Khadya Bibhag

मधेशमा जे भयो त्यो ओलीको निर्देशनमा भयो

–डा.राजिव झा
–उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी नेपाल
मधेश प्रदेशको राजनीति अहिले उथलपुथलमा चलिरहेको छ । मिरमिरे विहान एउटा कटेजमा गएर मुख्यमन्त्रीलाई सपथ गराइएको छ । विश्वासको मत लिने बेला माओवादीका दुई जना सांसदले मत नदिने भन्नुभयो । त्यसमध्ये एक जनाले त आफ्नो अनुहारमा कालोमोसो नै दल्नुभयो । संसदबाट जनमत पार्टीका दुई जना सांसद गायब हुनुभयो । विश्वासको मत लिने प्रकृया अलिकति बढाउन माग गर्दा गर्दै सभामुख रामचन्द्र मण्डलले जवर्जस्ती त्यसलाई अगाडि बढाउनुभयो । विश्वासको मत अगाडि बढाउन थालेपछि जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजिनामा दिनुभयो । यसले त्यहाँको राजनीति झन अन्योल भयो । मधेश भवनमा सात दलले आन्दोलन सुरु भयो । यस्तो किन भयो, यसको दोषी को हुन् लगायतका विषयमा जनकपुरमा रहनु भएका समाजसेवी एवं राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष डा.राजिव झासँग गरिएको कुराकानीको सम्पादीत अंशः

मधेश प्रदेशमा अहिले राजनीति रुपमा जे भइरहेको छ, त्यसलाई तपाईले कसरी लिनुभएको छ ?
–अहिले मधेश प्रदेशमा जे भइरहेको छ, त्यो एमालेको दम्भका कारण भइरहेको छ । लाग्छ अहिले पनि एमालेको दम्भ, केपी ओलीजीको दम्भ खतम भएको छैन । यत्रो ठुलो आन्दोलन भयो । आन्दोलनबाट देशमा परिवर्तन चाहेको थियो तर लाग्छ अहिले पनि त्यो परिवर्तन केपी ओलीजीको कब्जामा छ । एमालेका कार्यकर्ता तथा नेताहरुले यो देशमा परिवर्तन होस् भनि नचाहेको प्रष्ट देखिन्छ । देशमा लोकतन्त्रको लागि भएको संघर्ष, त्यसअघि भएको माओवादीको जनयुद्ध, त्यसपछि भएको मधेश विद्रोहमा एमाले खासगरि केपी ओलीको बाधा व्यवधान रहेको देखिन्छ । जेनजी आन्दोलनपछि मधेश प्रदेशमा एमालेका नेता तथा कार्यकर्ताले जे काण्डहरु गरेका छ्न त्यसले पुष्टि हुन्छ कि एमालेले परिवर्तन चाहेको छैन ।

कुनै पनि प्रदेशका प्रदेश प्रमुख भनेको त्यो प्रदेशको अभिभावक हुन्छ तर एमालेबाट प्रदेश प्रमुख बनेका सुमित्रा भण्डारीले जुन नाङ्गो नाच देखाउनु भयो । त्यो एकदमै खेदजनक छ । र, त्यो काम सुमित्रा भण्डारी र सभामुख रामचन्द्र मण्डलले आफ्नो मनले पक्कै गर्नुभएको छैन । त्यसमा केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशन रहेको प्रष्ट देख्न सकिन्छ । प्रदेश प्रमुखले औषधि उपचार गर्न जान्छु, श्वास प्रश्वासमा समस्या भयो भनि विहान ४ बजे त्यहाँबाट निस्किनुभयो । मुख्यमन्त्री जितेन्द्र सोनलले आफै फूलको गुच्छा दिएर विदाइ गर्नुभयो । नेता कार्यकर्ताहरुले उहाँलाई निस्किन दिइरहनु भएको थिएन तर मुख्यमन्त्री सोनलजी आफैं रोडमा आएर ‘ए तपाईंहरू हट्नुहोस्, तपाईंहरू निस्किनुहोस्, तपाईंहरू हट्नुभएन उहाँ आउनुहुन्न, उहाँ महिला मान्छे हो, विरामी पनि हो, हाम्रो प्रदेशको अभिभावक पनि हो, उहाँलाई चाहिँ जान दिनुपर्छ’ सबैलाई बाहिर निकालेर प्रदेश प्रमुखलाई उपचारका लागि पठाउनु भयो । अभिभावक जस्तो प्रदेश प्रमुखले यसरी छापामार शैलीमा कुनै कटेजमा लगेर सपथग्रहण गराउनु शर्मनाक विषय हो । हामीलाई पनि लज्जाबोध भइरहेको छ । मधेश प्रदेशको राजनीतिकर्मी हुँ भनि मुख देखाउन लाज लागि रहेको छ । यसबाट इतिहासले प्रदेश प्रमुखलाई कलंकित बनाएको छ ।

तपाईको विचारमा यी सबै खेल एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भएको हो त ?
–हो, हन्ड्रेड प्रतिशत । ओलीजीको डाइरेक्ट निर्देशनमा यी सबै राजनीति खेल भएको हो । उहाँले देशमा परिवर्तन हुन दिनुभएको छैन । मधेशमा मधेशवादी दलहरु मिलेर बसुन्, त्यहाँ पनि केही होस् भनि उहाँले चाहनु भएको छैन । उहाँले उथलपुथल चाहनु भएको छ र त्यो उथलपुथलबाट फाइदा लिन खोज्नु भएको छ । यदि मधेशमा एमालेका अध्यक्ष अ‍ोलीले उथलपुथल नगराएको भए उहाँका पार्टीका सरोज यादव मुख्यमन्त्री बन्नुहुन्थेन । त्यहाँको एमालेका कार्यकर्ता, एमालेकै प्रमुख सचेतकको पनि बयान (प्रतिकृया) आयो, कि हामीलाई थाहै छैन ।’ केन्द्रबाट सिधै सभामुख, प्रदेश प्रमुखलाई निर्देशन आएको छ । मधेशका कुनै पनि सिनियर नेतालाई ओलीको निर्देशन बारेमा थाह छैन । सबै आश्चर्यमा परेका छन् कि मधेशमा एमालेले गर्न के खोजेको हो । तर ओलीजीले ठाडै निर्देशन दिएर प्रदेशसभामा भाँडभैलो मचाएर, मुख्यमन्त्री सरोज यादवलाई छापामार शैलीमा सपथ ग्रहण गराउनुभयो । यो लुकेको कुरा होइन, ध्रुवसत्य भइसकेको छ ।

जेजसरी मुख्यमन्त्री बनेपनि एउटा मधेशकै मान्छे मुख्यमन्त्री बन्नुभएको छ, तपाईकै साथी बन्नुभएको छ, मधेशकै छोरा बन्नुभएको छ यसमा तपाईहरुको टाउको दुखाइ किन त ?
–मधेशी भएर मात्र हुँदैन, मधेशी सोच र चिन्तन पनि हुनुपर्छ । गिरिजाप्रसाद कोइराला, बीपी कोइराला, सुशिल कोइराला, कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, इश्वर पोखरेल, केपी अ‍ोलीलगायतका नेताहरु पनि आफूलाई मधेशी नै भन्नुहुन्छ । मधेशमा घर भएको, मधेशबाट चुनाव जितेको भनि आफू पनि मधेशी नै हो भन्नुहुन्छ । नेकपाका संयोजक प्रचण्डले मधेशसँग लभ नै परेको, बन्दुक चलाउन मधेशबाट नै सिकेको भन्नुहुन्छ । मधेशी देखाउनका लागि नेताहरु बेलाबेला कुर्ता पाइजामा लगाएर, गम्छा भिरेर मधेश जानुहुन्छ । उहाँहरु ढोङ्गी हुनुहुन्छ । मधेशी जनतालाई मुर्ख बनाउनु हुन्छ । केपी अ‍ोली, माधवकुमार नेपालभन्दा कम हुनुहुन्न सरोज यादव र रामचन्द्र मण्डलहरु । मधेशी भएर मात्र हुँदैन, सोच पनि त्यस्तै हुनुपर्छ । एकल जात, एकल भेषभूषा, एउटा कसैको निर्देशन मान्ने, मालिक र नोकर पाराको त्यो मानसिकता भएको मान्छे मधेशी हुनसक्दैन । त्यसैले उहाँलाई उहाँकै पार्टीको नेताहरुले पनि विभिन्न आरोप लगाउनुभएको छ । उहाँ यसअघि भौतिक मन्त्री हुँदा कमिशन लिएर योजनाको चिठी बाँड्नु भएको थियो । उहाँ मधेशमा गन्हाइसक्नु भएको छ र अनि तपाई कसरी उहाँलाई मधेशी भन्नुहुन्छ ।

सरोज यादव मुख्यमन्त्री बन्दा मधेशलाई के घाटा भयो त ?
–पहिलो कुरा त उहाँ जुन बाटोबाट मुख्यमन्त्री बन्नुभयो । त्यो नै गलत थियो । कानुन पनि मिलेन, तरिका पनि मिलेन । उहाँ जसरी मुख्यमन्त्री बन्नुभयो । त्यसले त्यहाँ रहेका सम्पूर्ण सांसद र नेताहरुको अपमान हो । सम्पूर्ण सांसदमाथि अन्याय भएको छ । म पनि अपमानित महसुश गरिरहेको छु । सारा मधेशको शिर निहुरिएको छ । मलाई लाग्छ सरोज यादवजी पनि भित्रदेखि ग्लानी महसुस गरिरहनु भएको होला । केन्द्रीय कार्यालयमा बसेको बैठकमा पनि अधिकाँश नेताले सरोज यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । उहाँको यो कर्तुतको कारण प्रदेश प्रमुखको पद गइसकेको छ । सभामुखको पनि जानेबाला छ । मुख्यमन्त्री सरोज यादवजीको पद पनि जान्छ । सर्वोच्चमा मुद्दा परेको छ । त्यसको फैसला चाँडै आउनेबाला छ । फैसला नगरेपनि विश्वासको मत उहाँ पाउनु हुन्न । अर्थात एउटा घटनाले गर्दा एमालेको सबै पद मधेश प्रदेशबाट गयो । घाटा मधेशलाई मात्र होइन, एमालेलाई पनि भएको छ । एमालेको गतिविधिले संघीयतामा असर गरेको छ । मधेश संघीयता विरोधी हो, भनि सन्देश गएको छ । एमालेको कारण मधेश र मधेशीमाथि प्रश्न उठेको छ ।

एमालेको मुख्यमन्त्री बनेपछि संघीयतामाथि कसरी असर पर्यो ?
–एमालेको गतिविधि नै संघीयता विरोधी हो । एमालेले संघीयता चाहेको छैन भने कुरा धेरै पहिला स्पष्ट भइसकेको छ । पटक पटक संसद विघटन गराउन प्रयास गर्नु, संसद बन्ने विभिन्न कानुनको विरोध गर्नु, मधेशी, आदिवासी जनजातिलाई होच्याउनु जस्ता कार्यले गर्दा एमाले संघीयता विरोधी हो भनि पुष्टि भएको छ । अहिले मधेश प्रदेशमा जे भएको छ, त्यसले देशैभरि नराम्रो सन्देश गएको छ । प्रदेशप्रति नकारात्मक टिप्पणीहरु भइरहेका छन् । देशमा संघीयता समाप्त भयो भने मधेशबाट नै हुन्छ भनि कुरा जनताले भन्न थालेका छन् । तर त्यसको पूर्ण दोषी एमाले नै हो । संघीयता कसैले दिएर आएको होइन, त्यसका लागि धेरै जनाले बलिदानी दिएका छन् । यो देशमा संघीयता मधेशी जनताकै कारण आएको हो ।

मधेशी जनताले आन्दोलन नगरेको यो देशमा संघीयता आउने थिएन । अहिलेसम्म मधेशकै कारण संघीयता जोगिएको छ । संघीयतालाई अझै बलियो बनाउने आवश्यकता छ । संविधान संशोधन गरेर संघीयतालाई अझै बलियो बनाउनुपर्छ । देशमा एकात्मक शासन चाहनेहरू, एकल राज्य व्यवस्थामा एकै वर्गको, एकै समुदायको वर्चस्व कायम राख्नका लागि मधेशको बारेमा गलत भ्रम फैलाउने काम भइरहेको छ । प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ । सेना, परराष्ट्र, मुद्रा यो केन्द्रमा राखेर बाँकी अधिकार प्रदेशलाई दिनुपर्छ भनि हामीले अवाज उठाइ रहेका छौं । त्यसका लागि हामीले संघर्ष गरिरहेका छौं ।

मधेश प्रदेशको राजनीति खल्बलिएको बेला त्यहीबाट स्वायत्तताको कुरा पनि उठेको हो, स्वयत्तता मधेशलाई मात्र चाहिएको छ अरु प्रदेशलाई पनि आवश्यक छ, तपाईको बुझाई के हो ?
–सात वटै प्रदेश पहिचानसहितको स्वयत्तता प्राप्त गर्नुपर्छ । सबै प्रदेशलाई स्वयत्तता प्रदान गर्नुपर्छ । सबैले आफ्नो भाषा, आफ्नो पहिचान, आफ्नो सभ्यता, आफ्नो संस्कृतिको विकास होस् भनि चाहेको हो । सबैले आआफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ । तर जसको पहिचान यो देशमा स्थापित हुन पाइरहेको छैन । जसको सभ्यता संस्कृतिलाई मासिरहेको छ, त्यसलाई स्वयत्तताको बढी आवश्यकता हुन्छ । मधेशमाथि औपनिवेशिक लादिएको छ, त्यहाँ विभिन्न खालको शोषण छ, मधेशप्रति विभिन्न खालको पूर्वाग्रही सोच छ । यो राज्यको हेर्ने दृष्टि बागमती प्रदेशमाथि छ त्यस्तो मधेशप्रति छैन । जस्तो कोशीप्रति छ, त्यस्तो मधेशप्रति छैन । जस्तो सुदुरप्रति छ त्यस्तो मधेश प्रदेश छैन । त्यसैले त्यहाँ स्वशासन र स्वायत्त मधेश प्रदेशको कुरा उठि रहेको हो ।

यो आज मात्र होइन, मधेश आन्दोलन सुरु हुँदा एउटा माग यो पनि थियो । र, सरकारसँग सम्झौता हुँदा स्वायत्त प्रदेश दिने भनि हस्ताक्षर पनि भएको छ । कुरा कहाँ बिग्रेको छ भने स्वायत्ततालाई आत्मनिर्णयको अधिकारसँग जोडेर हेरेको छ । आत्मनिर्णयको अधिकारलाई बिखण्डनसँग जोडेर हेरेको छ । स्वयत्ता र आत्मनिर्णयको अधिकारले देश टुक्रिदैन झन बलियो हुन्छ भने कुरा धेरैले बुझेको छैन ।

त्यो पनि चाहिँ एकल नश्लीय सोच र चिन्तन भएका व्यक्तिहरूले यस प्रकारको भ्रम सिर्जना गरेका छन् । सेना केन्द्रसँग रहन्छ, परराष्ट्र केन्द्रसँग रहन्छ, मुद्रा केन्द्रसँग रहन्छ । त्यो बाहेकको निर्णय लिन सक्छ । म देशबाट छुटिन्छु, त्यसको लागि स्वायत्तता र आत्मनिर्णयको अधिकार चाहिन्छ भने होइन । पछिल्लो समय स्वायत्तता चाहिन्छ भनि अभिव्यक्ति डा.सिके राउतले दिनुभएको छ । विगतमा उहाँ अलग मधेशका लागि आन्दोलन गर्नुभएको थियो । अहिले पनि अभिव्यक्ति दिँदा त्यस्तै त्यस्तै शैलीमा दिनुहुन्छ । त्यही भएर विभिन्न शंका उपशंका उब्जिएको हो । देश टुक्राउन कुनै पनि मधेशी जनताले चाहेको छैन । यो देशलाई मधेशीको भन्दा अरु कसैले माया गरेको छैन ।

तपाईहरुले गठन गर्नुभएको संघीय लोकतान्त्रिक मोर्चाले के गरिरहेको छ ?
–लोकतान्त्रिक मोर्चा आफ्नो काम गरिरहेको छ । मोर्चामा रहेका दलहरु एक साथ चुनावमा जाने घोषणा गरेको छ । यसपटकको चुनावमा कुनै नकुनै रुपमा दलहरु एकसाथ चुनाव लड्ने मुड बनाइ सकेका छन् । मोर्चामा अन्य पहिचानवादी शक्तिहरुलाई ल्याउने प्रयास भइरहेको छ । मोर्चामा रहेका दलहरु भित्रै पनि कुनै कुनै दलहरुले एकता गर्न चाहे गर्नसक्छन् । कुनै दलले चुनावी तालमेल गर्न चाहे गर्न सक्छन् । कुनै दलको बिचमा एउटै चुनाव चिन्हमा चुनावमा भाग लिने कुरा मिल्यो भने अगाडि बढ्न सक्छ । जस्तै अहिले हामीहरु तीन दलहरु राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबिच एउटै चुनाव चिन्ह लिएर चुनावमा भाग लिने सहमति भइसकेको छ । निर्वाचन आयोगबाट त्यसको मान्यता लिन मात्र बाँकी छ । यसरी अरु दलहरुसँग पनि तालमेल गर्न सकिन्छ ।

मधेशवादी दलहरु एक साथ चुनाव लड्ने भन्नुभयो, त्यो पार्टी एकता गरेर हुन्छ कि चुनावी तालमेल गरेर हुन्छ ?
–केही दलको बिचमा एकताको कुरा चलिरहेको छ भने केही दल चुनावी तालमेल गर्ने गरि गृहकार्य गरिरहेका छन् भने एउटै चुनाव चिन्हमा पनि चुनाव लड्ने सहमति भएको छ । अर्थात जुन दललाई जे सजिलो हुन्छ त्यही गर्छन् । तर मोर्चामा रहेका दलहरु एक साथ रहन्छन् ।

कुन–कुन दलहरूबीच एकीकरण हुन्छ ?
–तपाईंले जुन दललाई मधेशवादी दल भन्नुभयो, त्यो दलहरू बिचमा चाहिँ सघन रूपमा कुरा हुँदैछ । संघीय मोर्चामा आबद्ध सबै दलबीच यदि अहिले एकीकरण हुन सकेन भने पनि हामी सबै दल एउटै चुनाव चिन्हमा यो आउँदो चुनावमा सहभागी हुन्छौं । जसपा नेपाल, लोसपा नेपालबिच एकताको कुरा सुन्दैछौं । उता, हाम्रो पार्टी र जसपाबिच एकताको कुरा पनि अगाडि बढेको छ । यस्तै दलहरुको बिचमा एकताका लागि कुराकानी चलिरहेको छ

तपाईको प्रतिक्रिया