूमाथि मुद्दा लगाइएको छ, जो त्यहाँ उपस्थित थिएन, तिनीहरूलाई पनि आजीवन कैदको फैसला सुनाएको छ, विभिन्न किसिमले प्रताडित गरेको अवस्था छ । त्यो कुराहरूलाई समाधान गर्न जबसम्म हामी सरकारमा हुँदैनौं, जबसम्म सत्तामा हाम्रो कुरा पु¥याउँदैनौं, तबसम्म त्यो समस्याको समाधान हुँदैन । त्यसकारणले पनि सरकार र सत्ताको मार्ग रोजेका हौं । टीकापुर घटनादेखि लिएर सयौं साथीहरू रिहा भएको अवस्था छ । केही साथीहरू अझै पनि बाँकी हुनुहुन्छ । त्यही भएर यी कुराहरूलाई हामीले उपलब्धकै रूपमा लिनुपर्छ ।

तपाईंले भन्नुभयो नि संविधान संशोधन र यो बन्दी रिहाइको कुरा । यो एक वर्षको अवधिमा न एक जना मान्छे रिहा भएका छन्, न संविधान संशोधनको काम एक पाइला अगाडि बढेको छ । अनि तपाईं यसलाई उपलब्धिका रूपमा कसरी लिनुहुन्छ ?
–जब २०७२ मा संविधान घोषणा भयो, त्यहीबेलादेखि नै हामी भन्दै आएका छौं यो संविधान त्रुटिपूर्ण छ । यो संविधानमा जनताको कुराभन्दा पनि सत्ताले बोलेका कुराहरू लादिएका छन् । जनतालाई उपहास गरिएको छ । यसलाई संशोधन गर्नुपर्छ । हाम्रो संख्याले जोडबल पुगिरहेको थिएन संविधान संशोधन गर्नको लागि । तथापि, पछिल्लो अवस्थामा जुन किसिमको राजनीतिक घटनाक्रमहरू अगाडि बढ्यो, त्यसले राज्यसत्ता पनि संविधान संशोधनका लागि तयार भयो । यसलाई कम उपलब्धीको रुपमा लिनु हुँदैन ।

अहिलेका वर्तमान सरकार पनि संविधान संशोधनलाई मुख्य एजेण्डा मानेर गठन भएको हो । सात बुँदे सम्झौतामा संविधान संशोधनलाई प्राथमिकतामा राखेको छ । त्यही भएर, हिजोको दिनमा नमान्ने, “यो देशकै उत्कृष्ट संविधान हो’’ भन्ने मान्छे, भन्ने पार्टी, आज कम्तीमा संविधान संशोधनको कुरामा मानेर अगाडि बढ्यो, कार्यदल बनाउनको लागि होमवर्क भइरहेको अवस्थामा पुगेको छ । यो कुरालाई हामीले उपलब्धिकै रूपमा लिनुपर्छ । किनकि हिजोको दिनमा त ठुला दलहरु पुरै नेगेटिभ अवस्था थियो ।

त्यसोभए तपाईंहरू यो सरकारको काम कारबाहीबाट सन्तुष्ट हुनुहुन्छ ?
–आंशिक सन्तुष्टि, आंशिक असन्तुष्टि । केही कुरा भएका छन्, केही कुरा हुन बाँकी छन् । यसलाई पूर्ण सन्तुष्टि भन्न मिल्दैन । तर जुन कुरा भएका छन्, जस्तो नागरिकता विधेयकहरू पारित भयो, त्यो कुरा राम्रो भएको छ, त्यसलाई हामी उपलब्धिका रूपमा लिएका छौं ।

असन्तुष्टि कहाँ छ ? हुनुपर्ने के थियो, के के बाँकी छन् ?
–जस्तो, संविधान संशोधनको कुरामा हाम्रो तीन–चार वटा ठोस कुराहरू छन् । जस्तो, राज्यको पुनर्संरचना हामी जनसंख्याको आधारमा भनेका छौं, समानुपातिक समावेशिताको प्रतिशतको कुरा गरेका छौं, महिला नेतृत्वको कुरा गरेका छौं । यो कुराहरूलाई राज्यसत्ताले कुन तरिकाले लिन्छ, त्यो कार्यदलले कतिको सम्बोधन गर्छ, त्यो हेर्न बाँकी नै छ । अहिले नै हामीले राम्रो भयो वा हुनै सक्दैन भनेर भन्नु पर्ने अवस्था छैन ।

तपाईंहरूले पार्टीको महाधिवेशन गर्ने घोषणा गर्नुभएको थियो । फेरि बीचमा समय बढाउनुभयो, फेरि त्यो समयमा नहुने देखिएको छ, महाधिवेशन गराउने खास तयारी के छ ?
–महाधिवेशनको कानुनी प्रावधान भनेको पाँच वर्ष हो । पार्टी गठन भएपछि पाँच वर्षमा महाधिवेशन गर्नुपर्छ । तर हामीले चाँडै महाधिवेशन घोषणा गर्नुको कारण के हो भने, हाम्रो नयाँ पार्टी भएको कारणले महाधिवेशनलाई हामी संगठन सुदृढीकरणको रूपमा लिएर अगाडि बढिरहेका छौं । निर्वाचन आयोगले तोकेको मितिभित्र सक्ने हिसाबले हामीले योजना बनाएर अगाडि बढेका छौं ।

हामीसँग पर्याप्त समय छ, अझै डेढ वर्ष बाँकी छ । डेट किन घोषणा गरियो भने, त्यो डेटभित्र सबै ठाउँमा अधिवेशन सम्पन्न भयो भने हामी महाधिवेशन गरिहाल्ने यदि त्यो समयमा भएन भने केही दिनका लागि महाधिवेशनको समय बढाउने । महाधिवेशन भनेको कुनै हार्ड एन्ड फास्ट यही हुन्छ भन्ने हुँदैन । यो संगठनलाई सुदृढीकरण गर्नको लागि र भोलीको दिनमा महाधिवेशन भइसकेपछि आउने कार्यसमितिको वैधताको लागि निर्वाचन आयोगलाई दिने कुरा हो यो । महाधिवेशनको डेट तोकिसकेपछि साथीहरूलाई अलिकति उत्सुकता हुने, लगनशीलले काम गर्ने, सिरियस हुने देखिएकाले पनि महाधिवेशनका मितिहरु तोकिने गरेको छ । यदि पार्टीले तोकिएको समयमा सम्पूर्ण तयारी पुरा गर्न सक्यो भने महाधिवशेन समयमा हुन्छ । तयारी पुरा भएन म्याद थपिन्छ किनभने हामीँग पर्याप्त समय छ ।

तपाईंहरूले संविधान संशोधन लगायतको विषयमा काम गर्नको लागि, दबाब बढाउन, संघर्ष गर्नका लागि संघीय लोकतान्त्रिक मोर्चा गठन गर्नुभएको छ, त्यो मोर्चाले अहिले के काम गरिरहेको छ ?
–तराई मधेश केन्द्रीत सात दलको मोर्चा बनेको छ । जुन दलको कार्यालयमा बैठक हुन्छ, त्यसैले बैठकको अध्यक्षता गर्छ । मोर्चाको बैठक विभिन्न दलमा भयो पनि । बैठकले विभिन्न निर्णयहरु गरेका छन् । सरकारसँग विभिन्न मागहरु पनि राखेका छन् । विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् । बजेटदेखि लिएर, संविधान संशोधन, रेशम चौधरी पक्राउ, राजबन्दी रिहा, लाल आयोगको प्रतिवेदन कार्यान्वय, भिजिट भिसासम्मका विषयमा आफ्नो धारणा राखेको छ । भदौदेखि सात वटै प्रदेशमा मोर्चाले कार्यक्रम गर्ने तयारी गरेको छ ।

तपाईंहरूको उद्देश्य मोर्चा गठन संविधान संशोधनमा दबाव बढाउनको लागि थियो । अहिले आएर चुनाव पनि सँगै लड्नुपर्छ भन्ने निर्णय आएको छ, त्यसमा पनि विवाद देखिएको छ । यो उद्देश्य क्लियर नभएको हो कि के हो ?
–होइन, सँगै बसिसकेपछि साथीहरूले ल्याएको कुरा हो त्यो । संविधान संशोधन र राज्यसँग भएका नीतिगत कुराहरूमा हाम्रो संख्या पुगोस् भनेर हामीले मोर्चा गठन गरेका हौं । सँगै बसिसकेपछि उपनिर्वाचनमा केही सिटमा मात्र चुनाव हुने भएकोले साथीहरूको कुरा आयो कि यसमा पनि मिलेर जाऔं । छलफल भइरहेको छ । हामी निष्कर्षमा पुगेका छैनौं ।

जनमत पार्टीले उपनिर्वाचनमा छुट्टै जाने अभिव्यक्ति नै दिइसकेको छ, यो कसरी भयो ?
–हामीले पनि मिडियाबाट सुनेका छौं । तर त्यसको आधिकारिक कुरा आएको छैन । उपनिर्वाचनको बारेमा मोर्चामा प्रस्ताव आएको छ । केही घटक दलहरूले मिलेर जाऔं भन्ने कुरा पनि भयो तर मोर्चाले अहिलेसम्म यस बारेमा कुनै ठोस निर्णय गरेको छैन ।

तपाईको प्रतिक्रिया