–उमेश कुमार यादव
आज हरेक पार्टीमा नेतृत्व बारेमा बहस चलेको छ । युवा पुस्ताले नेतृत्व पाउनु पर्ने बहस चलेको छ । जुन स्वभाविक पनि हो । सेप्टेम्बर ८ को बिद्रोहले यसलाई सबैतिर बहस जोडदार ढंगले सतहमा ल्याएको छ । सामाजिक क्रान्ति एउटा प्रक्रिया हो, जसमा हरेक पिढीले आफ्नो दायित्व निर्वाह गर्दछ र आफ्नो उतराधिकारी पिढी तयार गरेर त्यसलाई लडाइँको बिरासत सुम्पन्छ ।
तसर्थ परिवर्तनकामी शक्तिले पिढी निर्माणको कामलाई उपेक्षा गर्दा प्रतिगामी शक्तिले यसको धेरै फाइदा उठाएका छन् । प्रगतिशील विरासतको भारी बोक्नुपर्ने पिढी नै निराशा, कुण्ठा र बलिदानको इतिहासप्रति उदासिन हुनुको कारण निवारण गर्नमा समाजवादी उद्देश्य राखेका राजनैतिक दलहरू चुकेका छन् । कम्युनिस्ट पार्टीहरुको पनि यसतर्फ खासै ध्यान न गएको र उदासीनता देखिएको स्थिति छ । दलहरु पनि कता कता अलमलमा देखिएका छन् । नयाँ पिढीको बारेमा कुनै सोच नै बनाएको जस्तो देखिन्छन् ।
पुँजीवादी संस्कृति, जाति–पाती, साम्प्रदायिकता तथा अन्धविश्वासको विषबाट मुक्त गर्दै भविष्यको नागरिकमा वैज्ञानिक सोच एवम् मानवीय संवेदना पैदा गर्नका लागि नरभक्षी पूँजीवादको चौतर्फी मानवद्रोह्री संस्कृतिबाट हाम्रो सपनाहरू, हाम्रो भविष्य, हाम्रो सन्ततीहरु (बच्चाहरु) लाई जोगाउनुपर्छ । आफ्ना सन्ततीलाई सुन्दर मनुष्य, संवेदनशिल र जिम्मेवार नागरिक बनाउन तथा पूँजीवादी समाजको बफादर नागरिक एवम् लोभ–लाभको मिसनरीको निर्जिव पार्टपूर्जा हुनबाट जोगाउन बाल साहित्य, बाल शिक्षा एवं बच्चाहरुको बिचमा साँस्कृतिक कामतर्फ खासै ध्यान पुगेको देखिदैन ।
अर्थात शिशु (बालबालिका) मोर्चाको क्षेत्रको काम प्रतिको उदासीनताले सामाजिक क्रान्ति एक निरन्तर महान दीर्घकालीन प्रक्रियाको क्रममा उतराधिकारी पुस्ता तयारीमा निरन्तर ध्यान दिन सकिएन भने त आज प्राप्त सफलता भोली र भविष्यमा गतिरोध र दिशाबिहिनताको दलदलमा भासिनबाट रोक्न सकिदैन । किनकि हाम्रो शिक्षा प्रणालीले अहिले पनि भाग्यवाद, अन्धविश्वास, धार्मिक रुढीवाद एवं कट्टरतावादको शिक्षा दिँदै आएको छ भने विभिन्न टिभी च्यानेललगायतका मिडियामार्फत नरभक्षी पूँजीवादको मानवद्रोही संस्कृतिको जहर बाल मनमस्तिष्कलाई प्रदुिषत गर्दैछ । जुन आउने दिनमा धेरै नै खतरनाक र अनियन्त्रित हुन जान्छ । शिशुहरुको नैसर्गिकता र विकासशील वैज्ञानिक दृष्टिको भ्रुण हत्या गर्दैछ । यो हत्या हाम्रो भविष्य, हाम्रो सपनाको, हाम्रो उतराधिकारीको हत्या हो । यसबाट भविष्यका कर्णधारलाई जोगाउन आवश्यक भइसकेको छ । जब बाल मस्तिष्क नै प्रदुषित हुन्छ अनि समाजवादको सपना बोकेर संघर्षरत राजनीतिक शक्ति र व्यक्तित्वहरु, त्यसमा पनि कम्युनिष्ट शक्तिहरुले यस मोर्चामा विशेष ध्यान दिनै पर्ने हुन्छ । यसलाई हामीले एउटा संवेदनशिल मोर्चाको रूपमा ग्रहण गर्न जरुरी छ भन्ने मेरो बुझाइ छ ।
माटोलाई माया गर्नेको अभाव
नयाँ पुस्तालाई समाप्त गर्ने षड्यन्त्र आजदेखि होइन, सदियौंदेखि हुँदै आइरहेका छन् । नयाँ पुस्तालाई मुलधारमा आउनका लागि आफै आन्दोलन गर्नुपर्यो । अब नयाँ पुस्ता नै नेतृत्वमा आउनुपर्छ भनि कानुन सुधार गर्नुपर्छ तर अहिलेको सरकारको नियत हेर्दा गर्ला जस्तो देखिदैन । संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान जारी भएको १० वर्ष भयो । तर, यससँग सम्बन्धित ऐन, नियम, कानुन बनाउने कामलाई किन प्राथमिकतामा राखिएन ? प्रदेशलाई अधिकार सम्पन्न बनाउन किन ध्यान दिइएन ? एकल जातीय बर्चस्व हुने गरि प्रादेशिक संरचना बनाउने, समानुपातिकको सिमा घटाउने काम भएको छ ।
त्यस्तै, पहिचानलाई ठाडै इन्कार गर्ने, उत्पीडित जातिहरुले समावेशीको आधारमा प्रतिस्पर्धामार्फत सहसचिवसम्म पुग्ने बाटो छेक्न ऐन बनाउने, कुटनैतिक क्षेत्र र अन्य राजनीतिक नियुक्तिमा एकल जातिलाई छानिछानि नियुक्ति गरि समावेशी र समानुपातिकको खिल्ली उडाउने कामले संविधानको मुल मर्ममाथि प्रहार गर्दै आउनुले नियतमा खोट रहेको देखाउँछ । आफैंले घाइते बनाएको संविधानलाई बारबारा फाउन्डेसनले कू गरेको भनि नेताहरुले स्विकार गर्ने हिम्मत गर्लान् ?
आज संवैधानिक बाध्यतात्मक परिस्थिति न भएको ठाउँमा पार्टीहरुले कतिको समावेशी मान्यतालाई आत्मसात गरेका छन् ? नीति निर्माण तहमा कति उत्पीडित समुदायको प्रतिनिधित्व गराएका छन् ? पार्टी कार्यालयहरु कतिको समावेशी छन् ? सरकारमा पुग्दा आफ्नै सचिवालयदेखि राजनैतिक नियुक्तिसम्म कतिको समावेशीलाई आत्मसात गरेका छन् ? पार्टीहरुले आफ्नो जनवर्गीय संगठनमा भातृ संगठनमा कतिको मधेसीलगायतका उत्पीडित समुदायबाट जिम्मेवारी दिएका छन्, खासगरी ठुला पार्टीहरु नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ?
संघीयताको लागि समानुपातिकको लागि जबर्जस्त पुरक आन्दोलन गरेका मुख्य दलहरु नै मधेस प्रदेशको सरकारको नेतृत्व गर्दै आएका छन् । यहाँ पनि दलितको समुचित प्रतिनिधित्व गराउन किन सकिएन ? भ्रष्टाचारको बारेमा जनस्तरबाट व्यापक प्रश्न उठे पनि किन बेवास्ता गरिए ? के हामी आफैं उभिएको धरातलमाथि जथाभावी हतियार चलाउने काम गरेनौं त ?
निर्वाचनको बेला मात्रै पार्टी, जनता, मतदाता चाहिने र त्यसपछि मनपरि गर्ने नै लोकतन्त्र बुझ्ने थिति बसाउदा के हुँदो रहेछ भन्ने कुरा राजनीतिकबाट पर गएको, बेवास्ता गरिएका २८ वर्षका युवा समुहको विद्रोहले कस्तो हुरीबतास ल्याउदो रहेछ भन्ने कुरालाई आत्मसात गर्नुपर्ने हुन्छ । भलै यी युवाको भावना र बलिदानलाई घोर दक्षिणपन्थी साम्राज्यवादी शक्तिले आगजनी, तोडफोड, सामरिक महत्वका कार्यालयहरुमा आगजनी गर्दै हाइज्याक गरेका छन् । यो कुरा तल स्थानीय सरकारसम्मका हरेक पार्टी र हरेक जनप्रतिनिधिहरुले आत्मसात अहिले पनि गरेको देख्दिन ।
आफ्नै देशका मधेसीलगायतका नागरिकलाई पराइ देख्ने र सात समुन्द्र पारका साम्राज्यवादका जुठोपुरोमा रमाएर देशलाई कमजोर पार्नेहरु देशभक्त हुन सक्दैनन् । आन्तरिक राष्ट्रिय उत्पीडनलाई ह्रदयदेखि नै आत्मसात गर्दै समतामूलक तरिकाबाट एकताको जरुरत छ । जुन कुरा लोकप्रियतावादीहरु, साम्राज्यवादका कठपुतलीहरुले गर्न सक्दैनन् । यी काम पनि संघर्षबाट खारिएर आएका दलहरू, नेताहरुले गर्न सक्ने ल्याकत राख्छन् ।
राजा महेन्द्रले कानुन फेरेर आदरणीय दुर्गानन्द झालाई फाँँसी दिए । तिनको लागि मधेसी ब्राह्मण हुनु पनि अपराध थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि मात्रै उहाँलाई र कमरेड सुर्यनाथ रान यादवलाई नेपाल सरकारले सहिद घोषणा गरेको हो । संयोगले त्यस मन्त्रीपरिषद्को सदस्यमा पार्टीले मलाई पनि पठाएको थियो ।
आज डा.संगीता मिश्रासँग गरिएको व्यवहारको मधेसले दिएको प्रतिक्रियाप्रति बेवास्ता गरिदै छ । हिजो काँङ्ग्रेसका मन्त्रीले सचिव हुनबाट रोकियो, आज राजिनामा दिन लगाएर मन्त्री हुनबाट रोके । मन्त्री हुन बारबारा फाउन्डेसनको सदस्य हुनैपर्ने बाध्यतात्मक परिस्थिति होलान् हैन र ? डा.संगीता मिश्रालाई मानसिक यातना दिने र अपमान गर्ने तिमि को हौ ? तिमीहरूलाई हामीले कर किन बुझाउने भन्ने प्रश्न गर्नुपर्ने समय कति दिन कुर्ने ?
महान जनयुद्धको क्रममा मधेसमा पनि कतिपय मानिस बिस्थापित भएका थिए । तर, तिनीहरुमध्ये एक जनाले पनि भारतमा गएर जग्गा, जमिन, घर, घडेरी किनेर उतै बसोबास गरेका उदाहरण दिन सक्छन्, यी पूर्वाग्रहीहरुले ? जबकि हाम्रो रगतको सम्बन्ध, भाषिक, साँस्कृतिक सम्बन्ध उता गहिरो छ । त्यति मात्रै होइन, खाडी मुलुकलगायतमा गएर कमाउने मधेसीले पहिलो काम त आफ्नो जन्मस्थलमा थोरै भए पनि जग्गा किनेर घर बनाउछन् । ताकि उसका सन्तानले पनि यो माटो छोड्न न परोस् ।
त्यहीँ समयमा देश छोडेर पश्चिमा मुलुकमा गएर बस्नेहरूको तथ्यांक सार्वजनिक गरियोस् । आफ्नो नेपालको घर, जग्गा सबै बेचेर अन्यत्र जानेहरूको समेत तथ्यांक सार्वजनिक गरोस् नेपाल सरकारले । देशको माटोलाई माया गर्नेहरू को रहेछन् आफैं छुट्टिन्छन् ।
अमेरिकाको नजर कम्युनिष्टमा
साम्राज्यवादी डाँका अमेरिकी शासकले सबभन्दा पहिले तपाईंको नेतृत्वमा रहेको नेपाली सर्वहाराबर्गको अग्रदस्ता हाम्रो प्यारो पार्टी नेकपा (माओवादी) र सञ्चालित महान जनयुद्धलाई आतंककारी घोषणा ग¥यो । त्यसपछि भारतीय शासकवर्गको प्रतिनिधित्व गरिरहेको भारत सरकारले आतंककारी घोषणा ग¥यो । ती दुबैले घोषणा गरिसकेपछि आफ्नो मालिकको आदेशलाई शिरोधार्य गर्दै नेपालका शासकवर्गको प्रतिनिधित्व गरिरहेको यहाँका श्री ५ को सरकारले घोषणा ग¥यो । आतंककारी घोषणा गर्नेहरु आज आफ्नै मालिकको नयाँ नोकरबाट धुलाइ खाएका छन् ।
अमेरिकी जनता र भारतीय जनता तथा ती दुबै देशको अहितमा कुनै काम न गर्दा पनि किन यहाँको सरकार भन्दा पहिला उनीहरुले आतंककारी घोषणा गरेका होलान् ? संसारको सबैभन्दा शक्तिशाली देश अमेरिका संसारको कमजोर देशहरुमध्ये एक नेपालमा सञ्चालित अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा सञ्चालित महान जनयुद्धलाई अमेरिकी हितको लागि खतरा किन घोषित ग¥यो ? त्यसपछि यहाँको वर्ग संघर्षलाई समाप्त पार्न उसले किन दमनकारी रणनीति अपनाए ?
वास्तवमा नेपालको माओवादीबाट अमेरिकालाई कुनै सामरिक खतरा छैन ।
तर, नेपालको माओवादी सफल भयो भने यसको सफलताले सारा संसार कै पूँजीवादको विरुद्धमा समाजवादी विचारको सफलताको रूपमा स्थापित हुने भयबाट अमेरिकी साम्राज्यवाद हिजो पनि त्रसित थियो र आज पनि त्रसित छ । साम्राज्यवादी देशहरुले कसरी आफ्नो जासुसी संस्था र अन्य बिधि प्रयोग गरेर विश्वको कम्युनिस्ट आन्दोलनहरुलाई समाप्त पार्ने षड्यन्त्र गरेका छन् भन्ने उदाहरण प्रशस्त छन् । जस्तो इन्डोनेसिया, फिलिपिन्स, ट्रकी, पेरु, अफगानिस्तानलगायतका थुप्रै मुलुक छन् । त्यसमा नेपाल पनि पर्छ । नेपालमा ती शक्तिले आफ्नो सम्पूर्ण शक्ति लगाइ सकेको छ ।
पूंजीवाद झन हौसिएर (भित्र भित्र आतिएर) आफ्नो पुरानो नोकरलाई अयोग्य घोषणा गरेको जस्तो छ । उसले विभिन्न संघ, संस्थामार्फत नयाँ नोकर उत्पादन गरेका छन्, विभिन्न स्वरुपमा राजनीतिक दल, राज्यसत्ताका महत्वपूर्ण अंगमा छिराएका छन् । माओवादीहरु आफ्नो संघर्षको स्वरुपलाई परिवर्तन गरे पनि आफ्नो वर्गीय धरातलबाट कटे पनि दिन प्रति दिन कमजोर हुँदै गइरहेको छ । तैपनि माओवादीलाई अमेरिकी साम्राज्यवादले हेर्ने रणनीति उहीँ पुरानो नै छ अर्थात माओवादी अर्थात कम्युनिष्टको नामो निशान मेटाउने लागेको छ ।
यस्तो विषम परिस्थितिमा यहाँसम्म आइ पुगेको अध्यक्ष प्रचण्डको नेतृत्वमा नेपाली क्रान्तिले विचारमा विकास न गरिकन, पूँजीवादसँग जित्न सक्ने गरि विचार र कार्यदिशाको स्पष्ट खाका न ल्याएसम्म फगत प्राविधिक विषयले खासै अर्थ न राख्ने कुरामा हामी स्पष्ट हुनुपर्छ । अर्थात विचारमा विकास आज अपरिहार्य छ । जसको जग महान जनयुद्धको जगमा विकास गरिएको र संश्लेशित प्रचण्ड पथ र २१ औं शताब्दीमा जनवादको विकासलाई आधार बनाउनु पर्छ ।
राज्यसताको वर्तमान चरित्र र संगठनलाई यथावत राखेर लुटको हिस्सामा हिस्सेदारी बढाउनको लागि मात्रै पार्टीको नेतृत्वमा छिनाझपटी को कुनै अर्थ छैन । मुख्य कुरा वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थामा समाजवादी क्रान्तिको लागि चाहिने विचार, कार्यदिशाको विकास हो । यहाँ हामी फसेका छौं । जसको कारणले आज देश पनि, हाम्रो पार्टी पनि जटिल मोडमा उभिएको छ । यसको लागि रुपान्तरसहित अध्यक्ष प्रचण्डको नेतृत्वमा सामुहिक ढंगले आजको चुनौतीको सामना गर्न सकिन्छ । (लेखक उमेश यादव माओवादी केन्द्रका नेता हुनहुन्छ)
तपाईको प्रतिक्रिया