Khadya Bibhag

सरकारले तोक्यो उखुको मूल्य

सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२÷०८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपियाँ निर्धारण गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँ अनुदान रकम उपलब्ध गराउने निर्णय भएको छ । गत वर्ष सरकारले कटौती गरेको उखुको प्रतिक्विन्टल ३५ रुपियाँ भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म किसानले त्यो रकम पाउन सकेका छैनन् ।
किसानले ६५५ रुपियाँ लागतमा उखु खेती गर्दा ६२० रुपियाँ प्रतिक्विन्टल मूल्य पाएको गुनासो गर्दै आउनु भएको थियो । तर, सरकारले अहिले पनि पुरानै भाउ निर्धारण गरेको छ । मंसिर ९ गते कृषिमन्त्री डा. मदन परियारलाई किसानले १३ मंसिरभित्र उखुको मूल्य तोक्न अल्टिमेटम दिएका थिए । सोही अल्टिमेटम लगत्तै किसान र मन्त्रालयबीच वार्ता भएको थियो । विगतमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले उखु खेतीमा अनुदान दिँदै आएको थियो । तर, खर्च अभाव कारण देखाउँदै सरकारले दिँदै आएको अनुदानमा ५० प्रतिशतले कटौती गरेको थियो । किसानले कटौती गरिएको उक्त अनुदान रकम उपलब्ध गराउनुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया