–सुरेशकुमार यादव
नेपाल सँस्कृति परम्परा, रीतिरिवाज, चाडपर्वका धनी देश हुन् । विश्वले नेपाललाई हिन्दु धर्मको रुपमा चिनिन्छ ।
नेपालको नाम श्रद्धापूर्वक लिने गरेका हुन्छन् । खासगरि जो हिन्दु समुदायका छन्, उसलाई नेपालप्रति छुट्टै श्रद्धा छ र पुण्यका लागि एकपटक नेपालको भूमीमा पाइला टेक्न ललायित हुन्छन् । नेपाल हिमालयको देश हो । नेपाल पशुपतीको देश हो ।
नेपाल जानकी माता जन्मभूमी हो । नेपाल बुद्ध जन्मेको देश हो । नेपाल भृकुटी जन्मेको देश हो । त्यसबाहेक विभिन्न धार्मिक स्थल, मठ मन्दिर, देवी देउताको बास भएको देश भएको हुनाले अन्य देशका व्यक्तिलाई नेपालप्रति श्रद्धा छ ।
त्यो भन्दा पनि यहाँको सँस्कृति परम्पारमा विविधता छ । मन लोभ्याउने खालको छ । जहाँ गयो त्यही बेग्लै खालको आनन्द दिन्छन् । प्रत्येक दुई जिल्लापछि फरक फरक सँस्कृति भएको समुदायले बसोबास गरेका छन् । सबै जातजातिको आआफ्नै रीतिरिवाज तथा परम्पारको चाडपर्व हुन्छन् । त्यसले पर्यटकलाई आकर्षण गरेका हुन्छन् । थारु, मधेशी, अवध, भोजपुरी, मुस्लिम, नेवार, तमाङ्ग, लिम्बुलगायतको आआफ्नै सँस्कृति परम्परा रहेका छन् । सबैले आआफ्नै रीतिरिवाज अनुसार पर्व मनाइरहेका छन् । भर्खर सम्पन्न भएको दशैं देशको राष्ट्रिय पर्व जस्तै मनाइएको छ ।
तर कतिपय अवस्थामा आधुनिकता, शहरिया परिवेश, टेक्नोलोजीको पहुँच, विभिन्न सञ्चारमाध्यमको उपलब्धता कारणले आआफ्नो सँस्कृति परम्परालाई विर्सिदै अर्काको नक्कल गर्न थालेको अभास हुन थालेको छ । चाडपर्व, सँस्कृति परम्पराको खाँटीपना कताकता हराउँदै गएको महसुश भइरहेको छ । आधुनिकताका नाममा छाडापनले प्रवेश पाइरहेको टिप्पणीहरु सुन्न पाइरहेको छ । पछिल्लो समय तीज पर्वलाई त्यही रुपमा लिन सकिन्छ ।
तीज पर्व श्रीमतीले श्रीमानका लागि गरिने कठोर पर्व हो । यसमा शीव पार्वतीको पूजा हुन्छ । यसको विधि विधान कठोर छ तर त्यसलाई यति भड्किलो बनाई दिएको छ कि त्यसको महत्व नै ओझेलमा पर्न थालेका छन् । यो पर्व खानपिन, तडक भडक देखाउनेमा सिमित हुँदै गइरहेको छ ।
दशैं पनि एउटा लोकपर्व हो तर यसको पनि लोक महत्व विस्तारै हराउँदै गइरहेका छन् । यसमा विशेष त दुर्गा भगवतीको पुजाआजा हुन्छ तर यो पर्वलाई पनि एउटा खानपिन, तडक भडक र मनोरञ्जनमा सिमित गरेको छ । दश दिनसम्म यसको कठोर आरधाना र पुजापाठ हुन्छ । अन्य देवी देवता भन्दा यसको पुजन शैली, विधि विधान अलि कठोर नै हुन्छ तर यसको पुजापाठमा ध्यान दिनुको सट्टा कसले कति खर्च गर्छन, कसले के के किने, को कहाँ घुम्न गए, कसले के के खाए जस्ता कुरामा विशेष ध्यान हुन्छ ।
टीकाको भोलीपल्ट अर्थात अक्टोवर २७ का दिन मैले आफ्नो फेसबुकमा एउटा स्टाट्स लेखेका थिए, ‘ओना आशिर्वाद लेनाई देनाइ कोनो नइ निमन बात नई छै । “मुदा आँई यौ अपना सब मे त टीका नई चलै छेलै ।” अर्थात त्यसो त आशिर्वाद लिनु र दिनु कुनै नराम्रो कार्य होइन तर हाम्रोमा त यो टिका चल्दैन्थ्यो त ! यो लेख तयार पार्दासम्म २५ जनाले कमेन्टस् गर्नुभएको छ ।
त्यसमा अधिकाँशले मेरा भनाईलाई समर्थन नै गर्नुभएका छ भने कतिपयले आफ्नो तर्क पनि दिनुभएको छ । मैले सबैको सकारात्मक तथा नाकारात्मक तर्क तथा टिप्पणीलाई सम्मान गर्छु । धिरेन्द्र प्रेमर्षी जो एकजना सँस्कृतिकर्मी, कलाकार एवं पत्रकार पनि हुनुहुन्छ, उहाँले तपाईले यो साह्रै राम्रो कुरा राख्नुभयो । हामीले शिक्षा र रोगजारीको बदलामा आफ्नै मनले आफूमाथि एउटा मालिक राख्छौ र त्यतिकै त्यसको चाल चलन अपनाएर मानसिक गुलामी शुरु गरिदिन्छौं, भनि टिप्पणी गर्नुभएको छ ।
त्यस्तै मैथिली भाषाका अभियानि तथा सँस्कृतिकर्मी प्रविणनारायण चौधरी जसले भाषा, भेष र भुषा जब बदलिन्छ तब यी सबै स्वाभाविक परिवर्तनको रुपमा देखा पर्छ । नेपालको हाल (अवस्था) शहरी क्षेत्रमा बेहाल छ भनि टिप्पणी गर्नुभएको छ ।
विनयकुमार जो पत्रकार हुनुहुन्छ । उहाँले समाजशस्त्र अनुसार सँस्कृति प्रसार (एक ठाउँबाट अर्को ठाउँ) एउटा ठाउँमा रोकिदैन । जस्तो कि तास खेल, चाइनाबाट उत्पत्ति भयो र विश्वमा फैलिएको छ । अब राखी (रक्षाबन्धन) को कुरा गर्नुहुन्छ त पहाडी समुदायका व्यक्तिहरु पनि बाँध्न थालेका छन् । यस्ता धेरै उदाहारण छन् भनि टिप्पणी गर्नुभएको छ । उहाँले अर्को टिप्पणीमा मधेशको रीतिरिवाजमा विवाह सादीमा शेरबानीका चलन छैन तर अहिले भुसको आगो जस्तो फैलिएको छ ।
हरेक क्षेत्रको प्रभाव हरेक क्षेत्रमा पर्छ भन्दै उहाँले दशैंमा टिका लगाउनुलाई स्वभाविक रुपमा लिनुपर्ने टिप्पणी गर्नुभएको छ । यसरी विभिन्न व्यक्तित्वहरुले आफ्नो टिप्पणी गर्नुभएको छ । सबैको तर्क स्वागतयोग्य छ ।
आफ्नो समुदाय, जात, राष्ट्रको परिचय सँस्कृति परम्परा र रहनसहनले मात्र दिन्छन् । कुनै समुदाय वा जातको परिचय उसको भेषभुषा, सँस्कृति परम्पारले दिइन्छ । कसेको पहिचान मार्नुछ भने उसको भेषभुषा, भाषा र सँस्कृतिलाई समाप्त गर्दिनुस् त्यो समुदाय, त्यो समाज, त्यो व्यक्ति, देश आफै समाप्त हुन्छ । जबसम्म उसको भाषा, रीति रिवाज, पहिरन, सँस्कृति रहन्छ तबसम्म उसको पहिचान रहन्छ । मैले कुनै जात, कुनै समुदायको धर्म परम्पराको विरोध गरेको होइन ।
तर आफ्नो पहिचानको जगेर्ना आफै गर्नुपर्छ । अहिले विश्वव्यापी रुपमा क्रिश्चयन फैलि रहेको छ । त्यसका लागि सो धर्मले अर्बौको लगानी गरेको छ । अरुलाई उसको धर्म परिवर्तन गराउँछन् । उसको रहनसहनमा परिवर्तन ल्याई दिन्छन् । त्यसको भाषा, पहिरनमा परिवर्तन ल्याइदिन्छन् । पछि विस्तारै उसको आफ्नो पहिचान नै समाप्त हुन्छ ।
दशैंमा मधेशी समुदायमा टीका हुँदैन । यो पहाडी समुदायबाट देखासिखी गरेका हुन् । पहिला पहिला दुर्गा स्थानमा उम्रिएको जमरा त्यहाँका पुरोहितबाट भक्तजन (जनसमुदाय) मा वितरण हुन्थ्यो । कतिपय ठाउँमा दुर्गास्थानबाट नै वितरण हुन्थ्यो भने कतिपय ठाउँमा पुरोहितहरु घरघर पुर्याईन्थ्यो । भक्तजनको कानमा वा टुप्पोमा झुण्डाई दिएर आशिर्वाद दिइन्थ्यो । तर त्यो अहिले हराएको छ । त्यो परम्परा नै हराउँदै गइरहेको छ । अब व्यक्ति व्यक्तिले आआफ्नो घरघरमा जमरा उमार्न थालेका छन् । त्यो जमरासहित टिका लगाउन थालेका छन् ।
आफ्नो पम्परा र सँस्कृति खोइ ? एकातिर मधेशले खस समुदायबाट हामीमाथि विभेद भयो भन्छन् भने अर्कोतिर उसको सँस्कृति परम्परा, चाडपर्व अँगाली रहेका छन् र आफ्नो विर्सि रहेका छन् । तराई मधेशमा मनाईने घडी पवनी, जितिया, चौरचन, कृष्ण जन्मअष्टमी, अखारी, अगहनी, होली, नवसकराइत, गभासकराइत, भादव रइव, भरजुतिया, जात्रा, पूर्णिमा, डिहवार पुजा, धमियाइन पुजा, कुलदेवता पुजा, सत्यनाराण पुजा, अष्टजाम, भागवत, भिझिया, समाचखेवा, जाटजटीन, बेल पुजा, कुम्हर पुजा, श्रीपञ्चमी, हुराहुरी, माहुवा पुजा, धर्ती पुजन, वर विदागरी, बटसावित्रि, रामनवमी, मधुश्रावणी, जुडशितल, रामलिला, गढीमाई मेला, पञ्चकोशी परिक्रमा, विवाहपञ्चमी, बटसावित्रि, पावस ऋतु, तिला सकाराइत आदि ।
यी सबै पर्व तिहार, पुजापाठ विस्तारै विस्तारै हराउँदै गइरहेका छन् । भरजुतिया पवनी छाडेर हामी भाइटिका मनाउन थालेका छौं । मलाई लाग्दैन कि तराई मधेशमा भाइटिकाको चलन थियो । पहाडी समुदायले तिहारमा धुमधाम साथ भाइटिका मनाउँछन् । त्यसको नक्कल हामीले गरेका छौं ।
तराई मधेशमा भरजुतिया (भाइदुतिया) हुन्थ्यो । भाइहरुले दिदी वहिनीको घरमा आफ्नो क्षमता अनुसार भार (कोसेली) काँधमा वा टाउकोमा बोकेर जान्थे । वहिनीहरुले भाइको सम्मानमा बेग्लै पुजापाठ गर्थे । तर अहिले त्यो भार (कोसेली) सबै हराएका छन् ।
दाजु भाइहरु दिदी वहिनीको घरमा जान्छन्, या दिदी वहिनीहरु दाजु भाइको घरमा आउँछन् नक्कल गरेको टिका लगाउँछन् र कोसेलीका सट्टामा रकम दिएर पठाउँछन् । तर पहिला दाजुभाइहरु अनिवार्य रुपमा दिँदी वहिनीको घरमा जानुपथ्र्यो । कहाँ गयो त्यो परम्परा, कसरी भरजुतिया भाइटिकामा परिणत भयो कसैले थाह पनि पाएन । करवा चौथ मनाउन छाडेर तीज मनाउन थालेका छन् । यद्यपी तराई मधेशमा करवा चौथ त्यति मनाउँदैन तर तीज फिटिकै मनाउँदैन्थ्यो तर अहिले घरघर मनाउन थालेका छन् । बरु जितिया मनाउन छाड्न थालेका तर तीजलाई विर्सिदैन ।
कतिपयले तर्क गर्छन् पहाडी समुदायले छठ मनाउन थालेका छन् । राखी बाँध्न थालेका छन् । म प्रश्न गर्न चाहन्छु कति प्रतिशत पहाडी छठ मनाउँछन् र कति प्रतिशत मधेशी टिका लगाउँछन् र तीज मनाउँछन् त्यसको सँख्या हेरौं ।
काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउँछन् तर ती सबै घाटमा मधेशीहरु मात्र हुन्छन् । एक प्रतिशत पनि पहाडी हुँदैन । काठमाडौंमा बसोबास गर्ने मधेशीहरु गाउँ नगएर यतै मनाउन थालेका छन् । त्यो देखेर कतिपयले भन्न थालेका छन् कि काठमाडौका नेवारहरुले पनि छठ मनाउन थालेका छन् ।
म गोरखापत्र दैनिकमा काम गर्छु ,प्रत्येक छठमा केही नकेही लेखि रहेको हुन्छु । पहाडी समुदायले कसरी मनाउँछन् छठ भनि एकपटक समाचार लेख्न मैले पहाडी समुदायबाट छठ मनाउने भक्तजन खोज्न थाले । बल्ल बल्ल एकजना फेला पारे । त्यो पनि छठ समितिमा रहेर काम गर्ने भएका हुनाले त्यसलाई फेला पार्न सके । उहाँलाई पनि भने कि मलाई तीनचार जना पहाडी समुदाय जो छठ पर्व गर्छन् उनीहरुसँग सम्पर्क गराई दिनुपर्यो तर उहाँले सक्नु भएन ।
काठमाडौंमा समिति बनाएर छठ मनाउनेहरुसँग पनि सोधे कतिजना पहाडी समुदायले छठ मनाउँछन्, तपाईहरुको सम्पर्कमा कतिजना छन् नाम दिनुस् न भन्दा कसैले दिन सकेनन् । काठमाडौं उपत्यकामा झिलिमली हुने गरी छठ मनाउँदा ती सबै पहाडी समुदाय नै हुन्छन् भनि भ्रममा नपर्दा हुन्छ । म प्राय गरि रक्षाबन्धनमा काठमाडौंमै हुन्छु ।
म देख्दिन कि २० प्रतिशत पनि पहाडी समुदायले आफ्नो दिदी वहिनीबाट राखी बँधाएको होस् । जुन भाइले भाइटिकामा वहिनीबाट टिका लगाएका हुन्छन् त्यो भाइले रक्षाबन्धनमा पनि राखी बधाउँदा हुन्थ्यो नि तर म त्यस्तो कही देख्दिन । पहाडी समुदायले रक्षाबन्धनको दिन पुरोहितबाट धागोको डोरी बँधाएका हुन्छन् । जनै फेरेका हुन्छन् तर रक्षाबन्धन हुँदैन ।
हुनसक्छ तराई मधेशमा बसोबास गर्ने कतिपय पहाडी समुदायले छठ पर्व मनाउँदै गरेको होला, राखी बधाउनु भएको होला । हिमाल, पहाडतिर त्यस्तो देखिएको छैन । तर हिमाल र पहाडमा मनाउने कतिपय पर्वहरु तराई मधेशमा धुमधामका साथ मनाउन थालेका छन् । र आफ्नो सँस्कृति र पहिचान बिर्सिदै गइरहेका छन् ।
यसपालीको दशैंमा मात्र होइन, प्रत्येक दशैंमा पहाडी समुदायका साथीहरुको एउटै प्रश्न हुन्छ खोइ टिका । अनि म जवाफ दिने गरेको हुन्छु, हाम्रोमा टिका चल्दैन नि । अनि उहाँहरुको पनि जवाफ हुन्छ हो हैं तपाईहरुको त छठ पो धुमधामका साथ मनाइन्छ ।’ यो लेखको अर्थ यो होइन कि पहाडी समुदायको चाडपर्व, सँस्कृति परम्पारको म विरोध गरेको हुँ । म सबैको पर्व, सँस्कृति परम्पारलाई उत्तिकै सम्मान गर्छु, जति सम्मान म आफ्नो सँस्कृति र चाडपर्वलाई गर्छु । मेरो भन्नुको अर्थ सबैले आआफ्नो चाडपर्व, सँस्कृति, रीतिरिवाजलाई संरक्षण गर्नुपर्छ । त्यति मात्र हो ।


तपाईको प्रतिक्रिया