भदौं २३ र २४ गते भएको आन्दोलनपछि पूर्वप्रधानन्यायधिश सुशिला कार्कीको नेतृत्वमा भदौं २७ गते सरकार गठन भयो । त्यही सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको सिफारिसमा संसद विघटन गर्यो । संसद विघटन भएपछि दलहरुबाट फरक फरक धारणा आइरहेका छन् । कुनै दलले संसद विघटनलाई समर्थन गरेको छ भने कुनै दलले त्यिसको विरोध गरेका छन् । सोही क्रममा संसद राख्ने कि नराख्ने विषयमा तराई मधेशका दलहरु पनि अन्योलमा छन् । सात दल सम्मलित संघीय लोकतान्त्रिक मोर्चाका घटक दलहरुको धारणा पनि फरक फरक फरक आइरहेको छ ।
लोकतान्त्रिक मोर्चामा आवद्ध दलका नेताहरुमध्ये कसैले संसद विघटन हुनुपर्ने भनिरहनु भएको छ भने कसैले संसद कायम राखेर बढ्नुपर्ने धारणा राख्नुभएको छ । यद्यपी लोकतान्त्रिक मोर्चाको सचिवालका संयोजक डा.शिवजी यादवले एक विज्ञप्ति जारी गरी ‘जनतामा निहित रहेको सार्वभौमसत्ता र राजकीय सत्ता, संविधान र संसदको प्रतिकुल हुने गरी गरिएको कार्य मोर्चालाई स्वीकार्य हुने छैन ।’ भन्नुभएको छ ।
तर त्यही दिन मोर्चाका एक घटक राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले एक अपिल सार्वजनिक गर्दै देशको निकासका लागि संसद विघटनको कुरालाई समर्थन गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘मौजुदा प्रतिनिधिसभा रहेसम्म आन्दोलनकारिको भावना अनुकूल अन्तरीम सरकार गठन हुने सम्भावना देख्दिन, नयाँ शासनले संवैधानिक सुधारका विषय ठहर गर्दै राज्य पुनः संरचना सम्बन्धि आयोग लगायतको सुझाव समेत ग्रहण गर्ने गरी “संविधान सुझाव सुधार आयोग’’ बनाएर संविधान पुनर्लेखन गरिनु पर्दछ ।’
संसदको औचित्य समाप्त भयो भन्दै जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफूसहित सबै सांसदहरुलाई सामूहिक राजिनामा दिन लगाउनुभयो । यद्यपी सामूहिक राजिनामा दिइसकेपछि जेन जीलाई गरेको अपिलमा उहाँले संसद बचाउने कुरा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘ राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले आठ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरुकै हातमा जाने कुराको पृष्टभूमि निर्माणको रूपमा लिएका छौं ।’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद जोगाउने कुरामा जोड दिनुभएको छ । उहाँले समाजिक सञ्जालमा लेख्नुभएको छ, ‘वर्तमान संविधानलाई संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसदलाई कायमै राख्नु पर्दछ । संसद विघटन र संविधानको खारेजी मुलुकको हितमा हुनसक्दैन ।’ तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले अहिले जे कदम चाल्दा संविधानलाई टेकेर चाल्नुपर्ने बताउनुभएको छ । अहिलेका लोकतान्त्रिक गणतन्त्र जोगाउने मुख्य कुरा हो, त्यसलाई जोगाउन संविधान अनुसार गनुपर्ने बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सुरुमै आफ्नो सबै सांसदलाई राजिनामा दिन सुझाव दिनुभएको थियो तर राजिनामा नदिँदै संसद विघटन भयो ।


तपाईको प्रतिक्रिया