प्रधानमन्त्री सुशिला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले समावेशीपन नअपनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । जेन जी आन्दोलनमा सक्रिय सहभागिता जनाएका मधेशका युवापुस्तालाई सरकार गठन प्रक्रियामा बेवास्ता गरिएको भन्दै मधेशमा आक्रोश चुलिएको छ ।
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयश त्रिपाठीले प्रधानमन्त्री कार्कीलाई ध्यानाकर्षण गराउँदै भन्नुभयो, “बिगत केही समयदेखि काठमाडौं र मधेशबीचको दूरी कम हुँदै गएको थियो । तर फेरि भयावह स्थिति सिर्जना हुँदैछ कि भन्ने आशंका बढेको छ । मधेसी समुदायसँग सम्बन्ध विच्छेद भयो भने देश अध्यारो सुरुङतर्फ धकेलिन सक्छ ।” उहाँले मधेश कमजोर देखिए पनि अझै सशक्त रहेको टिप्पणी गर्नुभयो । यसैबीच भारतीय टेलिभिजन च्यानल आजतकका नेपाल संवाददाता पंकज दासले पनि सरकार समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले मधेशका युवा पुस्ताले बालुवाटारदेखि शीतल निवाससम्मका गतिविधि सूक्ष्म ढंगले नियालिरहेको बताउँदै भन्नुभयो, “नेपाल भनेको काठमाडौं मात्रै होइन भन्ने हेक्का रहोस् । ढाका टोपी र दौरा सुरुवालमै समस्या समाधान खोजियो भने पूर्वदेखि पश्चिमसम्मका मधेसी जनता फरक सोच्न बाध्य हुन्छन् ।”
दुई दिनसम्म चलेको जेन जी आन्दोलनमा मधेशका थुप्रै युवा घाइते भएका थिए । शिवजी यादव, पुरुषोत्तम यादव, बब्लु गुप्तालगायतले नेतृत्व गरेको उक्त आन्दोलनमा सिरहाका विजय चौधरीलगायतको बलिदानसमेत भएको तर अहिले उहाँहरूको खोजखबर नभएको मधेशी युवाले आरोप लगाएका छन् । मधेशी जनसंख्या देशको आधाभन्दा बढी भए पनि सरकारले एउटै समुदायलाई प्राथमिकता दिएको भन्दै असन्तोष बढेको छ । जेनजी आन्दोलन कुनै एक वर्ग वा जातिको मात्र लागि नभएको स्मरण गर्दै मधेशी युवाले प्रश्न उठाएका छन्, “त्यत्रो आन्दोलनपछि पनि राज्यका निकायमा हाम्रो सहभागिता किन सुनिश्चित भएन ?” राजनीतिक विश्लेषकहरूका अनुसार, यदि कार्की नेतृत्वको सरकारले मधेशको योगदानलाई बेवास्ता गर्न जारी राख्यो भने मधेश फेरि अर्को मोडतर्फ धकेलिने संकेत देखिन थालेका छन् ।


तपाईको प्रतिक्रिया