Khadya Bibhag

जेन–जी आन्दोलनप्रति राष्ट्रिय मुक्ति पार्टीको समर्थन, सरकारको दमनप्रति कडा आपत्ति

काठमाडौं, भदौ २४ गते । राष्ट्रिय मुक्ति पार्टीले जेन–जी युवाहरूले सुरु गरेको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारद्वारा गरिएको दमनको कडा निन्दा गरेको छ।

पार्टीका अध्यक्ष राजेन्द्र महतोले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाएको आरोप लगाइएको छ। “भ्रष्टाचारमा लिप्त सरकारले युवाहरूको आवाजलाई दबाउन दमन र निषेधाज्ञाको सहारा लिएको छ,” वक्तव्यमा उल्लेख छ।

विज्ञप्तिमा सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धलाई नागरिक स्वतन्त्रताको गम्भीर उल्लंघन भन्दै तत्काल फिर्ता लिन माग गरिएको छ। साथै, प्रदर्शनका क्रममा घाइते भएका युवाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, मृतकको वास्तविक तथ्य सार्वजनिक गर्न र आन्दोलनकारीहरूको भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहिता सम्बन्धी मागलाई सम्बोधन गर्न पार्टीले आग्रह गरेको छ।

महतोले राजधानी काठमाडौंसहित विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा, बुटवल र नेपालगञ्जजस्ता प्रमुख सहरहरूमा भएको दमनप्रति गम्भीर आपत्ति जनाउँदै सयौं घाइते र १८ जनाको मृत्यु भएको घटनाको पारदर्शी अनुसन्धान गर्न माग गरेका छन्।

“जेन–जी युवाहरूको आन्दोलन देशको भविष्यका लागि पूर्ण रूपमा जायज छ। उनीहरूको मागलाई बेवास्ता गर्ने हो भने परिस्थिति अझ बिग्रिनेछ र त्यसको जिम्मेवार सरकार स्वयं हुनेछ,” विज्ञप्तिमा चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया