–रामरिझन यादव
वामपन्थी विचारका शैक्षिक एवं समाजिक अभियन्ता रामाषिश यादवको दोस्रो स्मृति दिवस मंसिर २७ गते उनको सम्झानामा विभिन्न कार्यक्रम गरि हामीले मनाएका छौं । उनको स्मृति दिवस मनाइ रहँदा यतिबेला उनको अभाव हामीलाई निकै खड्केको हो । म अहिले कमलापुल निर्माण अभियानमा होमिएको छु । गाउँगाउँ गएर जनतलाई सजग र सचेत गराउँदै कमलापुल निर्माणका लागि चन्दा दिनका लागि जनतालाई आह्वान गरिरहेको छु । यतिबेला रामाषिश सर भएको भए सायद यो भन्दा अझ बुझन्द अवाज निस्किन्थ्यो कि ।
यद्यपी उनी भौतिक रुपमा हामीसँग नभएपछि सम्झनामा हरहमेशा साथमा रहेको अनुभूति हुन्छ । उनले चालेका विभिन्न शैक्षिक अभियान तथा समाजिक अभियान मेरो लागि मार्गदर्शन भएको छ र स्मृति दिवसमा उनलाई सम्झिरहेको छ ।
शिक्षा र जागिर जीवन
सिरहा नगरपालिका पटहेर्बाका स्व.बुबा जगमोहन यादव र स्व.आमा द्रोपदीदेवी यादवको एक्लो सन्तान रामाषिश यादवको जन्म सन् १९५० अप्रिल ९ (२००७) मा भएको हो । तर उनको लालनपालन शिक्षादीक्षा मामाघरबाट भएको हो । धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा उनको मामाको घर छ । त्यही बसेर त्यहीको धबौली माविमा पढे उनी । २०२४ सालमा मैट्रिक (एसएलसी) पास गरेका उनी इन्टरमेडिएट भारत जयनगरको डिबी कलेजबाट गरे भने ब्याचलर भारत विहार मधुवनीको आरके कलेजबाट गरे । उनले ललितनारायण मिथिला विश्वविद्यालयबाट गणितमा एमएससी गरेका छन् ।
भारत विहारको आरके कलेजबाट बीएससी अध्ययन गरेपछि २०३३ सालदेखि शिक्षण पेसामा लागेका उनी २०६६ चैतसम्म अनवरत सो पेसामा लागि रहे । तीन वर्षजति जनकल्याण मावि गौरीपुरमा उनले अध्यापन पेसामा रहे । त्यसपछि उनी ब्रज मोहन झब्बुराम जनता मावि माडरमा पढाउन सुरु गरेका थिए । र २०६६ सालमा त्यहाँबाट अवकाश प्राप्त गरे । उनी माविको शिक्षकको रुपमा मात्र होइन, केही समय क्याम्पसहरुमा पनि पढाएका थिए । २०४८ देखि २०५१ सम्म ठाकुराम बहुमुखी क्याम्पसमा करार पदमा काम गरे भने २०५५ मा सिरहा क्याम्पसमा पनि आशिंक प्रध्यापनको रुपमा काम गरेका थिए ।
रामाषिश सर शिक्षण पेसामा भए पनि उनी राजनीति तथा समाजिक अभियानमा पनि सक्रिय थिए । २०४३ देखि २०४७ को निरकुंश पञ्चायती व्यवस्थामा उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको सिरहा अध्यक्ष थिए । सरकारी जिागिरे भएर त्यस्तो निरकुंश समयमा सांगठनिक मोर्चा सम्हाल्नु चानचुने कुरा होइन । उनको जति तारिफ गरे पनि कम हुन्छ । त्यसैले उनलाई विन्दास खालका व्यक्ति भन्छन् । जो जुनूनले भरिएको थियो । यी दुइटै शब्दलाई (विन्दास र जुनून) अथ्र्याउने हो भने यसको वृहत् अर्थ लाग्दछ । दुइटै हिन्दी शब्द हो । विन्दास शब्द मराठीबाट आएको हो । बिन+ध्वस्त= बिन्दास । बिन भनेको बिना र ध्वस्त भनेको डर । अर्थात् बिना डर र त्रास भएको व्यक्ति ! यसलाई अर्को ढंगले पनि अथ्र्याउन सकिन्छ । अंग्रेजीमा रिल्याक्सड वा केयरफ्री पनि भनिन्छ ।
डिग्री होल्डर मावि मास्टर
८० को दशकमा भारतीय अभिनेता अनिल कपूरले अभिनय गरेको फिल्म हो बिन्दास ! जसमा उनले खेलेको भूमिकालाई दाँज्ने हो भने शिक्षक, आध्यापक, सामाजिक व्यक्तित्व रामाषिश यादवको झझल्को पाइन्छ । उनी बचपनदेखि नै यस्तै स्वभावका व्यक्ति थिए । गणितको कुनै हिसाव बनाउन थालेपछि त्यसैमा लीन हुन्थे । किताव पढ्न थालेपछि पढ्दा पढ्दै सुत्थे । त्यसैले आफ्नो गाउँमा सबैभन्दा पहिले कुनै खास विधामा मास्टर डिग्री हासिल गरे र विशिष्ट व्यक्ति कहलाए ।
सामान्यतया स्कूलमा पढाउने शिक्षकलाई समाजले स्थापित गरेको थेगो हो– मास्टर ! जो अन्डर मैट्रिक, मैट्रिक पास, आईए, बिएसम्म पढेकाहरुले स्कूलमा पढाउन थालेपछि सामान ढंगले उनलाई भन्ने गरिन्छ । तर, रामाशिष सर विषयत रुपमा पनि गणितमा मास्टर डिग्री हासिल गरेका थिए । त्यसैले उनी डब्बल मास्टर थिए । सामान्यभन्दा ठूलो मास्टर ! र, भए सबै मनका धुकधुकी जसको उपस्थिति नै कुनै बैठक, भेला वा समारोहलाई गरिमा प्रदान गर्दथ्यो । म पार्टीगत राजनीतिबाट अलग भएपछि रामाशिषबाबूसंग धेरै नजिकिएको थिएँ वा उनी पनि मेरो नजिक आएका थिए । यसको मूलकारण के थियो भने उनी विद्रोही स्वभावका थिए ।
जजसले विद्रोह गरे वा गर्न साहस गरे सबैलाई उनले सघाए । चाहे रामराजा प्रसाद सिंह होस् वा जनयुद्ध, जनआन्दोलन वा मधशे जनविद्रोह वा मातृका यादवको पार्टीगत विद्रोह वा पार्टी राजनीतिबाट अलग भएपछि स्वयं मलाई नै जसरी उनले सघाए त्यसले पनि के पुष्टि गर्दछ भने उनी विद्रोही मनको रखबाला थिए । विद्रोह उनको मनमा थियो । जेहनमा थियो । त्यसैले कहिल्यै पनि कुनै किसिमको लोभ लालचमा परेन । एक शब्दमा भन्ने हो भने रामाषिश यादव वामपंथी विद्रोही थिए । जसको ध्येय सामाजिक, राजनीतिक, आर्थिक तथा साँस्कृतिक विकासको परिधिभित्र फन्को काटिरहेको हुन्थ्यो ।
राजनीतिक सक्रियता
२०३६ सालमा भएको विद्यार्थी आन्दालनको क्रममा उहाँ माविका शिक्षक भइसकेका थिए । त्यतिबेला माडरमा भएको गोलीकाण्डको साक्षी उनी थिए । त्यही बेला उनी गौरीपुर जनकल्याण माविबाट माडर स्कूलमा सरुवा भएर गएका थिए । र त्यही बेला आन्दोलनमा उनी सक्रिय भएका थिए । २०४१ मा शिक्षक आन्दोलनको क्रममा सिरहामा निकालिएको लालटेन जुलुसमा उनी सहभागी भएको कारण प्रहरीले पक्राउ गरी १५ दिनसम्म थुनामा राखेको थियो । उनी थुनामा परेपछि झन क्रान्तकारी भएर निस्केका थिए ।
जनआन्दोलनको तयारी चलिरहेको थियो । शिक्षकको नेता भएको कारण उनी आन्दोलनको तयारीमा जुटे । पंचायती व्यवस्था विरुद्ध उनले आफै र शिक्षकलाई मात्र होइन, विद्यार्थीलाई पनि आन्दोलनमा उतार्न सफल भएका थिए । शिक्षक भएको नाताले उनलाई विद्यार्थी कन्भिन्स गर्न गाह्रो थिएन । आन्दोलनको क्रममा भारतको जयनगर भागेका आन्दोलनकारीलाई आर्थिक सहयोगदेखि हरेक प्रकारको सहयोगमा उनी जुटेका थिए । २०४६ सालको जनआन्दोलन सफल भएपछि पनि उनी चुपचाप बसेनन् । २०५२ देखि माओवादीले सुरु गरेको जनयुद्धका पनि सहयोगी भए । स्मरणीय कुरा के हो भने उनी राजनीतिमा सक्रिय भए पनि कुनै पनि पार्टीको सदस्यतासम्म उनले लिएनन् ।
वामपन्थी विचारधाराका उनी हरेक पार्टी जो जनताको हितमा काम गर्थे त्यसलाई सघाउन उनी पुगि हाल्थे । जायज माग लिएर कोही आन्दोलन गर्दैछ, कतै आन्दोलन हुँदैछ भने उनी त्यसमा सहभागी हुन एक्लै भए पनि गइहाल्थे । एउटा छेउमा उभेर ताली बजाएर, हात उठाएर समर्थन जनाएर फर्किन्थे । उनी काठमाडौमा भएको मधेश आन्दोलन, आदिवासी जनजातिका आन्दोलन अथवा अधिकारका लागि भएका कुनै पनि आन्दोलनमा सहभागी हुन सिरहाबाट पुग्थे ।
जनयुद्धका शुभचिन्तक मात्र होइन, सहयोगी थिए रामाषिश सर । भूमिगत नेताहरुलाई आर्थिक सहयोग गर्नेदेखि सेल्टर दिनेसम्मका काम उनले गरेका थिए । प्रथम गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहका अनुनायी रामाषिश उनको साथमा रहेर काम गरे तर कहिले उनको पार्टीको सदस्यता लिएनन् । जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेश आन्दोलनलगायत हरेक आन्दोलनमा उनको सक्रिय सहभागिता रहन्थ्यो । मधेश आन्दोलनताका सिरहामा उनी सो आन्दोलनका हर्ताकर्ता जस्तै नै थिए । जुनबेला माओवादीबाट अलग भएर मातृका यादव छुट्टै पार्टी बनाएका थिए, त्यतिबेला सिरहामा मातृका यादवको ठुलो सहयोगीको रुपमा रामाषिशले काम गरेका थिए तर त्यो पार्टीको पनि सदस्यता उनले लिएनन् ।
त्यस्तो संघर्षशिल व्यक्तिको निधन २०८० मंसिर २७ गते भएको थियो । उनको निधनले मधेशमा धेरै ठुृलो अभाव खड्किएको छ । गत मंसिर २७ गते उनले संसार छोडेको तीन साल भयो । अर्थात् उनको दोस्रो स्मृति दिवस यही मंसिर २७ गते ब्रजमोहन झब्बूराम मावि मडरको त्यही कोठामा आयोजन गरियो जहाँ उनले विज्ञानको कक्षा लिएको कुरा मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवले आफ्नो मन्तब्यमा बताएका थिए ।
स्वाभिमानी शिक्षक
उनी विन्दास थिए भन्ने कुरा म अघि लेखिसकेको छु । उनीमा ठूलो जुनून थियो भन्ने कुरा पनि म कोट्याइसकेको छु । अर्थात कुनै डर, धाक, धम्की र त्रासबाट भयभित नहुने व्यक्ति जब कुनै उद्येश्य प्राप्तिका लागि निरन्तर संघर्षरत रहन्छन् त्यस्तो व्यक्तिलाई जुनूनले भरिएको भनेर उपमा दिइन्छ । र, प्रायः त्यस्तै प्रकारका व्यक्ति विद्रोही पनि हुने गर्छन । यस अर्थमा रामाशिष सर विद्रोही स्वभावका व्यक्ति थिए भन्ने कुरामा कुनै शंका छैन । जो कहिल्यै पनि कुनै किसिमको लोभ र लालचमा परेनन् ।
कसैले पार्न प्रयास गरे पनि असफल साबित भए । उनको शैक्षिक इतिहासलाई पल्टाउने हो भने उनी सदैव नेपाल राष्ट्रिय शिक्षक संगठनलाई साथ दिएको देखिन्छ । जो पंचायतकालदेखि नै आफ्नो पेशागत हकहितका लागिमात्र होइन, मानवीय मूल्य र मान्यतालाई मुलुकमा स्थापित गर्नु पर्छ भन्ने उद्येश्यका साथ काम गरेको पाइन्छ । पंचायती व्यवस्थाको पतनपश्चात् यो संगठनलाई कतिपय वामपंथी पार्टीहरुले आफ्नो भातृ संगठन बनाउन खोजे पनि रामाषिश सर, मातवर सर, बेचू सर, धनवीर सरजस्ता जिल्लाका वरिष्ट शिक्षक र शैक्षिक व्यक्तित्वहरुको उपस्थितिले गर्दा नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाले आफ्नो गरिमालाई कायम राख्न सफल भएको देखिन्छ ।
यसरी के देखिन्छ भने राजनीतिक चेत भएको व्यक्तिले मात्र विचार र सिद्धान्तलाई बचाएर राख्न सक्छन् । चाहे उनी जुनसुकै पेशासंग आवद्ध किन नहोस् । जोसंग त्यो चेत छैन ती व्यक्ति विभिन्न लोभ लालचमा परेर समाजलाई गलत दिशातिर धकेल्ने गर्दछन् । उदाहरणका लागि विभिन्न शैक्षिक संगठनहरुको निर्माणले के देखाउछन् भने त्यसमा लागेका व्यक्तिहरु विविध प्रकारको लोभ लालचमा परेर आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि त्यसको झण्डा समाते र अद्याबधि समातिरहेका छन् । बहुदलीय व्यवस्थाको पुनस्र्थापना हुन वित्तिकै पार्टीगत राजनीतिले शिक्षण संघसंस्थामा कार्यरत शिक्षकहरुलाई राजनीतिकरण गर्न थाल्यो ।
सैद्धान्तिक रुपमा आफ्नो पार्टी नजिक रहेका शिक्षकहरुलाई संस्थागत रुपमा पार्टीको भातृसंगठनजस्तै संगठन निर्माण गर्यो । लाग्थ्यो शिक्षकहरुले नै राजनीति हाँकिरहेका छन् । जसको सख्त विरोधी थिए रामाशिषसर । उनी पेशागत हकहितप्रति कति समर्पित थिए भन्ने कुरा अहिलेको जेनजी पुस्ताको लागि एउटा नजिर बन्न सक्दछ । त्यसैले बहुदलीय व्यवस्थाको लामो अभ्यासपश्चात् शैक्षिक संघसंस्थाहरुलाई पार्टीगत राजनीतिबाट अलग राख्नु पर्छ भन्ने मान्यता सर्वस्वीकार्य भएको छ । रामाषिश सर सही ठाउँमा थिए भन्ने कुरा अहिले तिनै राजनीतिक दलहरुलाई स्वीकारेको तथ्यबाट पुष्टि हुन्छ । तर, दुःखको कुरा के छ भने राजनीतिक दलहरुले आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि निर्माण वा गठन गरेका शैक्षिक संगठनहरु भने अहिलेसम्म खारेज गरेका छैनन् । अद्याबधि ती अस्तित्वमा छन् ।
जबसम्म यो खारेजी हुँदैन तबसम्म विशुद्ध शैक्षिक वातावरण निर्माण हुन सक्दैन भन्ने सोच रामाशिष सरको थियो । शैक्षिक आन्दोलनमा लागेका मुलुकका तमाम शिक्षकहरुले के बुझ्नु पर्छ भने रामषिश सर वा उहाँजस्तै हजारांै शिक्षक जो पंचायतकादेखि नै नेपालमा एउटा उन्नत शैक्षिक वातावरण निर्माणमा दत्तचित भएर लागेका थिए (तीमध्ये जो हामीबीच छैनन्) उनीहरुको लागि सच्चा श्रद्धान्जली यी संगठनहरुको खारेजी नै हो । त्रिभूवन विश्वविद्यालयलाई विगत चार दशकदेखि गाँजेको राजनीतिले शिक्षालाई नै तहसनहस परेपछि वर्तमान सरकारले यसलाई पार्टीगत राजनीतिविहीन बनाउने जुन उद्घोष गरेका छन् त्यो अहिलेको परिस्थितिमा समीचीन देखिन्छ । रामाशिष सर यिनै दिनको प्रतिक्षमा थिए । तर त्यो दिन देख्नुभन्दा पहिलै नै उनी सदाका लागि अस्ताए । आज दोस्रो स्मृति दिवस मनाइरहदा जेनजी पुस्ताको आन्दोलनले उनको कथनलाई भरपूर रुपमा पुष्टि गरेको छ ।
विद्रोही स्वभावका प्रतिमूर्ति
शिक्षण पेशामा रहँदा उनले देखाएको विद्रोहीपन जीवनको अन्त्यसम्म कायम रह्यो । यही नै उनको ठूलो पहिचान बन्यो । उनी धार्मिक रुपमा कवीर पंथी मतलाई मान्दथे । जो अहिलेको हिन्दू मतमा आफै एउटा विद्रोह हो । त्यतिमात्र होइन, उनको विगतलाई केलाउन हो भने आफ्नो विद्यार्थी जीवनदेखि शैक्षिककाल र त्यसपश्चात् बाँचेका जीवनमा समातेका धार र धाराबाट उनको विचार प्रष्ट रुपमा दृष्टिगोचर हुन्छ । अझ यसलाई मसिनो ढंगले व्याख्या र विश्लेषण गर्ने हो भने उनीमा प्रचूर मात्रामा विद्रोही स्वभाव रहेको देखिन्छ । २०३६ सालमा पेशागत हकहितका लागि स्थापना गरिएका शिक्षक संगठनको संरक्षण तथा सम्बद्र्धनका लागि उनले खेलेको भूमिकाले नै के देखाउछ भने उनी विद्रोही स्वभावका थिए । तत्कालीन निरंकुश पंचायती व्यवस्थाले कुनै पनि प्रकारको संघ संगठन खोल्न प्रतिबन्ध लगाएको थियो ।
यस्तो विषम र प्रतिकूल अवस्थामा २०३६ सालको खुकुलो वातावरणलाई उपयोग गर्दै मुलुकका केही सचेत शिक्षकहरुले बद्रीप्रसाद खतिवडाको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठनको निर्माण गरेका थिए । जसमा रामाशिषसरको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न । उनी स्वयं पनि सिरहा जिल्लामा त्यसको उपाध्यक्ष र अध्यक्ष भएर नेतृत्व सम्हालेका थिए । पंचायतकालमा सिरहा जिल्लाको अध्यक्ष भएका बेचू प्रसाद साह तथा उपाध्यक्ष भएका रामशिष यादवलाई तत्कालीन पंचायती सरकारले कति दुख र यातना दिएका थिए भन्ने कुरा प्रायः सबैजसो सचेत सिरहावासीलाई थाहा हुनु पर्छ । यदि उनी विद्रोही स्वभावको नभएको भए तात्कालीन अवस्थामा यसप्रकारको कार्यभार सम्हाल्नै थिएनन् । किनकि, शिक्षक संगठनको कुनै पनि पदमा आसिन हुन वित्तिकै तात्कालीन प्रशासनिक रुपमा उनी आँखाका कसिंगर बन्थे ।
मातृकार रामराजाको सहयोगी
मेरो नजरमा उनी कति विद्रोही थिए भन्ने कुराको पुष्टि गर्नका लागि शिक्षक संगठनबाहेक अन्य कैयौ उदाहरणहरु छन् । खासगरि गणतन्त्रका प्रणेता क्रान्तिकारी व्यक्तित्व रामराजा प्रसाद सिंहलाई मात्र होइन, जतिबेला मातृका प्रसाद यादवले माओवादीबाट विद्रोह गर्दा बखत उनलाई सघाउनु जस्ता कार्यले के पुष्टि गर्दछ भने उनी विद्रोही स्वभावका थिए । म पनि जतिबेला पार्टी राजनीतिबाट अलग भएपछि मलाई पनि जिल्लामा सबैभन्दा बढी साथ दिने रामषिश सर नै हुन् । यसरी के देखिन्छ भने कुनै पनि राजनीतिक दलको झोले कार्यकर्ता बन्नुभन्दा स्वतन्त्र रुपमा बस्नु र आफ्नो सुविचारको माध्यमबाट समाजलाई अग्रगति प्रदान गर्नु उनको प्रमुख ध्येय हुन्थ्यो भन्ने कुरा म स्वयं पनि अनुभव गरेको छु ।
कुनै पनि व्यक्ति आफ्नो जीवनकालमा गरेका सुकार्य अनुसार उनको मृत्युपश्चात् त्यही अनुरुप दाहसंस्कार, काजकिरिया, प्राणप्रतिष्ठा, भोजभतेर गरे त्यसलाई सही अर्थमा उनीप्रति सच्चा श्रद्धान्जली मानिन्छ । तर, हाम्रो समाज प्रायः त्यसको विपरित दिशातर्फ उन्मुख भएको पाइन्छ । जीवनकालमा आवश्यकता अनुरुप सेवा प्रदान नगर्ने तर, मृत्युपश्चात् त्यही बुबाआमाको संस्मरणमा गरिएको काजकिरिया र भोजभतेरमा लाखौलाख खर्च गर्ने परम्पराले समाजलाई विकृत बनाएको छ । झन् थेग्नै नसकिने बनाएको छ । ऋण बोकाउने बनाएको छ । यस अर्थमा रामाषिश सरका सन्तान सवर्था भिन्न देखिए ।
कुशल दुई छोरा
उनीहरुले जसरी आफ्नो बुबालाई सेवा प्रदान गरेका छन् त्यो अपवाद हो । सम्भवतः सिरहा जिल्लामा नै नमूना हो । यसको बारेमा जति वखान गरे कम हुन्छ । दुइटै चिकित्सक संतान साधुवादका पात्र हुन् । तर, समाज डा.कृष्णकुमार यादव र डा.रामकुमार यादव जस्तो छैन । डा.कृष्णकुमार यादव र डा.रामकुमार यादव रामाषिशका छोरा हुन् । बुबा शिक्षक भएकोले उनीहरुले स्थापना गरेका रामाषिश स्मृति प्रतिष्ठानले विगत दुई वर्षमा जनकपुरदेखि सिरहासम्म जे जे काम गरेका छन् ती सबै समाजको लागि अनुकरणीय छन् । आफू दुबै दाजूभाई चिकित्सक भएकोले सबैभन्दा पहिले बुबाले शिक्षण गरेको स्कूलमा नै यस्तो हेल्थ शिविर लगाए कि जो सिरहा जिल्लाकै इतिहासमा नमूना साबित भयो ।
त्यसपछि बुबाको नाममा जनकपुर र सिरहामा लोकसेवा र शिक्षक सेवाको कोचिङग, गाउँमा बालबालिकाहरुको लागि ट्यूसन तथा सिरहामा क्याम्पस संचालन गर्नेजस्ता कार्यले के देखाउछ भने रामाषिशबाबूले आफ्ना बालबच्चालाई सही शिक्षा दिएर बिते, जो प्रत्येक पिताले अनुसरण गर्नु पर्छ । शिक्षकले त गर्नै पर्छ ।
तर दुःखका साथ भन्नु पर्ने हुन्छ सामाजिक रुपमा खासगरि पढेलेखेका सचेत व्यक्तिहरुको मधेशी समाजमा जुन भूमिका हुनु पर्ने हो त्यो सर्वथा गौन भएको देखिन्छ । यसले गर्दा समाजमा राजनीतिक परिबर्तन भए पनि सामाजिक रुपान्तरण दिनप्रतिदिन कठीन हुँदै गैरहेका छन् । रामाशिष सर वैचारिक रुपमा वामपंथी थिए । एउटा वामपंथी विचार वोकेको व्यक्ति धार्मिक रुपमा कट्टर मानिदैन । त्यसैले उनी आफ्नो विचार अनुकूल कवीरपंथ मतलाई आत्मसात गरेका थिए जो आफैमा एउटा सर्वस्वीकार प्रगतिशील धार हो । उनको दाहसंसकार पनि दुइटै विचारको आधारमा भयो । यस भेकका सबैभन्दा विद्वान कविरपन्थका अनुयायी सत्यनारायण आलोकले मन्त्र उच्चारण गर्दै दाहसंसकार गराएका थिए । तर, त्यसपश्चात् उनीहरुको सहभागिता न्यून देखियो ।
ब्राह्मणवादीको विरोध
जसले गर्दा कर्मकाण्डी सोचले अधिपत्य जमाउन सफल भए । यद्यपि आफ्नो जीवनकालमा नै रामाषिश सरले ब्राह्मणवादलाई विरोध गर्दै पुरोहितको सन्दर्भमा केही सुधारात्मक भूमिका चालेका थिए । जसलाई उनका संतान तथा परिवारजनले बाखुबी अनुसरण गरेको देखिन्छ । तर, जतिसुकै अग्रगामी सोच अंगाले पनि समष्टिगत रुपमा स्वामी विवेकानन्दको विचारविरुद्ध नै कर्मकाण्डी सोच हावी भएको देखियो । जसमा सुधार हुनु आवश्यक देखिन्छ । र, यही सुधारात्मक सोच नै रामाशिष सरप्रति सच्चा श्रद्धान्जली हुनेछ ।
तपाईको प्रतिक्रिया