कृषि तथा वन विज्ञान विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा यस वर्ष विद्यार्थी भर्ना अत्यन्त न्यून देखिएको छ । कृषि पढ्ने विद्यार्थीको सँख्या कम देखिएको कारण कतिपय कलेज बन्द हुने अवस्थामा पुगेको छ । विश्वविद्यालयको कृषि संकायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । तर पछिल्ला वर्षमा क्रमशः घट्दै गएका छन् । कतिपय क्याप्समा विद्यार्थी शुन्य अवस्थामा पुगेको छ ।
प्राकृतिक स्रोत व्यवस्थापन कलेज, माडीचौरमा यसवर्ष भर्ना सँख्या शुन्य रहेको छ भने प्राकृतिक स्रोत व्यवस्थापन कलेज, खजुरा बाँकेमा ७ जना विद्यार्थी मात्र भर्ना भएका छन् । विश्वविद्यालयले हरेक क्याम्पसका लागि ५४ कोटा तोकेको छ । विश्वविद्यालयले हरेक आङ्गिक क्याम्पसका लागि २० वटा विशेष छात्रवृत्ती कोटा उपलब्ध गराउने गरेको छ तर यो सुविधा लिनका लागि विद्यार्थी तयार नै भएनन् । जसको उदाहरण लुम्बिनीका दुई आगिंक क्याम्पस बनेका छन् ।
प्राकृतिक स्रोत व्यवस्थापन कलेज, माडीचौरका क्याम्पस प्रमुख जीवन रिजाल क्षेत्रीले शैक्षिक वर्ष २०८२ मा विद्यार्थी भर्ना शून्य रहेको जानकारी दिनुभयो । आफ्नो कलेज दुर्गम क्षेत्रमा पर्ने र विद्यार्थीहरू विदेशिन जाने प्रवृत्तिका कारण भर्ना दर शून्य भएको बताउनुभयो । “कोटा पुरा नभए पनि अघिल्ला वर्षहरुमा विद्यार्थी भर्नादर सन्तोषजनक नै थियो । यस वर्ष भर्नादर शून्यमा झर्याे । विश्वविद्यालयले उपलब्ध गराएको २० वटा छात्रवृत्ति कोटा पनि यस वर्ष खाली नै छ”, क्याम्पस प्रमुख क्षेत्रीले भन्नुभयो । माडीचौर क्याम्पसमा सुरुको वर्षका ४७ जना विद्यार्थी स्नातक पूरा गरिसकेका छन् । दोस्रो व्याचका ४१ जना रिजल्टको पर्खाइमा छन् ।
तेस्रो व्याचका ३४ जना इन्टर्नशिपमा जाने तयारीमा छन् भने चौथो व्याचका २१ र पाँचौं व्याचका ३७ जना विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ । उता खजुरास्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा अघिल्ला वर्षहरूमा भर्ना सामान्य भए पनि यस वर्ष विद्यार्थी संख्या अत्यन्त घटेको कलेजले जनाएको छ । कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने प्रवृत्तिले पनि स्थानीय क्याम्पसमा विद्यार्थी घट्ने मुख्य कारण बनेको छ । गत वर्ष करिब चार हजार ५०० विद्यार्थीले कृषि विषय अध्ययनका लागि प्रवेश परीक्षा दिएका थिए भने यस वर्ष १५ सय जना विद्यार्थी मात्र सहभागी भएका थिए । जसमा उत्तीर्ण सँख्या न्यून रहँदा पनि भर्नादर घटेको विश्वविद्यालयले जनाएको छ । यसमा त्यति सत्यता भने छैन किनकि उत्तीर्ण सबै विद्यार्थी पनि कलेजमा भर्ना हुन आएनन् । प्रवेश परिक्षामा ७६१ जना उत्तीर्ण भए पनि ४२० जना मात्र भर्ना हुन आएका छन् ।
किन घट्दैछन् विद्यार्थी ?
नेपालमा कृषि विषयमा विद्यार्थीको संख्या घट्नुका पछाडि धेरै कारण रहेका छन् । प्रमुख रूपमा कृषि व्यवसायका लागि अनुकूल वातावरण नहुँदा युवाको आकर्षण घटेको हो । देशमा कृषि उद्यमी बन्ने नीति त बनेका छन् तर व्यवहारमा लागू भएका छैनन् । व्यावसायिक रूपमा कृषिलाई अगाडि बढाउन वित्तीय पहुँच नहुँदा युवाहरू यस क्षेत्रमा भविष्य देख्दैनन् । सरकारले कृषि र पशुपालनका लागि छुट्याएको अनुदान बैंकहरूले सहज रूपमा नदिएकाले पनि समस्या थपिएको छ ।
विश्लेषकहरूले चेतावनी दिएका छन् कि, लुम्बिनी प्रदेशका यी दुई आङ्गिक क्याम्पस र विश्वविद्यालयका अन्य क्याम्पसले निरन्तर घट्दो भर्ना दरका कारण शैक्षिक अस्तित्व संकट भोग्न सक्ने खतरा बढेको छ । विशेषज्ञहरूका अनुसार, ७५३ वटै स्थानीय तहमा युवा लक्षित नीति बनाएर कृषिको उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम ल्याएमा विद्यार्थीहरूको रुचि पुनः जाग्नसक्छ । रोजगार र आत्मनिर्भर व्यवसायको वातावरण सिर्जना गर्न सकिएमा कृषितर्फको आकर्षण दीर्घकालीन रूपमा बढ्न सक्छ ।
तपाईको प्रतिक्रिया