Khadya Bibhag

जेनजी क्रान्तिको उपलब्धि रूपान्तरणको निम्ति

–सन्तोष मेहता
नेपालको राजनीतिक भूगोलमा परिवर्तनको नदी बहने गर्दा, यसको उगम सधैं युवाशक्तिको हिमालयी चट्टानबाट नै भएको पाइन्छ । तर विडम्बना, यो नदी मैदानमा पुगेपछि यसलाई मोड्ने र नियन्त्रण गर्ने प्रयास पुराना पुस्ताका राजनीतिक इन्जिनियरहरूले गर्दै आएका छन् । “सेप्टेम्बर जेन–जी क्रान्ति“ भन्नाले यसैको विरुद्धमा उब्जिएको स्वतःस्फूर्त ज्वालामुखी हो, जसले युवाको पहिचानलाई नै क्रान्तिको केन्द्रबिण्न्दु बनाएको छ । तर, क्रान्ति पश्चात्को राजनीतिक यथार्थले फेरि पटक त्यही पुरानो कथा दोहोर्याएको छ ।
मतदान उमेर घटाउने जस्ता प्रतीकात्मक कदमबाट युवा ऊर्जालाई संस्थागत रूपमा नियन्त्रण गर्ने प्रयास हो । उमेरहदका कारण पूर्वप्रधानन्याधिश नै केही जेन–जी प्रतिनिधिको रोजाई हुन् गयो । यति मात्र कहाँ हो र जेनजी पुस्ताविहिन सरकारको संरचना भने झनै उदेक लाग्दो छ । भ्रष्टाचार, कुशासन, र असमानताले थिचिएको हाम्रो देशमा समुलमै प्रहार हुनेगरी परिवर्तनको बिगुल फुकेर नयाँ युगको सुरुवात “सेप्टेम्बर जेनजी नेपाल क्रान्ति’’ ले गरेको छ ।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र शासकीय अहंकारले ज्वालामुखीको मुख खोल्ने काम मात्र गरेको हो, तर यसको अलावा त दशकौंदेखि सामाजिक र राजनीतिक तहमा सङ्कलन भइरहेको थियो । यो आक्रोशको भूगर्भीय संरचनाको पहाड छ, संविधान निर्माणमा मधेश र आदीवासी जनजातिको किनारीकरण, दुईतिहाइ कम्युनिस्ट सरकारको असफलता, भ्रष्टाचार काण्ड लुकाउने, आर्थिक संकट, खोला तथा सडक मापदण्ड, सहकारी ठगीपीडित, मुक्कुमलुंगलगायत संघर्ष र बारम्बारका अनैतिक सत्ता समीकरण जस्ता कुराहरूले जनताको धैर्य तोडिएको हो ।
दुई–तिहाई बहुमतको राजनीतिक शक्तिले पनि कुशल शासन, आर्थिक समृद्धि र सामाजिक न्याय दिन असमर्थ भएकोले जनताको मनमा यो विश्वास कायम भयो कि हालको राजनीतिक प्रणाली र यसको नेतृत्व दार्शनिक रूपले दिवालिया छ । विकास र समानताको आश्वासन एक भ्रम सावित भएको छ । हाल नेपालमा उत्पन्न गम्भीर राजनीतिक संकट हुनुको पछाडी अनेक कारणहरु छन ।
१.मुख्य पुराना दलहरु (कांग्रेस, एमाले, माओवादी केन्द्र) बिचको पालैपालो साझेदारी र सत्ताको बंडबखेड तथा देउवा–प्रचण्ड–ओली बीचको म्युजिकल चेयरले ती दलभित्रै भाग नपाएकाहरुको भाडभैलो तथा हायरर्यांकमा नयाँ पुस्ताको तत्कालिन जिरो सम्भावनाले उत्पन्न परिस्थिति ।
२.वर्गीय अन्तरद्वन्द्व र व्यक्तिगत स्वतन्त्रतालाई सैद्धान्तिक आधार बनाएर खोलिएका पार्टीहरु पहिचान विरोधी भए र संसद् पार्टीगत स्वार्थ (औपनिवेशिक सिद्धान्त र सत्ता) को अखाडा बन्यो, न्यालय एवं संवैधानिक अंगहरु राजनैतिक भर्ती केन्द्र भए । विधि एवं प्रशासन सत्ताधारी दलीय स्वार्थमा हिड्न थाले । सत्ताधारीबाहेकका दल एवं दलविहिनहरुलाई दोस्रो दर्जाको नागरिक बनाएकोले उत्पन्न परिस्थिति ।
३.यहाँका शासकले आफ्नो बाहेक सबै सँस्कृतिलाई सिध्याउन्ने प्रयास गरे, असभ्य भने, विदेशी भने, अराष्ट्रिय भने, मासिन्या घोषित गरे । र एउटा मात्र भाषा, संस्कृति र पहिचानलाई राष्ट्रियताको पर्याय बनाउने उनीहरूको पुरानो मानसिकताको निरन्तरता स्वरूप २०७२ को संविधानले मधेशी, आदिवासी, जनजाति र दलितको आकांक्षालाई पूरा नगरी एकल नस्लीय÷जातीय–पारिवारिक सत्ता कब्जाको परिस्थितिबाट असन्तुष्ट एवं आन्दोलित भइरहेको कारण ।
४.२०७२ को संविधानमा उपलब्धि भनिएका गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशितालाई यति विकृत एवं कुरूप बनाएर प्रस्तुत गरियो कि यसले झन् नागरिकलाई राज्यबाट सम्बन्ध विच्छेद गराइदियो । राजतन्त्र भन्दा नि एक कदम अगाडी बढेर ‘नेपोकिड्स’ संस्कृति हावी भयो, वडादेखि राष्ट्रपतिसम्मै सबैले शक्तिको दुरुपयोग गर्न थाले । संघियतामा सिमांकन र नामाङ्कन संस्कृतिमा आधारित हुनुपथ्र्यो, सार्वभौमसत्ताको बाँडफाँट हुनुपथ्र्यो, स्थानीय सरकार समुदायिकतामा आधारित हुनुपथ्र्यो तर त्यसो नगरेर प्रदेश सरकारहरू केन्द्रमा निर्भर बनाइयो, र संघीयताप्रति जनतामा गहिरो निराशा फैलाइयो; स्थानीयदेखि प्रदेशसम्मका सरकार गलगाड़ जस्तो बनाएर झन् नागरिक टाढीयो । मानिस जब आफ्नो सत्वबाट अलग हुन्छ तब अराजक हुन्छ नै ।
५.भर्खरै चर्चित रहेको भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको देखिए पनि सत्तारुढ शीर्षस्थ नेताहरुलाई खुलमखुल्ला बचाएको, सहकारी काण्डको सन्दर्भमा पनि, ठुला सहकारी संस्थाद्वारा खरबौँ रुपियाँ अपचलन भए पनि दोषीमाथि कारबाही गर्नु सट्टा उन्मुक्ति दिने काम गरियो ।
यी सबै बेथिति विरुद्ध तथा हरेक प्रकारको विभेदको अन्त्य, सभ्यता अनुकुल शासन पद्दती र सुशासन एवं समृद्धिको निम्ति भनेरै मधेशीलगायत पहिचानवादी दल संघर्षरत छन् । शुसासन एवं समृद्धिको निम्ति कुनै न कुनै रुपमा नयाँ पुस्ता संघर्षरत थिए । राजावादी एवं हिन्दु राष्ट्रपक्षधरहरुले पनि राज्यका विरुद्ध नै थिए । त्यसैले यस एतिहासिक जेनजी क्रान्तिमा यिनीहरु सबैको पूर्ण समर्थन सहभागिता रहन गयो । विपक्षी पार्टीका नेताहरु सहभागी एवं अगुवाई गरेकै हो । यद्दपी यो विद्रोहको नेतृत्वकर्ताको श्रेय पाउन हकदार भने पूरापूरा ‘जेन–जी पुस्ता’ नै हो । ‘जेन जी’ पुस्ताले आफ्नो अहिलेसम्मको जीवनमा नेतृत्व, राज्य र सरकारबाट भ्रष्टाचार बाहेक केही सुन्न, कुशासनबाहेक केही भोग्न पाएको थिएन ।
नेपालमा लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विकास, र समाजवादका नाममा उठाइएका बहसहरू सम्भ्रान्त वर्गको झूट, फरेब, र जनतालाई झुक्याउने प्रपञ्च सावित भए । समाजमा एकता र समता सुनिश्चित गर्न नसक्नु नै देशका समस्याहरूको मूल जड हो । विभेदको उन्मुलन तथा सुशासन अहिलेको राजनैतिक विचार एवं सत्ता संरचनाबाट सम्भव नै छैन । दलित एवं मधेशको नागरिक विरुद्ध जंगली सामन्ती संस्कार झैँ ओली डक्ट्रिन (घृणा भाष्य)को प्रभावबाट मुक्त अहिलेको पुस्ता रहनु पर्छ ।
यसै कारण फ्रान्सको येलो भेस्ट आन्दोलनदेखि बेरूत, हङकङ, न्यूयोर्क, चिली, क्याटालोनिया, दिल्ली र नेपालका सडकसम्म, जनता असन्तुष्ट र आक्रोशित छन् । अधिनायकवाद, आन्तरिक उपनिवेशवाद र असमान विकासविरुद्ध नयाँ लोकतान्त्रिक लहर उठिरहेको छ । तर यो लहर अझै स्थिर हुन सकेको छैन । आन्दोलनहरू भइरहेका छन्, तर सेटलमेन्ट वा समाधान हुन सकेको छैन । त्यसैले अहिले “अनिश्चितता र भ्रमको अवस्था’’ छ । यो अवस्थाले हाम्रो समाज र राष्ट्रमा गहिरो असर पुर्याआउँदैछ ।
नेपालको राजनीति स्वदेशीय मौलिक सभ्यताबाट विमुख भई पश्चिमा ज्ञान र दर्शनमा आधारित हुँदा हाम्रो सभ्यता, मूल्य, र पहिचान कमजोर हुँदै गयो । स्वदेशीय जरा काटिएपछि नेपाली समाज परनिर्भर बन्यो, युवाहरू विदेश पलायन भए, कोहि पनि देशमा बस्न चाहेका छैनन् । तसर्थ अब अहिलेको संरचना, चेतना र समाजको पुनर्निर्माणको समय हो । मौजुदा औपनिवेशिक, जातिवादी, पूँजीवादी र उपभोक्तावादी संरचनाले राष्ट्रको राजनीतिलाई मात्र होइन, समाजको आत्मालाई पनि विकृत बनाएको छ । त्यसैले, जेनजी क्रान्तिको उपलब्धि सम्पूर्ण रूपान्तरणको निम्ति हुनुपर्दछ ।
(लेखक सन्तोष मेहता राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव हुनुहुन्छ)

तपाईको प्रतिक्रिया