भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनले सरकारी कार्यालय, निजी उद्योग, दलका कार्यालय र नेताहरुको घर मात्र तोडफोड भएका छैनन्, दलहरुमा चिरा पनि ल्याइ दिएको छ । कतिपय दल विभाजन नै भइसकेका छन् । खासगरि साना दलमा आन्दोलनको सबभन्दा ठुलो असर परेको छ । जेनजी आन्दोलनबाट उत्साहित भएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु जेलबाट भाग्नु भएको थियो । जेलबाट भागेर ठुलै काम गरेको जस्तो पार्टीले प्रचार प्रसार गरेको थियो । तर अन्ततः रवि लामिछाने पुनः जेल फर्किनु पर्यो । त्यो घटनाले पार्टीमा ठुलो असर गर्यो । सांगठनिक रुपमा निकै कमजोर भयो । रवि लामिछाने जेल फर्केपछि रास्वपाबाट नेता कार्यकर्ताहरुले धमाधम पार्टी छाड्न थाल्नुभएको छ ।
पार्टी व्यक्तिमा केन्द्रीत रहेको भन्दै सो पार्टीका नेतृ सुमना श्रेष्ठले पार्टीबाट राजिनामा नै दिइसक्नु भएका छ । रास्वपाका केन्द्रीय सदस्य डा.तोसिमा कार्कीलगायत अन्य नेताहरु पनि नेतृत्वप्रति असन्तुष्टि जनाइरहनु भएको छ । पार्टीको शीर्ष तहमा पनि असन्तुष्टि बढेको छ । नेतृ कार्कीले आन्दोलनको माग अनुसार राजनीति पार्टीहरुमा पनि रुपान्तरण आवश्यक रहेको भन्दै विभिन्न चार बुँदे प्रस्ताव कार्यवाहक सभापति कहाँ प्रस्तुत गर्नुभएको छ ।
त्यस्तै जनमत पार्टीमा पनि ठुलो संकट उत्पन्न भएको छ । नेतृत्व परिवर्तनको माग गर्दै पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा छ जना नेताले विद्रोह गरिसक्नु भएको छ । उहाँहरुले पार्टीका अध्यक्ष डा.सिके राउतलाई २४ घण्टाभित्र राजिनामा दिन माग राख्नुभएको थियो । तर २४ घण्टा बित्न नपाउँदै ती नेताहरुले पार्टीबाट आफै राजिनामा दिनुभएको छ । नेता खान भन्नुहुन्छ, ‘नेपाल परिवर्तन उन्मुख भएको छ, यस अवस्थामा राजनीतिक दल पनि यतास्थितिमा रहनु हुँदैन, राजनीतिक दलहरु पनि परिवर्तन हुनुपर्छ भनि हामीले आफ्नो पार्टीबाट सुरुवात गरेका हौं ।’
डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट कारवाहीमा पर्नुभएका तथा अलग भएका नेताहरुले असोज ४ गते नयाँ पार्टी घोषणा गर्नुभएको छ । मधेश प्रदेशको जनकपुरमा डा.संजयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकले जनमत पार्टीका विद्रोही नेताहरुले जनस्वराज पार्टी गठन गर्नुभएको छ ।
तर सो पार्टीमा कोही पनि अध्यक्ष हुनुहुन्न । जिम्मेवारीको रुपमा विभागीय जिम्मेवारी दिएको छ तर नेतृत्व कसैलाई दिएको छैन । समस्यक समाजका लागि सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने भएकाले पार्टीको अध्यक्ष कसैलाई नबनाएको ई.दीपक साहले बताउनुभयो । दीपक साह आफू राजनीतिक संगठन विभाग प्रमुखको जिम्मेवारी लिनु भएको छ भने ई.सुरेन्द्रनारायण यादवलाई आर्थिक विभागको जिम्मेवारी दिएको छ । त्यस्तै प्रशिक्षण विभागको जिम्मेवारी डा.संजयकुमार साहलाई दिएको छ । विस्तारै अरु विभाग बनाउँदै जिम्मेवारी दिने काम गरिने उहाँले बताउनुभयो ।
दीपक साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक हुनुहुन्थ्यो तर पार्टीका अध्यक्ष सिके राउतले विभिन्न आरोप लगाएर उहाँलाई पार्टीबाट कारवाही गर्नुभएको छ । त्यस्तै ई.सुरेन्द्रनारायण यादव जनमत पार्टीमा कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई पनि अध्यक्ष राउतले कारवाही गरेर निकाल्नुभएको छ । यता, अध्यक्ष राउतले मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आफ्नो पदबाट राजिनामा नदिएपछि उहाँलाई पनि स्पष्टिकरण सोध्नु भएको छ । तीन दिनभित्र स्पष्टिकरण दिन मुख्यमन्त्री सिंहलाई आग्रह गर्नुभएको थियो तर उहाँले स्पष्टिकरणको जवाफ नदिएपछि जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश यादवले उहाँलाई मुख्यमन्त्रीबाट फिर्ता बोलाएको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दर्ता गराउनुभयो । तैपनि मुख्यमन्त्री सिंहले राजिनामा दिनुभएको छैन । तर राजिनामा लागि पार्टीबाट तीव्र दबाब छ ।
यता, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि विभाजन भएको छ । सो पार्टीका संरक्षक रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडेको घोषणा गरिसक्नुभएको छ । उहाँले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्ने घोषणा पनि गरिसक्नु भएको छ । नाउपाका अध्यक्ष श्रेष्ठले पद नछाडेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउन पटक पटक प्रयास भएकै हो । तर पार्टीबाट हटाउन नसकेपछि रेशम चौधरी आफै त्यहाँबाट अलग भएर नयाँ पार्टी बनाउने घोषणा गर्नुभएको हो । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावअघि नै नयाँ पार्टी बनाउने तयारी उहाँले थाल्नुभएको छ । तर पार्टी बनाउँदा न उहाँ आफै अध्यक्ष बन्नु हुन्छ, न आफ्नो परिवारबाट कसैलाई अध्यक्ष बनाउने सोच बनाइ सक्नु भएको छ ।
यी त भयो दल विभाजन र पार्टी छाड्नेको फेहरिस्त । तर अन्य दलहरुमा पनि नेतृत्व छाड्न पार्टीभित्र तिब्र विवाद भइरहेको छ । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर अध्यक्ष रहेको लोसपा नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालमा पनि नेतृत्व परिवर्तनको विषय प्रवेश गरिसकेको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रमा भुँइचालो नै आएको छ । कुन पार्टी कतिबेला विभाजन हुन्छ कसैलाई थाह छैन । माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको कुरा यति जोडतोडले उठ्यो कि केन्द्रीय समिति नै भंग गर्नुपर्यो । मंसिरमा पार्टीको महाधिवेशन गर्ने गरि केन्द्रीय समिति भंग गरेर प्रचण्ड आफू संयोजक बन्नुभएको छ र सबैलाई सदस्यको रुपमा राख्नु भएको छ ।
सायद केन्द्रीय समिति भंग नगरेको भए पार्टी नै विभाजन हुने अवस्थामा पुगि सकेको थियो ।
काँग्रेस पार्टीमा पनि त्यही अवस्था छ । शेरबहादुर देउवा स्वस्थ्य भएर बाहिर निस्किनु भएको छैन तर नेतृत्व छाड्नुपर्छ भनि पार्टीभित्र अवाज उठ्न थालेको छ । जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीको आक्रमणबाट घाइते हुनुभएका सभापति देउवा अस्वस्थ्य भएर उपचार गराई रहनु भएको छ । तर यता पार्टीमा नेतृत्व परिवर्तनका लागि तीव्र बहस सुरु भएको छ । महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा कुरा उठाउन थाल्नुभएको छ । अन्य नेताहरुले पनि कुरा उठाउनु भएको हो तर उहाँहरु खुलेर नै आउनु भएको छ । त्यस्तै एमाले पार्टीमा पनि नेतृत्वले विकल्प दिनुपर्ने दबाब पार्टीका अध्यक्ष केपी शर्मा अोलीमाथि पर्न थालेको छ ।
सैनिक क्याम्पबाट बाहिर निस्केर भक्तपुरको गुण्डुमा बस्न थाल्नुभएका अध्यक्ष ओलीले अहिले आफू अध्यक्ष पद नछाड्ने भन्दै आउनु भएको छ भने पार्टीका दोस्रो, तेस्रो तहका नेताहरुले ओलीलाई अध्यक्ष पद छाडेर नेतृत्व अरुलाई हस्तान्तर गर्न दबाब दिइरहनु भएको छ । त्यसका लागि पार्टीका विभिन्न बैठकहरु बस्न सुरु भएको छ । जेनजी आन्दोलनले पार्टीहरुको जग तलबाट नै हलाइ दिएको छ ।
तपाईको प्रतिक्रिया