मधेशमा उठेको रास्वपाको लहरः उत्साह, असन्तुष्टि र संगठनको परीक्षा
१५ फाल्गुन २०८२, शुक्रबार १०:५४
काठमाडौँ फागुन १५ गते । तराई–मधेशको राजनीतिक माहोल फेरि तातेको छ। चोक–चौराहादेखि चिया पसलसम्म एउटै नाम घुमिरहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । छोटो समयमा नै चर्चा र चासोको केन्द्र बनेको यो पार्टीले मधेशमा नयाँ आशा जगाए पनि, त्यो आशा अन्तिम मतपेटिकासम्म टिक्छ कि टिक्दैन भन्ने प्रश्न झन् बलियो बन्दै गएको छ ।
फागुनको सुरुवातसँगै मधेशका धेरै ठाउँमा रास्वपाप्रतिको आकर्षण देखियो । युवादेखि मध्यम वर्गसम्म ‘नयाँ विकल्प’ खोज्नेहरूको ध्यान यही पार्टीतिर मोडियो । तर यही उत्साहलाई व्यवस्थित गर्न सक्ने स्थायी संगठन र अनुभवी व्यवस्थापक नेतृत्वको अभाव रास्वपाको सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ ।
वीरगञ्जका अधिवक्ता विरेन्द्र यादव भन्नुहुन्छ, “अहिले जनता रास्वपाको पक्षमा देखिएका छन्, तर यो विश्वास फागुन २१ गतेसम्म जोगाइराख्ने संगठन र नेतृत्व कमजोर देखिन्छ।” उहाँका अनुसार कांग्रेस, एमाले, नेकपा र मधेशवादी दलहरूको वडा–वडा तहसम्म फैलिएको संरचनासँग तुलना गर्दा रास्वपाको संगठन लगभग शून्य अवस्थामा छ ।
रास्वपाका उम्मेदवारको पछिपछि देखिने धेरै युवाहरू पहिले नै कुनै न कुनै पार्टीसँग आबद्ध रहेको बताइन्छ। सिरहाका वरिष्ठ पत्रकार चन्द्रदेव कामतीको चिन्ता यही हो—“भोलि चुनाव नजिकिँदै जाँदा यी युवाहरू रास्वपामै रहन्छन् कि पुरानै पार्टीतिर फर्किन्छन्, यो ठूलो प्रश्न हो ।” उहाँका अनुसार सुरुवातको आकर्षण अहिले केही कमजोर भइसकेको छ। खासगरी कांग्रेसको सक्रियता बढेसँगै रास्वपाको ग्राफ तल झर्दै गएको देखिन्छ। एमाले र नेकपा अझै पूर्ण रूपमा मैदानमा नउत्रिएको अवस्थामा छन्, तर उहाँहरू सक्रिय भएपछि प्रतिस्पर्धा झन् कडा हुने अनुमान छ ।
टिकट वितरणले जन्माएको असन्तुष्टि
रास्वपाभित्रको अर्को गम्भीर समस्या भनेको आन्तरिक असन्तुष्टि हो । सुरुदेखि पार्टीमा लागेका धेरै नेता–कार्यकर्ताले टिकट नपाउँदा, अन्य पार्टीबाट भर्खर आएका व्यक्तिहरू उम्मेदवार बने । यसले “नयाँ पार्टी, तर अनुहार पुरानै” भन्ने प्रश्न उठाएको छ । यही कारणले केही असन्तुष्ट नेता–कार्यकर्ता पार्टी छाडेर कांग्रेस वा अन्य दलतिर लागेको देखिन्छ । पर्सा र बारामा देखिएको यो प्रवृत्तिले रास्वपाको जनलहरलाई प्रत्यक्ष असर पुर्याएको विश्लेषकहरू बताउँछन् ।
संगठन बनाउँदैछौंः रास्वपाको दाबी
तर रास्वपाका नेताहरू भने यो आलोचनालाई अस्वीकार गर्छन् । धनुषा–३ का उम्मेदवारलाई समर्थन गरिरहेका डा. राजिव झाको दाबी छ—“हामी चुनाव प्रचारसँगै संगठन निर्माणमा पनि तीव्र रूपमा लागिरहेका छौं। प्रवेश गर्नेहरू यति धेरै छन् कि भ्याउनै मुस्किल भइरहेको छ ।” उहाँका अनुसार जनकपुर उपमहानगरपालिकाका सबै वडामा वडा कमिटी बनिसकेको छ, बुथ र युथ कमिटीहरू पनि निर्माण भइरहेका छन् । फागुन २१ गतेसम्म सबै कार्यकर्ता र समर्थकलाई सांगठनिक रूपमा आवद्ध गराउने लक्ष्य लिइएको छ ।
तथ्यांकले के भन्छ ?
२०७९ को चुनावमा रास्वपाले मधेश प्रदेशमा समानुपातिकतर्फ करिब एक लाख सात हजार मत पाएको थियो भने प्रत्यक्षतर्फ झण्डै ३२ हजार मतमा सीमित रह्यो । जब कि मधेशमा कुल मतदाता ३३ लाखभन्दा बढी छन् । यसले के देखाउँछ भने—रास्वपाको सम्भावना छ, तर प्रत्यक्षतर्फ ठूला दलको संगठनात्मक शक्ति अझै भारी छ ।
पछिल्लो समय झण्डा जलाउने, च्यात्ने, पार्टी कार्यालय तोडफोडजस्ता घटनाले पनि रास्वपाको छविमा प्रश्न उठाएको छ। जनकपुरकी पत्रकार स्नेहा झा भन्नुहुन्छ, “हामी मात्रै सही, अरु सबै गलत भन्ने व्यवहारले मतदाता चिढिन थालेका छन् ।” उहाँका अनुसार राजनीतिक प्रतिस्पर्धा स्वाभाविक हो, तर असहिष्णु व्यवहारले उत्साह होइन, निराशा जन्माउँछ—र यसको असर अन्ततः मतपेटिकामै देखिन्छ।
मधेशमा रास्वपाका लागि अवसर पनि छ, जोखिम पनि । नयाँ विकल्पको खोजीमा रहेका मतदाता आकर्षित छन्, तर त्यो आकर्षणलाई मतमा बदल्न संगठन, अनुशासन र समावेशी व्यवहार अपरिहार्य देखिन्छ ।
तपाईको प्रतिक्रिया