Khadya Bibhag

जसपाका लागि ‘कम्फर्टेबल’ः ओली कि प्रचण्ड ?

अहिले ‘कम्फर्टेबल’ शब्द निकै प्रचलित भएको छ । नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाकै कार्यकारी अध्यक्ष भएको बेला दिनु भएको एउटा अभिव्यक्तिमा ‘कम्फर्टेबल’ शब्दको प्रयोग गर्नुभएको थियो, त्यो अहिल निकै चर्चाको विषय बनेको छ ।

 त्यसले गर्दा अहिले उहाँको निकै आलोचना भइरहेको छ । तर यहाँ हामीले प्रचण्डले प्रयोग गरेको ‘कम्फर्टेबल’ को चर्चा गरेको होइन । जनता समाजवादी पार्टी नेपाललाई माओवादी केन्द्र रोज्ने कि एमाले रोज्नेमा उल्झन हुँदा उसको लागि कुन पार्टी ‘कम्फर्टेबल’ हुने विषयमा चर्चा गरेका छौं । 

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा बनाएका माओवादी केन्द्र र एमाले अलग–अलग भएपछि जसपा नेपाल कसलाई साथ दिनेमा पार्टीमा विवाद देखिएको छ । जसपा नेपालको एउटा समूह प्रचण्डले अध्यक्षता गर्नुभएको माओवादी केन्द्रको पक्षमा छ भने अर्को समूह प्रधानमन्त्री ओलीले अध्यक्षता गर्नुभएको एमालेको पक्षमा रहेको छ । तर तीमध्ये एउटालाई मात्र रोज्नेमा जसपा नेपालले निर्णय लिन सकेको छैन । माओवादी रोज्ने कि एमाले रोज्ने यस तानातान अवस्थामा जसपा नेपाल तन्किएर भाँचिने हो कि पनि आशंकाहरु भइरहेको छ । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका कतिपय नेताहरु भन्नुहुन्छ, सोच, विचार, सिद्धान्त र प्रतिवद्धताका आधारमा ओलीभन्दा प्रचण्ड नै अग्रगमन हुनुहुन्छ । ओलीप्रति अझै मधेश सकारात्मक हुन सकेको छैन, मधेशप्रति ओलीले गरेको टिप्पणी मधेशी जनताका मनबाट अझै हटेको छैन त्यसलै दुईमध्ये एउटा रोज्नुपर्ने बाध्यता आयो भने प्रचण्ड नेतृत्वको माओवादीलाई रोज्नुपर्छ ।’ 

तर सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरु भन्नुहुन्छ, मधेशका लागि प्रचण्ड र ओली उस्तै उस्तै हुनुहुन्छ । दुवैजनामध्ये कुनै पनि नेताले मधेशको मुद्दा समाधान गर्न चाहनु भएको छैन, त्यसैले जसपा नेपालको माग जसले पुरा गर्छ उसलाई दिन्छौं ।’

मधेशमामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णको भनाई पनि त्यस्तै छ । उहाँले भन्नुभयो, ‘मधेशका लागि प्रचण्ड र ओली उस्ता उस्तै हुनुहुन्छ तर दुवैमध्ये एउटा रोज्ने बाध्यता आयो भने प्रचण्डलाई रोज्नुपर्छ ।’ मधेशीको बारेमा ओलीको सोच १०० प्रतिशत नकारात्मक रहेको छ भने प्रचण्डको ७५ प्रतिशत रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, प्रचण्ड पनि मधेशको मामिला ठिक हुनुहुन्न तर ओलीको तुलनामा ठिक हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीबाट लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता, गणतन्त्रलाई खतरा रहेको बताउँदै उहाँले यसलाई ओलीले जतिबेला पनि खारेज गर्न सक्नु हुन्छ तर प्रचण्डले हतपत त्यस्तो गर्न नसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले गर्नुभएको हरेक गतिविधिको साक्षी प्रचण्ड हुनुहुन्थ्यो, १६ बुँदे सम्झौतादेखि प्रायः उहाँहरु साथमै हुनुहुन्छ अनि किन ओलीलाई रोक्नु भएन, अथवा मधेशको मुद्दा सम्बोधन गर्नका लागि किन दवाव दिनुभएन भन्दै उहाँले दोषी दुवै हुनुहुन्छ तर कोे कम को बेसी त्यही कुरामा मात्र फर्क रहेको बताउनुभयो । 

ओलीले मधेशी, आदिवासी जनजातिमाथि विभेद गर्दा, उनीमाथि मजाक उडाउँदा, संसदमा गलत विधेयकहरु पेस गर्दा, संविधानको विरुद्ध काम गर्दा, लोकतन्त्रलाई नियन्त्रणमा लिँदा, मानव अधिकारलाई नियन्त्रयणमा लिँदा, सञ्चारलाई नियन्त्रणमा लिँदा प्रचण्डले किन नबोलेको मधेशमा प्रश्न उठेको छ ।

 वरिष्ठ पत्रकार सीताराम आग्रहरीले पनि जसपा नेपालका लागि प्रचण्ड तथा ओली पक्षमध्ये को कम्फर्टेवल भन्दा पनि लोकतन्त्र, संघीयता र गणतन्त्रको पक्षमा को हुनुहुन्छ त्यसलाई साथ दिनुपर्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘म जसपालाई प्रचण्ड रोज्नुस् या आली त्यो भन्दिन तर लोकतन्त्र, संघीयता र गणतन्त्रको पक्षमा को इमान्दारी पूर्वक लाग्नु भएको छ त्यो कुरालाई ख्याल गर्नुपर्छ, मनन गरेर त्यसलाई साथ दिनुपर्छ जस्तो लाग्छ ।’ एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई धरापमा पार्नु भएको कुरा कसैबाट लुकेको छैन ।

 उहाँ संघीयताप्रति इमान्दार हुनुहुन्न भन्ने कुरा उहाँकै अभिव्यक्तिहरुबाट पुष्टि हुन्छ । गैरसंवैधानिक रुपमा संसद विघटन गर्दा त्यसको विरुद्धमा जसपा, काँग्रेसलगायततका दलहरु आन्दोलन गरेका थिए र आज कुन मुखले उहाँलाई साथ दिन्छन्, के ओलीले आफ्ना कदम सच्याउनु भएको छ र, संसद विघटन गरेर मैले गल्ती गरेको छु भनि गल्ती स्वकिार गर्नुभएको छ र, मधेशमाथि मैले गरेको टिप्पणी गलत हो भनि स्वीकार गर्नुभएको छ र, मधेशीको हकमा संविधान संशोधन हुनुपर्छ, त्यसका लागि म पहल गर्छु भन्नु भएको छ र, अन्तरिम संविधानका आधारमा व्यवस्था भएको व्यवस्था अनुसार नागरिकता दिने व्यवस्था मिलाउँछु भन्नुभएको छ र, अर्थात उहाँले आफूले गरेको कुनै पनि गल्ती स्वीकार गर्नुभएको छैन, गर्न नचाहेको काम गर्छु पनि भन्नु भएको छैन भने के आधारमा उहाँलाई साथ दिने कुरा भइरहेको छ, त्यो कुरा मैले बुझ्न सकेको छैन, पत्रकार अग्रहरीले भन्नुभयो ।  

जुन प्रतिनिधिसभालाई ओलीले आफै विघटन गर्नुभयो आज त्यही संसदबाट आफूलाई प्रधानमन्त्री कायम राख्न बार्गेनिङ्मा लाग्नु भएको छ । उहाँ कुन नैतिकताले संसदको बैठकमा जानु हुन्छ । ओलीले नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजिनामा दिइनुपर्ने हो तर उहाँको शब्दकोषमा नैतिकता भन्ने शब्द नै छैन भनि आलोचना मधेशमा हुने गरेको छ ।

ओलीलाई शक्तिशाली बनाउनेमा कतै नकतै मधेशी नेताहरुको हात रहेको छ, पत्रकार चन्द्रकिशोरले भन्नुभयो, दुई तिहाईको शक्तिशाली सरकारको प्रधानमन्त्री बन्नमा मधेशवादी दलले साथ दिएका हुन् उपेन्द्र यादव सरकारमै सहभागी हुनुभएको थियो, तत्कालिन राजपा नेपाल बाहिरबाट सहयोग गरेको थियो । त्यहीबेलादेखि साँढे हुनुभएका प्रधानमन्त्री ओली अहिले कसैलाई टेरिरहनु भएको छैन ।’ 

यद्यपी ओलीले संसद भंग गरेर जुन प्रतिगमन कार्य गरे त्यसका आधारमा संसदमा जसपाले ओलीलाई साथ दिने संभावना कम रहन्छ किनभने भंग गरेकै कारण ओली विरुद्धमा जसपा नेपालले आनदोलन गरेको थियो । आज फेरि अ‍ोलीलाई नै साथ दिने नैतिकता त्यो दलसँग छैन । 

मधेश आन्दोलन हुँदा ओलीले मधेशी जनतामाथि अपमानजनक शब्दहरु प्रयोग गर्नुभएको थियो । मधेशमा भएको आन्दोलनलाई उहाँले मजाक उडाउनु भएको थियो । यहाँसम्म कि मधेशवादी दलले संविधान संशोधनका लागि पटक पटक प्रयास गर्दा पनि ओलीले नै संशोधनमा साथ दिनु भएको थिएन । त्यतिबेला काँग्रेस र माओवादी केन्द्र संशोधनका लागि तयार भएका थिए तर एमालेले साथ नदिएपछि संशोधनको प्रस्ताव फिर्ता भएको थिए । 

काँग्रेस र माओवादी केन्द्रले संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्दा त्यतिबेला ओलीले भन्नुभएको थियो, संशोधन प्रस्तावमा हामीहरुले रौं बाराबर पनि सहयोग गर्दैनौ यो प्रस्ताव राष्ट्रिय हितमा छैन । यो संशोधन प्रस्ताव पारित भयो भने देश विखण्डन हुन्छ ।’ ओलीले यति सबै घटनाक्रम गराउँदै पनि जसपा नेपालका लागि ओली कम्फर्टेबल हुनु भनेको त्यो दल ओलीको मतियार हो भने कुरा पुष्टि हुन्छ । 

विगतका गतिविधिहरु हेर्दा मधेशको मामलामा ओलीभन्द प्रचण्ड अग्रगम रहेको देखिन्छ । मधेशको मुद्दाप्रति उहाँ जहिले पनि सकारात्मक हुनुहुन्थ्यो । मधेशवादी दलसँग मिलेर संविधानमा मधेशी, आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउनका लागि आन्दोलन पनि गर्नुभएको छ । मधेशको बारेमा कहिले पनि उहाँले अपशब्द प्रयोग गर्नुभएको छैन । उहाँले मधेशलाई होच्याउने काम गर्नुभएको छैन ।

 दोस्रो संविधानसभामा प्रधानमन्त्री बन्दा उहाँले मधेशवादी दलको मागका आधारमा संविधान संशोधनको प्रस्ताव संसदमा लग्नु भएको थियो । तर तत्कालिन एमालेलाई नेतृत्व गरेका ओलीले आफू कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने अडान लिनु भएको थियो ।  

यसका लागि ओलीसँग प्रचण्डले आफै वार्ता गर्नुभएको थियो । तर ओलीले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने  टकस मकस हुनुभएको थिएन । प्रचण्डपछि काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको थियो । उहाँले पनि मधेशवादी दलको माग अनुसार संविधान संशोधन प्रस्ताव संसदमा टेबल गराउनु भएको थियो तर एमालेले त्यसलाई फेल गराएको थियो । 

त्यति मात्र होइन, मधेशी नेताहरुलाई ओलीले पटक पटक अपमान गर्नुभएको छ । संविधान निर्माणपछि प्रधानमन्त्री भएको बेला मधेशी नेताहरु संविधान संशोधनको विषयमा छलफल गर्न बालुवाटारमा गएको बेला प्रधानमन्त्री ओलीले तपाईहरुले समथर भूमी हेर्नै नहुने त्यसो भए युपी, विहारलाई पनि मधेशमा मिलाउनु त भनि अपमानपूर्ण शब्द प्रयोग गर्नुभएको थियो ।

त्यसरी अपमान गरेपछि मधेशी नेताहरु बालुवाटारबाट बाहिरिएर मधेशमा उहाँको पुतला जलाइएको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव कानुन मन्त्रीको हैसियतमा मन्त्रीपरिषद्मा संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल गठन गर्ने भनि प्रस्ताव लग्दा प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई ‘गेटलस्ट’ भनेर अपमान गर्नुभएको थियो । ओली प्रधानमन्त्री पदमै बसेर पटक पटक उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलाई मात्रै होइन मधेशलाई अपमान गर्नुभएको छ । ती कुरा मधेशका नेताहरुले सायद विर्सनु भएको छैन होला । यी घटनाक्रम हेर्दा प्रधानमन्त्री ओली कम्फर्टेवल कि माओवादीका अध्यक्ष प्रचण्ड कम्फर्टेबल रोज्ने जिम्मा जसपा नेपाललाई ।  

तपाईको प्रतिक्रिया