Khadya Bibhag

ओलीको अन्त्य मधेशबाटै हुने निश्चित छ–महासचिव शर्मा

काठमाडौँ कात्तिक २४ गते । मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको एक होटेलमा मुख्यमन्त्रीको रूपमा नियुक्त गरिएको घटनापछि जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले कडा प्रतिक्रिया दिनुभएको छ ।
उहाँले उक्त घटनालाई “संघीयता, लोकतन्त्र र परिवर्तनमाथिको षड्यन्त्रपूर्ण प्रहार” भन्दै त्यसको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाउनुभएको छ ।
महासचिव शर्माले भन्नुभएकोछ , “कुशासन र भ्रष्टाचारका नाइके, संघीयता र पहिचानका दुश्मन अधिनायकवादी शासक केपी ओलीको अहंकार र नालायकीका कारण देश आज पुनः संकटतिर धकेलिएको छ।” उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सम्झाउँदै भन्नुभयो, “त्यो आन्दोलनमा ओली सरकारले निर्दोष युवाहरूको रगतको होली खेलेको थियो। अहिले पनि त्यही अधिनायकवादी सोचले संघीयताको जननी मधेश प्रदेशमाथि बज्र प्रहार गरेको छ।”
उहाँले आरोप लगाउनु भएको छ कि भदौ महिनामा भएको ‘जेनजी बिद्रोह’ दमन गर्दा देशभर ७४ जना नागरिकको हत्या, हजारौं घाइते र उद्योग–व्यवसायमा ठूलो आर्थिक क्षति भएको थियो । शर्मा भन्नुहुन्छ, “युवाहरूको रगत सुक्न नपाउँदै, ओलीको निर्देशनमा एमालेका कार्यकर्ता रहेका सभामुख र प्रदेश प्रमुखमार्फत असंवैधानिक कदम चालेर मधेशमा बिद्रोहको आगो सल्काइयो ।”
महासचिव शर्माले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डल दुवैलाई एमालेको षड्यन्त्रमा संलग्न रहेको दाबी गर्दै भन्नुभयो, “संसार साक्षी छ, मधेश प्रदेशसभामा दुईतिहाइ सांसद एमालेबाहेकका छन्। तर बिरामीको बहानामा प्रदेश प्रमुखले चोरबाटोबाट बर्दिबासको पानस रेस्टुरेन्टमा मुख्यमन्त्रीको शपथ गराएर संविधान र संघीयताको अपमान गर्नुभयो ।”
उहाँले थप्नुभयो, “संघीयता मास्ने र राष्ट्रवादी देखिएर पुनः शक्ति आर्जन गर्ने ओलीको अन्तिम प्रयास यही हो। तर यो प्रयासको अन्त्य मधेशबाटै हुनेछ ।” अब मधेश कानुनी बाटोमा मात्र निर्भर भएर होइन, राजनीतिक आन्दोलन र सडक संघर्षबाट अघि बढ्नुपर्ने बेला आएको बताउँदै उहाँले संघीयता र लोकतन्त्रको रक्षा अब सडकमा गर्नुपर्ने बेला आएको बताउनुभयो । कुशासन र भ्रष्टाचारका प्रतीक केपी ओलीविरुद्ध परिवर्तनकारी, पहिचानवादी, लोकतान्त्रिक, समाजवादी र वामपन्थी शक्तिहरू एक हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पाप धुरीबाट कराउँछ अरे — संघीयता मास्ने र लोकतन्त्र नष्ट गर्ने ओलीको अन्त्य मधेशबाटै हुने निश्चित छ।” मधेश प्रदेशमा एमालेको नेतृत्वमा नयाँ सरकार बनेसँगै राजनीतिक अस्थिरता र विरोध प्रदर्शन तीव्र बन्दै गएको छ । विपक्षी दलहरूले उक्त कदमलाई “संविधान र संघीयताको अपमान” भन्दै आन्दोलनका तयारी सुरु गरेका छन्।
महासचिव शर्माले तीन बुँदे माग समेत अघि सार्नुभएको छ,
१.सभामुख रामचन्द्र मण्डलले आफ्नो पदको मर्यादा तोडेर एमालेको पक्षमा काम गरेको भन्दै तत्काल राजीनामा गर्नुपर्ने ।
२.प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई दुईतिहाइ सांसदको भावनाविपरीत असंवैधानिक ढंगले मुख्यमन्त्री नियुक्त गरेको आरोपमा तत्काल बर्खास्त गर्नुपर्ने ।
३. ‘रेस्टुरेन्ट मुख्यमन्त्री’ सरोज यादवलाई अलोकतान्त्रिक रूपमा नियुक्त गरिएको भन्दै मधेश प्रदेशबाट बहिष्कार गर्नुपर्ने ।

तपाईको प्रतिक्रिया