हालैको जेन–जी पुस्ताको आन्दोलनले नेपाली राजनीतिक वृत्तलाई व्यापक रुपमा हल्लाएको छ । भदौं २३–२४ गते जेनजी पुस्ताले आन्दोलन गरेको थियो । सो आन्दोलनको प्रभाव अब दलभित्र पनि देखिन थालेको छ । विशेष गरी मधेश केन्द्रित दलहरूमा लामो समयदेखि एउटै व्यक्तिको नेतृत्व निरन्तर रहँदा आलोचना भइरहेको थियो । यो जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व पुस्तान्तरणको माग झन बलियो रूपमा उठ्न थालेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव २०५४ सालमा मधेशी जनअधिकार फोरम को नेतृत्वमा आउनु भएको थियो । त्यो संस्था २०६४ सालमा पार्टीमा रूपान्तरण हुँदा पनि उनी अध्यक्ष बन्नुभयो । त्यसयता संघीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टी हुँदै अहिलेको जसपा नेपालसम्म आइपुग्दा यादवकै नेतृत्व कायम छ । करिब १८ वर्षदेखि लगातार अध्यक्ष रहँदै आउनु भएका अध्यक्ष यादवको कार्यशैली र नेतृत्व प्रणालीप्रति दलभित्र समय–समयमा असन्तोष उठ्ने गरेको छ । त्यो असन्तुष्टिका कारण पटक पटक पार्टी पनि विभाजन भएको छ तर प्रत्येक पटक उहाँ पुनः अध्यक्ष पदमै रहँदै आउनु भएको छ ।
आन्दोलनपछि पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा उठ्न थालेको छ । पार्टीका महासचिव रामकुमार शर्माले त्यस्तो नेतृत्व परिवर्तनको कुरा पार्टीमा उठेको छैन, तर जसपा नेपालमा मात्र होइन, हरेक पार्टीमा रुपान्तरणको जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका अध्यक्ष अझै पार्टी चलाउन सक्षम हुनुहुन्छ, अझै दुई तीन कार्यकाल पार्टी सञ्चालन गर्न सक्षम हुनुहुन्छ तर रुपन्तरणका लागि हाम्रो अध्यक्षजी तयार हुनुहुन्छ ।’ केही पार्टीमा त अध्यक्षहरु हिडडुल गर्ने अवस्थामा पनि छैनन् तैपनि पार्टी छाड्ने तयार देखिदैन भन्दै उहाँले देशका हरेक पार्टीमा रुपान्तरणको आवश्यकता रहेको बताउनुभयो ।
महासचिव शर्माले नेतृत्व परिवर्तनको आवश्यकता अहिले सबै दलमा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिगत हैसियतमा होइन, नीतिगत रूपमा नेतृत्वको समयसीमा निर्धारण गर्नुपर्ने हो ।” पार्टीका प्रवक्ता मनिष सुमनले भन्नुभयो, “अध्यक्ष उपेन्द्र यादव क्रान्ति र आन्दोलनबाट आएका नेता हुनुहुन्छ । अहिले पनि सर्वस्वीकार्य हुनुहुन्छ । परिवर्तन गर्नुप¥यो भने त्यो महाधिवेशनमै हुनेछ ।”
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पनि २०६४ सालमा तराई–मधेश लोकतान्त्रिक पार्टी गठन गरेदेखि निरन्तर नेतृत्व सम्हाल्दै आउनु भएको छ । ८३ वर्षीय ठाकुरले यस अवधिमा पार्टी एकीकरण र विभाजनको लामो यात्रा व्यतित गर्नुभयो । राजपा नेपाल, जसपा नेपाल हुँदै अहिलेको लोसपा नेपालसम्म आइपुग्दा उहाँ नै अध्यक्षको भूमिकामा हुनुहुन्छ ।
लोसपा नेपालले १८ वर्षमा एक पटक मात्र, २०७१ सालमा महाधिवेशन गरेको थियो । त्यो महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि चर्चा भएको थियो तर महन्थ ठाकुर नै अध्यक्ष हुनुभयो । आगामी चैत ६–७ गते दोस्रो महाधिवेशन गर्न लागेको पार्टीमा पनि नेतृत्व हस्तान्तरणबारे नयाँ बहस सुरु भएको छ । तर चैत भन्दा अघि नै महाधिवेशन गर्नुपर्ने अवस्था आइपरेको छ । फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुन्छ, त्यो चुनावमा त्यो चुनावको परियोजनका लागि पार्टी दर्ता गराउनुपर्छ । पार्टी दर्ताका लागि अध्यावधिक डकुमेन्ट्सहरु दिनुपर्ने भएका हुनाले फागुनअघि नै महाधिवेशन गर्ने अवस्था आइपरेको छ । लोसपा नेपालमा पनि भित्रभित्रै रुपान्तरणको कुरा उठेपनि कोही खुलेर आउनु भएको छैन । लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले जेनजी पुस्ता आन्दोलनको म्याण्डेट अनुसार हरेक पार्टीमा रुपान्तरणको आवश्यकता देखिएको बताउनुभयो ।
लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनलले भन्नुभयो, “अब पुरानै सोच र पुरानै शैलीले पार्टी चल्दैन । सबै दलमा पुस्तान्तरण आवश्यक छ ।” उहाँका अनुसार शीर्ष नेताहरूले “सम्मानपूर्वक नेतृत्व हस्तान्तरण गर्ने” समय आइसकेको छ । महासचिव झाले पनि यस विषयमा जोड दिँदै भन्नुभयो, “नेतृत्व हस्तान्तरण केवल माग होइन, आवश्यक प्रक्रिया हो। पार्टीको विधानमै कार्यकाल र उमेर सीमा स्पष्ट हुनुपर्छ ।”
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो पनि करिब दुई दशकदेखि विभिन्न रूपका दलमा नेतृत्वमै हुनुहुन्छ । नेपाल सद्भावना पार्टीबाट छुट्टिएर उहाँले सद्भावना पार्टी गठन गर्नुभएको थियो । पछि राजपा नेपाल र लोसपा नेपाल हुँदै अहिले उनी राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष बन्नुभएको छ । ६७ वर्षीय महतोले पनि निकट भविष्यमा नेतृत्व छाड्ने संकेत देखाउनु भएको छैन । तर उहाँको पार्टीमा पनि पुस्तान्तरणको अवाज उठ्न थालेको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष डा. राजिव झाले भने, “उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोजस्ता नेताहरू आउटडेटेड भइसकेका छन्, अब दोस्रो र तेस्रो पुस्तालाई नेतृत्व दिनुपर्छ ।” उहाँका अनुसार, यदि यी नेताहरूले स्वेच्छाले नेतृत्व हस्तान्तरण गरे भने “सम्मान पनि रहन्छ,” तर यदि बाध्य भएर युवाले कब्जा गरे भने “सम्मान हराउँछ । तर सोही पार्टीका महासचिव सन्तोष मेहताले फरक मत राख्दै भन्नुभयो, “हाम्रो पार्टीको एजेण्डा जेन–जी पुस्ताको आन्दोलनसँग मेल खान्छ । अध्यक्ष राजेन्द्र महतो आफैं परिवर्तनका पक्षधर छन्, त्यसैले अहिले नेतृत्व परिवर्तन आवश्यक छैन ।”
डा. सिके राउत नेतृत्वको जनमत पार्टी नयाँ र युवा नेतृत्वमा रहेको भए पनि विवादमुक्त भने छैन। पार्टीका केही नेताहरू कारबाहीमा परेका छन्, जसले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएको देखिन्छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी र रञ्जित श्रेष्ठबीचको विवादले पार्टी विभाजनको अवस्था निम्त्याएको छ । रञ्जित श्रेष्ठले अध्यक्ष पद नछाडेपछि रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्ने तयारीमा हुनुहुन्छ ।
लोसपा नेपालका वरिष्ठ नेता अनिल कुमार झाले फेरि नेपाल सद्भावना पार्टी पुनर्गठन गर्नुभएको छ । उहाँले विगतदेखि नै सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, राजपा नेपाल हुँदै विभिन्न दलमा नेतृत्व भूमिकामा रहुनुभएको थियो । अहिले पुनः आफ्नै नेतृत्वमा नयाँ सद्भावना पार्टी अघि बढाउनु भएको छ ।
जेन–जी पुस्ताको आन्दोलनले देशको राजनीतिक संस्कृतिमै प्रश्न उठाएको छ । पुराना नेताहरूको लामो शासन र एकाधिकारप्रति असन्तोष चुलिएको छ । दलभित्रका युवा नेताहरूले स्पष्ट रूपमा “पुस्तान्तरण” को माग गर्न थालेका छन् । तर दलका शीर्ष नेताहरू अझै आफूहरू “सर्वस्वीकार्य” र “अनुभवी” भन्दै नेतृत्व हस्तान्तरणमा हिचकिचाइरहेका छन् । अब प्रश्न यही हो—नेपालका दलहरूले युवा पुस्ताको म्यान्डेट अनुसार नेतृत्व परिवर्तन गर्छन्, वा फेरि आन्दोलनको अर्को चरणको सामना गर्न बाध्य हुन्छन् ?
तपाईको प्रतिक्रिया