सहारा टाइम्स निरन्तर १७ वर्षदेखि प्रकाशित हुँदै आएको छ । यो लामो अवधिको प्रकाशन यात्रा कुनै सजिलो थिएन । सुरु देखि नै हाम्रा लागि चुनौती कम थिएनन्—संसाधनको अभाव, बजारमा बढ्दो प्रतिस्पर्धा, वितरणमा देखिएका समस्या, विज्ञापन अभाव र बदलिँदो सञ्चार प्रविधिको चुनौती । तर ती सबै कठिनाइहरूलाई चुनौतीका रूपमा लिएर हामी अडिग रह्यौं, निरन्तरता दियौं र पाठकको भरोसा जित्न सफल भयौं । यो नै हाम्रो लागि धेरै ठुलो सम्पत्ति हो ।
आज बजारमा थुप्रै पत्रिकाहरू छन् ।
केही पत्रिकाहरू समयसापेक्ष माग पूरा गर्न नसकेर हराउँदै गएका छन् । बन्द पनि भइसकेका छन् तर ती भिडमा पनि सहारा टाइम्सले आफ्नो छुट्टै पहिचान कायम राखेको छ । हाम्रो मूल उद्देश्य सधैं एउटै छ—‘खोजी र सत्यतथ्यमा आधारित समाचार प्रस्तुत गर्ने ।’ यही उद्देश्यमा टेकेर हामीले पत्रकारिताको बाटो तय गरेका छौं । पाठकको रुची अनुसार सामग्री पस्किन बेलाबेला चुनौती नआएको होइन तैपनि हामी पछाडि हटेनौं ।
हिजो आजको पत्रकारिता प्रविधिमैत्री बनेको छ । डिजिटल युगमा अनलाइन पत्रकारिताको तीव्र विकास भइसकेको छ । थुप्रै पत्रिकाहरू छापा संस्करण बन्द गरेर अनलाइन मात्रमा सीमित भएका छन् । हामीलाई पनि बेलाबेलामा यस्तो सुझाव मिलिरहन्छ—अब छापा संस्करणलाई विदा गरेर मात्र अनलाइनतर्फ जानुपर्छ भनेर । तर सहारा टाइम्सलाई पाठकहरूले जुन विश्वास, साथ र माया देखाइरहनु भएको छ, त्यसैले हामीलाई अझै छापा संस्करण निरन्तरता दिन प्रेरित गरिरहेको छ । अनलाइन पत्रकारिताको ठूलो भिडमा पनि पाठकहरूले छापाखाना संस्करणलाई रोज्नु र रुचाउनु हाम्रो लागि सबैभन्दा ठूलो सम्पत्ति हो । हामी यसमा सबैप्रति अभारी छौं ।
यस यात्रामा पाठकले दिएको साथ हाम्रो लागि अमूल्य छ । यही कारणले सहारा टाइम्स आजसम्म बजारमा टिक्न सक्यो । तपाईंहरूको विश्वासकै कारण हामी अझै बलियो भएर अघि बढिरहेका छौं । हामीलाई थाहा छ—पत्रकारिता सजिलो काम होइन, तर पाठकसँगको यो सम्बन्ध नै हाम्रो सबल आधार हो ।
यसबाहेक, हामीलाई विभिन्न समयमा विज्ञापन दिएर, सहयोग गरेर वा नैतिक समर्थन गरेर अघि बढ्न प्रेरित गर्ने सबै शुभचिन्तक, विज्ञापनदाता, पाठक र सहकर्मीहरूप्रति पनि यसै अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं । १७ वर्षको लामो यात्रामा तपाईंहरूले देखाउनुभएको साथ र समर्थनलाई हामीले कदर गरेका छौं । आगामी दिनमा पनि सहारा टाइम्सलाई यस्तै माया, विश्वास र सहयोग गरिरहनुहुन्छ भन्नेमा हामी पूर्ण आशावादी छौं । किनभने हामीलाई तपाईको भरोसा छ ।
प्रकाशक
लाली यादव
तपाईको प्रतिक्रिया