Khadya Bibhag

सरकारले सुरु गर्यो कृषि सर्वेक्षण

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर कृषि सर्वेक्षण सुरू गरेको छ । मन्त्रालयले देशका ७५३ वटै पालिका र प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा सर्वेक्षण सुरू गरेको हो । सर्वेक्षण लिने क्रममा तथ्याङ्क दोहोरो गणना नहोस् भनेर एकद्वार प्रणालीबाट पालिकासँग समन्वय र सहकार्य गरिएको कृषि मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले बताउनुभयो । सर्वेक्षणमा कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुको तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार गणकले किसानसँग प्रत्यक्ष भेटेर कृषि सर्वेक्षण गरिरहेका छन् । नमूना विधिका माध्यमबाट सङ्कलन गरिने तथ्याङ्कमा पहिलो चरणमा छ लाख किसान छनोट गरिने छ । तीमध्येबाट ५१ हजार किसान छनोट गरी कृषि क्षेत्रमा उनीहरूको अनुभव तथा सरकारबाट प्रवाह गरिएका सेवा, सहुलियतमा लक्षित वर्गको पहुँच तथा समस्या पहिचान गरी आधिकारिक तथ्याङ्क सङ्कलन गरिनेछ । राष्ट्रिय जनगणना र कृषि गणनापछिको महत्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमका रूपमा कृषि सर्वेक्षणलाई लिइएको छ । देशभर तथ्याङ्क सङ्कलन भएपछि त्यसलाई थप अध्ययन गरी अन्तिम विवरण सार्वजनिक गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयले सर्वेक्षण तथा तथ्याङ्क सङ्कलनका लागि पालिकामा क्षमता अभिवृद्धि गर्न तालिम तथा आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । कृषि नीति तथा योजना तर्जुमा गर्न वैज्ञानिक आधार तयार पार्न तथ्याङ्क महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया