२०८१ बैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल छाडेर जनता समाजवादी पार्टी बनाउनु भएका अशोक राइको पार्टी अहिले चारैतिर छरिएका छन् । पार्टीको एउटा टुक्रा अलग भएर नेपाली कम्युनिष्ट पार्टीमा विलय भएको छ भने अन्य नेताहरुले पार्टी छाड्नु भएको छ । अरु नेताहरु पार्टी छाड्ने तरखरमा हुनुहुन्छ ।
जसपा संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा एउटा समूह अलग भएर नेपाली कम्युनिष्ट पार्टीमा विलिन भइसकेको छ । जसपाका मधेश प्रदेशका अध्यक्ष अशोक यादवले पनि पार्टीबाट राजिनामा दिइसक्नुभएको छ । उहाँका साथमा सर्लाहीका धेरैजसो नेताले पार्टी छाडि सक्नुभएको छ । चुनावसम्म अन्य नेताहरु पार्टी छाड्ने सोचमा रहेको बुझिएको छ । जसपामा रहेका मधेशी नेताहरु मधेश केन्द्रीत दलहरुसँग एकता गर्ने पक्षमा देखिनु भएको छ । तर त्यहाँ रहेका गैरमधेशी नेताहरु काँग्रेस, एमाले, नेकपासँग एकता गर्ने पक्षमा देखिनु भएको छ ।
नेकपासँग अशोक राइलाई पनि एकता गर्ने मन थियो ।
जसपाका एक नेताले भन्नुभयो, ‘नेकपासँग एकता गर्न अशोक राइले मन बनाइ सक्नुभएको थियो तर पार्टीमा मधेशी नेताहरुले विद्रोह गर्ने अवस्था देखेपछि उहाँ ब्याक हुनुभएको हो ।’ नेकपासँग एकता गर्नु थिएन भने मंसिर २ गते बसेको जसपाको कार्यकारिणी बैठकले नेकपासँग किन वार्ता गर्न पठाउनु भएको थियो भन्दै ती नेताले भन्नुभयो, ‘इस्तियाक, प्रदीपहरु विरोध गर्दा गर्दै अशोक राइले राजेन्द्र श्रेष्ठलाई नेकपासँग वार्ता गर्न पठाउनु भएको थियो, सबै कुरा फाइनल गरेर आउनु भनेर पठाउनु भएको थियो तर त्यहाँ वार्ता चलिरहँदा मधेशी नेताहरुले पार्टी फोर्दिने धम्की दिन थालेपछि अशोक राइ पछाडि हटनुभयो ।’ उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि अशोक राइको पार्टी नेकपासँग एकता नगरोस् भनि चाहनु भएको थियो । त्यसका लागि आफ्नो स्रोत साधन प्रयोग गरेर अशोक राइमाथि दबाब बढाइ रहनु भएको थियो । हुन त एमालेका अध्यक्ष ओलीले राजेन्द्र श्रेष्ठलाई रोक्ने प्रयास गर्नुभएको थियो तर सक्नु भएन ।
एकताका लागि मन बनाइ सक्नु भएका नेता राजेन्द्र श्रेष्ठले नेकपासँग गरेको वार्ता र त्यहाँ भएको सहमतिको बारेमा पनि अशोक राइले कुरा सुन्न चाहनु भएन । जब कि सहमति गर्न उहाँले नै पठाउनु भएको थियो । जसपाको एजेण्डा, पहिचान र अधिकारको मुद्दामा कुरा मिल्यो भने एकता गर्ने अशोक राइले म्याण्डेट दिएर पठाउनु भएको थियो । ती सबै विषयमा नेकपासँग राजेन्द्र श्रेष्ठले सहमति गर्नुभयो । तर सहमति भएको बारेमा जानकारी समेत पनि लिनुभएन । यहाँसम्म कि राजेन्द्र श्रेष्ठले पटक पटक कार्यकारिणी समितिको बैठक बोलाउनुस् भएका सहमतिको कुरा राख्छु भन्दा भन्दै अशोक राइल कार्यकारिणी समितिको बैठक बोलाउनु भएन । कारण थियो पार्टी फुट्ने डर कार्यकारिणी बैठक बोलाएको भए जसपा विभाजन हुने निश्चित थियो ।
जसपाको अध्यक्षमा अशोक राइ भए पनि पार्टीमा मधेशी नेताहरुको पकड रहेको छ । नेकपासँग एकता गर्ने निर्णय भएको पार्टी नै विभाजन हुने सम्भावना भइसकेको थियो । जसपाका ती नेताका अनुसार पार्टीमा महासचिव इस्तियाक राइले कार्यकारिणी समितिको बैठकमा नै जजसलाई एकिरणमा जानुछ जाओस् आफूहरु कतै पनि नजाने भन्नुभएको थियो । त्यसमा पार्टीमा सहमहासचिव प्रदीप यादवले साथ दिनुभएको थियो । उपाध्यक्ष रेणु यादवलगायत मधेशका सबै नेता नेकपासँग एकताको विपक्षमा गएपछि अशोक राइ पछाडि हट्नुभएको थियो । पार्टीका नेताहरु यताउती नहोस् भनेर अध्यक्ष राइले हतार हतारमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालसँग चुनावी तालमेल गर्नुभयो । नागरिक उन्मुक्ति पार्टी नेपालको जातो चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गर्नुभएको छ ।
संयोग पनि कस्तो जुनदिन (मंसिर ७) राजेन्द्र श्रेष्ठसहित ६ जना कार्यकारिणी सदस्यले पार्टीबाट राजिनामा दिनुभयो, त्यही दिन राजेन्द्र महतो र रेशम चौधरीको पार्टीसँग एउटै चुनाव चिन्हमा चुनावमा भाग लिने सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो । त्यसको एउटै कारण थियो, पार्टीमा रुष्ट रहेका नेताहरुलाई रोक्नु । राजेन्द्र श्रेष्ठ जसपाका नेताहरु बटुलेर मंसिर ११ गते नेकपामा विलिन हुने तयारी गरिरहेको बेला राजेन्द्र महतो, अशोक राइ र रेशम चौधर िनिर्वाचन आयोगमा एकल चुनाव चिन्हमा चुनावमा भाग लिने भनि निवेदन दर्ता पनि गराउनुभयो । राजेन्द्र श्रेष्ठ आफ्नो समूह लिएर मंसिर १० गते नेकपासँग एकता गर्ने तयारी गरिसक्नु भएको थियो तर अशोक राइले चालेको राजनीतिक दाउका कारण एकता कार्यक्रम एक दिन सारेर मंसिर ११ गते गरिएको थियो ।
नागरिक उन्मुक्ति पार्टी नेपालको जातो चुनाव चिन्हमा चुनावमा सहमति गरेको विषयमा जसपामा नेताहरु अझै सन्तुष्ट भएका छैन । यी तीन दलमध्ये सबभन्दा नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी हो । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर नागरिक उन्मुक्ति पार्टी नेपाल बनेको हो । पार्टी विभाजन भएको कारण पहिलो जस्तो रेशम चौधरीको प्रभाव पनि रहेको छैन । पश्चिम मधेशमा पहिला जस्तो प्रभाव छैन नै, पूर्वी मधेशमा त रेशम चौधरीको अवस्था जिरो नै छ । पार्टीमा भएको विवाद कारण भएका नेताहरु पनि छाड्न थालेका छन् । जातो चुनाव चिन्ह जनप्रिय पनि नरहेको भन्दै जसपामा त्यसको आलोचना भइरहेको छ । जसपाका कतिपय नेताहरु जसपा नेपालसँग एकता गर्दा नै राम्रो भन्न थाल्नुभएको छ । नभए अरु कुनै मधेश केन्द्रीत दलसँग एकता गर्न पार्टीमा दबाब परिरहेको छ । अशोक राइलाई आफ्नो पार्टी बचाउन धौधौ परिरहेको छ ।
तपाईको प्रतिक्रिया